बिदेशमा तिज : रमाईलो कि गहना प्रदर्शन ?
(बेलायतमा तिज)
अमेरिका देखि अष्ट्रेलिया हुँदै हङकङ, बेलायत, फ्रान्स, बेल्जियम, पोर्चुगल, डेनमार्क धेरै देशमा नेपाली महिलाले हरितारिका तिज मनाए । नेपाली बस्तिमा हाम्रा चेलीहरुले मनाएको तिजपनि सामाजिक सञ्जालमा छरपस्ट भैरहेकै छन् । हरितारिका तिजको धार्मिक र सांस्क्रितिक महत्व त छँदै छ । तर विशेषगरि रमाईलोका लागि हो यो पर्व मनाउने । तर स्वदेशमा तिज भड्किलो भन्ने गुनासा र चिन्ता छाइरहेका बेला बिदेशमा तिज झन यति भड्किलो भैरहेको छ कि बिदेशका नेपाली चेलीले तिजमा गहना प्रदर्शन गरेको देख्दा सहजै प्रश्न उठ्छ, यो पर्व रमाईलोका लागि हो कि गहना प्रदर्शनका लागि ?
नेपाली महिलाहरु जहाँ होउन् पछिल्ला वर्षहरुमा तिज झन झन भड्किलो बन्दै गैरहेको छ । घाँटीमा ठिक्कको लगाएर सुन्दर देखिन, महिलाहरुले दिर्घायुको कामना गर्न लगाउने तिलहरी हात्ती बाँध्ने साङ्लो जसरि लगाउन थालेका छन् । घाँटीको सिक्रिले भैंसीकै दाम्लो पुग्ला झैं लाग्छ । हातमा साङ्लो जसरि सुनकै बाला प्रदर्शनी गर्छन् । कमाई हुने, पैसा सञ्चय हुने र को कति सम्पन्न छ ? कसले कति गहना जोड्यो भनेर थरी थरीका गहना जोड्ने र तिजका दिनमा त्यो प्रदर्शनी जस्तै गर्न थालिएको छ । गित गाउने, रमाइलो गर्ने, नाचगानमा रमाउने, मिठोमसिनो खाने र दुखसुखका गफ गर्दै साथीसँगीसित निकट हुने भन्दापनि महिलाहरुको रहर गहना प्रदर्शनीमै बढि तानिएको छ ।
सबै महिला सक्षमा हुँदैनन् । एकल कमाइमा बाँच्नु पर्ने, परिवार अलि ठूलो हुने वा भर्खर स्थापित हुन कोसिस गर्दै गरेका, जागिर नभएका, शिक्षाकालागि आएका, ठूलो परिवार पाल्नु पर्ने भएकाले बचत नहुने महिलाले के गर्ने ? जुन महिलाले गहना किन्न सक्दैनन्, टन्न गरगहनामा सजिन सक्दैनन् ति महिलाका लागि बिदेशमा तिज खल्लो, बिरक्तिलो हुन लागेको छ । गहना लगाउन नसक्नेहरुले आफुलाई हेयको द्रिष्टिकोणले हेर्ने र बरु तिजमै सहभागि हुन नसक्ने अवस्था स्रिजना भएको छ । यसले गर्दा न त तिजको मौलिकता छ । न तिजको रमाईलो र सांस्क्रितिक ओजन रहेको छ । तिजलाई नेपाली महिलाहरु आफैंले गहना देखाएर सम्पन्ना वा बिपन्नताको कसिमा नाप्दै लगेका छन् । सम्पन्न महिलाहरुले गर्दा बिपन्नहरुलाई तिज एउटा पिडा बन्ने संकेत देखिँदै छ । दुखको कुरा त यो हो कि आफूलाइ शिक्षित, जान्नेसुन्ने, समाजमा परिवर्तन ल्याउने, समाजसेवी, बुझक्कि, राजनितिक ज्ञान भएका र समाजले त्यसैगरि हेर्ने गरेका महिलाहरुलेपनि तिजलाई भड्किलो बनाउन लागिरहेको देखिन्छ ।
पश्चिमी मुलुकमा गहना ज्यादै कम लगाउँछन् । सुन र हिराका गहना यति बिघ्न प्रदर्शन गरिन्न । झन आफ्नो चाडपर्वमा त यस्तो गर्ने चलननै छैन । तर वर्षौं देखि यस्तो मुलुकमा बसेपनि नेपालीहरुले यहाँको सकारात्मक पक्ष सिकेको नदेखिनु दुखद पक्ष हो । गहनाले यसैपनि समाजमा अनेक बिक्रिति ल्याउँछ । असुरक्षा त यसै निम्त्याउँछ नै । आफ्नै दिदी बहिनीहरुबिचपनि हुने र नहुनेबिचको निकटतालाई पर सारिदिन्छ । गहना धेरै जोड्दा त्यसले धनलाई अचलपनि बनाइदिन्छ । चोरी, डकैतिको डर त झन हुनेनै भयो । त्यसैले गहना प्रदर्शन कुनैपनि ढंगले हितकर छैन । सामाजिक रुपमा कमजोर अवस्थामा रहेका आफ्नै दिदी बहिनी, आमाहरुलाई तिजमा खल्लो नबनोस् भनेरपनि सचेत महिलाहरुले यसमा ध्यान दिनै पर्छ ।
यहि विषयमा बेलायतका पत्रकार बिके पाण्डेले लेखेको मननयोग्य टिप्पणीपनि हेर्नुस् ।
(डेनमार्कमा तिज, यो भन्दा माथिल्लो तस्विरपनि । सरस्वति कार्कीको फेसबूकबाट । डेनमार्कका महिलाको प्रदर्शनीभने उति भद्किलो लाग्दैन है ?)
