राजनितिबाट अलग मिलानको नेपाली समाज
(तस्विरमा दायाँबाट क्रमश : पत्रकार महिन्दो वाइवा, भरत तामाङ, सन्जय शाह । टेबलको पल्लो छेऊमा मितेरी मञ्च मिलानोका अध्यक्ष मुकुन्द पौडेल । त्यसपछि नाम थाह भएन, छबी शर्मा र आफैं)
देश एउटै हो । तर ईटालीका स्थानिय प्रशासनको नियम कानुन अलि भिन्न भिन्न रहेछ । शहर, राज्य र क्षेत्र अनुसार । त्यसो त ईटालीमै बिभिन्न क्षेत्रमा बस्ने नेपालीपनि फरक फरक छन् । फरक तरिकाले बसेका छन् । ईटालीको राजधानी रोम हुँदै उत्तरको क्षेत्र मिलान पुग्दा मैले यहि अनुभूती गरें । नेपालीलेपनि फरक सोच, फरक ब्यवहार र उद्देश्य रहेको बताए । खासगरि मिलानका नेपालीहरु अन्यत्र भन्दा सामूहिक र नेपालीलाई सहयोग गर्दा एक जूट हुँदा रहेछन् ।
ईटालीको खासगरि रोममा अलिबढि राजनितिक गतिबिधी हुने रहेछ । नेपालका सबैजस्तो प्रमुख राजनितिक दलका भात्री संगठन छन् । त्यसमा जनजातिकापनि थपिएका छन् । सामाजिक काम गर्ने भनेर दर्ता भएका, केहि गतिबिधी गर्ने संघसंस्था हुनेनै भए । त्यसैले रोममा राजनितिक गतिबिधी, कार्यक्रमकालागि खिचातानी हुन्छ । कि त सामाजिक कामकालागि प्रतिस्पर्धा हुन्छ । नेता आउँदा जुनसुकै पार्टीका होउन् केहि न केहि कार्यक्रम आयोजना गर्छन् । संगठनको औचित्यपनि देखौउनुपर्यो । नेता र पार्टीसितको निकटतापनि सिद्द गर्नुपर्यो् । स्थानिय नेपालीसितको घुलमेल, आफ्नो बर्चस्व, आफ्नो हैशियत देखाउनपनि त्यस्ता कार्यक्रम नभै हुन्न । पार्टीका लागि यस्सो चन्दाको उर्दी आउँछ । पार्टी आखिर चल्नेपनि चन्दा र पार्टीका सदस्यको लेबीलेनै हो । त्यसैले आफ्नो पार्टी सदस्य बढाउनपनि रोममा बढि प्रतिस्पर्धा हुन्छ ।
यो रोममा मात्रै होइन, युरोपका अन्य धेरै शहरमा हुन्छ । झन एन आर एन कसले कब्जा गर्ने । कब्जा गर्न नसके कसले मुख्य पद हत्याउने । त्योपनि गर्न नसके कसले बढि पद हात पार्ने । कोसित गठबन्दन गर्दा बढि पद हात लाग्छ । आफ्नो पार्टीको हित हुन्छ । त्यसैसित बन्छ ।
तर अचम्म छ मिलान शहर । यो ईटालीको उत्तरी शहर हो । राजधानी नभएपनि यो बैभवपूर्ण छ । यो अन्य शहर भन्दा सम्पन्न र सुसंस्क्रित मानिन्छ । सभ्य मान्छन् । रोमभन्दा निकै सफापनि छ । देशको मुख्य आम्दानीको स्रोत कलकारखाना र उध्योग धन्दा मिलान शहरकै निकटमा छन् । तर राजधानी नभएकाले जनसंख्या अलि कम भैहाल्छ । नेपालीको संख्यापनि रोममा भन्दा कम छ यहाँ । दुई सय जना जति छन् नेपाली ।
यो संख्या ज्यादै सानो भन्न मिल्दैन । किनकि रोम, भेनिस, बोलोनिया, फ्लोरेन्स लगायत धेरै शहरमा छन् नेपालीहरु छरिएका । त्यसैले यतिपनि धेरैनै हो । तर अचम्म के भने मिलानमा जम्मा एउटामात्रै नेपाली संस्था छ । त्यो हो, मितेरी मञ्च मिलानो । त्यसका अध्यक्ष हुन् मुकुन्द पौडेल । त्यहाँ जुन नेपाली आउँछन् प्राय यहि संस्थाबाट सहयोग गर्छन् । सबै नेपालीहरु जुट्छन् । कस्तो खालको सहयोग चाहिने हो । छलफल गर्छन् ।
