देश बनाउने ? पहिले सिकौं स्विस जस्तै इमान्दार बन्न
स्विजरल्याण्डको नितान्त घुमघाम थियो यो पटक । पहिलो दिनको छुट्टै अनुभव छँदै छ, यो दोस्रो दिनको अनुभव हो । बिजय शर्मा दर्पणले जेनेभा घुमाउन लगे । संयुक्त राष्ट्र संघको जेनेभा कार्यालय पुगियो । मानव अधिकार सबैकालागि हुनुपर्छ भन्ने मान्यता र अर्थ राख्ने कुर्सी देख्दानै अचम्म लाग्यो । किनकि अपांगहरुलाई संकेत गर्न भाँच्चिएको विशाल कुर्सी रहेछ राष्ट्र संघ कार्यालय अगाडि । संयुक्त राष्ट्र संघिय उच्च मानवअधिकार आयोगबारे सुन्दै आएको । त्योपनि त्यहिँ देखियो । रेडक्रसका रचनाकार हेनरि ड्युना स्विस नागरिक भएकाले रेडक्रसको कार्यालय त हुने नै भयो ।
त्यसपछि हामीलाई महात्मा गान्धीको प्रतिमा देखाउन लगे जेनेभा निवासी उनै बिजय शर्मा दर्पणले । संयुक्त राष्ट्र संघ कार्यालय वरिपरिको सडक फराकिलो, ब्यवस्थित र सफापनि उत्तिकै थियो । हुन त स्विजरल्याण्डका सडकमा फोहोर देखिने जेनेभामा मात्रै रहेछ । त्यसकोपनि कारण रहेछ । त्यसबारे अर्को अनुभवमा आउला । जे होस, गान्धीको प्रतिमा हेरेपछि बस लिन बाटो पार गरियो । सडक छेउमा साना तिन वटा बाक्सा देखिए । ति बाक्सा भित्र पत्रीका थिए । आकाशबाट पानी परेपनि नभिज्ने बाक्लो प्लस्टिकका ओत्नीले जोगाएका ।
भाँ मिनुत (२० मिनट्स), त्रिब्युन द जनेभ (जेनेभा ट्रिब्युन) र ल माताँ (द मर्निङ) भन्ने तिन थरी पत्रीका थिए अलग अलग बाक्सामा । २० मिनेट फ्रान्स, जर्मनी, अष्ट्रिया, बेल्जियम, ईटाली लगायतका अरु युरोपेली देशमापनि देखेकै थिएँ । ति निशुल्क बाँडिन्छन् भन्ने थाह थियो । तर ल माताँको एक प्रति किन्ने भए दुई फ्र्यांक ६० सेन्ट र आइतवारको लिए चार फ्र्यांक ५० सेन्स पर्दो रहेछ । त्रिब्युन द जनेंभकोपनि त्यसैगरि मूल्य राखिएको थियो । २० मिनेट निशुल्क थियो, टपक्क टिप्दै जोसुकैले लान पाइने भो । बाँकि दुई वटा पत्रिकाको पैसा तिर्नुपर्ने । त्यहि बाक्सामा खुत्रुक्क पैसा छिराईदिने दुल्का बनाएको ।
हामी त्यहाँ बस पर्खेर बसुन्जेल करिब १० जना ति पत्रीकाका बाक्सा हेर्दै स्विसहरु हिँडे होलान् । कोहि कोहिले निशुल्क २० मिन्ट पत्रीका लिए । एक जना महिला आइन् लुसुक्क हात घुसारिन् । पैसा ट्याक्क खसालेर त्रिब्युन द जनेभ लिएर हिँडिन् । त्यहाँ कसैले सित्तिमा लिएन पैसा तिर्नुपर्ने पत्रीका । जसले लिन पनि सक्थ्यो । त्यहाँ चौकीदार थिएन । पत्रीका लिएर पैसा खसालेको नखसालेको जाँच्न मेशिन थिएन । हेर्न कोहि बसेको पनि थिएन । लोभी र बदमास हुन खोजे जसलेपनि सित्तैमा लैजान सक्छ । सबैले त्यसैगरि सित्तैमा लगिदिए त्यो पत्रीका त्यहाँ घाटामै जान सक्छ । पत्रीका राख्ने भाँडोको पैसापनि नउठ्न सक्छ । तर प्राय स्विसहरु त्यसो गर्दैनन् । युरोपका अति इमान्दार नागरिक मध्ये पर्छन् स्विसहरु ।
बाटामा खासगरि तरकारी र दुधका परिकार मूल्यसूची टाँसेर राख्दिने र त्यो बाटो ओहोर दोहोर गर्नेले पैसा हाल्ने भाँडोमा राखिदिएर मूल्य तोकिए अनुसारको सामान लैजाने चलन हुन्छ भन्ने धेरै सुनिएको हो । म यहि महिनाको पहिलो साता बेल्जियम गएका बेला नेदरल्याण्ड्सको एक गाउँमा त्यस्तो पसल देखिएको थियो । हामीले यो पसलमा फलफूल किनेका थियौं । त्यतातिर मुस्किलले देखिने यस्ता पसल स्विजरल्याण्डमा बग्रेल्ति पो हुने रहेछन् ।
स्विजरल्याण्डबाट फर्किने दिन निराजन श्रेष्ठले गाडिमा रेल स्टेशनतिर ल्याउँदै थिए । पारी डाँडातिर देखाउँदै भने ‘त्यो डाँडामा हामी प्राय पैदल यात्रा गर्न जान्छौं । पैदल यात्रा गर्नेहरुकालागि सानासाना पसल छन् । पसले कोहि हुन्न, सामानको मूल्य हेर्यों, पैसा तिर्यो, गयो । हामी पद यात्रामा जाँदा त्यसै गर्छौं ।”
