युरोपका नेपाली भन्छन् ‘आफ्ना नेताले गर्दा युरोपमा दुख पाइयो’
युरोपको कुनै कुनो होस् । पार्क वा बजारमा यस्सो नेपाली भेटिउन् । नेपालको कुरो शुरु भैहाल्छ । नेपालका राजनितिक पार्टीका भात्रि संगठन बनाएको भए तिनैको कुरो शुरु हुन्छ । अर्थात् युरोपमा नेपालको स्थानिय राजनिति । नत्र नेपालकै राजनितिक कुरा हुन्छ । राजनितिमा चासो र स्वार्थ हुनेको कुन नेता र पार्टी ठिक वा बेठिकबाट । जसको स्वार्थ र चासो छैन त्यहाँपनि गफ राजनितिकै हुन्छ । राजनितिक बित्रिष्णा, नेताका मनपरि, नालायकीपनको । इटालीमापनि यहि अनुभूती गरें मैले ।
रोममा ओर्लिनासाथ साँझ रामजिवी पन्थले यहि सुनाए । सिता पन्थ मन अमिलो पारी पारी यता युरोप बस्न परेको सुनाउँथिन । भन्थिन् ‘नेता अशल परेनन् । सबै स्वार्थ भर्ने परे । गतिलो नेता परेको भए हामी यसरि बाहिरिनुपर्थ्यो र ?’
आदिबासी जनजाति महासंघ ईटालीका अध्यक्ष हरी तामाङसित केहिबेर गफगाफ गरियो । उनी राजनितिक अवस्थाबाट पुरै हारेका त थिएनन् । देशमा एक दिन राम्रो परिवर्तन आउँछ । थिति बस्छ । देश फर्किन पाइएला भन्थे । तर नेता अहिले गतिला भएनन् । नेताकै कारणले दुख पाइयो भन्ने बिचार उनकोपनि थियो । भन्थे ‘गणतन्त्र आएपछि देशमा जनताको पक्षमा संविधान बनाउलान्, जनताले परिवर्तनका लागि लडेको चाहन पुरा होला भन्ने थियो । तर गणतन्त्र सत्ताकालागि भर्याङ जस्तो मात्रै बनाए । देश बिग्रियो हामी नेपाली झन पलायन ।’
रोममै भेटिए जनप्रगतिशिल मोर्चा, ईटालीका अध्यक्ष बाबुराम खतिवडा । राजनितिक परिवर्तन जनताको पक्षमा हुन्छ भन्नेमा आशाबादी थिए उनीपनि । तर नेताहरुको कमजोरी र नालायकीनै आफू जस्ता नेपाली सधैं बाहिरिनुको बाध्यता बताउँथे । ‘राजतन्त्रको अन्त्य । गणतन्त्र, संविधान सभाको निर्वाचन । जनताका पक्षमा संविधान बन्छ भनेर युद्द मैदानमापनि लडियो । तर संसदिय नेताहरु सधैं कुर्सीको लागि मारामार गर्ने । कम्युनिष्ट नेताहरु सधैं फुट्ने । एकले अर्कोलाई सिध्याउने । नेत्रित्वकालागि हानथाप गर्ने । एकले अर्कोमाथि आरोप लगाउने । हामी कार्यकर्ताहरु कहिलेसम्म लड्ने ? कहिलेसम्म तिनका कुरा सुन्ने, पत्याउने ? हामी सधैं यहि अवस्थामा लड्ने ? बिदेश पलायन हुने ? कहिल्यैपनि मिल्नै सक्दैनन् । जनवादी क्रान्ति पुरा गर्नै सक्दैनन् भने कार्यकर्ता कहिलेसम्म पछि लागिरहने ? के हामीलाइ रहर लागेर हो र ?’ खतिवडाले सुनाए ।
तर उनी पुरै निराश भने भैसकेका थिएनन् । ‘अझैपनि परिवर्तन संभव छ भनेर नेताहरु लागिरहेकै छन् । केहि अशल र इम्मान्दार नेताहरुले नेत्रित्व गरिरहेकै छन् । आशा गरौं तिनले देश बनाउलान्, परिवर्तनन् गर्लान् ।’
रोमबाट अलि टाढा पर्छ भिबेर्तो । देबेन्द्र अधिकारी ईलाम जस्तो लाग्ने त्यो भिबेर्तो डाँडाका एक्ला नेपाली हुन् भन्दापनि हुन्छ । गोरखाका मूल बासिन्दा उनको अनुभवपनि समान थियो । नेताहरुले आफू, आफ्ना कार्यकर्ता र परिवारको स्वार्थ मात्रै हेरेकाले देश बदल्ने सक्षम युवाहरु दिनदिनै बाहिरिनु परेको तितो अनुभव सुनाँथे उनी । ‘देश त खत्तमै बनाए नी नेताहरुले । आफू आफूमै लड्ने, आफू आफूमै मारामार गर्ने । आश्वाशन मात्रै दिन्छन्, काम केहि गर्दैनन् । विकासको नामै छैन’ देबेन्द्रले सुनाए ‘यो इटालीमा रातदिन काम गर्छन् देश बनाउन । विकासको काम भएको भयै छ र त ईटाली पछाडी पर्यो युरोपमा, नेपालमा झन केहि हुँदै हुन्न, गर्दैनन् गर्दैनन् कसरि देश उँभो लाग्ने ?’
