कहिले सिक्ने नेपालीले ब्यवसायिकता ?

 nepalplus_ko_lagi_0731“यदि तपाइलाई यहाँको खाना राम्रो लाग्यो भने सबैलाई सुनाउँदै हिँड्नुस, मन परेन भनेचाहिँ अरुलाई होइन हामीलाई भन्नुस” । तपाईलाई भोक लागेको छ । कुनै रेस्टुरेन्टमा पस्नुहुन्छ खाना खान । होटेलको सूची (मेनु) हेर्दा त्यस्तो लेखिएको देख्नुभयो भने वा बिदेशीले देखे भने के सोच्नुहुन्छ ? कस्तो छाप पर्छ ?

 

मलाई पोखरामा त्यस्तै भयो । दिउँसो मम खानु पर्‍यो भनेको । एकजना पोखरेली भाईले लेक साईडको लामा होटेल जाउँ भने । गईयो । मम खान मेनु हेर्नु परेन । पछि यसो हेरौं न के के रहेछ मम बाहेक भनेर मेनु मागेर हेरेको त अचम्म लाग्यो त्यो लेखेको देखेर ।

 

यस्तो पनि कहिँ ब्यापारको तरिका हो ? यसरि कहिँ ब्यापार चल्छ र ? त्यहाँ खाना नै नखाउँ भन्ने झोंक चलेको थियो । किनभने आफ्नै खानामा होटेलवालालाईनै बिश्वास छैन भने के खाने ?  तर मागिसकिएको त्यसै छोडेर हिँड्न पाइएन । कुनैपनि ग्राहकले त्यस्तो देखेपछि के सोच्छ ? यहाँको खानामा दिनेलाइनै भर रहेनछ भन्ने पर्दैन र ? राम्रो नराम्रो आफ्नो अनुभव के कसैले भन भनेर भन्ने र नभन भनेर नभन्ने हो र ?

 

त्यो एउटा मात्रै घटना होइन है फेरि । भोलिपल्ट डुंगामा फेवा पारीको गाउँ गइयो । रानीवनको काखमा रहेछ गुरुङ होटेल । भित्तामा मेनु छ । तर पेन्टले लेखेको सबै मेटिएको छ । पहिलेको मुल्यमा सबै सच्याएर हातैले मन लागि मुल्य टाँसिएको रहेछ । डुंगा चलाउने दाई थिए रामेछापका खड्का । २५ वर्षदेखि त्यहिँ डुंगा चलाएको रे । उनले पछि गजबको प्रसंग सुनाए । उनीहरु पर्यटक हेरि त्यसरि कागजमा हत्त न पत्त मुल्य सच्याएर टाँस्ने रहेछन । हामी त लौ नेपाली भयौं सबै सामन्यरुपमा लिउँला । तर बिदेशी पर्यटकले के सोच्छ जब मेनुमा जहाँ तहिँ सच्यएर कागज टाँसेको देखेपछि ? लौ भित्तामा पेन्टले लेख्न सकिएन रे । के हातैले शुद्द सँग लेखेर नयाँ मेनु बाँड्न सकिन्न र ?

 

डुंगामा बस्द बस्दै पुठ्ठा दुखिसकेका थिए । थकाईपनि लाग्यो । सोध्यौं, पोखरामा कोदोको ढिँडो र कुखुराको मासु अनि टिमुर राखेको अचारको खुब चर्चा सुनेको थिएँ । कहाँ पाइन्छ हँ स्वादिलो ढिडो र कुखुराको मासु ? दुइ तिन जनालेनै सिफारिस गरे फिसटेल होटेल जाने गेट अगाडिको सम्झना रेस्टुरेन्ट भन्दै । रेस्टुरेन्टको भित्तामा मुख्य खानानै त्यहि लेखिएको रहेछ-लोकल कुखुरा र कोदोको ढिँडो । लौ स्वादले खाने भैयो भनियो । खाना खोज्दा पाइदैन भने । नपाइने कुरा पनि लेख्ने हो र दिदी भनें।  होटेल्नी दिदीले उत्तर दिईन-लेखेको कुरा सबै कहाँ पाइन्छ त नी बाबु । ढिडो र लोकल कुखुरा त कहिलेकाहिँ मात्रै पाइने हो यहाँ त । अनि दालभात नै लडाएर हिँडियो ।

