साथी बनाउँछन् जनावरपनि
प्रेमी प्रेमीका मात्रै होइन । प्रणय दिवश आएपछि मानिसहरु कार्ड पठाउँछन् । ति कार्ड मार्फत कतिले आफ्ना लुकेका भावना ब्यक्त गर्छन् । सामुन्ने खोल्न नसकिएका प्रेमका भावना खोल्छन् । प्रेम हुर्किनुपर्छ भन्ने मात्रै छैन । त्यसले मित्रता र पारिवारिक संवन्ध, सद्भावलाई दिर्घकालिन बनाउँछ । अझ कसिलो पार्छ । यादहरुलाई ताजा बनाइदिन्छ । यस्तो मित्रता त हामी मानिसले मात्रै होइन जिवजन्तुलेपनि गाँस्छन् भन्ने तथ्य बैज्ञानिकहरुले पत्ता लगाएका छन् ।
हात्ती सोंस, चमेरा, विकासे हाँस (गिज, स्वान), हुँडार, बाह्र सिंगा, चित्तल म्रिग केहि मांशहारी जन्तु र चिम्पान्जी लगायत केहि बाँदरका प्रजातिमा त्यो चाहना हुन्छ । तिनले दिर्घकालिन मित्रता कायम गर्छन् । नयाँ साथी खोज्छन् । चलायमान सामाजिक वातावरणमा ।
बेच्स्टेन (Bechstein Bats) भनिने चमेरोका पोथीहरु प्राय निश्चित साथीहरुसित रुखमा झुण्डिन रुचाउँछन् । ति समूहमा बस्छन् । तर मन पराएका साथी खोज्छन् । हरेक दिनको तिनको गन्जागोल, बेथितिका अलावा ति दिर्घकालिन मित्रता कायम गर्न सक्षम हुन्छन् ।
हामी मानिसहरुले दिनभरि वा हप्ताभरि एउटै मानिस, उहि साथी र समूहसित काम गर्ने, खेल्ने गर्दैनौं । सँगै बस्दैनौं । तैपनि हाम्रो दैनिक अस्तब्यस्तता, भद्रगोल, ब्यस्तता र चलायमान सामाजिक जिवनमा हम्रा साथी र परिवारसित दिर्घकालिन नाता कायम गर्न सक्षम हुन्छौं । त्यस्तै, ति चमेराका पोथीहरुलेपनि समूहमा अरु चमेरासित अलि खुला संवन्ध राख्छन् ।
यो जातिमा भाले चमेराहरु सामाजिक खालका हुन्छन् । सामूहिक रुपमा अति खुला तरिकाले निर्णय गर्छन् । अर्को पटक यहाँ बस्ने समूहमा भनेर । तर पोथीहरु भने सँगै गूँडमा बस्छन् । रुखका साना टोड्का, प्वाल वा बाक्सामा बस्छन् । केहि वर्षसम्म निश्चित साथीहरु सँगै बस्न रुचाउँछन् ।
ति सँगै बस्ने मात्रै होइन । आहाराका लागि यात्रा गर्दा थरिथरिका बस्ने ठाउँ देखेका हुन्छन् । अलग अलग चमेरोले । एक अर्काले देखेका बस्ने सामूहिक थलोकाका बारेमा एक अर्काका अनुभव साटासाट गर्छन् । उत्तम थलो कुन चाहिँ हो भनेर निर्णय गर्नकालागि । लचकदार भएर सामूहिक निर्णय गर्छन् अब कता बस्ने (रुस्टिङ) भनेर । ति एक अर्कामा टाँस्सिएर बस्छन् । एक अर्कालाई न्यानो बनाउनकालागि । हाम्रो नेपालमा पाइने चमेराहरु झुण्ड झुण्ड देखिनुका केहि कारण मध्ये योपनि हो । समूहमा बस्दा शत्रुको त्रासबाट बच्न सहज हुनु अर्को कारण हो ।
पोथी चमेराले शरिरको आकार (साईज), उमेर, प्रजनन् क्षमता र निकटतापनि हेरेर साथी बनाउन, साथ दिन, नजिकिन थाल्छन् । अलि बुढा पोथीले चाहिँ उपसमूहसित समेत साथीको संवन्ध राख्छन् ।
मानिसहरुले आफू बसेको भन्दा अन्य क्षेत्रका मानिससित साथी बनाए जस्तै चमेरालेपनि अन्य ठाउँका, अरुनै समूहका चमेरासितपनि साथी बनाउँछन् । ति चमेराकापनि मानिसका जस्तै साथीहरु भत्किन्छन् । टाढिन्छन् । फेरि बन्छन् । जसलाई अंग्रेजीमा फिसन फ्युजन फेनोमेना (Fission-fusion phenomena ) भनिन्छ ।
