लगानीमा पनि सुनिने हो कि हाहाहा ?
● नवराज रोस्यारा / जर्मनी
गैरआवासीय नेपाली संघ (एनआरएन)ले भर्खरै आफ्नो क्षेत्रीय बैठक र पाँचौँ महिला भेला स्पेनको बार्सिलोनामा सम्पन्न गरेको छ । तर, विदेशबाट ठूलो मात्रामा लगानी भिœयाउनका लागि आशाजनक मानिएको एनआरएन बैठकमा पूर्वनिर्धारित समय तालिकाअनुसार कुनै पनि काम भएनन् । समयलाई महत्व नदिने नेपाली प्रवृत्ति देखेर निवर्तमान अध्यक्ष जीवा लामिछाने समापन कार्यक्रममा कड्किए, ‘लर्निङ बाई डुइङ भनेर सुरुदेखि भन्दै आएका छौँ तर एनआरएनको अभियान सुरु गरेकै दशक नाघिसकेकाले अब साँच्चिकै सिक्ने बेला आइसकेको छ ।’ गम्भीर भएर लागिपरे नेपालीले पनि पूर्वनिर्धारित योजनाअनुसार काम गर्न सक्ने तर्क प्रस्तुत गर्दै उनले थपे, ‘विदेशीको नेतृत्वमा काम गर्दा हामी बनेको समय तालिकालाई अनुसरण गरेर आफ्नो कार्यदक्षताको राम्रो प्रमाण पेस गर्न सक्छौं । तर आफैँले नेतृत्व गरेका कार्यक्रमको आयोजना गर्दा किन यस्तो लापरबाही ?’
समयको ख्याल नगरिएकै कारण तोकिएका विषयमध्ये कुनैमा अनावश्यक लामो छलफल भयो भने महत्वपूर्ण ठानिएका केही विषयका लागि समय नपुग्दा सहभागीको असन्तुष्टि पनि तीव्र थियो । ‘एनआरएनएको संस्थागत विकास, व्यवस्थापन र सञ्चालन’ विषयमा कार्यपत्र प्रस्तुत गर्ने जिम्मेवारी पाएका संघका महासचिव कुमार पन्त गुनासो गर्दै थिए, ‘पावर प्वाइन्ट प्रिजेन्टेसन भनेर चार, पाँच दिन तयारी गरेको भेलामा आइसकेपछि समय अभावका कारण तपाईंको प्रस्तुती हटाउनुपर्ने भयो भनेर आयोजकले अनुरोध गर्न थाले ।’ १२ बजेका लागि तोकिएको लन्च दिउँसो २ बजे पाइएको थियो भने साँझ सात बजे दिने भनिएको डिनर सुरु हुँदा राति साढे १० बज्यो ।
भद्रगोल पाराले छलफल गर्ने प्रवृत्तिमा सुधार गर्न नसकिए पनि सातौँ क्षेत्रीय भेलामार्फत परोपकारका काममा भने एनआरएनले दिल खोलेर सहयोग गर्ने भएका छन् । गर्न लागिएको काममध्ये सबैभन्दा ठूलो योजना ‘बागमती नदीको शंखमूल क्षेत्रको ३२ रोपनी जग्गामा आधुनिक उद्यान तथा घाट निर्माण गरी हेरचाह तथा व्यवस्थापन’ कार्य रहेको छ । मुख्यसचिव लीलामणि पौडेल नेतृत्वको अधिकारसम्पन्न बागमती सभ्यता विकास समितिको आग्रहमा परियोजनाको एक साझेदार भएर एनआरएनएले उक्त जिम्मा लिएको हो । १ करोड ९४ लाख लागतमा चालू वर्ष ०७१ भित्रै निर्माण गरिसक्ने लक्ष्य राखिएको ‘शंखमूल उद्यान तथा घाट’ को अवधारणालाई नक्सा र परिकल्पित फोटोसमेत प्रयोग गर्दै महासचिव पन्तले प्रिजेन्टेसन गरिसकेपछि त्यसमा सहयोग गर्न सबैलाई आह्वान गरिएको थियो ।