 

 

खाना खाएपछि केहिबेर इन्टरनेट चलाउन मनलाग्यो । बुद्द ट्राभल लेखेको ठाउँमा गइयो । पोखराको चर्चित लक्ष्मण रेस्टुरेन्टको ठ्याक्कै नजिकमा रहेको । अधिकांश ठाउँमा घण्टाको ४० रुपियाँको हाराहारीमा लिन्थे । त्यहाँ त ८० पो भने । मैले यहिँ लेक साईडमै त्यत्रो फरक पर्छ र ? अन्तत ४० रुपियाँमा गरेको थिएँ भने । साईबर वालाले हो र ? लौ त्यसो भए ४० मै गर्नोस भनेर कम्प्युटर खोले । अचम्म लाग्यो । खुरुक्क तिरेको भए आधा नै ठगिने रहेनछ त ? मिलाउने भनेकोपनि कहि आधा मुल्य हो र ? कति खाने रहेछन नाफा ? कति ठगिने रहेछन ग्राहक ?

 

nepalplus_ko_lagi_0871

 

पोखरामै फेवा लेकको किनारै किनार डुंगामा घुम्दा एक दिन ११ बज्यो । भोकपनि लाग्यो । फेवा पारीको सानो त्यो गाउँलाई पुम्दीभुम्दी भन्ने रहेछन । गाबिसनै त्यहि रहेछ । रानीवनको हरियाली छ । चराहरुले गित सुनाइरहेका छन।  तालकै किनारमा गुरुङ लज एण्ड रेस्टुरेन्ट लेखेको देखियो । त्यहाँ केहि खानुपर्‍यो भन्यौं । माछा खाने सल्लाह भयो । त्यहाँबाट ताल, तालमा माछापुच्छ्रे र अन्य हिमालको छायाँ, पोखराको द्रिष्य । पारी नौडाँडा सारा प्रष्ट देखिने । एक रात त्यहिं बस्न पर्ला जस्तो लाग्यो लेकसाईडको होटेलमा राखेका सामान बोकेर आएर होटेल एण्ड लज लेखेकोले होटेल साहुलाई सोधियो एक रातको कति पैसा पर्छ भनेर । उनले त हाम्रोमा लजनै छैन पो भने । लज नै नभने किन लेख्नु भएको त ? पर्यटकलाई दुख हुन्छ नि साईनबोर्डै हेर्दै तपाईकहाँ तालदेखि यहाँसम्म यत्रो उकालो चढेर आउनुपर्छ भनें मैले । उनले त झन ठग्ने नियतलेनै पो राखेका रहेछन । भने-लजपनि भनेपछि सुत्ने र खाने भनेर आउँछन । अनि यहाँ आइसकेपछि सुत्ने ठाउँ छैन भनेपनि केहि त खाएर जान्छन नि त्यहि भएर ।

 

चुपचाप लाग्नुको बिकल्प थिएन । लौ त भनेर माछा र पोटेटो फ्राई (आलु तारेको) मागियो । माछा त आयो तर पोटेटो चिप्स भनेको त होटेलका कुकले प्लाष्टिकमा पाइने तयारी चिप्सलाई तेलमा तारेर पो ल्याएर दिए । हाँसो लाग्यो । पोटेटो चिप्स यहि हो त भनेर सोधें, न उनलाई थाहै रहेनछ कि भनेर । उनलाई थाह त रहेछ । आलु नभएकोले यहि फ्राई गरेको भने । अचम्म, ग्राहकलाई मन पर्नु नपर्ने, सोध्नु नपर्ने । मनखुशि ट्क्र्यायो, ठग्यो ।

