“युरो कांग्रेस लाहुरे दाईहरुको मनोरञ्जन गर्ने थलो” क्षेत्री / “युरो कांग्रेस युरोपभित्रका सबै कांग्रेसको साझा संस्था” गौतम

gangadhar-gautam-and-indra-chhetri-belgium

नेपाली कांग्रेस देश भित्र जसरि बिभाजित छ, उसैगरि प्रवाशमापनि बिभाजित छ । पद र बिचारको लडाईका नाममा तानातान, खिचातानी र निषेधको राजनितिमा ब्यापक भिडन्त छ युरोप कांग्रेसमापनि । देउवा पक्ष र कोइराला पक्ष भनेर कोहि चिनिन चाहन्न । तर नेपाली कांग्रेसमा आस्था राख्ने र नराख्नेहरुले त्यसैगरि अलग अलग रुपले चिन्छन् युरो कांग्रेसभित्रका कार्यकर्ता, स्थानिय नेताहरुलाई । आगामी मे को २७ तारिख नेदरल्याण्ड्समा युरोप भरिका कांग्रेसहरुको ब्रिहद भेला भनेर घोषणा गरिएसँगै युरोपभित्रका नेपाली कांग्रेसहरुबिच ब्यापक बिबाद, आन्तरिक कलह र मनमुटाव शुरु भएको छ । बाहिर कम देखिने, सुस्त पाराले चल्ने, कांग्रेसको आदर्शलाई बढि समातेर बहस गर्न रुचाउने र सांगठनिक क्षमता भएका, कांग्रेसमा क्षमतावान भनेर चिनिन्छन्, इन्द्र क्षेत्री । संगठन र आफ्नो पकड जमाउन सिपालु, युवाहरुलाइ परिचालित गर्न जानेका, निति र आदर्श भन्दा जसरिपनि संगठन बलियो बनाउन भनेर कस्सिने, खट्ने र देउवा पक्षका कुशल संगठक भनेर चिनिन्छन् गंगाधर गौतम । क्षेत्री नेपाली कांग्रेसको महा समिति सदस्य हुन् भने गौतम जनसंपर्क समिति युरोपका महामन्त्री । युरोपभित्र नेपाली कांग्रेसको बिवाद र वास्तविकता के हो भन्ने बुझ्न सजिलो होस् भनेर  कोइराला समूहका भनिने इन्द्र क्षेत्री र देउवा समूहका भनेर चिनिने गंगाधर गौतमसित केहि जिज्ञासा राखेका थिए बेल्जियमस्थित पत्रकार सन्तोस न्यौपानेले । कांग्रेसको राजनिति, बिबाद बुझ्न सजिलो होस् भनेर दुबै जनालाई समान प्रश्न सोधिएको थियो । प्रसंगवश एउटा प्रश्न गंगाधर गौतमलाई बढि पर्न गएको छ । बाँकि प्रश्नमा दुबैको जवाफ पहिलो र दोस्रो गरि आलोपालो गरेर राखिएको छ-नेपालप्लस डट कम

यूरो कांग्रेस र जन सम्पर्क समितिको औचित्य के ? केहि बर्ष अगाडी गठन भएको यो तदर्थ समितिका धेरै पदाधिकारीहरु जबर्जस्त नाम राखेको भन्ने तर्क दिईरहेका छन ? वास्तविकता के हो ?

