ककपिटमै बसेर फिनल्याण्डको यात्रा
नोभेम्बर १८ को बिहान गज्जबको संयोग पर्यो । पहिलो पटक अन्तर्राष्ट्रिय विमानको ककपिटमै बसेर यात्रा गर्ने । पाईलटहरुसँगै । त्यो पनि गफगाफ गर्दै । त्यत्ति हो र ? बिमानस्थलको टावरसित प्रत्यक्ष सम्पर्कमै रहेर । पाइलटहरु जे सुन्छन् । टावर क्रन्ट्रोलबाट जे भनिन्छ । टावरसित जे गफ हुन्छ । त्यो सबै सुन्दै । अनि बिमान के कसरि उड्छ ? मोडिन्छ । किन बेला बेला झड्कारिन्छ । कुन गतिमा उड्छ ? यो सारा सुन्दै र प्रत्यक्ष अनुभव लिँदै उड्न पाएँ । मेरो अनुभव धेरैलाई रमाईलोपनि लाग्न सक्छ ।
बिहान म पेरिस नजिकको चाल्स द गोलबाट जर्मनीको फ्र्याँकफर्ट बिमानस्थल उड्दै थिएँ । यो यात्रा एकदम छोटो थियो । जरिब ४०, ४५ मिनेटको मात्रै । त्यहाँ करिब डेढ घण्टा पर्खेपछि उता फिनल्याण्डको राजधानी हेलसिन्की जाने अर्को उडान थियो, मेरो । यात्रुहरु सबै के के न पाइन्छ अलि छिटो गए त जस्तो गर्दै उछुनपाछिन् गरे । विमानमा चढ्नको लागि । आखिर् जति अगाडि बिमानभित्र पसेपनि आफ्नै सिटमा बस्ने न यो । सबैलाई जान दिएँ मैले । अन्तिममा उक्लिएँ । विमानमा उक्लिँदा त यात्रु पस्ने ठाउँबाट पाईलटको ककपिट स्पष्ठ देखियो । उत्सुकता लाग्यो मलाई । पाइलटहरु खै के के हो चलाउँदैपनि थिए । झिलिमिली । बटननै बटन । रंगी चंगी । हेर्दा राम्रो लाग्यो । केहिबेर हेरें । मैले निकै चाख मानेर हेरेको एक जना परिचारिकाले नियालेकि रहिछिन् । मैले हेरेको उनलाई रहर लागेछ । सोधिन् ‘हेर्न मन छ नजिकबाटै ?’
‘भएर त हेरेको नी’
‘जान्न मज्जा लाग्छ ?’
एकदमै मजा लाग्छ । त्यहि भएर त हेर्दै छु म । मलाई यस्ता कुरा बुझ्न खुब मन पर्छ । बिज्ञाका विषयमा मलाई चासो छ ‘
उनले त्यहि बेला प्रमुख पाइलटसित बाहिरि फोनबाट खै के के भनिन् । अनि भित्रबाट पाईलट स्टेफान आसमान निस्किए । उनले भित्रै बोलाए । ककपिटमै । ककपिटको सामान्य ज्ञान सुनाए । केहि सामाग्रि देखाए । त्यहिँ उनको र मेरो बिचमा अलि अलि चिनजानको गफगाफ चल्यो । म कुन देशको ? किन हेलसिन्की जान लागेको ? धेरै कुरोमा चासो लागेछ उनलाई । त्यसपछि म गएर आफ्नो सिटमा बसें । सायद धेरै ढिलो बुक गरेकाले होला । मेरो सिट अन्तिममा थियो । म त्यहाँ गएर बसेको दश मिनेट जतिमा त एक जवान आए । यस्सो वरिपरि नियालेर सोधे ‘हु इज त औथर हियर ?’ अरुपनि कोहि लेखक हुन सक्थ्यो । त्यसैले मपनि चुपचाप बसें । ति जवान फर्केर ककपिटतिरै गए । फेरि आएर भने ‘मिस्टर सापकोटा ?’
