तिरस्कृत मेरो एक रुपियाँ

महेन्द्र पौडेल / बेल्जियम

journalist-mahendra-poudel-11212हरेक मानिसले आफ्नो बालपनको याद गर्दछन् नै । सानो उमेरमा हरेक किसिमका चाहनाहरु हुन्छन् । त्यो कतिले पूरा पनि गर्दछन् भने कतिपयलाई त्यो सोख चाहना पूरा नभएकोले बालपन खल्लो पनि हुनसक्छ । तर मेरो ठूला सपना र चाहना सानोमा नभएपनि बुबा तथा आमाको हातबाट एक रुपियाँ पाउनु मेरो लागि सबैभन्दा ठूलो र चाहनाको विषय बनिरहन्थ्यो । सानोमा जब कुनै राम्रो काम गरेँ भने इनामस्वरुप बुबा आमाले एक रुपियाँ दिने गर्दथे । बुबाले जब एक रुपियाँ हातमा राखिदिनुहुन्थ्यो कि त्यो खुशीको सिमा नै हुन्थेन । त्यो एक रुपियाँबाट मैले अनेकौं सपनाहरु बुन्थे, के के कुराहरु खरिद गर्ने कल्पनामा रम्न पुग्थेँ । तर अफसोच, अति रफ्तारमा चलेको आजको दुनियाँमा मेरो एक रुपिँयालाई यति पछाडि छाडिदिएकी के कुरा गर्नु ? हरेकदिन डलरको चढावले रुपियाँलाई यसरी ढाड भाँचिदिएको छ कि यस्तोमा मेरो एक रुपियाँको कुनै मूल्य र मान्यतानै रहेन ।

एउटा भनाई छ कि थोपा थोपा मिलेर सागर बन्दछ । त्यसरी एक–एक रुपिँया मिलेर सय रुपियाँ बन्दछ । तर त्यो एक रुपिँयालाई आजका दुनियाँका मानिसले एकदमै सस्तो सम्झन्छन् । यसकारण एक रुपिँयाले कति पिर मान्यो होला कसैले बुझ्न सक्दैन । जब बिहान हुन्छ म घरबाहिर दुध किन्न जान्छु ।

अहिले त झन् दुधको भाऊ बढेको छ । लिटरको १९ रुपिया पर्दछ । पसलको साहुजीलाई मैले २० रुपियाँ दिएभने उसले एक रुपियाँ फर्काउदैन । उसले त्यसलाई आफ्नो टिप्स सम्झेर हकदावी गर्दै राख्दछ र भन्छ– ‘अर्को पल्ट मिलाउँला चानचुन रहेनछ’ । एक रुपियाँलाई यतिसस्तो बनाइरहेका छन् कि माँगौं भने ‘कस्तो कन्जुस रहेछ चानचुन छैन भनेपछि’ भन्ला । नमागुँ एक रुपियाँको खुबै माया लागेर आउँछ । मैले जोड गरेरनै भने मलाई फिर्ता दिनुस त्यो एक रुपियाँ उसले आँखा तरेर हेर्दै भन्छ– चानचुन छैन भनेपछि ल, यो चकलेट लैजानुस । यसरी मैले दिनको दिन एक रुपियाँ गुमाउँदै एउटा चकलेट लिँदै घर आइरहनुपरेको छ ।

