पानी माथीको शहरलाई भैरेको भर
(दाहिनेतिरका भैरे र अर्का शम्भु)
‘इटालीमा त सिंगै शहर पानीमाथि छ रे । समुद्रको गहिरो न गहिरो पानीमाथि शहर बनाएका छन् रे ।’ यस्तो सुनेर वर्षौं वर्ष खुल्दुली लागि राख्थ्यो । “पानीमाथि कसरि बनाए ? बनाउँदा कसरि ढलाएन पानीले ?’ धेरैले यसका कथा सुनाए । तर नहेरि कहिल्यै चित्त बुझेन । ईटालीमा नेपाललाई माया गर्ने, नेपालप्रेमी खोजियो । अन्तिममा रामजिवी पन्थले मेसो मिलाइदिए । बस्ने ठाउँपनि एक रात रामजिवी र पछि बाबुराम खतिवडा अनि हरि तामाङले हार्दिकता देखाए । बाँकि उत्तरतिर गएपछि शम्भु घिमिरेले म जिम्मा लिन्छु भनेकै थिए । समस्या पर्यो पानीमाथिको शहरलाई ।
शम्भुले दुई दिनको त बिदानै लिए । मलाई सोधेका थिए ‘तपाइलाई के हेर्न मन छ ? भन्नुस् ।’ मैले ‘भेनिस देखानुस्, पानी माथिको शहर हेर्नै पर्यो । बाँकि जता लगेपनि कोठामा राखेपनि म गुनासो गर्दिन ।’ ‘शम्भुले ‘ए ल उसो भए चिन्ता नलिनुस्, गाडीमा सरर जाम्ला’ भने । उनको पारा हेर्दा गाडीमा सरर जाने दिनभरि हेर्ने अनि फर्किने । मलाइ फेरि एक रात बसेर ढुक्कले हेर्न मन थियो । कहाँ बस्ने । शम्भुजी ‘होटेलमा बसेर के पैसा मिल्काउने यार ?’ भन्ने । ‘हो हो यार’ त भनें । तर भित्रि मनले होटेलमा भएपनि बसेर एक रात मज्जाले घुम्न पाए हुन्थ्यो भन्ने भैराख्यो । फेसबुकमा बल्छि हान्दिम न त ‘कोहि छ भेनिसमा एक रात सुत्न दिने?’ भनेर । हानिदिएँ । ए बाबै । तत्कालै आए सहयोगी हात त । फेसबुकमा भैरे भनेर चिनिने बिनोद न्यौपानेले ‘म कहाँ बस्नुस भनिहाले ।
पादोभा भन्ने शहर भेनिसबाट ५०, ५२ किमी मात्रै पर रहेछ । भैरी त्यहिँ बस्दा रहेछन् । शम्भुजीले आफ्नै गाडी हुइँक्याएकै थिए । त्यहाँ पुग्न समस्या भएन । भैरेले ‘म त बिध्यार्थी बुढेसकालको । जाँचको बेला छ । बस्न जति जना आएपनि समस्या छैन । खानको अलगि पकाउन सक्दिन । लादी निस्किने गरि पढ्नुपर्छ। पसलबाट पिजासिजा केहि किनेर खाउँला । ल हुन्छ भने स्वागत छ । ददीजीसित गफ मार्ने मेरोपनि मन छ ।’ गज्जब भो । हामी भैरेको भर पर्ने निर्णयमा पुग्यौ।
एकै गाउँ । एउटै थलो । पढेको एउटै स्कूल । पछि पेशापनि गोरेलाई जंगलमा लगेर चरा, गैंडा, बाघ, भालु र फिस्टे जनावरको बिस्कुनमा लगेर चराउने गरेको । शम्भु र मेरो रहर, विषय, चाख सबै मिल्ने । कडो उस्तै शम्भु त । मन नपर्नासाथ सनक्क गरेर ‘हैन यार’ भनिहाल्ने । उनले ‘यो राजमार्गको बाटो नजाम । के हेर्ने ? गाउँको बाटो छिराम गडी। हेर्दै जाउँ न यार गामठाम’ भन्दै मसिना बाटोतिर हाले । सानासाना बाटो छिराएर पादोभा पुर्याए । साँझ झमक्क पर्दा भैरेको कोठामा पुगियो ।
