ओट हालेको विमानमा चढेर ईटालीको रोम
हिजो ईटालीको रोम आएँ । यो सांस्क्रितिक, ऐतिहासिक शहर आउँदाको अनुभवनै गज्जबको भयो । आफ्नो देशतिर बस र ट्रकको पाङ्रो यस्सो गुडेर अन्तै जाला । भिरतिरबाट खस्ला भनेर पाङ्रामा ओट (पाङ्रालाई गुड्न नदिन हालिने ठेड्को, मुढो, ईट्टा वा ढुङ्गा) हालेर अड्याएको हुन्थ्यो । यता ईटाली आउँदा चाहिँ विमानको पाङ्रोमा त्यसैगरि ओत हालिएको रहेछ ।
फ्रान्सबाट रोम आउनको लागि विमानको टिकट निकै पहिलेनै किनेको थिएँ । टिकटपनि नट रिफन्डेलब, नट चेन्जेबल । अर्थात् अर्को दिन उड्छु भनेर बदल्नपनि नपाइने । रद्द गरेर पैसो फिर्तापनि नपाइने । सस्तोमा उड्न खोजेकाले रायन एयरको टिकट लिएँ । पेरिसबाट यो बोभे एयरपोर्ट मा आउनै डेढ घण्टा लाग्दो रहेछ । हाम्रो देशमा हुम्ला, जुम्ला तिरको विमानस्थल झैं ठान्ने रहेछन् फ्रान्सेलीहरु । काठमाडौंको हाम्रो विमानस्थल भन्दा सात आठ गुणा ठूलो त होला । तर यता फ्रान्सको ओर्ली, सार्ल द गोल भन्ने बडेमाका विमानस्थल हेरि फुच्चे लाग्ने हामीलाई ।
बोर्डिङका लागि बोलाए । म पुग्दा सबै जसो लाईनमा बसेका थिए । अचम्म लाग्यो, किनहोला सबै भागै लुटौंला झैं गरेर उभिएको ? बोर्डिङ पासको ढोका नखुल्दै लाम लागेको किन ? आफ्नो टिकटमा लेखिएको सिट त कसैले हर्न सक्दैन । ढिलो पसेपनि । यस्तै सोचेको थिएँ । बोर्डिङ पासको ढोका खुल्यो । लाम लागें मपनि । तर परें झण्डै अन्तिममा । यतातिरका विमानका टिकट आजकाल एउटा खोस्टो जस्तोमा प्रिन्ट गरेर दिएको हुन्छ । टिकट जस्तो पनि लाग्दैन । त्यहि धोरात्त च्यातेर दियो । हामीले हेर्दाहेर्दै ए उटा विमानबाट यात्रु ओर्लेका थिए । कुनै शहरबाट भर्खरै आएको थियो, यात्रु लिएर । हामी रोम जाने विमन त्यहि रहेछ ।
उता यात्रु बल्ल ओर्लिँदै छन् । यता त्यहि विमानमा चढ्नेलाई भित्र जान बोर्डिङ खोले । एउटा देशबाट उडेर आएको विमान सायद केहि निश्चित समयसम्म नजाँचेपनि हुने भएरै त होला । विमानको नाक र पुच्छरतिर गरेर दुइतिरै यात्रु लाम लागे भित्र पस्न । ९० जनाको सिट भन्ने सुनेको थिएँ । मेरो टिकटमा ५७ नंबर लेखेकोले पुच्छरतिरबाट नजिक पर्ला भन्ने सोचें । विमानमा चढ्ने बेलापनि पुछरमै परें लाममा । मानिसहरु भटाभट उक्ले । विमानका अंग प्रत्यंगतिर यस्सो आँखा हुत्याएको त पाङ्रामा ओत (मुढो) हालेको रहेछ । अचम्म लाग्यो । हतारहतार क्यामरा झिकें । फोटो खिचें । अनि ढोकामा बसेको परिचारिकालाई सोधें ‘त्यो पाङ्रामा के राखेको ?’
‘उसैले सोधी ‘के छ र ?’ पाङ्राको दुईतिर मुढा जस्तो छ त । कि पाङ्रालाई सिरानी राखिदिएको ?’
‘बाहिर निस्केर हेरि । हाँस्दै भनी ‘हो हो, त्यो पाङ्रो भाग्छ भनेर’
‘कता भाग्छ भनेर ?’
‘भागेर उता भवनमा चुच्चो ठोक्किएला भनेर नी’
‘ए ए यताका विमानलाईपनि भाग्ने बानी लाको हुने रैछ हगी ?’