स्विजरल्याण्डका गाउँमा यस्ता पसल सामान्य रहेछन् । गाउँमा त हुने नै भयो । जंगलमा, कसैले नदेख्ने ठाउँमापनि हुने रहेछन् । पद यात्रा गर्ने ठाउँमा चाउचाउ, बिस्कुट, चकलेट लगायत दुधका अन्य परिकार र खाजासाजा राखिदिएको हुने रहेछ । मूल्य हेर्दै स्विसहरुले त्यहाँ राखिएको कचौरामा पैसो राखिदिने रहेछन् र चाहिएको सामान टिप्दा रहेछन् । कतिपय ठाउँमा त महँगा लुगाका पसलपनि हुँदा रहेछन् । एउटै लूगा कसैले पैसा नतिरि लगिदियो भनेपनि निकै घाटा लाग्ने । तर ईमान्दार स्विसहरु त्यस्तो बदमासी गर्दैनन् । कहिलेकाहिँ खुद्रा नपुगे बरु दुई चार पैसो आफ्नै छोडिदिन्छन्, आर्काको लिँदैनन् । त्यसैले यस्ता पसल स्विजरल्याण्डमा चलिरहेकै छन् । प्राय आफू बस्न नसक्ने, तलब तिर्न नसक्ने र बस्नुपनि नपर्ने ठाउँमा यस्ता पसल खोल्दा रहेछन् ।
निराजनले रेल स्टेशनमा नपुर्याउँदै बाटोमा एक सब्जी पसल देखियो । पसले कोहि थिएन । यस्ता पसलहरु हाम्रा लागि सुन्दै अचम्म लागेपनि स्विसहरुकोलागि भने सामान्य रहेछ । किनभने स्विसहरु कुनैपनि कुरा सित्तिमा लिनहुन्न भन्दा रहेछन् । अर्काको कमाई खानुहुन्न मूल्य नतिरि भन्दा रहेछन् । कर्मलाई साह्रै आदर र सम्मान गर्दा रहेछन् ।
जेनेभा पुगेको दोस्रो साँझा एन आर एन स्विजरल्याण्डका संस्थापक अध्यक्ष सन्जय मुडभरी र दिपक खतिवडाले जेनेभाको पुरानो बस्ति (ओल्ड पार्ट अफ जेनेभा भन्दा रहेछन्) घुमाउन लगे । साँझको जेनेभा मुसुक्क मुस्कुराएको थियो । बेहुली झैं धपक्कै बलेको थियो बिजुलीको उज्यालोले । सडकका भित्रि भागमा पुरै परम्परागत ढुंगा छापिएको । बाहिरबाट देखिने भन्दा भित्रि भाग फराकिला । सडकमा छेउ छेउमा यस्तरि लौका लगाएका रहेछन् । कतै कतै यस्ता लौका काँधैमा बोक्नुपर्ने जस्ता ठूला ठूला फलेका रहेछन् । तर सडकका लौका कसैलेपनि टिप्दो रहेनछ । आफ्नै शहरको सुन्दरताको लागि, हेर्नको लागि हो । यो सार्वजनिक सम्पत्ती हो भनेपछि कसैले नछुँदो रहेछ । कति ईमान्दार स्विसहरु । स्विस पुगेपछि त बिदेशीहरुपनि अलि सभ्य बन्दा रहेछन् सायद । बिदेशीहरुकै बाहुल्यता रहेको जेनेभामा अरु बिदेशीलेपनि यि लौका नटिप्ने !
मलाई सम्झना छ, काठमाडौंमा एक पटक फ्री एड भन्ने साप्ताहिक पत्रीका यसैगरि निशुल्क बाँड्न थालिएको थियो । बिदेशको देखासिकि गरेर एक जना युवाले त्यो शुरु गरेका थिए । बिज्ञापनबाट लाभ उठाएर ग्राहकलाई सित्तैमा बाँड्ने उनको योजना थियो । तर त्यो पत्रीका टिकेन । नटिक्नुका अन्य कारणपनि होलान् । तर एउटा कारण हामी इमान्दार नभएरपनि हो । निशुल्क पाइन्छ भन्ने जानेर मानिसहरुले अँगालोका अँगालो पत्रीका उठाउन थाले । घरमा लगेर आगो ताप्न र चनाचटपटेलाई बेच्न हुन्छ भनेरपनि सोहोरे । त्यो पत्रीका डुब्यो । तर स्विसहरु पढ्न मन् छैन भने यस्तो कहिल्यै गर्दैनन् । यो त एउटा उदाहरण मात्रै हो । स्विसहरु आफ्नो देश र समाज बनाउन असाध्यै इमान्दारिपूर्वक लाग्छन् ।
हामी आर्काको बारीको हरियो मकैपनि लुछ्छौं । आफ्नै खेत बारीमा हुँदा र पुग्दापनि लामो हात गर्ने बानी छ, हामी धेरै नेपालीमा । हामी बेला बेला स्विजरल्याण्ड बनाउने भन्छौं हाम्रो देशलाई । तर के स्विसहरु जस्तै इमान्दर बन्न सक्छौं त ? यस्ता पसलहरु नेपालका गाउँठाउँमा, पसले नबसिकनै राखिदिने हो भने कतिले मूल्य तिरेर किन्दाहुन् ? कतिले सित्तैमा लैजाँदा हुन् ? के इमान्दार नबनेसम्म देश र समाज बन्न सक्छ ? नेपाललाई स्विजरल्याण्ड जस्तै विकासमा अगाडि बढाउने, सम्पन्न बनाउने हो भने पहिले स्विस जस्तै ईमान्दर बन्न सिक्ने हो कि ?
(आगामी लेख ; धनीहरुबाटै स्विसहरु हैरान)









