“भए भरको पूँजी र मेहनत लगाएर विश्वास नलागेको पार्टीलाई किन सेवा गर्नु ?” शेर्पा

pg-sherpa-belgium

पि जी शेर्पा (पेम्बागेल्बु शेर्पा) बिदेशमा रहेका नेपालीले बारम्बार सुन्दै आएको नाम हो । गैह्र आवाशिय नेपाली संघ (एन आर एन) का एक दह्रा अभियन्तापनि थिए उनी । सधैं च्वाट्टै काट्ला जस्तो धार लागेको पेन्ट, सुकिला लूगा, च्याट्ट परेको टाई र टिलिक्क टल्किएको जुताको पहिरनमा मुसुक्क मुस्काउँदै प्रस्तुत हुन्छन् उनी सधैं । नरम, सुस्त र मिठो बोल्ने उनलाई धेरैले एकदम चलाख, सहयोगी र मित्रवत शेर्पा भनेरपनि चिन्छन् । जनजातिमा उनी यति लोकप्रिय छन् कि उनलाई विदेशमा रहेका जनजातिहरुले एन आर एनको केन्द्रिय अध्यक्षका रुपमा लड्न बारम्बार दबाब दिएको र त्यसकालागि जुनसुकै मूल्य चुकाउन जनजातिहरु तयार रहेको प्रसंगपनि सुनिन्छ । त्यसैले, जनजातिहरुमा त उनी लोकप्रिय छन् नै, एन आर एनमा चासो राख्ने र पछिल्लो समयमा नेपालको राजनितिक प्रक्रियामा लाग्नेहरुकाबिचमापनि परिचित हुँदै गएका छन् । तरपनि उनी कस्तो बिचार राख्छन् ? कस्ता ब्यक्ति हुन् भन्ने कुरा उनले कतै खुलाएका छैनन् । संघिय समाजवादी पार्टी गठन भए लगत्तै एक्कासि उक्त पार्टीको युरोप संयोजक भनेपछि उनकाबारेमा झन धेरैलाई जान्ने खुल्दुली छ। त्यहि कारणले गर्दा संघिय समाजवादी पार्टीमा उनको संलग्नता, उनको पार्टीको अवस्था र उनका केहि ब्यक्तिगत कुरामा केन्द्रित रहेर उनीसित नेपालप्लस डटकमे अन्तर्वार्ता लिएको छ । ब्यक्तिगत भेटघाटमा मुसुक्क मुस्काएर, नरम तरिकाले बोल्ने गरेपनिपनि पार्टी प्रतिनिधित्व गर्नुपर्ने भएकोले होला, अन्तर्वार्तामा चाहिँ उनी कडा र हक्कीरुपले प्रस्तुत भए ! 

तपाई एन आर एनमा पनि छोड्नुहुन्न । संघिय समाजवादी पार्टीको नेतापनि बन्नु भएको छ । केहो यस्तो दोहोरो भूमिका ?

एन आर एन बिदेशमा बस्ने नेपालीहरूको साझा सन्जाल हो । म पनि त्यो मध्येको एक भएको नाताले लागेको हुँ । नेपालीको लागि नेपाली भनेर ।  ब्यक्तिको योगदानको मुल्यांकण नहुने राजनितिक शक्ति प्रदर्शन हुने थलो बनेको हुनाले र नेपालमा नै पनि केन्द्रमुखी राजनितीक संरचनालाई संघियतामा लगेर सन्तुलित शक्ति वितरण हुन आवस्यक ठानी जीवन मैं पहिलो पटक नेपालको नयाँ संघिय समाजवादी राजनितिक पार्टीमा सामेल भएको हुँ । 

एन आर एनलाई गैह्र राजनितिक संस्थापनि भन्ने अनि आफैं पार्टीको नेता भएर घुस्ने, राजनिति भएन ?

एन आर एन गैर राजनितिक संस्था हो र सधै गैरराजनितिक नै रहन्छ ।  तर पात्रहरू सबै राजनितिक दलका सक्रिय साथीहरू छन ।  यसैले एन आर एन ए प्रति सबैको वितृष्णा जागेको छ । राजनितिक प्लेटफर्म जस्तै बनाएपछि राजनिति भयो नै । तर संघिय समाजवादी पार्टी नयाँ छ र अछुतो छ त्यसबाट ।

एन आर एनमा हुँदा जति इज्जत र प्रतिष्ठा थियो पिजी शेर्पाको, पार्टीमा लागेपछि धुलो भो भन्छन् नी !