छेउछाउका यात्रु गलल हाँसे ।
किन मानिसहरु बोर्डिङ पासकालागि ढोका नखुल्दै ढोका अगाडि लाम लागेका हुँदा रहेछन् भन्ने बल्ल बुझें । किनकि त्यहाँ त जसको टिकटमा जुन सिट लेखेपनि त्यसमा बस्ने हून रहेछ । जसको शक्ति उसको भक्ति । जो पहिले पुग्यो मन लागेको सिटमा बस्यो । मानिसहरु सबै त्यसरि बसेछन् । म त आफ्नो सिट खोज्दाखोज्दै पछि परें ।
झ्याल तिरका । यस्सो वरिपरिको द्रिश्य हेर्न सकिने । राम्रा भनिएका सिटमा सबै बसिसकेछन् । आफू आँखा वरिपरि डुलाउँदा डुलाउँदै पछि पो परियो । मान्छेका चर्तिकला हेर्दै बसियो, बाहिरको द्रिश्य हेर्न नपाउने सिट परेपनि । सस्तो टिकट किनेपछि अर्को खाले हैरानी हुने रहेछ । हाम्रातिर चना चटपटे । पानी । कोक । चिप्स, काँक्रा बेच्न आउँछन् मान्छे । यो विमानमा चाहिँ सानो गुडाउनेनेमा हालेर त्यसैगरि कहिले चकलेट, मिठाइ । कहिले जाँडपानी र जुस । कहिले फोनका कार्ड त कहिले महिलाका कोरीबाटी, झिलिकमिलिक बन्ने सरसाधन बेच्न आएको आयै । सोध्या छन् छन्, के किन्ने हो ? त्यो किन्ने हो ? भन्दै । सस्तो टिकट बेच्ने भएकाले अर्कोतिरबाट उठाउने भरमग्दुर प्रयास गर्दा रहेछन् ।
३.५० बजे उड्ने भनिएको थियो विमान । ३।३५ सम्म त हामी बोर्डिङ गेटभित्रपनि पसेका थिएनौं । तर त्यो १५ मिनेटमा यति छिटो काम गरेकि अचम्मै लाग्यो । भटाभट टिकट र पासपोर्ट वा परिचयपत्र हेर्यो । आधा टिकट धोरात्त च्यात्यो अनि ‘ल जाउ’ भन्दै पठायो । भेडा दगुरेझैं एकै छिनमा सक्किए त्यत्रा मानिस त बोर्डिङ पास भएर । विमानमा छिरे । भटाभट सिटमा बसे । विमान १० मिनेट मात्रै ढिलो भो । एक्कै छिनमा भटाभट सुरक्षा अक्किल बारे ईटालियाली, फ्रान्सेली र अंग्रेजी भाषामा खरर सुनाए । ड्याम्मडुम ढोका थुने । सिट बेल्ट लाउनुस् है भने । खटरखटर गर्दै दगुराइहाले विमान । उडिहाल्यो । बिचमा हिमालको द्रिश्य खुब राम्रो देखिएको रहेछ । आफू गतिलो सिटमा नपरेकाले हेर्न पाइएन । आर्काको सिटको झ्यालको कोप्चेराबाट अलिअलि आँखा टेढ्याएर हेरियो ।
रोममा भने विमान भनेकै समयतिर ओराल्यो । साँझ झमक्कै परेको थियो । रोमको विमानस्थलपनि सानो रहेछ । लोकल बसको टिकट काटें । तेर्मिनी भन्ने ठाउँमा उत्रिनुस् भनेर रोमका कहिल्यै नभेटिका मित्रहरु रामजिवी पन्थ र बाबुराम खतिवडा लगायतले भनेका थिए । त्यहिँ उत्रिएँ । बस केहिबेर जाममा फस्यो । साँझ भएकाले गाडीको भिड बढि थियो ।
ईटालियालीहरु असाध्यै रोचक नागरिक हुन् । असाध्यै बोल्छन् । विमान भित्र, बसमा । सडक । कि फोनमा बोलेको सुनिने चर्को चर्को । कि मुखबाट मारेका हुने । हात हल्लाउने र शरिर मर्काएर बोल्ने त ईटालीयालीहरु एक नंबरकै नागरिकमा परिहाले । चिमिक झिमिक खुब देखिने । असाध्यै रमाइलो बनाउँदा रहेछन् ईटलियालीहरुले आफ्नो क्षेत्र ।
रामजिवीजीले ठूलो छोरोलाई पठाउनु भएको रहेछ बस स्टेशनमा । हँसिलो, रसिलो फुच्चे भाईले जेसन पन्थ मुसुक्क हाँस्दै बोलाए । रोम शहर भित्र रहेछ बसाई ।
बसपार्कबाट यस्सो कुनामा सानो पार्क रहेछ । मेचमा तिन चार जना एशियाली थिए । जाँडका बोत्तल टन्न । प्लास्टिक, कागजका झोलामा केहि सितन होला । यत्रतत्र राखिएका । जाँड तान्दै थिए । त्यसले तिनको बोलीको पारो उचालिदिएको थियो । ति चर्कँदै थिए । मोबाइलमा हिन्दी गितको भोलुम खुब चर्काएका थिए । यो क्षेत्रमा बंगालीहरु निकै रहेछन् । ‘यि बँगालीहरु हुन् अंकल । यो त केहि हैन । हुलका हुल बाँधेर बस्छन् यि । रोममा सानो ढाकानै छ। आफ्नै देश जस्तो गर्छन् नी’ फुच्चे जेसन पन्थले हँसाए ।