 

पोखराको लेकसाईडको लक्ष्मण रेस्टुरेन्ट असाध्यै चल्ने रहेछ । जतिखेरपनि भिडका भिड । मेनुपनि महँगै छ । खानापनि मिठो छ । तर ग्राहकले खाइसकेर चर्पी छिर्नुपर्‍यो भने आपत । ढोकापनि नलाग्ने । आफ्नो काम फत्ते नहुँदै कोहि आएर आपत पर्लाकि भनेर एक हातले ढोका समातिराख्नुपर्ने । चर्पीको मुख्य भाग जहाँ बिष्ट्याउनुपर्ने वा पिसाब खसाल्नु पर्ने हो त्यो त कालो न कालो । चर्पी हो भनेर आकारले मात्रै चिनिने । पुरै वरिपरि फोहोर नै फोहोर । चर्पी वरै साराले बिस्ट्याएकोले ढोकैबाट पिच्कारी हानेझैं जोडजुलुम गरेर पिसाब खसाल्नु पर्ने । त्यसो गर्न पनि पुरुषकालागि त मिल्ला नै । तर महिलाले गर्ने के ? ग्राहक धेरै आएर तत्कालालागि फोहोर भएको हो भनौं भनेपनि एकै दिनमा त्यति बिघ्न कालो कट्कटिएर ढाकिन त संभनै हुन्न । एउटा ग्राहकले रेस्टुरेन्ट पसेर खानुको अर्थ त्यहाँ राखिएका सबै चिज सुबिस्ताले उपयोग गर्न पाउनुपर्ने होइन ? एउटा रेस्टुरेन्टमा खाएर के अर्को कसैकहाँ चर्पी खोज्दै हिँड्ने ? यो त नेपालका स्कूल, क्याम्पस, अस्पत्ताल जताकोपनि समस्या हो । पोखराको घटना त उदाहरण मात्रै दिएको हुँ ।

 

फेवातालमा डुंगा भाडामा लिँदाको प्रसंग हो । दिनभरी एउटा डुंगा मात्रै भाडामा लिएको ५०० रुपियाँ । डुंगा चलाउने मानिस लानेहो भने प्रतिघण्टा ६० रुपियाँ । दुई पटक निर्क्यौल गरेर गइयो डुंगा चलाउने मानिस सहित । जति बढि समय घुम्यो प्रति घण्टा ६० का दरले थपे हुन्छ भने । फर्किँदा तिन घण्टा बढि भएछ । हिँड्ने बेलामा त होइन सर, कहाँ हुने, डुंगाकोपनि प्रति घण्टा २०० रुपियाँका दरले तिर्नुपर्छ भनेर लिए । अलिकति वादविवाद गर्‍यो कि काम नपाएका डुंगावालहरु सबै धुरिएर हो कि हो गर्ने रहेछन फेरि ।

 

फर्केर आइसकेपछि ज्ञानेन्द्रको दरबार नजिक भेट भए विजय पहारी । थुप्रै वर्ष त्यहि डुंगा चलाएका फेवामा । खुब फरासिला । उनी नर्वे जाने तरखरमा रहेछन । गफगाफका क्रममा डुंगाबाट भर्खरै ओर्लेको बतायौं । ओ हो मै लग्दिन्थेंनी सर भन्दैथिए उनी । हामीलाई त यसो भनेर यति लिए त भनें । लौ मज्जाले ठगेछन भन्दै थिए उनी । घुम्न गएका बेला पैसानै दुई चार सय ठुलो कुरा नहुन सक्छ । जानी जानी मजाले तिर्नु र ठगिनु एकै कुरा अवस्यै होइन । नेपालीहरुलाई हाकाहाकी यसरि ठग्नेले बिदेशी पर्यटकहरुलाई झन कुन कुन बहानामा ठग्छन होला ? पोखरामा मात्रै होइन है हुन त यस्तो । अन्यत्रपनि हुन्छ । खासगरि भारतसित सिमा जोडिएका क्षेत्रमा अतिनै हुन्छ । तर पोखरा आठ दश वर्ष पहिले पटक्कै यस्तो थिएन । अहिले ज्यादै अव्यवशायिक भएछन पोखरेलीहरु ।