ईन्द्र : युरोप महादेशमा काँग्रेसको जनमत बढाउने राम्रो उद्देश्यका साथ यो सँस्थाको गठन भएको थियो । यो सँस्थाको परिकल्पनाकार मध्ये म पनि एक हूँ । यसको अवधारणा,साँगठनीक स्वरूप र विधान मैले नै लेखेको थिएँ । तर यसमा नराम्रो प्रवृत्ति हावी हुन गयो र स्थापनाको करीब एक दशकसम्म अधिवेशन हुन सकेको छैन । एकाध मानिसहरू यसको नाममा रमाइलो गरिरहेका छन् । युरोपभरी विभिन्न देशमा जनसम्पर्क समितिहरू गठन गर्ने ध्रुवराज पौडेललाइ निषेध मात्र होइन हदैसम्मको अपमान गरिएको छ । दुइजना मानिस बसेर एकापसमा अध्यक्ष र महामन्त्रीको पद घोषणा गरि वरिष्ठ नेताको उपस्थितिलाइ दुरूपयोग गरिएको छ । कुनै पनि चेतना भएको मानिसलाइ यो कुरा सह्य हुँदैन । बेल्जियमको जनसम्पर्क समितिले यस्तो मनोमानीलाइ माइन्यूटमा निर्णय नै गरेर अमान्य घोषित गरिसकेको छ । तर त्यसको जवाफमा बेल्जियमबाट नै १६ जना पदलोलुपहरूलाइ पद बाँड्ने काम भयो । त्यसमध्ये अधिकांश साथीहरूलाइ नसोधिकनै राखिएको थियो र उहाँहरूको सँलग्नता पनि छैन । यसको परिणाम नेपाली काँग्रेसले यो संस्थालाइ मान्यता दिएन । केहि लाहूरे दाइहरूले मनोरञ्जन गर्ने थलो बन्न गयो युरोप काँग्रेस । अधिवेशन भन्दा अन्य कुराहरूमा मेरो सहभागिता यो संस्थामा रहँदैन ।

गंगाधर : जनसंपर्क समिती युरोप यस महादेश भित्र रहेका सम्पूर्ण नेपाली कांग्रेसमा आस्थावान नेपालीहरुको साझा संस्था हो । यो संस्थाको बिधिबाट गठन २६ मे २००६ मा जर्मनीको बर्लिन शहरमा भएको हो । त्यो बेला नेपाली कांग्रेसका तत्कालिन बिदेश बिभाग प्रमुख तथा केन्द्रिय सदस्य माननीय सुजता कोइरालाको प्रमुख उपस्थितिमा भएको हो । तत्पस्चात संस्थाले बिभिन्न देशहरुमा भेला तथा बैठकहरु सम्पन्न गर्दै ०९ अगस्त २००९ का दिन पोर्चुगलको लिस्बोन शहरमा नेपाली कांग्रेसका बरिस्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाको प्रमुख उपस्थितिमा प्रथम अधिबेसन सम्पन्न गरी नयाँ कार्य समिती गठन भयो । समितिमा पदाधिकारी तथा सदस्यहरुको संख्याम् थप्ने कार्य संस्थाको बैठक र सम्पन्न भेलाको अनुमतिले बिधानमै रहेर गरिएको छ । यदी कोही मित्रहरुलाई यो समितिले गरेको मनोनयन स्वीकार्य छैन भने उहाँहरुले बैधानिक रुपमा समितिमा जानकारी गराउन सक्नु हुनेछ । त्यसमा अवस्यपनि समितिले बिचार गर्नेछ । मेरो बिचारमा जबर्जस्ती थपेको भन्दा पनि कोही मित्रहरुले आफुले पद नपाएको गुनासो पो हो कि हाहाहाहा

बेल्जियम कांग्रेसका आन्तरिक, ब्यक्तिगत टकराव र देउवा अनि कोइराला पक्षमा बिचमा तानातान देखिएको छ जुन सामाजिक संजालमा ब्याप्त छन तपाई कोइराला खेमाका साथै महासमिति सदस्य भएको हैसियतले यी कार्यहरु कहिले अन्त्य हुने देख्नुहुन्छ ? अन्त्य गर्नमा तपाइको भूमिका के रहन्छ ? 

