आँखा खोल्ने ‘उपल्लो थलो ‘

Mohan-Mainali

वास्तवमा यो कथा ‘तल्लो थलो ‘ को हो । नाम राखिएको छ, उपल्लो थलो । तल्लो थलो, अर्थात् हाम्रा नेताका तल्ला प्राथमिकतामा पर्नेका कथा । हाम्रा प्रशासकले तल्ला ठानेका बस्तीका कहानी । हाम्रा योजनाकारले तल पारेका दुखिया बस्तिका उकुसमुकुस । हाम्रा निति निर्माताका दिमाखमा माथिल्लो श्रेणीमा पर्न नसकेका गाउँका दुख । गाउँकै पीडा । तर भौगोलिक रुपमा भने यो किताब उपल्लो थलोकै हो ।

पत्रकार, लेखक, डकुमेन्ट्री निर्माता मोहन मैनाली तिनै दुखियाका बस्ति छिचोल्दै गोरखाको उपल्लो थलोसम्म पुग्छन् । पटक पटक धाउँछन् । उनलाई त्यहि गोरखा जिल्लाको गोरखा बजारको स्पिकरको संगितले छुन्न । बरु उपल्लो गोरखामा टिर्लिङ टिर्लिङ घण्ट बजाउँदै भारी बोक्ने गधा र च्यांग्राको आवाजले लोभ्याउँछ । आधुनिक संगित भन्दा उनलाई डाँडा पाखामा बज्ने त्यहि संगित कर्णप्रिय लाग्छ । त्यसैमा उनी जिवन देख्छन् । लेखकिय जिवन । त्यसैमा रमाउँछन् । 

आधुनिक शैली । सभ्य भनिएकाहरुको बस्ती । टाइफाईँवालाहरुको दुनियाँबाट उनी टाडहको बस्ती पुग्छन् । कम्मरमा खुर्पेटा बाँध्नेहरुका । टाउकामा नाम्लोका दाम बस्नेहरुका कहानी उनी खोल्साहरुमा भेट्टाउँछन् । त्यहिँ बिसाउँछन् र तिनलाई बुनेर राख्छन् । छड्के भिरहरुमा घामको झुल्को सितै लरखराउने चौंरीका बथान र तिनैसित सिंगो जिवन बिताउने दुखिया भनिनेका वास्तबिक जिवन उनी नजिकै पुगेर नियाल्छन् । उठबस गर्छन् । कतै कापीका पानाहरुमा जोडजाड पारेर राख्छन् । क्यामराहरुमा समेट्छन् । कोदोको ढिंडो, नुनको सितन । जे जे मिल्छ त्यसैमा रमाउँदै उनी तिनै भिरपाखा चहाछन् । गोरखाको सिरेटोले हानेर मात्रै पुग्दैन उनलाई । उनी पूर्वको गोरखा छिचोलेर फेरि उता मानसरोबर तालसम्म पुग्छन् ।

-पहाडका जंगली फूलवारीको रमणियता मात्रै होइन भारतीय सिमामा आफ्नै देशभित्र भारतीयको मनपरी र ज्यादती भोग्ने प्रत्यक्षदर्शीपनि बन्छन् । हामी आफ्नै देशमा कति हेपिएका, कति दबिएका छौं भन्ने साक्षीपनि मोहन मैनाली र उनको टोली छ । आफ्नै देशमा भारतीय नंबर प्लेटको गाडी दगुराउनु पर्ने बाध्यता बनाउने को हो ? त्यो बाध्यतामा राखिरहने हाम्रा स्थानिय प्रशासन् हुन् कि भारतलाई रातोदिन सराप्दै तिनैको पाउमा लम्पसार पर्ने नेता ?