उनले भने ‘हाम्रो फ्लाईट चिफले यहाँलाई बोलाउनु भएको छ ।’
म आफ्ना सामान त्यहिँ छोडेर जान खोज्दै थिएँ । सायद केहि भन्नकोलागि होला भन्ने सोचेर । तर लुफ्थान्सा कम्पनीको लुगा लगाएर बोलाउन आएका ति जवानले भने ‘होइन होइन । तपाईका सबै सामान लिएर उतै जानुस् ।’
ककपिटमा स्टेफानले आफू सँगैको सिटमा राखे । पाईलटको छेउमा भएको सिट बेल्ट त फरक हुने रहेछ । कम्मरमा दुई तिर कन्दानी झैं बाँध्नुपर्ने । अनि दुबै काँधको छेउ छेउबाट पनि फिता कम्मरमा झरेका हुने । त्यो लगाउन अप्ठेरो भो । अनि त दुबै पाईलट जुरुक्कै उठेर आए । मेरो त सातोनै गयो । बिमान त्यत्तिकै छोडे । अब यिनले न दूर्घटना गराउने हुन् कि ! जाबो आकाशमा उडेको आकाशको फिस्को जस्तो बिमान । यत्रो आकाशमा । यिनले नअँठ्याए त गैहाल्छ कि ? यस्तै लागेर साह्रै डर लाग्यो । सोधेंपनि ‘स्टेफान केहि हुन्न ? यसरि दुबै जनाले छोडिदिँदा ?’ उनी हाँसे ‘हाहाहाहा केहि हुन्न, यो आफ्नो गतिमा, आफ्नो बाटो उडिराख्छ ।’
स्टेफानले पाईलटाह्रुले लगौने फोनको तारपनि कानैमा जोडिदिए । भने ‘यो लगाएपछि टावरसितको सम्पर्क, बातचितपनि सुन्न सकिन्छ । हामीलेपनि गफ गर्दै जान मिल्छ ।’ उनी थिए फिनिस (फिन्ल्याण्डका नागरिक) । उनले जागिर खाने बिमान कंपनी लुफ्थान्सा । जर्मन कंपनी । त्यसैले एक अर्काको भाषा मिल्ने भएन । उनीहरु अंग्रेजीमा बोल्थे । मैलेपनि सबै बुझ्न पाउने भएँ । टावरका अधिकारीहरुले एक पटक स्टेफानलाई सोधेपनि ‘को सँग गफ गरिराखेको ?’
नेपालीसित, एक जना नेपाली साथी छन् । सँगै । गफ गर्दै छौं । म सुनाउँदै छु ।’
सामान्यत जर्मनीबाट फिनल्याण्ड उड्ने बिमानले उचाई लिएका बेला एक हजार किमी प्रतिघण्टाको गतिमा उड्ने रहेछ । उत्रिने ठाउँ नजिक आएपछि ७००, ५००, ४००, ३००, २०० गर्दै जमिनमा टेकेका बेला ५० किमी प्रतिघण्टा हुँदो रहेछ ।
बिमानमा दुबै पाईलटका लागि दाहिने र देब्रे दुबै गोडामा हुने रहेछन् ब्रेक । जमिनमा उत्रिने बेला चाहिं त्यहि ब्रेक प्रयोग गर्दा रहेछन् । एक्सिलेटरपनि हातैमा हुँदो रहेछ । त्यसैले गति घटाउँदा रहेछन् ।
स्टेफानले पहिले एशियातिर जाने लामो दूरीका बिमान उडाउँदा रहेछन् । भियतनाम । कम्बोडिया । थाइल्याण्ड । बर्मा । बेइजिङ । ईन्डोनेशिया । त्यता जाँदा नेपालका हिमाल, डाँडाकाँडा, शहर र गाउँ खुब हेरेका रहेछन् । आकाशबाट चक्कर मारेपनि जमिन भने कहिल्यै नटेकेका । उनमा नेपाल अब जमिनटेकेरै हेर्ने इच्क्षा थियो ।