ओहो भैरेको बसाइ त । राम राम । भैरे भित्रै हराउने जत्रो । कोठै कोठा के गर्ने एक्लो भैरेले त्यत्रा कोठा ? पिजा किनेर ल्यायौं । त्यहि खाउन्जेल गफ गरियो । भैरे र शम्भुजीको भेट यहिँ पहिलो पटक भयो । दुबै कडा कडा । कता बहस गर्दागर्दै यि दुई जना भिड्ने हुन् कि जस्तो पनि लाग्ने । भैरेले कुरा शुरु गरे ‘म बुढेसकालको बिध्यार्थी ददी सर । लादी निस्किनेगरि पढ्नुपर्छ । नत्र पचाउन दिन्नन् यि गोरेले हामीलाइ दिएको पैसो ।’
उनी संघियताका बारेमा उच्च शिक्षा लिन आएका रहेछन् । मासिक जम्मा ३५ सय युरो दिन्छ रे त्यो पढे बापत । ज्यान फालेर काम गर्दा त्यहिंका नागरिकले पनि सालाखाला कमाउने हजार १२ सय युरो हो । मासिक । भैरेलाई चार वटा हात्ती बाँध्न मिल्ने जत्रा कोठ दिएर । पढ्न दिएर उल्टो मासिक ३५ सय युरो ? लादी हैन रगत सबै निस्कुन्जेल पढ्दा नी भो नी !
उनी संघियताका विषयमा अध्ययन गर्दा रहेछन् । विश्वभरिका संघियताका अनेक अनेक ढाँचा । तिनका कमजोरी । तिनमा रहेको छिद्र । तिनका असफलताका कारण र सफल बानाउने आधार । पानी बनाउँदा रहेछन् । अनि पो भैरेले रनन्न हुने गरि फेस बुकमा संघियता र पहिचानका मुद्दामा गोद्ने रहेछन् । हामी त्यहाँ पुग्दा भैरे अफ्रिकाको सुडान जान खुट्टो उचाल्दै थिए । उनले सुडान र नेपालको राजनितिक अवस्था समान भेटेका रहेछन् ।
फेसबुकमा लेखेका थिए – नेपालको राजनीतिभित्र रहेर अब छिमेकी मुलुकको स्वार्थ गाँस्नुस् । चुरो यही हो ! नबधनाढ्य बर्ग संसारभरी बाठो आफ्नो स्वार्थलाई जे पनि गर्ने खतरनाक हुँदोरहेछ । सुडानमा आगो झोस्ने काम यिनिहरुले गरेछन । के गरी झोसेछन त ? बाँधिएको समाजभित्र रङ र जात जाती भित्र पहीचान खोज्न लगाएछन । स्थानियदेखी माथिसम्ममा संस्थागत सम्बन्ध, संरचना भत्काउँदै लगेछन । एलाईटहरु आफु आफु जुँगाको लडाईं, आर्थिक गतिबिधी र स्रोत र साधन हातपार्न खुट्टा तानातान गरेछन । गुण्डागर्दी, लुटपाट, ब्यक्ति उचाल्ने परिपाटि बसाउँदै लगेछन ।
भम्भुजीसित गफिँदै गरेका बेला भैरेले सुनाए ‘गफ हाँक्छन् संघियताका नेपालमा । बुझ्नुसुझ्नु पर्दैन । त्यसै संघियता । हामीले पढ्या, देख्या छम् लादी निस्किने गरि ।’ हात पाखुरा सबै बटारिएका । आँखा गाडेर हेर्ने । भ्यात्ल्याङ्ग परेको लवाई । कालो वर्ण । चोर औंलो उचाली उचाली तर्क राख्ने । कस्ता कस्ता जिव यि भैरे । शम्भुजी भैरेका गफ सुनेर अनौठोमा परे । खुब हाँसे पछि । भैरेको पारा मन नपरेपछि साह्रै ट र् रो लेख्ने । उछित्तो काध्ने । मन नपरे बहगे भगन्, रिसाए रिसाइराख । साह्रै कडा भैरे त ।