“हामीले बन्दोबस्त गरेको नेपाली गाडीमा भारतीय नम्बरप्लेट झुण्डिएको थियो । नेपाली नम्बर प्लेट भएको गाडी भारत पस्न नपाउने रहेछ । भारतीय गाडी  चाहिँ नेपालमा गुड्न पाउने हुनाले त्यहाँका गाडी मालिकहरुले भारतीय नम्बर प्लेटकै गाडी राखेका रहेछन् । यसो गर्दा उनीहरुले गाडीको भन्सारपनि तिर्नु नपर्ने रहेछ ।”  पुस्तकमा छ ।

Mohan-Mainali-Book_नेपालको आफ्नो भूमिमै कुनै होटेलमा सुतिराखेका बेला पारीबाट भारतीय सुरक्षाकर्मीको टोली सुरुसुरु आएर होटेलका मानिसहरुलाई उठाउने, जाँच लिने, सोधपुछ गर्ने सास्तिपनि लेखककै टोलीले भोगेको छ । लेखक, पत्रकार भन्ने जान्दा जान्दै त यतिसम्म अत्याचार गरिन्छ भने अरु सामान्य नेपालीको हालत के होला ? कतिसम्म अत्याचार गर्दा हुन् भारतीयहरुले ?

मोहन मैनालीले मानसरोबर जाँदा आफ्ना भरियाहरुलाई जुत्ता किनिदिए । तिनका खुट्टा नाङ्गै देखेर । काम सकिएपछि ति भरियाले आफूले लगाएको जुता भटाभट खोल्दै मैनालीलाई फिर्ता दिएछन् । हेर्नुस् त कति ईमान्दर रहेछन् हाम्रा भरिया ? काम सकिएपछि सुबिधा लिनुहुन्न भन्ने यो ईमान्दारिता पद छोडेपछि वर्षौं सम्म गाडी, सुरक्षाकर्मी र राज्यको अनेक सुबिधा लिने हाम्रा नेताहरुले मात्रै होइन धेरैले सिक्न सक्छन् । भरियाहरुको यो ब्यंग्यपनि हो, हाम्रो राज्य सञ्चालनको चाबी खेलाउनेहरुलाई ।

केन्द्रमा जस्तो सुकै बदमासी । राजनितिक बेइमानी । अदुरदर्शिता । ठगी । कालो बजारी र बेइमानी भएपनि गाउँका भरियाहरुको इमान्दारिता देखेर सबैलाई अचम्म बनाउँछन् । उनको अनुभवले भन्छ ‘गाउँका मानिसहरु, जो दुखि, गरिब भनिएका हुन् तिनै हाम्रा हुने खाने, पुगिसरी भएका भन्दा इमान्दार छन् । तिनले आर्काको एक गेडो चामलपनि सित्तैमा लिँदैनन् ।’ उनको यो भोगाई त्यसैको साक्षी हो ।

यात्राका क्रममा देखे भोगेका कहानी । दुख, रमाईला, सास्ति । हाँसो, ठट्टा सबै कतै कागजमा कोरेर फ्यास्स राखेका उनलाई कुनै दिन पुस्तक लेखुँला भन्ने हेक्का सम्म हुन्न । उनी आफ्नो लेखकियमा त्यसलाई खुलाउँछन् । किताब लेखौंला भनेर वास्तै नगरि दाई गरेको पराल झैं गाँजेमाजे पारेर मिल्काउँदा त यस्तो सुन्दर क्रिति बन्यो । साँच्चै पुस्तक लेख्ने सोच र तयारीलेनै उनले साँचेका भए कस्तो बन्दो हो यो क्रिति ?!

‘दूर्गम भेकका १० वटा गाउँ विकास समितिमा एउटापनि हाईस्कूल रहेनछ । तैपनी त्यहाँका ३४ वटा प्राथमिक स्कूलका २,३०० बिध्यार्थीलाई पढाउनकालागि वर्षेनी ४० लाख रुपैयाँ खर्च हुँदो रहेछ ।’ गाउँमा शिक्षाका नाममा राजनितिक दल, प्रशासकले गर्दै आएको लूटको यथार्थता मैनालीले यसरि उपल्लो थलोमा ब्यक्त गरेका छन् ‘एउटा केन्द्रमा दुई जना बिध्यार्थी थिए, तर उनीहरुपनि जाँच दिन आएनन् ।”  कतिसम्म नितिहिनता छ भने बल्ल बल्ल खुलेका स्कूलमापनि स्थानियले भाषानै नबुझ्ने शिक्षक ल्याउँछन् । तल्लो भेगका । न शिक्षकले बिध्यार्थीको भाषा बुझ्ने । न बिध्यार्थीले शिक्षकको ।