स्टेफानले सुनाउँदै गए । सायद साँढे दुई घण्टाको उडानमा । उड्ने बेला उडेकै देशको टावरसित सम्पर्क हुने । माथि आकाशमा पुगिसकेपछि खासै वास्ता नहुने रहेछ । आवश्यक परे मात्रै सम्पर्क गर्दा रहेछन् । अनि उत्रिने बेला उत्रिने देशकै टावरसित हुँदो रहेछ समपर्क । राडारबाट चल्ने फोनमा कुरा गर्दा रहेछन् उनीहरु । ‘गाडी चले जस्तै हो’ स्टेफानले सुनाए’ नजन्दा गाह्रो, जानेपछि केहि न केहि । सजिलो । पाईलट बन्न गाह्रो होइन । प्रशस्त पढ्नु पर्यो शुरुमा । त्यसपछि अनुभव चाहिन्छ ।’
ठूला बिमानस्थलमा पार्किङ पाउन गाह्रो हुने रहेछ । बिमान उडाउने काममा सबैभन्दा गाह्रोनै यहि । जमिनमा बिमान ओराल्नासाथ स्टेफानले सुनाए ‘सबैभन्दा गाह्रो काम बल्ल शुरु भो । पार्किङ पाउनु । ठाउँ त तोकेको हुन्छ । तर त्यो यति ठूलो बिमानस्थलमा कहाँ पर्छ कहाँ । खुब चक्कर मार्नुपर्छ त्यो भेट्टाउन ।’
मैले अनेक जिज्ञासा राख्दा उनी घरि घरि भन्थे ‘गाडीको जस्तै हो ।’ गाडी चलाउँदा हुस्सु लाग्यो । पानी र हिउँ पर्यो भने गाडीको गति घटाइन्छ । त्यस्तै हो बिमानपनि । उच्च बेगमा हावा चल्दा । पानी बर्षिँदा । हुरीबतास र हिउँ पर्दा । उनीहरुले गति घटाउने रहेछन् ।
हामीले आकाशमा उडेको विमान देख्दा, भोग्दा खतरा झैं लाग्ने मात्रै हो । स्टेफान ‘केहि खतरा हुन्न’ भन्दै सुनाउँथे । बानी नपरुन्जेल खतरा लाग्छ । बानी परिसकेपछि सामान्य । तर धेरै यात्रु आफ्ना हातमा हुनाले जिम्मेवारीबोध चाहिँ बढि हुन्छ रे ।
हेल्सिन्कीको बिमानस्थल पुग्दा अधिकांश भाग बाल्टिक समुद्रको माथि पर्दो रहेछ । अनि हेल्सिन्की बिमानस्थल आकाशबाट हेर्दा त ठ्याक्कै क्रिसमसको रुख जस्तो । तर त्यस्तो समुद्रमाथि उड्दा हामीले केहि देखेनौं । बादल, हुस्सु र कुहिरोले लुकाएर राखेको थियो । हामी ति हुस्सुभन्दापनि माथि उडेका थियौं । त्यस रात स्टेफान हेलसिन्कीबाट ईटालीकालागि उडेर फेरि स्पेनमा रात बिताउन उड्दै रहेछन् । ‘युरोपका शहरहरुमा फेरि फेरि रात बिताउन मज्जा लाग्छ’ स्टेफान मख्ख थिए ।
बिमान ओर्लिने बेला पखेंटा बढि चाक्लो पार्दा रहेछन् । किन ? हावा धेरै पसोस । ठण्डा बनाओस् भनेर । उनले ओर्लिने बेला ‘उ यता पर्छ’ भनेर हेलसिन्की बिमानस्थल देब्रेतिर देखाए । तर बिमान कता कता घुमेर दाहिनेतिर उड्दै थियो । मैले सोधें ‘स्टेफान, यता बिमानस्थल भए किन अन्तै घुमाएको त ?’