एन आर एन ए मा हुँदा एन आर एन भित्र मेरो स्थान थियो । तर अघि नै भनें कुनै राजनितिक पार्टीको समर्थन र प्रवर्धन गरिएन भने मुल्यांकण र स्थान नमिल्ने पक्का रहेछ । आफ्नो समय, ईमान्दारिता, पूँजी र मेहनत लगाएर आफूलाई विस्वास र ईच्छा नलागेको पार्टीलाई किन सेवा गर्नु ? बरू आफैं सारा नेपालीको सेवा गर्ने नयाँ पार्टी निर्माणमा लाग्नु बुध्दिमानी होला नि ! र अहिले मलाई एन आर एनका साथीहरुको साथै एक करोड ३० लाख आदिवासि जनजातिले चिन्दछ । त्यस्तै संघिय समाजवादी पार्टीको हैसियतले सारा नेपालीले चिन्दछ । अब धुलो पिठो के भयो आफै भन्नुस् । भविष्यमा एन आर एन ए भनेको बढीमा ३ लाख देखि ५ लाख स्थायी गैर आवसियहरूको मात्र संस्था हुने छ । र यो पैसावालाको मात्र हुन सक्ने पनि प्रवल सम्भावना देख्छु ।

pg-sherpa-2तपाईबाट एन आर एनका उच्च नेताहरु टाढिएको किन त ?

म बाट एन आर एन का नेताहरू टाढा भएको जस्तो लाग्दैन । तर मुद्दादेखि चाहिँ टाढा भएका छन् । बिकसित संघिय समाजवादी मुलुकमा बस्ने सौभाग्य पाई शीप र पूँजी आर्जन गरेका साथीहरू यस्तो त नहुनुपर्ने हो । देशलाई सम्पन्न बनाउँछु भनेर नारा र भाषण मात्र गरेर त हुँदैन होला । देशको वास्तविक रोग पनि पहिचान गर्नुपर्छ । त्यो रोगको उपचारपनि गर्नुपर्छ ।

तपाई संघिय समाजवादी पार्टीमा लाग्नु अघि राजनितिक रुपमा कतै पनि देखिनुभएको थिएन ? के लोभ, के बिचारले अकस्मात लाग्नु भो संघिय समाजवादी पार्टीमा ?

लोभ लालचाले पार्टीमा लाग्ने मान्छेबाट नागरिक र देशले के पाउन सक्छ ? हो हिजो देखि आजसम्म नेतृत्व गर्ने सबै खाले संस्था र दलहरूमा लागेर भोट दिएर के पायौं त तपाई हामी नेपाली जनताले ? त्यसैले हिजोसम्म म कुनै पार्टी प्रति आकर्षित भईन । अर्को महत्वपूर्ण कुरा तस्कर, गुण्डा, डन, भ्रष्टचारी जनद्रोही र देशद्रोही संरक्षण गर्ने संस्था र पार्टीहरूमा कसरी लाग्न सकिन्छ र ?

अशोक राई जस्तो स्वच्छ मान्छेले खोलेको पार्टी । भयंकर हुन्छ, नाम र ईज्जत हुन्छ । पदपनि ठूलो पाइहालें भनेर हाम्फाइहाल्नुभएको होला नी !

अशोक राई स्वच्छ मानव नै हो । नत्र ३० बर्षको राजनितिक जीवन पारपाचुके गर्ने थिएन । त्यही धमिलोमा माछा मारीरहनुहुन्थ्यो । हामी पदलाई स्थाई मान्दैनौं कामलाई मान्छौ ।  केही काम गरेर विश्राम लिन पाए खुशी हुन्छौं । हामफाल्ने भनेको राम्रो नि होईन र यस्तो गर्नु नि हुन्न ।

pg-sherpa-belgiumसंघिय समाजवादी पार्टीलाई पहिले सोचे जस्तो गरि विश्वास त गरेनन् जनताले । किन ?

कस्ले विस्वास गरेन हजुर ? ६७ जिल्ला र २०, २२ देशमा अन्तरराष्ट्रिय सन्जाल बनीसकेको छ । यो भन्दा ठुलो विस्वास के पाउनु हुन्छ एक डेढ वर्षमा ?

