महिलाले टोपी लगाएर भाषण ठोकेपछि…………….
महिला भेला । मञ्चमा सबै महिला नै महिला । नाम बोलाईयो मञ्चमा उपस्थित हुन भन्दै शोभा चन्द । उनी पछिल्लो लहरतिरबाट उठेर फटाफट आईन । दौरा सुरुवाल लगाएकाले होला सबैले पल्याक पुलुक गरे। कति घाँटी तन्काउँदै हेर्न थाले । कपाल हेर्दा महिला जस्तो । लुगा हेर्दा पुरुष जस्तो जस्तो । हुनत यूरोपेली महिला सम्मेलनमा भाग लिन पेरिस आए धेरै महिला । आएका मध्ये कतिपय महिला भएपनि महिला जस्ता थिएनन् । उनीपनि त्यस्तैमा परिन् । दर्शक दिर्घा त दंग पर्ने नै भयो । मञ्चमा बसेका र अयोजकपनि जिल्ल परेर हेरेको देखिन्थ्यो । उनले माईक चट्ट समातिन र भनिन “तपाइहरुलाई अचम्म लाग्ला सायद, किन आज यो दौरा सुरुवाल लगाएर आई भनेर । अन्याय नहोस भनेर “। बिचैमा कसैले उनलाई “भविष्यको सांसद हुन” भन्यो । अनि उनले भनिन–सांसद हुन होइन ।
आफ्नो मन्तब्य शुरु गरिन-अहिलेसम्म महिलाका बारेमा कक्षा कोठामा के पढिएको थियो भने तपाईहरुले कतै झगडाको औषधी भन्ने सुन्नु भाको थियो होला । बुढाबुढीको असाध्यै झगडा पर्छ । अनि बुढीले चाहिँ एउटा औषधी दिएर पठाउँछिन । अनि मुखमा बुझो हालेर चुप्प लागेर बस्ने भूमिका चाहिँ महिलालाई दिईएको हुन्छ । त्यहि मुखमा बुझो हालेर बसेको मानिसले आज बोल्न पाउने दिन भनेको भएर ।
के भन्ने होलिन भन्ने जिज्ञासु आँखाले हेरिरहेका थिए सबै । दर्शकका कौतुहलता मेट्दै उनले भन्दै गईन-आज त खास पुरुषहरु अल्पमतमा पर्नु भएको छ । कम्तिमा मञ्चमा त कोहिपनि देखिँदैन । अनि रंगकर्मीको नाताले अनि मैले धेरै पहिलेदेखि भन्दै आएको के भने नारी र पुरुष भनेर छुट्टाएर कुरा गर्ने आधारलाई विश्वास म गर्दिन । त्यहि भएर म तपाईहरुको प्रतिनिधित्व गर्न ढाका टोपी र दौरा सुरुवाल लगाएर बोल्छु है ? त्यसो भनेपछि उनले ढाकाटोपी स्वाट्ट झिकिन र टाउकोमा चट्ट लगाईन । तालीको गडगडाहटले हल गुञ्जियो केहिबेर । अनि माईक समातेर टाउको उचाल्दै यसो सभाहलको आँकलन गरेझैं ढाका टोपीले सजिएको टाउको उठाएर हेरिन् ।
मानिसहरु कोहि मुखा मुख गरे। कोहि हाँस्दै थिए । कोहि लाजले मुख छोपे । कोहि के गर्या होला भनेर खासखुस गर्दै । कोहि त क्या पागल जस्तो भन्दै थिए । कोहि कार्यक्रमकै बेईज्जत गरी भन्दै थिए । बेईज्जत उसैको भो नी के अरुको हुनु भन्ने पनि थिए । यस्तालाई बोल्न दिएर, यत्रो कार्यक्रमको महत्व नबुझ्ने आफ्नै कमजोरी आदि बिभीन्न टिका टिप्पणी सुनियो । आआफ्ना धारणा न हुन् कसैले छेक्न थुन्न सक्ने कुरो भएन । एउटा चाख लाग्दो पक्ष चाहिं के भने उनले पुरुषका कुरा बोलीदिन पुरुष बनेको त भनिन् नै । टाउकोमा टोपी लगाईन । अनि शरिरमा सट्ट दौरा र सुरुवाल । तर गोडामा भने महिलाले लगाउने जुत्ता नै थिए । त्यसैले, पुरुष बनिदिन्छु भनेपनि उनी आफैं पुरुष बनेको देखाउन सकेकि भने थिईनन् । यद्दपी गोडामा त कसले पो हेर्छ र भन्ने लागेको हुन सक्छ ।
(मञ्चमा आउनासाथ यसरि माईक मिलाउँदै थिईन उनी । टोपी लगाएको अलि पछि हो)
सामान्य संपादित गरिएको उनको मतब्यको मुख्य भाग तल छ । पढेर के बुझ्नुहुन्छ प्रतिक्रिया लेख्नुस है त ?