‘गाडीपनि जहाँ पार्किङ गर्ने हो त्यहि सिधा लैजान्छु भनेर हुन्छ र ? गति घटाउन, पार्किङमा सहि ठाउँमा पुग्न, अरु नउड्ने बाटोबाट सुरक्षित तरिकाले पुग्न धेरै कुरो ख्याल गरेर बिस्तारै गति घटाएर फुत्रुक्क ओर्लिनु परो नी हैन र ?’ हँसिला उनी मुसुक्क मुस्काउँदै जवाफ दिन्थे । लाग्दो यो ‘यो बबुरो नेपाली बिमानका बारे केहि जान्दैन । सानो सानो कुरोपनि जिज्ञासा राख्छ ।’
बिमान उडेका बेला अधिकांश बत्ती निभाउँदा रहेछन् । ककपिटको । अनि छेउमा हाते लाईट (टर्च) हुँदो रहेछ । स्टेफानका साथी (को पाईलट) घरि घरि त्यहि टर्च बालेर खै के के हेरिरहन्थे ।
हामीलाई बेला बेला झ्वाट्ट झ्वाट्ट गरे झैं लाग्छ बिमान । कहिले एक्कासि तल झरेको अनुभव हुन्छ । किन ? एक्कासि हावाहुरी चल्यो, असिना पर्यो् भने उनीहरुले एक्कासि ब्रेक हान्दा रहेछन् । गति घटाउन । अनि बिमानलाई अलि मुन्तिर झार्दा रहेछन् । त्यहि बेला यात्रुहरुलाई बिमान तल खसेको अनुभव हुन्छ ।
गफ मार्दामार्दै हेल्सिन्की आइपुग्यो । मैले स्टेफानलाई केहि फिनिस नागरिकसित बातचित गर्न आएको सुनाएको थिएँ । उनले फिनिस नागरिकहरु असाध्यै दयालु, मनकारी हुन्छन् भन्ने सुनाए । उनले ‘बिमानस्थल ओर्लिनासाथ यो महसुस हुन्छ’ भनेका थिए ।
पार्किङ पाएपछि हामीले केहि बेर फोटो खिच्यौं । उनले आफ्नो बच्चो बल्ल दश वर्ष भएको । अलि हुर्किएपछि नेपाल लिएर आउने बाचा गरे । त्यति छोटो यात्रामा हामी साथी जस्तै बन्यौं । पाईलटलाई दिने केक, रोटी र अनेक परिकारले सत्कारपनि गरेका थिए स्टेफानले । मैलेपनि नेपाल आउन उनलाई निम्ता दिएँ । नेपालमा आफूलेपनि केहि ठाउँ घुमाउन लैजाने बचन दिएँ ।
फिनिस नागरिकको जति चर्चा हुन्छ अन्यत्र । नेपालीहरुकोपनि फिनल्याण्डमा असाध्यै चर्चा हुने कुरो उनैको मुखबाट सुन्न पाएँ मैले । ‘नेपाल र नेपालीको असाध्यै चर्चा हुन्छ यहाँ । नेपालको हिमाल । नेपालको संस्किर्ति । नेपाली मान्छेको ब्यवहार ।’ स्टेफानले सुनाए ।
मेलहरु आदानप्रदान गर्ने । अब नेपालमा भेट्ने बाचा गरेर हामी छुट्टियौं । बिमानस्थलमा निराजन शिरिस पर्खिन्छु भनेका थिए । बिमानस्थलबाट बाहिर निस्किने केहि द्वार रहेछन् । कतापट्टी लागे भेट हुन्छ मेसो भएन । ‘कियोस्क’ पसलमा गएर सिम किन्न खोजें । त्यहिँको स्थानिय मोबाईल नंबर लिन । ओहो कति सहयोगी हुने रहेछन् फिनिस नागरिक । पसलकी महिलाले हाँसी हाँसी आफैंले त्यो नंबर राखेर ट्याक्क पारिदिईन् ।’ मैले भनें ‘कति सहयोगी तपाई ।’ फिनिसहरु सबै यस्तै हुन्छौं’ हाँसी मोरी । मैले उनै स्टेफानलाई फेरि संझे ‘फिनिसहरु एकदम सहयोगी, मनकारि हुन्छन् । ओर्लिनासाथ महसुस गर्नुहुन्छ ।’
(अर्को अंकमा ‘कसरी भए फिनिस नागरिक विश्वकै सबैभन्दा ईमान्दार ?)