दुई दिन देबेन्द्रको ईलामे जस्तो डाँडाका छरछिमेक फन्को मारेर म फेरि अर्को डाँडोमा बसेको गाउँ गएँ, मोन्तेसे । देबेन्द्रले रेलमा चढाइदिएपछि ओर्लिएकै ठाउँमा लिन आईपुगे मित्र क्रिष्ण सुबेदी । रेल स्टेशनमा भेटिएपछि क्रिष्णले नागबेली परेको सडक छोचोल्दै गाडीमा मोन्तेजे पुर्याए । त्यहाँ कुरेर बसेका थिए मेरा पुराना मित्र शम्भु घिमिरे । त्यहिँ भेटिए, रमेश पिप्ले भन्ने भाईपनि । यि सबै देश सम्झि सम्झि पिरिन्थे । नेता सम्झि सम्झि आबेगमा आउँथे । गुनासो गर्थे । ‘नेताले देश सम्झेर केहि गरेको भए आर्काको देशमा आएर यस्तो दुख गर्नुपर्थ्यो र दाई ? आफ्नो देशमा केहि नपाउने भएपछि आर्काको देशमा आएर दुख भोग्नु परेन त ?’ साँझ बसिरहेको कुर्सीबाट आँखा तन्काउँदै रमेशले भने ।
शम्भु घिमिरे त मेरा यात्राका अधिकांश समय सँगै भए । त्यसै उनका धेरै तर्क सुनियो । नेपाली कांग्रेसले केहि गर्दैन । मौका पाएरपनि गरेन । एमालेको हुति उहि हो । तर माओवादीले केहि गर्छ । उसकालागि जनताले गरेको त्याग, युवाहरुले दिएको रगत सम्झेरपनि बेफ्वाँकमा जान दिन्न त्यो विश्वास र आहुति भन्ने उनलाई लागेको रहेछ । जनताले रगतको खोलो बगाएर दिएको त्याग माओवादीले कदर गर्छ भन्नेमा उनको विश्वास रहेछ । तर यतिखेर उनका आशा, भरोसा र विश्वासहरु सबै भत्किएका थिए । उनमा कुनैपनि पार्टीले देश बनाउला भन्ने भरोसा चुँडिएको थियो । गाडी हुइँक्याइरँदापनि क्षण क्षणमै उनी ‘के कुरा गर्ने यार’ भन्दै तितो पोख्थे । ‘माओवादीले, प्रचण्डले त केहि गर्छ भन्ने ठानेको थिएँ यार । आम्मामा त्यत्रो रगर खोलो झैं बग्यो, त्यत्रा युवाहरुले लाम लागेर तिनलाई विश्वास गरे । आखिरमा रगतको मूल्यपनि तिरेन । यस्ताले देश बनाउँछन् भनेर अब कसरि विश्वास गर्ने ? देश खत्तमै बनाए ।’ पछिल्लो समयमा फेरिएको भरोसा सुनाए शम्भुले ।
भेनिस शहर दिनभरि दुई जनाले फन्को मारेपछि शम्भु घिमिरेले उत्तरी सम्पन्न शहर मिलान जाने रेलको मेसो मिलाएर फर्किए । साँझ म मिलान पुगें । बिजय सुबेदी, पुष्पा सुबेदी, कबिर पुरी, मुकुन्द पौडेल, पत्रकार महिन्दो वाईबा, भरत तामाङ, छबी शर्मालगायत अन्य केहि नेपाली भेटिए । गएकै साँझ बहिनी पुष्पा सापकोटा सुबेदीले केहि अनुभव सुनाईन् । मोन्तेजेमा बसेर केहि समय काम गरेकि उनी त्यता मिलान पुगेकि थिईन्, रोजगारीकै खोजिमा । अलि सहज वातावरणको निहुँमा ।