गंगाधर : नेपाली जनसंपर्क समिती बेल्जियममा संस्थापन र अर्को पक्ष भन्ने छ भन्ने मलाई लाग्दैन । जसले त्यो अभिब्यक्ती दिन्छ उहाँलाईनै सोध्नुस् । बाँकी यहाँको सबै समस्याको बारेमा समितीनै जिम्मेवार रहन्छ । मैले समितिले दिएको भूमिका मात्र निर्वाह गर्ने हो बेल्जियमको हकमा । बाँकी जनसंपर्क समिती युरोपले प्रेस बिज्ञप्ती प्रकाशित गरेर तेस्रो अधिबेशनबाट निर्वाचित समितिलाई बधाई र प्रत्यासी मित्रहरु र संस्थालाई सहयोग गर्दै अगाडि बढ्न अनुरोध गरेकै छ ।

ईन्द्र : बेल्जियम काँग्रेसको सवालमा मेरो स्पष्ट धारणा छ । निर्वाचित कार्यसमितिलाइ बल पुर्‍याउने । वर्तमान कार्यसमिति कुनै सहमतिको आधारमा नभै प्रतिस्पर्धा गरेर बनेको हो । त्यसैले हामीले यो समितिलाइ सहयोग र समर्थन गर्ने निधो गरेका छौँ । हाम्रो सदासयतामा कसैले खोट देख्छ भने त्यसको नजरमा खोट छ भनेर बुझ्नु पर्दछ ।

बेल्जियम स्थित जनसम्पर्क समिति कुन कुराले मिल्न सकिराखेको छैन ? बिगतको लुभेन बैठकमा तपाईहरुले राखेको माग पुरा गर्न नसकेकै कारण विवादमय बनिरहेको भन्ने आरोप छ नि ? कुन कुरोमा हलो अड्किरहेको छ ?

ईन्द्र : कांग्रेस सँस्कृतिमा अध्यक्षलाइ बल पुर्‍याउने हो । हामीले अध्यक्षलाइ जे गर्दा सजिलो हुन्छ त्यो गर्नु भनेका छौँ । हामीलाइ भित्र ल्याउँदा वा बाहिर राख्दा जे सजिलो हुन्छ त्यहि गर्नु भनेका छौँ । त्यसमा हाम्रो माग भन्ने कुरा होइन । हतार गर्न आवस्यक पनि छैन । कार्यक्रमहरू दिँदै जानु हाम्रो समर्थन र सहभागिता रहनेछ भनेका छौँ ।

गंगाधर : जनसंपर्क संपर्क समिती बेल्जियममा कहाँ बिबाद छ? खै मैले त जुन २ देखी अहिले सम्मका सस्थाका बैठकमा सबै निर्णयहरु सर्बसम्मत छन बिबाद कही कतै बाहिर खोज्दै हिंड्ने हो भने मेरो भन्नु केही छैन ।

नेदरल्याण्ड्समा मेको चौथो हप्ता हुन गैरहेको युरोप स्तरिय ब्रिहद भेलाले दिन खोजेको संदेश चाही के हो ? के साच्चिकै त्यो भेलापछि यूरोपमा रहेका कोंग्रेसी सस्थाहरु मिल्ने हुन् त ? मिल्ने वा नमिल्ने के के आधार छन ? यूरो कांग्रेसको औचित्य के ?

गंगाधर : जनसंपर्क समिती युरोपको भेला बिगतमा पनि यसरी नै सम्पन्न भएका छन । नेदरल्याण्ड्समा हुने बिस्तारित बैठक र कार्यकर्ता भेला तथा अन्तर्कृया कार्यक्रममा केही मित्रहरुले हाम्रो सस्था प्रती गरेको दुस्प्रचारको अन्त्य, आगामी १३ औं महाधिबेसनमा संस्थाको प्रतिनिधित्व तथा ५०० कृयाशिल सदस्य नपुग्ने जनसंपर्क समितिको केन्द्रिय अधिबेसनमा उपस्थिती लगायत हाम्रो सस्थाको आगामी अधिबेसनको बारेमा ब्यापक छलफल हुनेछ ।

