कलाकार : राष्ट्रका गहना कि पार्टीका भरिया ?

kalakar-cangress-ma

राष्ट्रका गहना भन्ने गरिन्थ्यो कलाकारलाई । अब ति रहेनन् राष्ट्रका गहना । ति गहनानै रहेनछन् राष्ट्रका । भित्र भित्रै ति कुनै पार्टीका कार्यकर्ता, भरौटे समर्थक रहेछन् । बोल्न नसकेका, हाकाहाकी म यो पार्टीको भन्ने आँट नगरेका । वा छाद्म नाममा कलाकारको भेषमा राजनितिक कार्यकर्ताको भूमिका निभाउँदै आएका । तर अहिले ति आफैंले त्यो मुकुण्डो उदांगो पारेर ‘हाका हाकी भने ‘म नेपाली कंग्रेसको, म एकिक्रित नेकपा माओवादीको, म एमालेको ।’ लाजै नमानी, कुनै शंकोचनै नमानी तिनले यसरि राजनितिक टिका लगाएर राजनितिक पार्टीकहाँ गए । आफुलाई घेरीबन्दी गराए । कलाकारका रुपमै हेर्न चाहनेले थुक्दापनि तिनले मेसो पाएनन् र रमाइरहे ।

कलाकारले कुनैपनि राजनितिक आस्था राख्नुहुन्न भन्ने होइन । राजनितिक आस्था सबैको हुन्छ । प्रजातान्त्रिक राज्य ब्यवस्थामा त्यो सामान्य हो । निर्वाचन हुन्छ, त्यो बेला एउटा राजनितिक दललाई मतदानपनि गर्नेहुन्छ । तर भटाभट ‘म फलानो राजनितिक पार्टीको’ भन्दै कलाकार राजनितिक दलमा समाहित हुने, राजनितिक नेताले झैं राजनिति बढि गर्ने कलाकारिता हो भने किन भन्नुपर्‍यो म कलाकार हुँ भनेर ? कहाँ रह्यो कलाकारको मान, स्थान र औचित्य ?

एकिक्रित नेकपा माओवादीले तेस्रो जन आन्दोलनको नाममा आमहडताल गर्दा थुप्रै कलाकार सडकमा ओर्लिएका थिए पार्टीका नेता र कार्यकर्तासितै । तिनले माओवादीका कार्यकर्तासितै बसेर चिउरा र दालमोट खाँदै आन्दोलनमा साथ दिएका थिए । त्यहि बेलादेखि कलाकारहरुको राजनितिक ध्रुबिकरण शुरुहुन्छ कि भनेर अनुमान गरिएको थियो । नभन्दै त्यस्तै भयो । रेखा थापाले कलाकारको च्यादर च्यातेर माओवादी नेती बनिन् । तत्कालै भुवन केसीले उनलाई टक्कर दिए एमाले भएको घोषणा गरिदिएर । अहिले फेरि एकैचोटी एक सय २५ जना कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेर आफ्नो कलाकारको मुकुन्डो च्यातिदिए । तिनले आफूलाई राजनितिक टिका लगाए । अब देशमा थोरै मात्रै कलाकार वास्तविक कलाकार छन् ।

शनीबार नेपाली कांग्रेसका सभापती सुशिल कोइरालाकै निवासमा दशैंमा शेरिन तयार बनेको बोको झैं राजनितिक अचानोमा सेरिन पुग्नेमा कलाकार झरना बज्राचार्य, नायक जिवन लुइँटेल, नायकहरु धिरेन शाक्य, आयुष रिजाल, मुकेश ढकाल, बिरेन श्रेष्ठ, निरज बराल, नायिका रुपा राना र मेलिना मानन्धरसम्म थि ईन् । उता निर्देशक रमेश बुढाथोकी र सुरज सुब्बापनि राजनितिक टिको थाप्ने लाईनमै थिए । खलनायक आकाश खवास, छायाँकार पुरुषोत्तम प्रधान, चर्चित फोटोग्राफर राजिव श्रेष्ठ समेत त्यहि लर्कोमा थिए । गायक प्रकाश ओझा, सन्तु तामाङ, रामेश्वर कार्की, प्रबु शमशेर जवरा, श्याम राइसमेत लाम लागेका थिए । तिनले कोइरालाको हातको राजनितिक टिका र माला लगाएर कलाकारको गहना मिल्काए । राजनितिक गहना भिरे । तिनले ‘कालाकार राष्ट्रका गहना हुन्’ भन्ने भनाईलाई च्यातेर ‘कलाकार कुनै न कुनै पार्टीका भरौटे हुन्’ भन्ने गहना भिरे ।

यस अघि निर्देशक दीपक श्रेष्ठ, रेखा थापा, चलचित्रकर्मि मौसमि मल्ल, सुभाश गजुरेल, सुलेमान शन्केर, किशोर् भण्डारी, डिठ्ठा साव, बुनु माइचा, सुरबिर पण्डित, बिजय बस्नेत,राजु केसी,  रुपेश उप्रेती, माधव धुङेल, लक्ष्मण शेष लगायतका कलाकार त पहिल्यै माओवादेमा छिरिसकेका थिए । निर्माता निर्देशक दीपेन्द्र लामा, केपी पाठक, निर्माता नवल खड्का,द्वन्द निर्देशक राजेन्द्र खड्की,संगितकार चेतन सापकोटालेपनि माओवादीकै टिको लगाएका थिए । माओवादी आमहडतालका बेला माओवादीले मौसमी मल्ललाई त जन आन्दोलनकी नायिका भन्ने उपाधीनै दिएको थियो ।

माओवादीमा प्रवेश गरेका निर शाह पछि नेपाली कांग्रेसमा गए । केपी पाठक एमालेबाट माओवादीमा पसे । भुवन केसीले सभासदको टिकट नपाउनासाथ राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्न खुट्टो उचालेका थिए । यसरि पिपलको पात हल्लिएझैं, फिल्ममा अभिनय गरेझैं यो र त्यो पार्टीमा हल्लिन हाम्रा कलाकार खुब सिपालु बनेका छन् । यसले कलाकार जगतलाई सबाङ्ग नांगो बनाएको छ । कलाकार भनेका भर नभएका, निति नभएका, पिपलपाते, लोभी र कुनै इज्जत नभएका हुन् भन्ने सन्देश दिएको छ । पदका लागि ति जे गर्न, जुन पार्टीमा छिर्नपनि तयार हुन्छन् भन्ने देखाएको छ । यस्ता लोभी, पदलुलुप कलाकारले गर्दा कलाकारकै रुपमा रहन चाहने वास्तविक कलाकारलाई मर्का परेको छ । कलाकार राष्ट्रका गहना होइनन्, कुनै न कुनै दलका कार्यकर्ता, नेताका भरिया हुन् भन्ने देखाउनै बल मिलेको छ । यसरि पार्टी चाख्दै हिँड्नेहरुलाई कलाकार का रुपमा होइन कला जानेका पार्टीका भरौटे, कार्यकर्तानै मान्नु पर्छ ।

(फोटो : अनलाइन खबर)

तपाइँको प्रतिक्रिया