ज्यादा नुनले मानिसको स्वास्थ्या विगार्छ । ज्यादा सुनले देशको स्वास्थ्य विगार्छ । भारतमा सुन दोस्रो सवभन्दा धेरै विदेशी मुद्रा खर्च हुने आयत हो । एक महिनामा करिब १५० टन सुन भारतले आयत गर्दछ । अझ चोरी बाटोबाट आउनेको त हिसाब नै छैन । भारतले आयत बिल तिर्न विदेशी मुद्रा नभएर आईएमएफसँग सापटी समेत लिएको छ । भारत सरकारले सुनको उपभोग घटाउन जनतासँग आग्रह पनि गरेको छ तर कसैले टेरेका छैनन् । अहिले डलरको भाउ बढ्नुको एक प्रमुख कारण सुन पनि हो । भारतको हावाले नेपालमा पनि सुनको उपभोग यसरी बढेको छ कि अब त चाडबाडमा सुन झम्काउने प्रतियोगिता नै सुरु हुन थालेको छ । बुझेका हुन् कि नबुझेका अथबा एमए पास गरेका हुन् वा निरक्षर हुन्, सुन प्रतियोगितामा लाजै नमानी सामेल हुन थालेका छन् । नेपालमा मात्र किन विदेशमा समेत प्रतियोगिता सुरु भएको छ । नेकलेसको लम्बाई चौडाइ बढेर काँध र छाती पनि ढाक्न थालेको छ । घोगे तिलहरी त मोटाउनु मोटाएको छ । हराएको जन्तर पनि फेरि नयाँ रुप लिएर मोटो र बाक्लो भएर देखा पर्न थालेको छ ।
नेपालको काठमाडौंमा मात्र दिनको २५ किलो सुन सरदरमा आयत हुन्छ । अझ चोरी बाटोको त हिसाब नै छैन । नेपाल भारत दुबै देशमा सुन उत्पादन हुन्न नै भन्दा हुन्छ । विश्वका सुन उत्पादकदेशहरुका लागि दक्षिण एसियाली मुलुक नै प्रमुख बजार हुन् । नेपालका एक तिहाई जनसंख्या विदेशमा मजदुरी गर्छन् र तिनैले पठाएको विदेशी मुद्राको ठूलो अंश सुन आयतमा खर्च हुने गरेको छ । कतिपय हुण्डीबाट जाने विदेशी मुद्रा सुन लगायतका तश्करीमा दुरुपयोग हुने गरेको पनि छ ।
आज भारतमा सुनको उपभोग एक विकाराल समस्या भईसकेको छ भने नेपाल पनि त्यतैतर्फ उन्मुख छ । समयमा यसको विरुद्धमा जनचेतना जगाउन सकिएन भने यो सुन प्रतियोगिताले पारिवारिक, सामाजिक, आर्थिक, मौद्रिक समस्या खडा गर्ने छ । आफूलाई जाने बुझेको, देशभक्त, समाजसेवी तथा आधुनिक भन्ने गरेका महिलाहरुले सुन वहिष्कारको अभियान चलाउनु पर्ने होइन र ! पुरुषले यो अभियान चलाउने हो भने प्रभावकारी हुँदैन, उल्टो हुतिहाराहरुको पदवी बेहोर्नु पर्ने छ । यो सुन प्रतियोगिताले नेपालमा भ्रष्टाचार गर्न वाध्य हुने स्थितिसमेत सिर्जना गरेको छ ।
बेलायतमा सुन झम्काएको देखेपछि चोरहरुले अहिले नेपालीको घरलाई निशाना बनाउन थालेका छन् । बेलायतमा भारतीय भन्दा सुन प्रतियोगितामा नेपाली अझ अगाडि छन् । खै मैले त सुन झम्काएर कसैको व्यक्तित्व बढेको, सुन्दर बनेको, अनुहारमा आहुरा प्रकट भएको, सम्मानित भएको, आकर्षण बढेको अनुभव गरेको छैन । यो मेरो दृष्टि दोष हो भने माफ पाउँ, हैनभने यो प्रतियोगिता त्यागौँ र सरल जीवन उच्च विचारको पथमा लागौँ । आगे यहाँहरुकै मर्जी ।
सत्यकुरा तितो हुन्छ र यस्तो तितो खान तयार हुने थोरै नै हुन्छन् । म एक्ले भईरहे पनि बाँचुञ्जुले यस्तो तितो खान मन्जुर छु । गाली खान पनि तयार छु । आँखा तरे पनि हाँसेर प्रतिकृया दिन पछि पर्ने छैन । जो सुकैले जे सुकै भनुन् – खुलारुपमा भन्छु – ज्यादा नुन र सुन मुर्दावाद !!