ईन्द्र : यो अर्को असफल नाटक हो । केन्द्रले मान्यता नदिएको, यहाँस्थित असल काँग्रेसीहरूको जनमत गुमाएको र १० वर्ष सम्म अधिवेशन गर्न नसकेको दुइजना ब्यक्तिको मनोमानी पूरा गर्न बुद्दि र विवेक भएको मानिसले आफ्नो मूल्यवान समय र श्रोतको फजुल खर्च गर्छ जस्तो मलाइ लाग्दैन । अधिवेशन तैयारी समिति बनाएर अधिवेशन गर्नुको सट्टा फेरी भेला र बैठक छिछि।।।लाज सरम हराए पछि त जे गरे पनि हुँदो रैछ ।

यूरो कांग्रेसको तदर्थ समिति गठन पश्चात यूरो कोंग्रेस किन मौन बस्यो ? तपाई उक्त सस्थाको सदस्य भएको हैसियतले के भन्नुहुन्छ ?

नामै तोकेर भन्छु, दिल गुरुङ र गंगाधर गौतमले यो संगठन डुबाए । यसको लागि नयाँ ढँगले सोच्ने बेला भएको छ ।

युरो कांग्रेसको नाममा जे जती प्रचारबाजी छ त्यो मंचमा जाने पद नपाएर छटपटाएको पिडा  भनेर कोइराला खेमाका साथीहरुले तपाइलाई आरोप लागिरहेका छन नि ? बेल्जियमको जन सम्पर्क समितिबाट पद हस्तातान्तर्ण गरेपछि यूरो कांग्रेस तर्फ तपाई किन अग्रसर ? बिगतमा तदर्थ समिति गठन पश्चात यूरो कोंग्रेस किन मौन बस्यो ? 

गंगाधर : जनसंपर्क समिती युरोपको स्थापनासँग राजनैतीक महत्व जोडीएको छ । यस संस्थाको प्रतिनिधि वा कोही कसैले अर्को संस्थाको कार्यक्रममा कस्तो सहभागिता दर्शायो त्यो महत्वपूर्ण कुरा हो । आखिर यो संस्थामा कोहीब्यक्तिपनि चाहँदैमा सधैं रहन सक्दैन । अर्को प्रसँग, म सन् २००० मा बेल्जियम आएपनि बिस २०४५ सालदेखी नै कांग्रेसको राजनीतिमा सकृय छु । नेपाल हुँदा होस् या यहाँ रहँदा कहिले मेरो सकृयता देख्नु भएन मलाई अचम्म लाग्यो । म जनसंपर्क समितिको अध्यक्ष हुँदापनि युरोप कांग्रेसको लागि युरोपका सबै देशहरुमा पुगेकै थिएँ

बि पी स्म्रिती प्रतिस्ठान बेल्जियम प्रति तपाइको धारणा के छ ? जनसम्पर्क समिति बेल्जियम र यो सस्था मर्ज हुन् किन नसकेको ? मुख्य कुन चुरोमा कुरो मिलिरहेको छैन ?

ईन्द्र :  बीपी प्रतिष्ठान आस्थाको सँस्था हो । राजनीति गर्ने थलो होइन । प्रतिष्ठानले काँग्रेसको कुनै उत्तरदायित्व बोक्दैन र काँग्रेसको आधिकारिकता पनि खोज्दैन । त्यसो हुँदा कसैसँग मर्ज हुने कुरा भएन । बेल्जियममा सकृय सबै सँस्था प्रति यसको समर्थन र सहयोग रहन्छ ।

गंगाधर :  हा हा हा सन्तोष जि कहाँ छ र प्रतिस्ठान ? हामीले २००६ देखि यत्रो समय लगानी गरेका छौं युरोपभर जनसंपर्क समिती निर्माणमा र त कोही भन्दै छन रे ‘कहाँ छ युरोप कांग्रेस’ भनेर । त्यो त नेपाली जनसंपर्क समितिलाई हिजोका दिनहरुमा असफल बनाउने उदेस्यले समानान्तर कार्यक्रम गर्ने सिमित झुन्डहरुको समूह जस्तो लाग्दछ । बाँकी मलाई जानकारी छैन ।

जनसम्पर्क समिति बेल्जियमले कारबाही गरेका सस्थाकै पधाधिकारी तथा सदस्यहरुको कारबाही फुकुवा भएकै हो त ? 