 

 

छलफल गरें केहिसित । अरुको पनि अनुभव समान रहेछ । चितवनमा मेरा स्कूलका गुरु धनराज गिरीसँग भेट भयो । उनी नेपालमै गजल लेखनमा नामपनि कमाएका छन । त्यहि प्रसंगमा कुरा भयो । साहित्यकारहरुको टोली हो कि शिक्षकहरुको नेपाल भ्रमणमा गएको रहेछ । पूर्वदेखि पश्चिमसम्म जाँदा कहिँ सुखले खान, बस्न, सुत्न पाइएन रे । तराई भागमा चारैतिर खोला छन । ट्युवेलको पानी जतापनि छ । तर खाना खान दिँदा थालमा माटोनै हुने रे । साग चपाउँदा आँखा चिम्म गर्नु गर्ने रे । राम्रोसित नपखालिएर ढुंगा किरकिराएर  । दहि दिन्छन ध्वाँसोपनि नफाली । थाल वरिपरि फोहोर हुन्छ । देखायो भने हत्त न पत्त हातले स्वात्त पुच्छेर झन प्रदुषित बनाएर दिन्छन । खाना पकाईराखेको  हातले दाउरा साउरा जे पनि चलाउँछन । अनि नधोइकन त्यहि हातले रोटी बेल्छन्, खाना समात्छन । कोहि उल्टि होला झैं ख्वाक ख्वाक गर्छन खानाको अगाडि बसेर । सिंगान आयो बाहुलामा पुच्छ्यो अनि सकियो । खानामा छेस्का, रौं त सामान्य रुपले फेला पर्छ । भातमा ढुंगा लागेको हुन्छ । त्यति पनि केलाउन सक्दैनन । पर्यटक होटेल त्यो पनि निकै स्तरिय भए मात्रै हो नत्र आफु त के सुत्नु, उपियाँ र उडुस कुर्दैमा रात बित्छ । कतिपय ठाउँमा माग्नै पर्दैन त्यसै ल्याएर ख्वात्त खन्याइदिन्छन ।

 

धनराज सर भन्दै थिए-ए बाबा हामी गरिब छौं रे ल । बिलासि र आरामदायी बस्तु भएनन । तर सागपात पखालेर दिन, भान्छेले सफा लुगा लगाउन, भाँडा पखाल्न त पानी जतिपनि छ नी नेपालमा । कहिलेकाहिँ त यस्तो लाग्छ कि नेपालीले कहिल्यै व्यवसायिकता सिक्दैनन । कम्सेकम समय र परिस्थिति अनुसार केहि त सिक्दै जानुपर्छ । तर अहँ हाम्रो नेपालमा दश वर्ष पहिले जस्तो पारा थियो अधिकांश भागमा उहि छ अहिलेपनि ।

 

केहि नदेखेर, नसुनेर हो त ? अवश्यै होइन । अहिले कुनै पनि टोल त्यस्तो छैन जहाँका युवाले बिदेशका अनुभव नभोगेका, नदेखेका, नसुनाएका होउन । टिभी र रेडियो नपुगेको गाउँ छैन । तिनले धेरै कुरा देख्छन् । तराई भागमा त झन टिभी जतापनि देखिन्छ । चाहे सिक्नपनि सक्छन तर अहँ किन हो कुन्ने सुधार गरेको भने देखिन्न ।

 

तपाइँको प्रतिक्रिया