डेनमार्कको सडकमा घन्काए नेपालीले देउसी र भैलो
नेपाली देउसी र भैली यो वर्ष डेनमार्कवासी नेपालीले त्यहाँको मूल सडकमै घन्काएका छन् । सडकमा हिँडिरहेका डेनिस नागरिकहरुलाई नेपालीको देउसी र भैलो चखाएका छन् । समय र ऋतू अनुरुपका चाडपर्वहरुको अवशर पारेर नेपाली सँस्कृतिका झलकहरु सडक महोत्सवको स्वरुपमा आयोजना गर्छ नेप्लिज स्ट्रीट फेस्टिवल फाउण्डेनले। यहि संस्थाले यस्ता पर्व डेनिस समुदायलाई देखाउँदै साँस्कृतिक एकिकरणको पहल शुरु गरेको छ । फाउण्डेनले आयोजना गरेको पहिलो सडक महोत्सव “देउसीभैली स्ट्रीट फेस्टिवल – २०१३” भव्यताका साथ शुक्रवारडेनमार्कका सडक सडकमा देखाएर डेनिसहरुलाई चकित पार्यो ।
कोपनहेगनको सिटी सेन्टर प्रांगणबाट नोवेम्बर १ तारिख शुक्रवारका दिन अपरान्ह ४ बजे देखि शुरु भएको देउसीभैली कार्यक्रम अत्यन्त व्यस्त बाटो हुँदै प्रमुख पर्यटकीय स्थल कन्गेन्सनेटोको खुल्ला आकाशमुनी अपरान्ह ७ बजेपुगेर सकियो । उक्त महोत्सवको शुभारम्भ नेपाली राजदूत मुक्तिनाथ भट्टले गरे । देउसीभैली टोलीलाई परम्परागत दानदक्षिणा दिने शैलीमा दान दिएर गर्नु भएको थियो उनले शुरुवात गरिदिएका थिए । नेपाली परम्परागत शैलीमै देउसीभैलीलाई दानदक्षिणा दिएर उनले थप रोचक बनाइदिए । २०० भन्दा बढि नेपाली महिला, पुरुष लगायत भारत तथा भूटानी मूलपर्वासी नेपालीहरुको समेत उत्साहवर्धक सहभागीताथियो । उक्त महोत्सव त्यसरी नेपाली चन्द्रसूर्य झण्डा फहराउँदै, नेपाली पोशाक र टोपी लगाए डेनमार्क पहिलो पटक आयोजित कार्यक्रम हो ।
स्थानिय सरकारी निकाय र कोपनहेगन प्रहरीसंग नियमानुसारको स्वीकृति लिएर आयोजना गरिएको उक्त देउसीभैली टोलीको र्यालीलाई कोपनहेगन प्रहरीका अधिकृत र जवानहरुले स्कटिंग गरेकोले अत्यधिक नेपालीहरु गर्व गर्दै गदगद भए । मौलिक नेपाली लोकगीतहरुका साथ विशुद्ध नेपाली तिहारको नक लिएर उदाएको तिहारको झिलिमिली कार्यक्रम समापनमा नेपाली परम्परागत खाना २०० सेलरोटीका प्याकेटहरुमा डेनिस तथा नेपालीहरुलाई निःशुल्क वितरण गरिएको थियो । स्थानिय कानून अनुसार यस्तो नलेखि सार्वजनिक रूपमा कुनै खानेकुरा वितरण गर्न दण्डनीय भएकोले यस्तो गरिएको हो ।
कार्यक्रमको भव्य सफलताका लागि सहभागी हरेक नेपाली तथा विदेशी सहभागीहरुले देउसीभैलीलाई दिईने दानदक्षिणा स्वरुप डेनिस सरकारले दिएको अनुमती अनुसारका विशेष दानपेटिकाहरुमा दान दिएर पुन्य कमाएको अनुभूती गरेका थिए । हरेक वर्ष तिहारकै अवशर पारेर, उक्त महोत्सवले निरन्तरता पाउनु पर्ने सुझाव सबै सहभागीहरुले गरेका थिए । प्राणघातक रोग एचआईभी-एड्सको कारणले सुदूर पश्चिमका तमाम बालबालिकाहरु अनाथ भएका मार्मिक समाचारहरुबाट