अशोक राई आगामी प्रधानमन्त्री भनेर तपाईलेनै लेख्नुभएको थियो । तर दुई तिन सिट पनि जित्न सकेनन् नी संविधान सभाको चुनावमा त ?

अशोक राई आगामी प्रधानमन्त्री भन्नुको मतलब संघिय समाजवादी पार्टी पनि त्यो उचाँईमा आगमी निर्वाचनबाट पुग्न सक्छ । प्रतिक्षा गरौं । संबिधान सभाको चुनावमा त सेना प्रयोग भयो । लोकतान्त्रिक र षड्यन्त्रमुलक भयो कि भएन तपाई आफै भन्नुस् ।

बिदेशमा संघिय समाजवादी पार्टीको उपस्थिति राम्रो देखिने । तर नेपालमा खासै नदेखिने किन ?

यस्तो होईन होला । नेपालमा बृहत् पार्टी विस्तार उच्च स्तरमा पनि भईराखेको छ । बिचार र मिल्ने, समान निति भएका अन्य पार्टीहरुसित वार्ताहरू चलीराखेको छ । गाउँघरमै गएर पार्टी विस्तार र जागरण अभियान चालु गरिएको छ । बिदेशमा शिक्षित र चेतनशील युवा पुस्ता भएकोले स्वतस्फुर्त पार्टी प्रति र पार्टीको सिद्धान्त र उदेष्यहरू प्रति सजिलैसित, उत्साहपूर्वक आकर्षित भएका छन् ।

pg-sherpa-2ठूलो पार्टी होला भनेर लागेको, सोचे जस्तो भएन । तपाईलाई पस्चाताप होला है संघिय समाजवादी पार्टीमा लागेकोमा ?

पार्टी सोचे भन्दा ठुलै भएको छ । ६८ जिल्लामा उम्मेदारी दिएर संबिधान सभाको चुनावमा पाँचौं ठूलो पार्टीको दर्जामा उभिएको थियो । एकै पटकको हार जीतमा पश्चाताप गर्नुपनि हुँदैन । धेरै हर्ष मानेर उमंगीत पनि हुनु हुन्न ।

किन संघिय समाजवादी पार्टीले राम्रो नतिजा ल्याउन नसकेको होला ? एमाले बिग्रियो भनेर पार्टी फुटाल्नु भो अशोक राई, राजेन्द्र श्रेष्ठ र आङकाजी शेर्पाहरुले । तर त्यहि पार्टी ठूलो भो त झन !!

किन राम्रो नतिजा ल्याउन नसकेको भन्ने त कारणहरू थुप्रै छन् । पार्टीको तर्फबाट भन्दा छोटो चार महिनाको समयमा विना तयारी राष्ट्रिय निर्वाचनमा भाग लिनपर्नु अवस्था आयो । अरू कारण मध्ये सेना र सिन्डिकेट छँदै छन् ग्रान्ड डिजाईनरहरू ।

संविधान पहिचान सहितको त नबन्ने भो, किनकि एमाले र कंग्रेसको बहुमत पुग्छ । पहिचान सहितको संघिय संविधान नबने के गर्छ तपाईको पार्टीले ?

बहुमतले संबिधान बनाउने होईन । संबिधान सभाले संबिधान बनाउने हो । पहिचान सहितको संघिय संबिधान नबने के गर्छ संघिय समाजवादीले ? मेरो बिचारमा देशव्यापी बिरोध अवश्य गर्छ जन भावना र चाहाना विपरीत संबिधानको ।

के आन्दोलन गर्ने ? पार्टीनै आन्दोलन गरेर पार लगाउने हैशियतको छैन सक्ला र पार लाउने खालको आन्दोलन हाँक्न ?

पार्टी दरो छ । किन कि संगठन दरो छ । कार्यकर्ताहरू पनि दरो छन् । आन्दोलन जनताले चाहेर हुने हो । पार्टी चाँहि आन्दोलनको ड्राईभर हो ।pg-sherpa-1

के पहिचान सहितको संविधान नबनेमा हतियार सहितकै आन्दोलन गर्ने हिम्मत गर्छ तपाईको पार्टीले ?

हाम्रो विश्वव्यापी अहिंसा र मानव अधिकारमा आधारित समाजवादी राजनैतिक पार्टी हो र हाम्रो पार्टीको हतियार नेपाली जनता हो ।

कि बैध्य माओवादीसित मिल्छ संघियता र पहिचानको मुद्दामा ?