ईटालियन र फ्रान्सेली खाना युरोपमा मात्रै नभएर विश्वमै प्रसिद्द छन् । ईटालियाली खाना लिँदै रामजिवीजीले रोमका केहि रोचक पक्ष सुनाउनु भो । आर्थिक मन्दीले थला पारेको युरोपको ब्यथा ईटालीमा अझ चर्को छ । काम पाइन्न । पाए गाह्रो साह्रो । छोडिएको । दाम कम आउने । यस्तै हो नेपालीले पाउने । त्यहिपनि आर्थिक मन्दीले गर्दा पाउन छोडिएको छ ।
यता बाँच्न मात्रै पुग्छ । उता नेपालबाट सोच्नेले ‘परिवारै लग्या छ नी । दुइ जनालेनै कमाउँछन् नी । त्यहाँको त एक हजार साटेसी ह्याँ त एक लाख ४० हजार हुन्छ । जाबो पैसा त कति कति ।’ यस्तो भन्छन् । करोडौं कमाएको सपना देख्छन् । मुख मिठ्याउँछन् । यताका अप्ठेरा अलग्गै छन् । खान र बस्न मुश्किल पर्छ । अलि जोगिएला झैं भो भने सरकार कर कार्यालयलाई कर्के आँखा लाएर कर बढाउन भनिहाल्छ । कर तिर हैरान, हात लागि शुन्य ।
साँझ रामजिवीजी र उहाँकी पत्नी सिता पन्थले रोमको बसाई, अनुभवका कुरा सुनाउनु भो । नेपालीका साझ ब्यथा सुनाउनु भो सिता पन्थले “दशैं आउँछ । तिहार जान्छ । तिजमा उता बा आमाले संझिन्छन् । फलानी छोरी भईन भनेर आमा उता रुन्छिन् । यता छोरीका आँखा रसाउँछन् । साथीहरुले ‘फलानीसित कस्तरि गित गाइन्थ्यो, कस्तरी नाचिन्थ्यो’ भनेर सम्झिन्छन् । बाबु नानी हो सँगै टिका लगाउनपनि पाइएन, परिवार सबै एकै ठाउँ एकैपटक देख्नपनि पाइएन भनेर बाउ आमाले गुनासो गर्दा मन कटक्क हुन्छ । यो बिदेशको ठाउँ अलिकति चर्को बोल्नपनि पाइन्न । जाने ठाउँ कतै छैन । आफन्त भन्ने कोहि छैन । गोरेहरुले सहर्ष स्विकार्दैनन् । नकमाए । काम गर्न नसके सरकारी भत्ता खान आएको भन्छन् । अलि कमाए लुट्यो हाम्रो देशको पैसो । लग्यो आफ्नो देश भन्छन् । अलि राम्रो काम पाए, हाम्रो काम खोस्यो भनेर मुख बिगार्छन् । उता नेपाल जाउँ तत्कालै के गर्ने ? कसले दिन्छ काम । केहि ब्यापार गरौं थोरै पैसोले हुन्न । बेचौं त्यत्रो के हुन्छ र ? नगद खानाखन गनेर हाल्न सक्ने हुति भए बिदेश भासिनै पो किन पर्थ्यो र ?” आखिर बिदेश भासिने धेरै जसो नेपालीको ब्यथा यहि न हो । कसैले भन्छ । कसैले भन्दैन । कोहि हाकाहाकी स्विकार्छ । कोहि लुकाउन खोज्छ । फरक यत्ति न हो ।
नेपाल बन्ला । नेताहरुले महसुस गर्लान् । अब अलिकति सुध्रिएलान् । नेपालीका दुख सम्झेर लाग्छन् । यस्तो सोचेका नेपाली अहिले बिक्षिप्त भएका छन् । सभासद छान्न तिनले आफ्नै भान्जी, पत्नी, शाली, काका, छोरा, आफ्नै पिछलग्गु च्यापे । महिनौ मारमुंग्री मच्चाए । ‘जाबो सभासद पदकै लागि यस्तो मारामार गर्नेले के देश बनाउने ?’ रामजिवीजीले सुनाउनु भो ।
एमाओवादीको ठूलो मौका थियो । देश बनाउने अवशर थियो । पार्टी अझ ठूलो बनाउने राम्रो अवशर पाएका थिए । तर तिनले आफ्नै खल्ती भर्ने काम गरे । मात चढ्यो । हेलिकोप्टर नभै नहुने भो, बाटो देखाउनुपर्ने नेतालाई नै । भ्रस्टहरुसितको संगत, लेनदेन । साह्रै भड्किलो शैली, महा शामन्तको जस्तो । ‘नेपाली जनताले बिकल्पै नदेखेर कांग्रेसलाई पहिलो पार्टी बनाए । नत्र मन खाएर दिएका हुन् र ? माओवादी झन खत्तम भएर निस्कियो अनि कांग्रेसलाइ भोट दिए । हैन माओवादीलेनै माओवादीलाई भोट दिएनन् ददीजी, कांग्रेसलाइ दिए” उनको कुरो चित्त बुझ्दो थियो ।