लगत्तै एनआरएनहरूले भरिएको उक्त हलको वातावरण निकै रोमाञ्चक र मोल बढाबढ गरी सामान बेच्दा पैसा हाल्न तयार हुने व्यक्तिहरूको प्रस्तुतिसँग दाँज्न मिल्ने किसिमको बन्यो । उद्यान तथा घाट निर्माणका लागि सबैभन्दा बढी रकम हाल्न तयार हुने व्यक्तित्वमा संस्थापक अध्यक्ष उपेन्द्र महतो (२५ लाख नेपाली रूपैयाँ), वर्तमान अध्यक्ष शेष घले र उपाध्यक्ष भवन भट्ट (१५ लाख), बेलारुस निवासी नीरजगोविन्द श्रेष्ठ र जीवा लामिछाने (दश लाख), कुमार पन्त, कुल आचार्य र चन्द्र ढकाल (पाँच लाख) रहेका छन् ।
एनआरएनए च्यारिटीको अर्को महत्वपूर्ण विषय नेपालमा आफ्नै भवन निर्माण रहेको छ । निर्माण समिति प्रमुखसमेत रहेका वर्तमान अध्यक्ष शेष घलेका अनुसार भवन निर्माणको खर्च करिब १५ करोड हाराहारीमा अनुमान गरिएको छ । उनले भवन निर्माण कार्य यसै वर्ष सुरु गरिसक्ने जनाएका छन् ।
‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने मूल नाराका साथ सुरु भएको दश वर्षीय एनआरएनए आन्दोलनको अर्को पाटो विदेशमा बस्ने नेपाली नागरिकको निरन्तरतासँग पनि जोडिएको छ ।
‘वंशजका आधारमा नेपाली नागरिकता लिए पनि काम र पढाइको खोजीमा बिदेसिन बाध्य एनआरएनले सार्क मुलुकबाहेक कुनै अर्को देशको नागरिकता लिनुपर्ने अवस्था आए आफ्नो देश नेपालको नागरिकता त्याग्नु नपर्ने व्यवस्था’ अहिले निर्माण भइरहेको संविधानमा पार्न एनआरएनए कूटनीतिक पहलमा लागेको छ । क्षेत्रीय भेलामा सहभागी पूर्वपरराष्ट्रमन्त्री तथा संविधानसभा सदस्य डा। प्रकाशशरण महतले नागरिकतासम्बन्धी मागमा आफ्नो पूर्ण समर्थन रहेको जनाउँदै संविधानसभाका अन्य सदस्य र राजनीतिक पार्टीसँग सहमति जुटाउनुपर्ने बताएका छन् । अर्का सहभागी नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष विश्वकान्त मैनाली पनि एनआरएनलाई नेपाली नागरिकतामा निरन्तरता दिँदा देशलाई कुनै समस्या नपर्ने देख्छन् । नागरिकता निरन्तरताका लागि एनआरएनएका प्रमुख संरक्षक रामप्रताप थापाको नेतृत्वमा एक टोली बनेको छ ।
जलस्रोत क्षेत्रमा सामूहिक लगानी गर्न एनआरएन इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड गठन गरेर अहिले त्यसको नेतृत्व गरिरहेका छन्, निवर्तमान अध्यक्ष जीवा लामिछानेले । तर, अझै लगानीकर्ता थपेर अरू सामूहिक लगानीलाई बढावा दिने तत्काल मनसाय छैन । कारण थोरै मात्रामा मात्र लगानी गर्न सक्ने धेरै व्यक्तिलाई समेटेर लगानी गरे, त्यसको व्यवस्थापनमा निकै समस्या उत्पन्न हुने चिन्ता छ । भन्छन्, ‘मैले रिस्क लिएर एउटा प्रोजेक्ट सुरु गरेँ, संयुक्त लगानीका थप योजना ल्याउन आगामी दिनमा एनआरएनएको अध्यक्ष बन्ने चाहना भएका अन्य व्यक्तिले पहल गर्नुपर्छ । आगामी नयाँ कार्यकालको अध्यक्षका दावेदार वर्तमान महासचिव कुमार पन्त पनि आफूले जर्मनीमा सञ्चालन गरिरहेको होटल व्यवसायमा आर्जन गरेको सीप र अनुभवलाई प्रयोग गर्दै सामूहिक लगानीको माध्यमबाट एक प्रोजेक्ट सञ्चालनका लागि प्रयास गरिरहेको बताउँछन् ।
