एन आर एन संयोजकको आत्मघाती आज्ञा
● इन्द्र क्षेत्री / बेल्जियम
गैर आवासीय नेपाली सँघ बेल्जियमको गत ७ जुलाइका दिन सम्पन्न निर्वाचनमा युवा ब्यक्तित्व प्रेम गुरूँग अध्यक्षमा र उहाँले नेतृत्व गरेको समूह अत्यधिक बहूमतका साथ निर्वाचित भए पछि यहाँका कतिपयको नीँद्रा हराम भएको छ । औसत नागरिकलाइ विगत लामो समयदेखि उरल-झिरल पार्ने,गिजोल्ने र उसको अस्तित्व नै मेटाउन खोज्नेहरूलाइ उपयुक्त जवाफ बेल्जियमवासी नेपालिहरूले सो निर्वाचन मार्फत दिएका हुन। लोकतन्त्रमा ब्यक्ति समाजको सर्वोच्च निकाय हुन्छ ।
त्यसैले समाज र राज्यका समग्र प्रयत्नहरू ब्यक्तिको स्वतन्त्रता,उन्नति र सुरक्षामा केन्द्रित हुन्छन् । कुनै ब्यक्तिको अस्तित्वको हरण गर्न खोज्दा कति भयँकर परिणाम हात लाग्दो रहेछ भन्ने बुझेर आफुलाइ रूपान्तरण गर्नुको बदला हान्स एण्डर्सनको चर्चित कथा “बादशाहको नयाँ लुगा” मा मूर्ख बादशाहले अझ तन्नम नाँगो भएर शोभायात्रा अगाडि बढाए जसरि बेल्जियममा केहि ब्यक्तिहरूद्वारा नाँगोशोभा यात्रा मञ्चन गरिराखिएको छ । यो पतनको मार्ग हो ।
केन्द्रिय प्रतिनीधिहरूको रोहवरमा शालीन ढँगमा मतदान सम्पन्न भै मतगणनाको अन्तिम चरणमा मतगणनास्थल छोडेर हिँड्नेहरूको बहकावमा नलागि केन्द्रले निर्वाचित समितिलाइ बिधिवत दर्ता गरि कार्यकाल अगाडि बढाउन लिखित निर्देशन गरे पछि सपथ ग्रहण,बरबुझारथ र पदभार सम्हाली कार्य अगाडि बढाइसकेको समितिको विरूद्धमा मतदान र मतगणना कार्यमा उपस्थित नै नभएका युरोपियन को-अर्डनेटरको नामबाट पुनः मतगणनाको लागि केन्द्रमा निवेदन दिनुको अर्थ,औचित्य,उपादेयता र आवस्यकता के हो ? त्यो प्रष्ट पारिनु पर्दछ । त्यो प्रष्ट नभएसम्म कुमार पन्तजीबाट कसैको हठ,हैकम र तुजुकलाइ बढावा दिने काम भएको मान्नु पर्दछ जो निन्दनीय छ । सँगठन भित्रको निवेदन र छलफलको विषय मिडियाहरूमा सार्वजनिक गरिनु थप निन्दनीय कार्य हो ।
पुनःमतदान वा पुनःमतगणना कार्य विधी,पध्दति र कानूनी हिसाबले लोकतान्त्रीक नै हो । तर परिणाममा कुनै अन्तर नपरे पनि समाजमा अनावस्यक विवाद, तनाव र उत्तेजनाको सिर्जना गर्नुका साथै एउटा नकारात्मक नजीर स्थापना हुन जान्छ जसले यस सँगठनका कुनै पनि निकायमा निर्वाचन जस्तो उच्च लोकतान्त्रीक अभ्यासलाइ असंभव बनाइदिन्छ । त्यसै गरि यसबाट केन्द्रले निर्वाचित समितिलाइ लिखित रूपमा दिएको मान्यताम माथि प्रश्न चिन्ह लाग्नुका साथै कार्यारम्भ गरिसकेका कार्यकारी साथीहरूको उत्साहमा नैराश्यता लेराउन सक्दछ जो एनआरएन अभियानको लागि निश्चित रूपमा हानिकारक हुन्छ ।