गोरखाको उत्तरी भेगका जनता उति असन्तोसी छैनन् । उनले अग्ला भवन खोजेका छैनन् । विकासका आधुनिक चमत्कार मागेका छैनन् । साहूको भारी बोकेर गुजारा गर्नुपर्छ । गोरेटोसम्म नहुँदा ति गुल्टिएर कहाँ ज्यान जाने हो भन्ने त्रासै त्रासमा भारी बोक्छन् । त्यसैले तिनले मागेको मात्रै के हो भने ‘हामीलाई गोरेटो बनाइदेउ । हाम्रा केटाकेटीलाई पढ्ने हाईस्कूल सम्म खोलिदेउ । उपचार गर्ने सानो स्वास्थ्य चौकी सम्म त ब्यवस्था गर ।’ के यि माग पूरा गर्नै नसकिने भयानक हुन् ? यतिपनि हाम्रा शासकहरुले दिन सक्दैनन् । तिनलाई त्यो भेगको ध्याननै छैन । उनले हाम्रा शासकहरुको ध्यान तानिदिनसम्म कोसिस गरेका छन् ।

बेथिति र मनपरिपनि कति सम्म छ भने, सूकलमा केटाकेटी गएपनि शिक्षक कतै बिदामा हुन्छ । भएको स्वास्थ्य चौकीमा बिरामीको भिड लाग्छ । तर स्वास्थकर्ता हस्ताक्षर गरेर सदरमुकामतिर बस्छन् । तलब भने मासिक खुरुखुरु लिन्छन् । तर अहँ त्यसको निगरानीसम्म कसैले गर्दैन । मैनालीले यस्ता प्रत्यक्ष भोगाईका दर्जनौं उदाहरण प्रस्तुत गरेका छन् । तर यसमा ध्यान पुग्ने कसको ?

“हामी हिँडेको बाटोमा ठाउँ ठाउँमा बाटोको भित्तामा सामान्य भन्दा फरक किसिमका ढुंगा राखेको देखेका थियौं । अचम्म मानेर सोध्दा त्यहाँका मानिसले अर्थ्याइदिए । अप्ठेरो बाटोमा भारी बोकेर हिँड्दा कति मानिस खसेर मर्दा रहेछन् । बौद्द धर्मको चलन अनुसार मरेको मानिसको आत्माको शान्तिका लागि पूजा गरिँदो रहेछ । अनि उसको संझना गरिराख्न ऊ खसेका ठाउँमा  एउटा ढुंगा राखिँदो रहेछ । अर्थात् हामीले जति ढुंगा देख्यौं त्यति मानिस त्यो बाटोमा मरिसकेका रहेछन् । यस्ता ढुंगा देख्यो कि आफैंपनि खसेर मर्छु कि भन्ने डर लाग्थ्यो ।” पुस्तक तय्सै लेखिँदैनन् । पाठकको मन जित्ने, साँच्चै खुराक दिने पुस्तक लेख्न सजिलो छैन भन्ने उनको भोगाईले बताउँछ ।

लार्के भन्ज्याङमा मैनालीले आफ्नै म्रित्यु पर्खेर बस्दाको क्षणले भावुक बनाउँछ । त्रसित गराउँछ । लेक लागेर थला परेपछि अब दुई घण्टा तलबाट हामीलाई खोज्न कोहि आइपुगेनन् भने मरिन्छ भनेर निर्णय गर्छन् मोहन मैनाली । संझिनुपर्ने सबै संझिन्छन् । यहाँ मानिस मरेको छ भन्ने जानुन भनेर चिनो छोड्छन् । ‘चिर निन्द्राको तयारी’ भन्ने उनको त्यो अनुभव, भोगाईले जो कसैलाई आँसु तप्प चुहिने बनाइदिन्छ ।