ठूला शहरहरुमा छुट्टै बडप्पन छ । धाराबाट आउने पानी कतिपयले पिउँदैनन् किनकी पानीवाट ७० प्रतिसत रोग निर्माण हुन्छ भन्ने स्वास्थ्यकर्मीको विश्लेषण अनुसार यदि विरामी भएमा पानीको लोभ गरेका कारण डाक्टरका लागि फिस तयार गर्दा चेकअप गर्दा खर्च धेरै हुने हुनाले पानीमा सावधानी अपनाइन्छ । त्यसैले काठमाडौं शहरमा प्लाष्टिकको जार मगाउनु पर्ने हुन्छ । त्यो जारलाई ४९ रुपियाँ पर्दछ । डेलिभरी गर्ने मान्छेलाई १०० रुपियाँ दियो भने उसले एकरुपियाँ फर्काउँदैन ५० रुपियाँ फर्काएर जान्छ । मानौं मैले उसलाई टिप्स दिइरहेको छु एक रुपियाँ । फेरि उही एक रुपियाँको चक्कर । अनि मैले पछाडिबाट बोलाए ‘भाई खोइ त एक रुपियाँ’ ? उसले मलाई खाउँलाझैं हेर्छ जसरी दुध किन्दा अर्कोले हेरेको थियो । अनि उसले भन्छ ‘दाजु चानचुन छैन’ । मनमनै सोचे यो एक रुपियाँमाथी किन अत्याचार ?

दुइ रुपियाँ घाटालाई मनमनै राख्दै घरबाट निक्लेँ र ट्याक्सी लिँदै अफिस जाने सोचें ट्याक्सी पनि मिटरमा जान तयार भयो । मिटर एकदम तीब्रगतिमा दौडिरहेको थियो । मन्दिरनेर ट्याक्सी रोकेँ मिटर मिटरमा ४८ रुपियाँ ५० पैसा चढेछ । ट्याक्सीलाई ५० को नोट दिएँ । जब मैले डेढरुपियाँ फिर्ता माग्दै गर्दा ट्याक्सी अगाडि बढ्न थालीसक्यो । उसलाई थाहा थियो कि मैले डेढ रुपियाँ फिर्ता माग्नेवाला थिएँ यसैगरी अफिसभित्र छिरे त्यतिबेलासम्म मलाई साढे तीनरुपियाँ घाटा भइसकेको छ ।

साँझ जब म घर फर्कदै थिएँ । बसबाट बाहिर निक्लदै गर्दा नजिकै रहेको मःम पसल थियो । तातो तातो मःम खाने सोच बनाएँ एकप्लेट छोराको लागि पनि प्याक गर्ने मनमनै सोचेँ । छोराले खुबै मनपराएर खान्छ क्या । एक प्लेट मःमको १२ रुपियाँ घरको लागि प्याक गरेका मःमको १२ गर्दा २४ रुपियाँ भो । मःमवालालाई ३० रुपियाँ दिएँ उसले ५ रुपियाँ फिर्ता दिएर अरु ग्राहकतिर व्यस्त हुन थाल्यो । उसलाई मेरो एक रुपियाँको मतलवनै छैन । फेरि मैले मःमवालासँग एक रुपियाँ मागेँ । खरोरुपले जवाफ दियो– ‘भाई एक रुपियाँ छैन’ । तपाइँले ५ रुपियाँ दिएर आधा प्लेट मःम लिनुस् । यसरी फेरि मेरो एक रुपियाँमाथी अपहरण भो । घरमा आएँ । बिहान श्रीमतीले भनेको सम्झें घर आउँदा केही तरकारी लिएर आउनुस है भनेको । एकछिन तरकारी पसलमा तरकारी किन्न लागेँ । हरेक तरकारी महँगाई थियो । करेला, घिरौंला र साग खरिद गरेँ हिसाव किताव गर्दा ३९ रुपियाँ भएछ । उसलाई ५० को नोट दिनुभन्दा पहिल्यै पसलले भन्यो ‘भाई एक रुपियाँ चानचुन छैन है मसँग’ । यसको बदलामा बरु एक रुपियाँको खुर्सानी दिन्छु भन्यो पसलले । यसरी एकदिनभरी मैले साढे ५ रुपियाँ घाटा खाएर घर आएँ । र मनमनै सोचे यो सरकारले किन एक रुपियाँ र ५० पैसा बनायो होला? कमसेकम कुनैपनि चिज ५ रुपियाँ भन्दा बढी बनाइदियो भने त एक रुपियाँ फिर्ता पाइएन भनेर टाउँको त दुख्दैनथ्यो ? लेखक बेल्जियममा बस्छन् ।

तपाइँको प्रतिक्रिया