वैध्य जी मात्र होईन ।  धेरै पहिचान पक्षधर पार्टीहरू र वौद्दिक व्यक्तित्वहरूसँग मेलमिलाप र संगठनको कुरा हुन्छ ।

युरोपमापनि खासै जमाउन सक्नु भएन त पार्टीलाई किन ?

युरोपमा संघियता र समाजवाद सिकाउनुपर्ने साथीहरू हुनु हुन्न । वहाँहरू दिनदिनै संघियता र समाजवाद भोगचलन गरीराख्नु भएको छ । प्रतिफलपनि लिईराख्नु भएको छ । त्यसैले संघिय समाजवादी नेपालीहरूको कमी छैन ।

तपाईहरु समानताबादी भन्दापनि जातिबादी हुनु भो भन्छन् नी !! अनि कसरि पार्टी ठूलो हुन्छ त ?

अधिकार विहिनलाई अधिकारले सुसज्जित गर्नुपर्छ भन्दा र देश संघियतामा जानुपर्छ भन्दा जातिवादी भन्ने साथीहरूले नैतिक, राजनितिक, नागरिक र सामाजिक शिक्षा अझै अध्यन गर्नु बेश होला । पार्टी कति ठुलो भन्दापनि पार्टीका मुद्दाहरु कति भारी छन् भन्ने महत्वपूर्ण हो । भात पाक्न चुलो कति ठुलोसँग सरोकार हुन्न । आगो कति तातो छ भन्नेसँग सरोकार हुन्छ, होईन र ?

पार्टी चाहिँ कडा पहिचानबादी । नितिगत रुपमा कांग्रेसको खेदो खन्ने । तर तपाई चाहिँ एन आर एनमा पद भनेपछि कांग्रेससित मिल्नु भो नी ! अझ राजाको पाउमा प्रजातन्त्र लगेर बिसाउने कडा राजाबादी देउवा पक्षसित । यस्तो दोकला नितिले चल्छ ?

पार्टी तपाईले भने जस्तै कड़ा एकल पहिचानको पक्षधर हो । पहिचानको पक्षमा नभएकाहरूको नितीगत रूपमा वैचारिक खेदो खनिन्छ । तर आवेशपूर्ण गतिबिधि हुँदैन । स्थानिय एन आर एनको निर्वाचन र समिति चयनमा वार्ता, सहमती, सम्झौता सबै वादीहरूसँग हुन सक्छ । त्यसो गरेर सहमती नगरे निर्वाचन हुन्छ ।

janajati-programme-24-02-2013 053पद लिने बेला चाहिँ अनेक अर्थ लगाएर साझा सवाल भनेर कसरि पार्टीको अडान रहन्छ ?

साझा सवालमा सबै एकै ठाउँमा आउन सक्नुपर्छ चाहे त्यो संबिधान, बिकास निर्माण योजना वा परियोजना अथवा एन आर एनको सवालमा होस ।

गोर्खाली सेनाको नाममा बेल्जियमको ईपरमा बन्न लागेको स्मारकको मुद्दा कहाँ पुग्यो ?

गोरखाली सेनाको स्मारक बनाउने मुद्दा ईपरको मेयरको टेवलमा पुगेको छ । अर्को नेपाली दूतावास ब्रसेल्समा थन्कीराखेको छ । हामीले त्यो मुद्दालाई दुतावास समक्ष त्यसरि दुतावासमा नथन्काउनुस् । बेल्जियमबासी नेपालीलाई जिम्मा दिनुस् भनिराखेका छौं ।

तपाईले पार्टीको राजनितिमा बढि स्वार्थ राखेकोले जनजातिको तर्फबाट त्यो स्मारक बन्नुपर्छ भनेर खासै कस्सिनु भएन रे !

जनजातिको तर्फबाट मात्र होईन ।  म आफै एन आर एन आई सि सि सदस्य हुँदा पनि तमु समाज बेल्जियमकै अगुवाईमा काम गर्न दिनुपर्छ भन्ने व्यक्ति हुँ । आदिवासि जनजाति र एन आर एन आई सि सि दुवैको तर्फबाट तमु समाज बेल्जियमको संयोजकत्वमा समिति बनाएर किनारा साक्षी बस्ने ब्यक्ति पनि म नै हुँ । यहाँ भन्दा धेरै म के भनुँ ?  यस मामिलामा अरू साथीहरू पनि लागिपर्नु भएको छ ।

भन्नुस् न अहीले कहाँ पुग्या छ त्यो मुद्दा ? जनजातिकै तर्फबाट बन्छ त ? कि फेरि राजनिति हुन्छ ?