नेपाली बिध्यार्थी ईटालीमा कम रहेनछन् । यिनै भैरेले सजिलै पाएका रैनछन् पादोभा विश्वबिध्यालयमा मासिक ३५ सय युरो च्याप्प अँठ्याएर पढ्न । एशिया र अफ्रिका कता कताका बिध्यार्थीसित दह्रो प्रतिस्पर्धामा उत्रिनु पर्दो रहेछ । त्यो प्रतिस्पर्धामा जित्न सके बल्ल पढ्न पाइने रहेछ । उनले त्यसैगरि ‘लादी निस्किने गरि’ पढेर प्रतिस्पर्धा जितेपछि आएका रहेछन् ।
उनले आफू जस्तै मेहनति अर्का बिध्यार्थी डा अनिल भट्टराईकोपनि नाम लिए । मुटु रोगको विशेषज्ञमा डा भगवान कोइरालापछि अनिलको नाम लिँदा रहेछन् । साह्रै मिजासिला, तिक्ष्ण, मिलनसार र पेशामा तगडा भन्थे । यहि पादोभा विश्वबिध्यालमा पढे नेपाल फर्किएका रहेछन् । नेपाली बिध्यार्थीपनि कम छैनन् भन्ने कुरो यहाँका नेपाली बिध्यार्थीले देखाएका रहेछन् इटालियालीहरुलाई ।
यहाँ आएपछि नेपालीहरुमा अधिकांश यतै बस्ने, कामको मेसो मिलाउने, युरोपको चमकझमकमा रमाउने रहर जाग्छ । भैरे ‘कहिले नेपाल हाम्फालौं’ भन्दै हुटहुटिएका थिए । पढाइ सकिएपछिपनि एक वर्ष जति समय यतै काम खोजेर काम गर्ने अवशर दिने रहेछ ईटालीको प्रशासनले । त्यो भिसाको अवशर छोप्दै बंगाली भारतीयहरु होटेल र रेस्टुरेन्टमा भाँडा माझ्ने काम भएपनि खोज्दै हिँड्छन् । केहि रकम कमाउन लाग्छन् । तर आफूलाई त्यस्तो लोभ र सरोकार नभएको । नेपालमै केहि गर्न मन भएको सुनाए भैरेले । मेहनती बिध्यार्थीले सानातिना यस्ता बिदेश पढ्ने सुबिधा, छात्रब्रित्ती त सजिलै भेट्टाउँछन्’ भन्ने ज्ञानपनि रहेछ उनीसित । ‘बिदेशमा किन तल्लो स्तरको काम गर्नु ? राम्रोसित पढ्नेले त बिदेशमा काम गरेको भन्दा पढेरै बस्दापनि धेरै पैसो दिने पाइन्छ’ भन्दै थिए ।
सन् १२२२ मा स्थापना भएको यो विश्व बिध्यालय यति प्रसिद्द रहेछ कि यसमा नक्षत्रशास्त्री कोपरनिकस र ग्यालेलियो जस्ता बैज्ञानिक संलग्न भएका रहेछन् । यसलाई ईटालीकै बोलोनियाका केहि बिध्यार्थी र शिक्षकले स्थापना गरेका रहेछन् । यस्तो ऐतिहासिक बिश्व बिध्यालयमा अध्ययन गर्न पाउँदा गर्भ महसुस हुने रहेछ बिध्यार्थीहरुलाई । यो विश्वबिध्यालयको पढाई विश्वमै कहलिएको रहेछ । र पो भैरेको पारापनि यति कडा रहेछ त !
भैरे साँझ छिट्टै बिदा भए । ‘मेरो त जाँच छ । ज्यान जाने गरि पढ्नुपर्छ । नेपालीको इज्जतपनि जोगाउनु परो’ भन्दै । उनले अघिल्ला परिक्षाहरुमा सयमा जम्मा ९९ नंबर ल्याएका रहेछन् । तैपनि ‘कहाँ गयो कहाँ त्यो एक नंबर’ भन्दै थिए । मलाइ कमाउनु पर्या छैन धेरै । छोरालाई डाक्टर बनाएँ बाँकि बस्ने खाने छ । जागिर मेरो छैन नेपालमा । तर गएपछि केहि पाइएला । चिन्ता थिएन उनलाई । ‘बरु पढ्न दिएको पैसोले भैरेलाई संसारै हेर्न पो मन छ त’ शरिर तिनिक्क पार्दै सुनाए । शम्भुजी र म लाग्यौं कोठातिर । बिहानै भैरेले कफी खुवाएर पठाए । हामी पानीमाथिको शहर भेनिसतिर हानियौं ।
(पानीमाथिको शहर कस्तो छ ? अर्को अंकमा)