उनको पुस्तक पढ्दा झर्को लाग्दैन । मैनालीले उपदेश दिने । गल्ति कमजोरीका पहाड तेसार्ने । प्रशासक र नेतालाई सराप्ने मात्रै गरेका छैनन् पुस्तकमा । मुर्छा पर्नेगरि हसाउँने प्रसंगपनि छन् । कतै उपन्यास जस्तो लाग्ने । कतै हाँस्यब्यंग्यको ठेली जस्तो । कतै फिल्ममा म्रित्युवरण गर्न लागेको कुनै दुखि पात्रको आँसु झर्ने कहानी जस्तो । कतै निबन्ध त कतै दन्त्य कथाको रोमाञ्चक वर्णन जस्तो । एकैछिन् अघि दुख र पीडाका कहानी पढेर मन रुवाईरहेका पाठकलाई उनी धेरैबेर दुखि हुन दिँदैनन् । र तत्कालै मुर्छा हाँसोले बनाउने प्रसंग बिछ्याइदिएर न्याय गर्छन्-

‘बर्केन खोइ त ?’

‘बर्केन आउँदैनन् कि क्या हो ?’

‘बर्केन आइसकेका छन् नी ।’

‘खोइ त ? भेटौं न कहाँ छन् ?’

‘अहिल्यै भेट्न के हतार र, भोली बिहान भेटौंला न ।’

उनले टार्न खोजेको थाह पाएर हामीले झन जोड गर्यौं ।

“बिरामी छन् क्या । त्यसैले नभेटौं भनेको ।”

“त्यसो भए त झन अहिल्यै भेट्नु पर्योन नी । के बिमार ?”

“त्यस्तो ठूलो बिमार होइन क्या । रुखबाट लडेका । ठूलो रुख होइन । कोदोको रुखबाट ।”

गाउँघरतिर प्रायजसो कोदोको जाँडरक्सी बनाइन्छ । त्यसैले, जाँडरक्सीले मातेको मानिसलाई  कोदोको रुखबाट  लडेको भन्दा रहेछन् वर्केनका साथीहरु।”

यस्तो किताबको समिक्षा गर्ने हैशियत म राख्दिन । म पुस्तक समिक्षकपनि होइन । मैले पढेको किताब भएकाले जे लाग्यो आफ्ना भावना मात्रै पोखेको हुँ । त्यहि भावनाले के भन्छन् भने नेपालमा यस्ता किताब सायदै लेखिएका होलान् । जहाँ सबै खालको बिधाको स्वाद पाइन्छ । सरल भाषा शैली त मोहन मैनालीको स्रिजनाकै स्थापित कला हो नै । पुस्तकमा झन झल्किने भैहाल्यो । यो पुस्तकलाई गहिरिएर ध्यान दिने, मनन गर्ने हो भने नितिनिर्माताहरुको आँखा खोलिदिन्छ । राजनितिक दलहरुलाई बाटो देखाउँछ, यदि ति साँच्चै देश र जनताको सेवा गर्न, राष्ट्र बदल्न चाहन्छन् भने ।

तपाईले धेरै देश । गाउँ । छरछिमेक घुम्नु भयो । हाँसो, दुख, रुवाई र अनेक खालका घटना भए । तर ति सबैलाई कसरि माला झैं उनेर क्रितिको रुप दिने ? अल्मलिनु भएको छ भनेपनि यो पुस्तक पढेपछि अक्किल आउँछ । हाम्रो देशको भौगोलिक अवस्था, त्यहाँका जनताको जिवन शैली र वास्तबिकता बुझ्न त यो पुस्तक उत्तिकै उपयोगी छ नै । तर दुखको कुरो, सबैले पढ्नुपर्ने यस्तो पुस्तकको जति चर्चा हुनुपर्ने हो त्यति भएको चाहिँ देखिन्न । जगदम्बा प्रकाशनले प्रकाशित गरेको यो पुस्तक पढ्नुस् । पढिसकेपछि तपाईको मन रमाउँछ । पुस्तकका बारेमा सुनाउने र लेख्नेलाई धन्यावाद दिनुहुने छ । पछुताउनुहुन्न । (तस्विर : हिमाल खबर)

थप हेर्नुस्

पत्रकार मैनालीको उपल्लो थलो बजारमा

 

तपाइँको प्रतिक्रिया