प्रेरित भै सुदूरपश्चिमको कैलाली जिल्लामा स्थापना हुन गैरहेको “छोराछोरीको घर” नामक बालगृहको सहयोगार्थ यसरी हरेक वर्ष डेनमार्कमा देउसीभैली सडक महोत्सव गर्ने उद्घोष गरियो । नेपाली सडक महोत्सव प्रतिष्ठान, डेनमार्कले संकलन गरेको सम्पूर्ण रकम अनाथहरुको लालनपालन र शिक्षादिक्षामा लगाईने जानकारि संस्थापक पूर्ण बन्धनले दिए । दानपेटिकाहरु सामुहिक वैठक बोलाएर खोलिने छन् । त्यी दान पेटिकाहरुमा जेजति रकम संकलन भएको हुन्छ, त्यसबाट एक क्रोनर पनि खर्च नगरी प्रतिष्ठानको खातामा जम्मा गरी, डेनिस सरकारका नीति र करप्रणाली अनुरुप यथाशीघ्र बालगृहको संचालक संस्था नरनन्दा फाउण्डेशन, कैलालीलाई अनुदान दिईने व्यवस्था गरिएको छ ।
देउसीभैली सडक महोत्सवमा नेपाली स्थानिय कलाकार राजमान तामाङ, कृष्ण सुवेदी, सन्त बहादुर थापामगर, सिन्तिया सेन ताम्राकार श्रेण्ठ र सुनिता घिमिरे लगायत भारत दार्जिलिंग पूर्खेउली घर भएका पाल्देन शेर्पाका साथै उगाण्डाका गायक कलाकार तेराह कासोजीले समेत देउसीभैलीका सुरिला र सरिला गीत तथा नृत्य प्रस्तुत गरेका थिए । गत सेप्टेम्बर २५ तारिखका दिन स्थापना भएको “नेप्लिज स्ट्रीट फेस्टिवल फाउण्डेशनमा नेपाली र डेनिस नागरिकहरु संलग्न रहेका छन् । यस फाउण्डेशनले कैलालीमा गत वर्ष स्थापना भएको नरनन्दा फाउण्डेशन र काठमाण्डौंमा सडक बालबालिकाहरुलाई विगत १२ वर्ष देखि पठनपाठन गराउँदै आएको “बाल सारथी”संग एक्यवद्धता कायम गर्ने निर्दिष्ट लक्ष्य अंगालेको छ ।
स्वतन्त्र पत्रकार तथा लेखक पूर्ण बन्धन यस संस्थाका संस्थापक अध्यक्ष हुन् भने आर्हुस यूनिभर्सिटी, डेनमार्ककी प्राध्यापक कारेन भेलिन्टिन संस्थापक सचिव । राम महर्जन संस्थापक उपाध्यक्ष, भूवनराज भट्ट संस्थापक कोषादक्ष्य, पाल्देन शेर्पा संस्थापक सदस्यहरु व्दारा स्थापित उक्त प्रतिष्ठानमा पवित्र भावनाका साथ सेवाकार्यमा अग्रसर रहने ईच्छा जाहेर गर्दै थप दाता सदस्यहरु नृत्य कलाकार सुनिता घिमिरे, समाजसेवी एलेन निल्सेन र व्यावसायीक कुक प्रकाश बिष्टहरु पनि संलग्न भएका छन् । कार्यक्रममा डेनमार्कमा विभिन्न सामाजिक कामका लागि स्थापना भएका स्क्याडेनिभियन हेल्प डेनमार्क, क्रीयटिभ नेप्लिज वुमन, अभियान नेपाल डेनमार्क, फोकस नेपाल र एनआरएन डेनमार्क समन्वयकारी भूमिका थिए भने नेपाल म्यूजिक फेस्टिव डेनमार्क सहआयोजक । रेष्टूरेण्ट हिमालय सह प्रायोजक रहेको उक्त महोत्सवमा निजी तथा पारिवारिक भेटघाटको सिलसिलामा हाल कोपनहेगनमा रहेकी बाल सारथीकी संस्थापिका श्रीमती माला खरेल समेत सक्रिय भूमिका रहनु भएको थियो ।
(तस्विर र सूचनाकालागि पूर्ण बन्धनलाई धन्यावाद)