मुध्दा कहाँ पुग्यो माथी भनी सकेको छु । नेपाली दूतावासले फोहोरी हात निकालेर नेपाली समाज बेल्जियमलाई दिनुपर्छ । सबै नेपालीहरूको योगदान र प्रयासले बन्छ ।

pg-sherpa-belgium-2संघिय समाजवादी पार्टीको युरोपमा स्थिति कस्तो छ ? छोटकरीमा भन्न मिल्छ ?

हेर्दै जानु होला संघिय समाजवादी पार्टी युरोपको स्थिति थाहा पाईहाल्नु हुन्छ । माथि पनि भनीसकेको छु । फेरी किन दोहोराईरहनु ।

ब्यक्तिगत कुरो सोधौं ल ? तपाई शेर्पाको छोरो । धेरैले हिमाल चढेका छन् । तपाईकै साथीहरु, आफन्तपनि होलान् शेर्पाहरुले पदयात्रा गर्ने, भारी बोक्ने गरेका छन् । हिमालमा कठिन जिवन गुजारेका छन् । तपाई युरोपमा टाई सुट लगाएर, गाडी चढेर राजनिति गर्दै हिँड्नुहुन्छ । तपाइ कति भाग्यमानी है ? धनी शेर्पाको छोरो भएर ? नत्र केले र कसरि जुर्यो यस्तो अवशर ?

शेर्पाको छोरो ठिक कुरो हो । तर सबै शेर्पाहरू सगरमाथाको टुप्पोमा पुगेर नाम कमाएको र दाम कमाएको चाहिँ होईन । पहिलो शेर्पा भए । धेरै चोटी चढ़ने शेर्पा र पछिल्लो सबैभन्दा छिटो, छोटो समयमा टप लिएर फर्कने पनि शेर्पा भए । सबै नेपालीले दुःखको मजदुरी काम गर्छन । म धनीको छोरो चाँहि विल्कुल होईन । गाड़ी युरोपमा जसलेपनि चढ्नसक्छ । टाई सुट मेरो अफिसियल ड्रेस नै हो । म नेपालमै बच्चा हुँदा देखि नै आईरन लगाएको पेन्ट र सर्ट लगाउन रुचाउँथें । मैले पनि शेर्पा भएको नाताले ट्रेकिँग गाईड गरेको छु । उच्च हिमाली पर्वतारोहण तालिम पनि गरेको छु । हिमाली क्षेत्रमा आपत बिपत पर्दा गरिने उद्दार र सुरक्षा तालिमपनि लिएको छु । मलाई पनि यो अवशर युरोपको हिमाल र साथीहरूले नै दिएको हो ।

आफ्नो तर्फबाट केहि भन्नुपर्ने छ कि ?

अन्तमा, नेपाली नेपाली वीच राजनितिक शंकाको घेरा तोडिनु पर्दछ । संघियता, पहिचान, बराबरी अवसर, गणतन्त्र, धर्म निरपेक्ष, समानुपातिक, समाबेसी सामाजिक समाजवादी राजनितीको बिकास गर्नुपर्दछ । यही वमोजिमको मानव अधिकारको पुरा पुरा सम्मान, संरक्षण र पालना भएको नयाँ संबिधान जारीहोस भन्ने कामना गर्दछु । अति अमानवीय दुर्व्यवहार सहेर काम र माम खोज्न नपरोस नेपाल माताका सन्तानहरूले । ५० डिग्रीको मरूभूमी ताक्न नपरोस सारा नेपालीले । नेपाल राम्रो, सम्पन्न मुलुक बनाउन सबै मिलौं कुनै बैरभाव, दुश्मनी, द्वेश र इर्ष्या नराखी । यहि अनुरोध सबै नेपाली दाजुभाई दिदीबहिनीहरुसित राख्न चाहन्छु ।

(पहिलो, दोस्रो, तेस्रो र चौथो फोटो शेर बहादुर छन्त्यालले खिचेका हुन् )

तपाइँको प्रतिक्रिया