यता सपरिवार त छन् । तर सिंगो समाज उता छोडिएको छ । बाउ, आमा, परिवार, गाउँ छर छिमेक नेपाली उतै बिर्सिनुपरेको छ । आर्काको देशमा एकाबिहानै देखि साँझसम्म खटिनु छ । थोरै समय काम गरौं गुजारा चल्दैन । परिवारको आवश्यकता धानिन्न । पूर्णकालिन काम गर्दा परिवारसित साँझ बसेर एकैसाथ चिया पिउँदै दुखसुखका अनुभव साट्ने समयपनि पुग्दैन । उता नेपाल फर्किउँ रोजगारीको ठेगान छैन । ‘के गर्ने दाई मन त रमाएको छैन नी । तर बाध्यता छ । नेपाल जाउँ उहिँ काम नपाइने । यता बस्दा सधैंको सास्ति, हरेक दिनको धपेडी । हामी बिदेशीलाई एउटै काम गरेपनि इटालिनलाई जति दिन्नन् । हामीले उहि कामपनि थोरैमा गर्नुपर्छ । तैपनि गर्नैपर्ने हाम्रो आफ्नै बाध्यता छ । हाम्रा नेताहरुलेपनि देश सोचेर केहि गरिदिएको भए यहाँ किन दुख गर्नुपर्थ्यो र ?’ साँझ कामबाट थाकेर आएकि उनले खानाको टेबलमा सुनाउँदा उनलाई दिने गतिलो जवाफ आफैंसित थिएन ।
मुकुन्द पौडेल देश, हाम्रा नेता संझेर उस्तै दिक्दारी सुनाउँथे । छबी शर्मामा अलि आशा देखिन्थ्यो । ‘सक्षमहरु राजनितिमा पसेर असक्षमहरुलाई किनारा लगाउनुपर्छ’ भन्थे । महिन्दो वाईबा धादिङमा बसेर रेडियो पत्रकारिता गर्थे । पत्नीको लहरोमा बेरिएर यता ईटालीको मिलान पस्नु उनको बाध्यता थियो । तर पहिलो पटक युरोप आफ्नै पाखुरीले भोगेका, आफ्नै आँखाले देखेका, आफ्नै पैदलले हिँडेका उनीपनि दिक्क थिए । यताको सास्ति देखेर हैरानीमा थिए । ‘केहि गर्ने हो भने त ददिजी हाम्रो देशपनि बन्थ्यो । बिदेशमा जस्तै दुख गर्ने हो भने त हाम्रो देशपनि माथि जान्थ्यो पक्कै । हामीले यहाँ गर्ने दुख स्वदेशमा गरे उतापनि केहि हुन्छ । तर आफ्नो देशमा केहि गर्ने वातावरण देश चलाउने नेताहरुले स्रिजना गर्ने हो नी । त्यत्ति दुख गर्ने ठाउँपनि नभएर यता आएर यस्तो सास्ति गर्नुपर्ने ।’
भरत तामाङ त झन दिक्क थिए । यता ईटालीयालीहरुले गरेको विकासका अनेक ढाँचा, प्रविधी देखेका । सजिला र अप्ठेरा । महँगा र सुलभ । धेरै लगानी नगरेपनि नेपालमा गर्न सकिने थुप्रै विकासका तरिका, अक्किल देखेजानेका । भ्रस्टाचार नियन्त्रमा ईटालीमा पछिल्लो चरणमा भएका प्रयासका अनेक तौरतरिकाबारे ख्याल गरेर बसेका । हो तिनलाई नेपालमा सहजै अपनाउन सकिन्छ भन्ने उनको द्रिढ विश्वास थियो । नेपालका नेताको गैह्र जिम्मेवारी, गलत नेत्रित्व देखेर दिक्क थिए । अहिलेकै नेता, यहि पाराले केहि गर्लान् भन्ने आशा उनलेपनि मारेका थिए । उनी डा बाबुराम भट्टराईलाई भेटेरै केहि योजना, अक्किल सुनाउन चाहेको बताउँदै थिए । ‘मैले धेरै ठाउँमा देखेर, जानेर, बुझेर, पढेर भ्रस्टाचार हटाउने अक्किल सुझाउन खोजेको छु भट्टराईलाई । मुख्य गरि निर्वाचनमा उमेदवार छान्दानै ध्यान दिनुपर्छ । त्यसकालागि मसित केहि उपयुक्त सुझाव छन् र म ति भट्टराइलाई सुनाउन चाहन्छु, भेटेरै’ उनले मिलानको रेल स्टेशनमा सुनाए ।