गंगाधर :  जनसंपर्क समिती बेल्जियमले संस्थाको निर्णय बिपरित जानेहरुलाई एक कार्यकालको लागि निस्कासन गरेको समितिको निर्णय मैले स्वयं केन्द्रिय कार्यालयमा बुझाएको हो । त्यसबाहेक समितिको हरेक बैठकमा म उपस्थित छु । यि बिषयमा अनौपाचारिक बाहेक औपचारिक रुपमा कारवाही फुकुवाको एजेन्डा हालसम्म प्राप्त भएको छैन ।

ईन्द्र :  नेपाली काँग्रेसको संस्कारमा सार्वजनिक चुनाव जित्नेहरूलाइ कार्वाही फुकुवा गरि पर्टीमा भित्र्याइन्छ । चुनाव जितेकालाइ कार्वाही गर्ने भन्ने उल्टो संस्कार बेल्जियममा मात्र देखियो । शायद यहाँ उल्टा मानिसहरूको बोलवाला भएर होला । समितिले त्यो महसूस गर्‍यो र फिर्ता लियो । राम्रो गर्‍यो । यो समिति कसैको सनकमा भड्किएन भने राम्रो हुँदै जान्छ ।

बेल्जियम कांग्रेशमा धेरै क्षेत्रगत द्वन्दको कारण अहिले सम्म मिल्न नसकेको कांग्रेसिहरु बताइरहेका छन त्यसको अन्त्य कहिले हुने ?

ईन्द्र :  कांग्रेसको राजनीतिमा धर्म,जात र क्षेत्रको कुनै स्थान हुँदैन । कांग्रेसले ब्यक्तिगत स्वतन्त्रता, हकहीत र सर्वोच्चताको पक्षमा काम गर्दछ । त्यसो हुँदा अन्य कुराहरू काँग्रेस राजनीतिमा गौण हुन् ।

गंगाधर :  जनसंपर्क समितिहरुमा क्षेत्रीयता, जातियता कुनै हालतमा सम्भब छैन । हुँदा पनि हुँदैन । बाँकी कृयासिलताको आधारमा ब्यक्तिले पदिय जिमेदारी त पाइहाल्छ नि होइन र ?

आगामी दिनमा नेपाली कांग्रेसलाइ एक बनाएर लैजान महासमिति सदस्यको हैसियतले तपाइको भूमिका के रहन्छ ?

गंगाधर :  जनसंपर्क समिती युरोपको महामन्त्रिको हैसियतले म युरोप मात्र होइन नेपाल र नेपाल बाहिर रहेका नेपाली कांग्रेस संगठनमानै कुनै बिभाजन नहोस भन्ने चाहन्छु । तथापी अराजकता र अनुशासनहिनतालाई निरुत्साहित नगरि कांग्रेस नेपाल र नेपाल बाहिर राम्रो हुँदैन । तसर्थ अनियन्त्रित भिड भन्दा अनुशासित पार्टिको रुपमा कांग्रेसलाई रुपान्तण गर्दा राम्रो हुन्छ  

ईन्द्र :  म वास्तवमा काँग्रेस दर्शनको अनुयायी हूँ । सह अस्तित्व, सहकार्य र एकतामा मेरो अटुट विस्वास छ । कसैलाइ सिद्दाउने र प्रतिशोध लिने हरूवा रणनीतिको म बिरोधी हूँ । हार स्विकार्न नसक्ने ब्यक्ति जीतको भागिदार हुँदैन । त्यसो हुँदा सबैको अस्तित्वलाइ सबैले स्विकार गरे समस्या सकिन्छ । पाँच करोड वर्ष पार गरेर यो ५० वर्षको उमेर पाएको स्वाभिमानी मानिसले मूर्खहरूको दासत्व स्विकार्न हुन्छ त ?

तपाइँको प्रतिक्रिया