मन्त्रि पण्डित र गैर आवासीय हामी नेपाली
● शिव पन्त
मन्त्रि पण्डित रगैर आवासीय नेपालीहरुको जुहारी चल्दैछ आजकाल । नेपालमा सरकारी पदमा आसिन हुँदा हुँदै विदेशको स्थायी बसोबास पी आर लिने र लिन प्रयास गर्नेलाई कारवाही गर्छु भनेर भने संगै आज ठुला ठुला देशप्रेमी, समाज सेवी, पुँजीपति र बुद्दिजिविहरुको मन अस्थिर भएको छ । अझ डिभी परेर अमेरिका जान पाइएन भनेर अनसन बस्नेलाई त नारायणीमा बगाइदिए हुन्छ भन्ने कटु भाषा प्रयोग गरेपछि त नरनहरु मन्त्रि पण्डित प्रति खनिएका छन् । तर मन्त्रि पण्डितले बाकि सबै नरन हरुलाई कुनै नराम्रो टिप्पणी गरेका छैनन् ।
देवमान हिराचन हरु जस्ता गैर आवासीय नेपाली लाइ कारवाही गर्ने र नारायणीमा बगाउने उनले भनेको छैनन् । अब बाकि नेपालको कानुन र नागरिकता ऎन नमिचेका र विभिन्न कारणले विदेशमा रहेका हामीले किन मन्त्रि पण्डित लाइ समर्थन गर्न सकेनौं । हाम्रो देशको आजको प्रमुख समस्या दण्डहीनता हो । अझ अलिक उच्च ओहोदामा बसेका हरुमाथि कानुन पुग्न नै सक्दैन । यस्तो अवस्थामा कानुन मिचिरहेकालाई कारवाहीको दायरामा ल्य्याउञ्छु भन्ने मान्छेलाई हाम्रो समर्थन छ भन्न नसक्नुको कारण के होला ?
हामी आज चिच्याई चिच्याई मन्त्रि पण्डित र नेपालि जनतालाई मुख्य रुपमा २ वटा कुरा हरु भनि रहेका छौं ।
१- हामी रहरले विदेशिएका हैनौं बाध्यताले विदेशिएका हौँ । कतै रोजगारका लागि, कतै अध्ययन का लागि र कतै रकारले खटाएर ।
२-हामीलाई देशको माया छ । विदेशमा बसेपनि हामी दिनरात नेपालकोबारे चिन्तित छौं र उन्नत र समृद्द नेपाल हेर्न चाहन्छौं ।
यी सबै हाम्रा कुराहरुमा कतै दुइमत छैन । तर यो नै सत्य र पूर्ण भने होइन । यसको अर्को पाटो पनि केलाउनु जरुरि छ । हामी सबै जना बाध्यताले विदेशिएका होइनौं । जो खाडी मुलुकहरुमा घर जग्गा धितो राखेर र साहुको ऋण काढेर जाने हरु बाध्यताले विदेशिएका हुँ सक्छन । तर HSMP ( high skilled migrant policy) अन्तर्गत विदेश आउनेहरु नेपालमा नै राम्रो जागिर, राम्रो कमाइ र राम्रो आर्थिक हैसिएत भएकाहरु विदेशिनु बाधय्ता मात्र नभई रहर र विदेशी जीवन शैलीको लालच पनि हो । आफुलाई नेपाली समाज र सरदर नेपालीको हैसियतभन्दा माथि उठाउने एउटा रहर पनि हो । मैले यसलाई गलत भन्न खोजेको होइन तर यो कुनै परोपकार र महानता भने होइन ।
हामी गैर आवासीय नेपालीहरुलाई देशको माया छ । तर विदेशी जीवन शैली, सुरक्षा र सुख सयलको झन् धेरै माया छ । अन्यथा हाम्रो देशमा महावीर पुन र रबिन्द्र मिश्रहरु एउटा होइन लाखौं जन्मनु पर्ने । विदेश बसेर पढ्नु र पढाइ पुरा गर्नु निश्चय पनि कठिन हुन्छ । तर विदेशको पढाइसकेपछि कति प्रतिशत गैर आवासीय नेपाली स्वदेश फर्कन्छन ? आफ्नो सीप र ज्ञान देशमा प्रयोग गर्ने इच्छा कति गैर आवासीय नेपालीले गर्लान ? वास्तवमा पढाइ गर्न भनेर विदेशिएकाहरु सबैजसोको ध्यान त पढाइ गर्दा गर्दै वा सकिएपछि कसरि विदेशको पी आर लिने भन्ने हुन्छ । कसरि नेपाल फर्किनु नपर्ला भन्ने चिन्ता नै प्रमुख कुरो हुन आउँछ ।
जागिरको अबधि सकिएपछि पनि हामी देश फर्कनु नपर्ने अनेक उपाय खोज्छौं । आफुले विदेश रहुन्जेल बसेको सबै कमाइ खर्चेर भएपनि, नेपालमा जोडिसकेका जग्गा जमिन बेचेर भएपनि हामी विदेश बसाइ निश्चित गर्ने तिर लाग्छौं । हुँदा हुँदा राजदुत जस्तो पदमा बसेका व्यक्तिहरु समेत पदावधि सकिएपछि स्वदेश फर्कन नचाहनु पक्कै लाजमर्दो कुरा हो । यसले हामी नेपालीको विदेश मोह कति गहिरो छ भनेर देखाउँछ्र ।
यसरि विदेशी जीवन रोज्नु पक्कै पनि अपराध होइन । नितान्त व्यक्तिगत इच्छा र अधिकार भित्र पर्छ । तर यो अगाध देशप्रेम चाहि पक्कै होइन । हामीले रबिन्द्र मिश्र र महावीर पुनहरु जत्तिकै घाँटी खोलेर देशको माया लाग्छ चाहि भन्न सक्दैनौ ।