यो फिसन फ्युजन र दिर्घकालिन मित्रता हत्ती, सोंस, चिम्पन्जीलगायत अन्य जिवजन्तु र मानिसमापनि हुन्छ । पोथी चमेराहरुले कहिलेकाहिँ सुँढेनी वा सुसारे (मिडवाईफ) को भूमिकापनि खेल्छन् । एउटा अभिलेख गरिएको कस्तो घटना छ भने अमेरिकाको फ्लोरिडा राज्यमा एउटा गर्भिणी चमेरालाई फ्रुट ब्याट (Fruit Bat) भनिने अर्को जातको पोथीले साथ लागेकि थिई । सहयोगी पोथीले गर्भवतीको शरिरमा टाँस्सिएर न्यानो दिने, अंकमाल गर्ने गरेकि थिई । बच्चा पाउने बेलामा । बच्चा जन्मिएपछि तिसित टाँस्सिने गरि । सहयोगी र अर्को तेस्रो पोथी भएर सुत्केरी पोथीलाई हम्किएकि थिई पखेंटाले ।
हुँडारहरु उसैगरि साथी बनाउँछन् । ति आफ्नो समूह खोज्छन् । एकलाई आपत पर्दा अरु धुइरिएर सहयोग गर्छन् । हुँडारहरुले आफ्नो समूह र अर्काको समूहको आवाजपनि चिन्छन् । सहयोग चाहिँदा त्यहि आवाज निश्चित गरेर सहयोग दिने वा टाढिने गर्छन् ।
हात्तीको झन मित्रता बढाउने अचम्मैको बानी हुन्छ । ति समूह बेगर हत्तपत्त बस्दैनन् । समूहमा निर्णय गर्छन् । समूहको मुख्य निर्णायक सबैभन्दा अनुभवी पोथी हुन्छे । उसलाई सबैले सहयोग गर्छन् । साथ दिन्छन् । कुनै विरामी भए हेरचाह गर्छन् । टाढा टाढासम्म पुगेर आहार खोजेर ल्याइदिन्छन् । सन्चो नभएसम्म कुरेर बस्छन् । मरिहालेमा त्यहिँ काजक्रियासम्म गर्छन् । हड्डी निस्किने बेलासम्म कुरेर त्यो हड्डी सुँडले बेरेर टाढासम्म लजाने । म्रितक मित्र सम्झेर रुने, बिलाप गर्ने गर्छन् । समूहको साथी मध्ये कोहि कतै खाडला फसे, आपत परे ज्यान दिएर सहयोग गर्छन् । अरु वरिपरिका साथी मिलेर सामूहिक रुपले प्रतिकार गर्छन् ।
विकासे हाँस (गिज) हरुपनि साथी बनाउने गर्छन् । समूहमा उड्छन् । कुनै बिरामी परेमा अरु केहि बलिया, सक्षम साथीहरुले ओरालेर आराम गराउँछन् । खुवाउँछन् । उड्दै गर्दा कुनै कठिनाई परे पखेंटाको भरसम्म दिने गर्छन् । बिरामी साथीलाई सुरक्षित ठाउँमा ओरालेर हेरचाह गर्छन् ।
मान्छेले जसरि साथी बनाउने हात्तीको मगज (Brain) ठूलो हुन्छ । तर चमेराको भने बदामको दाना जत्रो मात्रै । तैपनि यिनले मानिस र हात्तीले झैं दिर्घकालसम्म साथी बनाउन सक्छन् । यसले के प्रमाणित गर्छ भने मगज ठूलो र जिवहरु उच्च चलायमान हुनैपर्छ, ठूलो र विशाल हुनै पर्छ भन्ने छैन ।
मानिसले ठूलो मगजको विकास गरेका छन्, आधिपत्य, प्रभुत्व जमाउने जाति हुनकालागि भन्ने यस अघिका खोजलाई यसले चुनौति दिएको छ । केहि मानवशास्त्रीहरुले के तर्क गरेका छन् थिए भने परिवर्तित सामाजिक ढाँचा अनुसार संवन्धलाई स्थापित गर्न मानिसको मगज ठूलो हुन्छ । यसले के शंका गर्ने ठाउँ दिन्छ भने त्यो मात्रै कारण नभएर अरुपनि हुन सक्छन् । बरु ठूलो मगजका हामी मानिसले भन्दा सानो मगजका चमेराले हामीले भन्दा अझ राम्रोसित मित्रता र संवन्ध कायम गर्न सक्छन् ।
चमेराहरुले २० भन्दा बढि संख्याको समूहमा बसेरपनि छिटो र अझ उत्तम निर्णय गर्छन् । सामाजिक संवन्ध कायम राखेरपनि सामाजिक जोडी मिश्रित हुँदै त्यस्तो निर्णय गर्न सक्नु मानिसको भन्दा बढि क्षमता हो । एउटा सभा वा सम्मेलनमा एक छिन अघि कसले के भनेको थियो भन्ने ख्याल हामीलाई राम्रोसित हुन्न । तिनको नामपनि थाह हुन्न । तर सामाजिक समूह बदलिरहेर पनि चमेराले फरक फरक समूह चिन्छन् । मित्रहरु पहिचान गर्छन् । त्यहि अनुसार संवन्ध कायम गर्छन् । नयाँ साथी बनाउँछन् ।