अन्य मुलुकमा बैधानिक कागज नमिलेपछि धेरै नेपाली अरु कुन मुलुकमा मिल्ला भन्दै भौंतारिन्छन् । मिलानपनि त्यहि आकर्षणमा पर्छ । अपवाद बाहेक । कर तिरेको प्रमाण चाहियो। मिलानमा बसोबास गरेको सिद्द गर्नुपर्यो । काम चाहियो । त्यहाँको बैधानिकता, निति नियम जान्नुपर्यो । भर्खर जानेलाई यस्ता कुराको के जानकारि हुने ? भूमिगत रेल चढ्नसम्म जान्दैनन् । इटालियाली भाषा मिठो भएपनि बुझिन्न । इटालियाली नागरिकहरु अंग्रेजी कम बुझ्छन् । कसरि छिचोल्ने, कहा बस्ने र खाने यो भवसागरमा ? अनि भर्खर बस, रेल वा अन्य तरिकाले भाग्दै र लुक्दै त्यो शहरको मध्य भागमा पुगेको नेपाली त्यसै हतासिन्छ । बहुलाउँला झैं भैहाल्छ ।
(तस्विरमा दायाँबाट क्रमश : नानिया सान्देन, पत्रकार महिन्दो वाइवा, भरत तामाङ, सन्जय शाह )
यस्ता धेरै नेपालीहरुलाई मितेरी मञ्च मिलानोले सहयोग गरेको छ । यहाँ जम्मा एउटै संस्था भएकाले त्यसैलाई फुलाउन फलाउन लागेका छन् नेपाली । तानातान छैन । प्रतिस्पर्धा हुन्न । राजनितिक गतिबिधी, बहस मिलानमा कुनै कोठामा होला । एकाध साथीहरुबिच चल्ला । तर संस्थागत, सामूहिक रुपमा चल्दैन । ‘आखिर हामी राजनिति गर्न आएकोपनि त हैन । सबै नेपाली मिलेर बसेको राम्रो । त्यसैले यहाँ राजनितिक संस्था गठन भएका छैनन्’ मितेरी मञ्च मिलानोका अध्यक्ष मुकुन्द पौडेलले अनौपचारिक छलफका क्रममा सुनाए ।
रोमबाट भितेर्बो, तार्किनिया, भेनिस, पादोभा, पिसा हुँदै मिलान पुग्दा निकै नेपाली भेटिएका थिए । मिलानमा बिजय सुबेदी, पुष्पा सुबेदी, छबी शर्मा लगायतका नेपाली मित्रहरुसित जहाँ मेरो बसाई थियो त्यहाँपनि यस्ता विषयमा छोटा छोटा छलफल हुन्थे । म सकेसम्म अरुका कुरा सुन्ने कोसिस गर्थें । मिलानबाट फ्रान्सतिर फर्किने अन्तिम दिन दिनभरि थियो समय । मिलानको एक रेस्टुरामा दिनभरि चिया र कफी पिउँदै बसियो । मिल्ने र समय भएका निकै मित्रहरुसित त्यो दिन धेरै कुरा सुनियो ।
कामबाट केहि बेर छुट्टी पाएका बिजय सुबेदी आइपुगे केहि बेर गफ गर्न । केहि महिनादेखि मिलानमा बस्दै आएका पत्रकार साथी महिन्दो वाईबाले हिमालतिरबाट बिदा मिलाएर आएको बेला परेकाले उनि सँगै भैहाले । उनैकी पत्नी नानिया सेन्देन, मिलानका असाध्यै सहयोगी, धेरै नेपालीलाई सहयोग दिएर नाम लिईने भरत तामाङ, एन आर एनका संगठक सन्जय शाह र ब्यापारी गोबिन्द पौडेल लगायत अन्य केहि मित्रहरु आए । छबी शर्मा त साथमा यसै छँदै थिए । अधिकांश समय छबी शर्मालेनै मिलान घुमाए । राजनितिक विषयमा छबी शर्मा अलि फरक थिए । उनको बिचार, ‘राजनिति फोहोरी भयो, घिनलाग्दो भयो भनेर पन्छिएर हुन्न । अशल मानिसहरु बाहिर बस्न हुन्न । त्यहँ बसेर संघर्ष गर्ने र सुधार्ने गर्नुपर्छ’ भन्थे ।