भन्न त मलाई म यहाँ आएर, यतिका संघर्ष गरेर प्रोफेसर हुँदा के कस्ता समस्याहरु परे त्यसका बारेमा भनिदिनु हुन्छ भनिएको थियो । मलाई समस्या भने के पर्यो भन्दाखेरि हुर्किनपनि यस्तो वातावरणमा हुर्किन पाएँ कि मलाई कहिल्यैपनि छोरा मान्छे छोरी मान्छे भनेर भेदभाव गरिएन । मेरा वरिपरिका साथीहरु हेर्दापनि जति केटी साथीहरु छन् त्यो भन्दा बढि केटा साथीहरु छन् । नराम्रो अर्थमा नलिइदिनु होला । र ति साथीभाईहरुलाई आज म एकदम धन्याबाद दिन चाहन्छु कि मलाई उनीहरुले तँ केटी होस भनेर कहिल्यै महसुस हुन दिएनन् । त्यसकारण नारीको हिसाबमा तपाईलाई के समस्या छ भन्नुभयो भने चाहिँ म भन्न सक्दिन । त्यसको लागि मलाई माफी गर्नुहोला ।
तर प्रतिनिधित्व गर्नको लागि चाहिँ मैले देखेको जबसम्म नारीको समस्यालाई नारीको समस्या मात्रै भनिन्छ तबसम्म यो समस्या हल हुनेवाला चाहिँ छैन । समस्यै छैन भन्न खोजेको होइन । यो चाहिँ नारीको मात्रै होइन पुरुषको पनि समस्या हो । हाम्रो समाज भनेको चाहिँ गाईगोडे ग भन्छन् नी हो त्यस्तै समाज हो । जहाँ महिलाहरुको आफ्नै समस्या होला । पुरुषहरुको आफ्नै होला । तर दुई जनाबिच संवाद हुन सकेको छैन । यो संवादहिनताले गर्दाखेरि धेरै समस्याहरु परिरहेका छन् । मलाई यसको लागि एकदमै राम्रो चाहिँ के लाग्यो भने म भन्दा पारिजातजीले धेरै समय अगाडि लेख्नु भएको र अहिलेसम्मपनि समय सान्दर्भिक लागेको भएर पारीजातको शिरिषको फूलको एउटा टुक्रा ल्याएको छु यहाँहरु समक्ष पढ्नको लागि ।
पारिजातको शिरिषको फूलमा तिन जना केटीहरु हुन्छन् पात्र । अनि एक जना केटा । ति मुख्य पात्र हुन् । त्यसमा सुयोग भन्ने एउटा पात्र हुन्छ । उसले भनेको, पुरुषको रुपमा उसले संवाद गर्न नसकेर, नारी भन्ने पात्रलाई बुझ्न नसकेर, जिवन बुझ्न नसकेर कस्तो पिडामा परेको छ त ? पुरुषको पनि त पिडा भनिदिनुपर्यो ।
त्यहि भन्दै छु–कतै कसैले विवाहका लागि कुरा उठाइदिए म झल्झली मुजुरालाई संझन्थें । र संझन्थें सायद यस्तै हुँदी हो स्वास्नी । यदि शिवराजले मेरी बहिनीहरुमाझ छानेर लैजाउ भने भने म मुजुरालाई लगेर आफ्नो कोठामा टाँगिदिन्थें । मेरि स्वास्नी भनेर उसको निधारमा लेखिदिन्थें । सम्झें एउटा रमाईलो कथा हो मुजुरा जसलाई मनभरि पढ्न सकिन्छ । र एउटा यस्तो कथाकि द्रिश्य हो मुचुरा जसलाई आँखाभरि हेर्न सकिन्छ । तर क्रिया हालेर भन्न सकिन्छ जोसित मेरो प्रेम भएको छैन । स्वास्नीलाई पनि प्रेम गर्नुहुन्छ, प्रेम गर्नुपर्छ भन्ने कुरा मलाई थाह छैन । समस्या यहाँनिर छ ।
लामो कुरा नगरौं । उहाँहरुलाई चाहिँ के भन्नुस् भने कहिलेसम्म चाहिँ हामी नारीलाई फूल बनाउने, कहिलेसम्म जून बनाउने अनि केटाहरुलाई चाहिँ ढुंगा बनाउने हैन ? अर्को समसामयिक कुरा गर्ने हो भने चाहिँ हाम्रो कति सजिलोसँग राष्ट्रपती बनाइदिए । र आजको यहि मञ्चमा राष्ट्राध्यक्ष हुनुपर्छ भन्ने मागपनि गर्न चाहन्छु । राष्ट्रपती भनेपछि त्यत्रो ईन्डियामा त्यत्रो छलफल भैसकेपछिपनि कति सजिलोसित राष्ट्रपती भनेर आँखा चिम्लेर राखियो त्यो शब्द । त्यसो हुनुको अर्थ के हो ? भोली गएर त्यहाँ कुनै महिला पुग्यो भने अपवाद भनेको जस्तो भयो नी । बाटो बन्द गरिदिएको जस्तो भयो नी हैन र ? त्यसकारण सभापती नभने जस्तै अब राष्ट्रपती नभएर राष्ट्रध्यक्ष भनौं है ? अनि शिरिषको फूलमा चाहिँ हाम्रो पारिजातले केटी मान्छेलाई फूल नभनेर मांसहारी क्याक्टसपनि भन्नु भाछ । जसलाई लेखेको छ उहाँकै शब्दमा, बाढी आउँछ, पहिरो जान्छ, बुलेट पड्किन्छ । त्यो हुँदैमा नारी नहुने होइन । मैले आज दौरा नलाएर नारी नहुनेपनि होइन । होइन ?
(गत मार्च ८ को अन्तर्राष्ट्रिय नारी दिवसका दिन पेरिसमा आयोजना गरिएको प्रथम यूरोप स्तरिय महिला सम्मेलनमा दिईएका मन्तब्य, कार्यपत्र र अन्य रोचक प्रसंगहरु लगातार राख्दै जानेछु । नेपालप्लस हेर्दै गर्नुहोला है त ?) ।