अब रोबोटले झार्ने छ गाइको दुध

राजेन्द्र देवकोटा

cow-milkअब किसानहरुले गाइले दुध दिएन भनेर चिन्ता मान्नु पर्ने छैन । गाइको दुध कल्चौँडाबाट कसरी झार्ने होला भनेर टाउको दुखाउनु पर्ने पनि छैन । अब गाइको थुनबाट दुध आफै झर्नेछ र गाइले दुध दिन कुनै आनाकानी गर्ने छैन ।

हो, नेदरल्याण्डको एक कम्पनीले यस्तो रोबोटको विकाश गरेको छ जसले गाइको थुनबाट सजिलै दुध झार्ने छ । तर मान्छेले लगाएर रोबोटले दुध दुहुने भने हैन, गाइको थुनबाट आफै दुध झर्नेछ । अनि रोबोट प्रयोग गरेर कसरी दुध झार्ने भन्ने कुरा मान्छेले भन्दा गाइले छिटो सिक्ने दाबी कम्पनीको रहेको छ ।

एस्ट्रोनट फोर नामको उक्त क्रान्तिकारी रोबोटको निर्माण कृषि र्फम लेलीले गरेको हो । यो रोबोट सामान्य किसानले पनि प्रयोग गर्न सक्ने निर्माताको दाबी रहेको छ । यो रोबोटले यस्तो सिद्धान्तमा काम गर्नेछ की गाइको दुध थुनबाट झार्ने कुरा मानिस वा रोबोट नियन्त्रण गर्ने नभै गाइ आफैले गर्नेछ । यो रोबोट प्रणालीलाई गाइले सजिलैसँग प्रयोग गर्नेछ । आइ फ्लो नामक पद्धति यसमा प्रयोग गरिएको छ । यस अन्तरगत गाइ सिधा भित्र र बाहिर हिड्नेछ, न की यताउति तथा पछाडि फर्किने । यो पद्धतिले उक्त रोबोटको प्रयोग कसरी गर्ने भन्ने कुरा गाइलाई सिकाउँछ साथै गाइमा तनाव घटाउँछ ।

यो प्रणाली अन्तरगत गाइ आफै स्वचालित दुध दुहिने स्टेशनमा जान्छ, उक्त रोबोटिक मिल्क स्टेशनमा गाइको दुध आफै दुहिन्छ र गाइले मन लागेको खानेकुरा खान पनि पाउँछ । हुनत गाइको थुनबाट आफै दुध झर्ने भने होइन । दुध दुहिनका लागि रोबोटिक मेसिन प्रयोग गरिएको हुन्छ । त्यसबाट गाइको थुनमा नलीसँग जोडिएका कप स्वचालित रुपमा जडान हुन्छन् । त्यसपछि गाइको थुनबाट झरेको दुध भाँडोमा संकलन हुन्छ । गाइको कल्चौँडामा दुध सकिएपछि ती कप आफै फुस्किन्छन् अनि गाइ पनि आफै त्यहाँबाट निस्केर बाहिर आउँछ ।

तपाइँको प्रतिक्रिया