एनआरएनएको केन्द्रीय विधानअनुसार तलका कमिटीको विधान परिवर्तन गरेर एकरूपता ल्याउने, युवाको भूमिकालाई प्राथमिकता दिन युवा भेला र सम्मेलन गर्ने, एनआरएनएलाई संस्थागत गर्न नयाँ पिँढीका रूपमा रहेका बच्चाहरूलाई ध्यानमा राखी थप कार्यक्रम तय गर्नेजस्ता विषय पनि बार्सिलोना भेलाका महत्वपूर्ण निर्णय हुन् । समापन कार्यक्रममा एनआरएनएका युरोप संयोजक अर्जुन श्रेष्ठ, उपाध्यक्षद्वय टिबी कार्की र भवन भट्टदेखि उपेन्द्र महतो, जीवा लामिछाने, शेष घलेसम्मका सुपरिचित केन्द्रीय व्यक्तित्वले पारित योजना कार्यान्वयन गरिछाड्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यसो त एनआरएन गैरराजनीतिक संस्था भएको विधानमै उल्लेख गरिएपनि व्यवहारमा भने राजनीतीकरण प्रस्ट देखिन्छ । निवर्तमान अध्यक्ष जीवा लामिछाने भन्दै दिए, ‘आस्थाका आधारमा प्यानल बनाई नेतृत्व चयनका लागि गराइने चुनावमा भाग लिने परिपाटी बढ्दै गएको र पार्टीले यसलाई झन् बढी प्रोत्साहन दिएको पाइएकाले त्यसो नगर्न शीर्ष नेतालाई भेटेरै दबाब दिएका छौँ ।’ महासचिव कुमार पन्त एनआरएनएका हरेक सदस्यले यो संस्थाको सदस्य भइसकेपछि कुनै पनि किसिमको राजनीति गर्ने छैन भनी लिखित हस्ताक्षर गर्दै शपथ खानुपर्ने व्यवस्थाका लागि आफूहरूले पहल गरिरहेको बताउँछन् ।
उद्घाटन कार्यक्रममा सबैभन्दा भावुक संस्थापक अध्यक्ष महतो समापन कार्यक्रममा भने भिन्न तरिकाले प्र्रस्तुत भए । प्रश्न गरे, ‘तीन दिनसम्मको छलफल सकिएपछि पनि आज हामी दिल खोलेर हाँस्न सक्छौं कि सक्दैनौं ? यदि, सक्छौँ भने मात्र सन्तुष्ट भएको प्रमाणित हुन्छ ।’ महतोको वाक्यलगत्तै तल फ्लोरबाट कसैले ‘एस वी क्यान’ भनेको सुनियो । त्यसपछि महतो ठूलो स्वरले कराउँदै गए, ‘हा हा हा हा, ल सबै हाँसौँ ।’ महतोले ‘हा हा हा’ गर्न थालेपछि भाषण सुन्न फ्लोरमा बसेका व्यक्तिमा एकछिन त सन्नाटा नै छायो । तर, लगत्तै फ्लोरमा बसेको एक तीन वर्षीय बालक नक्कल गर्दै हात हल्लाएर ठूलो स्वरले चिच्याउन थाल्यो ‘हा हा हा, हा हा हा ।’ ती बालकले अध्यक्ष महतोको नक्कल गरेको देखेपछि सबै व्यक्ति हाँस्न थाले, हलभरि ‘हा हा हा, हा हा हा’ को गुन्जायमान भयो ।
(रोस्यरा एनआरएनए जर्मनीका वरिष्ठ उपाध्यक्ष हुन्, यो लेख जन आस्था साप्ताहिकबाट लिएको हो)