तर मिलानका नेपाली अन्यत्रको राजनिति देखेरै अघाएका रहेछन् । सधै तानातान । नेता बोलाएर भाषण । नेपालमै तिनले गतिलो राजनितिक दिशा दिन सकेका छैनन् । जनता उतै वाक्क र दिक्क छन् । फेरि यता बिदेशमा दुखजिलो गरेर कमाएको धन खर्च गरिगरि किन तिनका राजनितिक भाषण सुन्ने ? ति के भन्छन् ? के सोच्छन् ? के काम गर्छन् ? आजकालको जमानामा इन्टरनेटबाटै सबै जानकारि छँदै छ नी ! किन नेता बोलाएर नेपालीलाई बिभाजित गराउने ? सबैको भनाई यस्तै थियो । पत्रकार महिन्दो वाईवाले हाकै भने ‘धन्न यहाँ अहिलेसम्म राजनितिक संगठन खुलेको छैन । नत्र यहाँका नेपालीपनि भाँडीईसक्थे ।’
(दायाँबाट बिजय सुबेदी, छाबी शर्मा र महिन्दो वाईबा, मिलानको सबैभन्दा आकर्षक पर्यटकिय स्थल । यो गिर्जाघर हो)
कारण के हो मलाई यकिन भएन । तर मिलानका नेपालीहरुको भनाई के थियो भने राजनितिक पार्टीका भात्री संगठन नभएकाले मिलानका धेरै नेपालीले सामूहिक सहयोग पाएका त छन् नै । त्यहाँ नेपालीहरु हत्त पत्त बेरोजगारपनि रहँदैनन् । त्यसैले मिलानमा धेरै नेपाली बेरोजगार छैनन् । ‘कुनै न कुनै सानोतिनो काम पाइहाल्छ । किनभने लौ है फलानो नेपालीलाई काम चाहिएको छ भनेपछि सबै नेपालीले खोज्न थाल्छन् ।’भरत तामाङले सुनाएका कुरामा मुकुन्द पौडेलले सहि थापे ‘हो मिलानमा नेपाली धेरै समय बेरोजगार बस्नुपरेको छैन । धेरै नेपालीको बैधानिक पेपरपनि भएको छ । यहाँ सबै मिलेर सहयोग गर्ने कोसिस गरिन्छ ।’
दशैं आउँछ । तिज लाग्छ । यस्तै धार्मिक पर्व पर्छन् । बिवाह र जन्मदिनको अवसर पर्छ । यहि मितेरी मञ्चले गर्छ सामूहिक कार्य गर्नुपर्दा । यहाँ कुन जात, कुन भाषी । कुन पार्टी, कुन क्षेत्र । कसैको ट्याग छैन । सबै नेपाली भेला भए एकै ठाउँमा । यहि संस्थाबाट निर्णय गराए ।
मिलानमा एउटै मात्र संस्था हुनु । राजनितिक संगठनका भात्री संगठन नहुनुको मूल कारण मिलानका सबैभन्दा पुराना नेपालीको पहल रहेछ । पुरन तामाङ मिलान पुगेका पहिलो नेपाली रहेछन् । त्यसपछि डा बम भन्थे । भरत तामाङ, गोबिन्द पौडेल (उनी नेपालमै छन् अहिले, लेखमा उल्लेख गरिका गोबिन्द पौडेल अर्का हुन् जो मिलानमै छन्) । मुकुन्द पौडेल । यि कसैको पनि इच्क्षा राजनितिक दलमा रहेन । बरु यिनले सकभर कुनैपनि राजनितिक पार्टीको भात्री संगठन खोल्न नदिने प्रयासनै गरेका रहेछन् । यहाँ आउने धेरै नेपाली यिनै पुरानाको कुनै सहयोग, सल्लाह र सुझावमा रहने भएकोलेपनि राजनितिक संगठन खुल्न पाएका छैनन् । अर्को कारण त स्वयं राजनितिक दलहरुकै कमजोरी हो । तिनले स्थानिय नेपालीमा राम्रो कामको प्रभाव र सहयोगको छबी भन्दा खिचातानी, फूट, भाँडभैलो मच्चाउने, राजनितिक स्वार्थकालागि मात्रै काम गर्ने छ्बी छोडेर तर्साएका छन् । बुझाई आआफ्नै होलान्, तर मिलानको नेपाली समाज उदाहरणिय छ । सहयोगी छ । नेपालीहरुबिच प्रशंसित छ ।
(त्यसो त राजनितिक दल हुनुका फाइदापनि रहेछन् बिदेशमा । त्यसका बारेमा अर्को लेख पर्खिनुहोला । कस्तो छ पानीमाथिको शहर, ईटालीबाट के सिक्ने ? ,नेताले गर्दा बिदेशमा दुख पाइयो, इटालीका प्राचिन धरोहर लगायतका फोटो फिचर आउनै बाँकि छन्, हेर्दै गर्नुहोला)