निर्वाचन समितिले मतगणना अन्त्यतिर एकपक्ष हिँडेपछि केन्द्र तथा सबै सरोकारवाल ब्यक्ति र पक्षहरूसँग परामर्श गरे पछि मात्र निर्वाचन परिणाम घोषणा गरेको थियो । परिणाम घोषणा,प्रमाणपत्र वितरण,बरबुझारथ र पदभार ग्रहण भैसकेपछि निर्वाचन समिति आफ्नो जिम्मेवारीबाट स्वतः मुक्त हुन्छ । त्यस उपरान्तका कुनैपनि कार्यवाहीमा निर्वाचन समिति जिम्मेवार हुँदैन । यस्तो अवस्थामा कुमार पन्तजीले पुनःगणना गर्ने मतपत्रहरू कहाँबाट ल्याउनुहुन्छ ? पुनः मतगणना हुने भनिएका मतपत्रहरू कुनै न कुनै आधिकारिक निकायले सिज गरेर राखेको हुनु पर्छ कि पर्दैन ? त्यो निर्देशन केन्द्र वा कुमार पन्तजीले समयमा किन गर्नु भएन ? जिम्मेवारीबाट मुक्त भएको निर्वाचन समिति र अधिकारीहरूले मतपत्र सुरक्षित नराखिदिएको भए के गर्नु हुन्छ ? उहाँहरूसँग मतपत्र रहेछन् भने पनि पुनःगणना हुने भएपछि रातारात तीनमा छेड्खानी नहोला भन्ने के ग्यारेण्टी छ ? यीनै प्रश्नका बण्डलहरू पुनःमतगणना पछि अहिले असन्तुष्ट रहेको पक्षले झन जोरसोरले फुकाउने र झन् बिकराल रूप दिने तैयारी गरेको कुरा केन्द्र र कुमारजीलाइ ज्ञान छ कि छैन ? उहाँहरू मुसो बनेर पस्ने र पुनःमत गणना मार्फत हात्ती बनेर निक्लने दाउमा रहनुभएको कुरा कुमार पन्तजीले बुझ्न जरूरी छ ।
जहाँसम्म प्राविधिक त्रुटी भएको भन्ने कुरा छ त्यो छर्लँग भैसकेको छ । १५०० थान मतपत्र हस्ताक्षर सहितका र भैपरि आउने कामको लागि ४० वटा हस्ताक्षर रहितका जो आवस्यक परेको खण्डमा मात्र तत्काल अधिकारीहरूबाट हस्ताक्षर गरि प्रयोग गर्ने हेतुले छापिएका थिए । गल्तिवश ती ४० मतपत्र पनि निर्वाचन आयुक्तले लुभेन क्षेत्रको ठेलीमा राख्न पुग्नु भयो । लुभेन क्षत्रको मतदान सकिए पछि बाँकी रहेका मतपत्र गणना गरेर बाँकी रहेको योगलाइ खसेको मत मानेर मुचुल्का उठाउने काम भयो । त्रुटी त्यहि हो । छाप नलागेका र हस्ताक्षर नभएका ४० मतपत्र अलग गर्नासाथ मतदान अधिकृत र प्रतिनीधिहरूले रेजा लगाएको मत र बाक्सामा बन्द भएको मत दुरूस्त नै थियो । विवाद निस्किए पछि रेजा अनुसारको मतपत्र छ छैन भनेर रूजु गरिएकै हो । ठीक ढँगले लेखापढी गर्न समेत नदिइ निर्वाचन कार्यसूची अनुसार भोलीपल्ट मत गणना गरिनु पर्नेमा हूलहूज्जत र जोरजवरजस्ति गरेर हतार-हतार उसै राती मतगणना गर्न बाध्य पार्ने अहिलेको असन्तुष्ट पक्ष नै थियो जसलाइ ती भैपरि अाउने मतपत्रको बारेमा जानकारी थियो । जानकारी भएर पनि अाफु हार्ने निश्चित भए पछि मात्र यो विषयलाइ उछालिनुको उद्देस्य सहजै बुझ्न सकिन्छ ।
जसले जुन स्वार्थ र दवावमा गरेको भए पनि एउटा सिँगो सँगठन र सिँगो समूदायलाइ अपमानित गर्ने यो प्रचार प्रसार एनआरएन महाअभियानको लागि आत्मघाती सिद्ध हुने निश्चितै छ । अतः अग्रज,जिम्मेवार ब्यक्तिहरू तथा सम्वन्धित निकायबाट यस्तो आत्मघाती गोल हानिने कुरामा बेल्जियमका आम नेपालीले रत्तिभर विस्वास गरेका छैनन् ।
अन्तमा यति हुँदाहुँदै पनि कुमारजी आज्ञा गर्नुहुन्छ भने हे अगस्त्यमूनी ! तिम्रो राजमा न्याय हराउनेछ र दुष्कर्म झनै हावी भएर जानाले तिम्रो सिँहासनमा आँधी,वर्षा र भूकम्प आउने योग परेको छ ।




