जागिर छाडेर च्याउखेतीमा रमाउँदै युवती

mushroom-kheti-121234जेटिएको पढाई सकेका सिन्धुपाल्चोककी रमा लामिछाने र सोलुखुम्बकी कृष्णकुमारी बस्नेतलाई थुप्रै अवसर थिए । रमाले त्रिशुलीमा रहेको मत्स्य अनुसन्धान केन्द्र र कृष्णकुमारीले उदयपुरमा रहेको ओरेक नेपाकको शाखा कार्यालयमा जागिरपनि पाउनुभयो । तर आफ्नो छुट्टै व्यवसाय गर्ने हुटहुटीले उहाँहरुलार्ई जागिरमा टिक्न दिएन ।‘ अरुको जागिर कति गरिरहने भनेर घर सल्लाहपछि कृष्णलाई फोनबाटै प्रस्ताव गरे,’ व्यवसायिक च्याउखेती थाल्नुअघिको प्रसंगमा रमा भन्नुहुन्छ, ‘फोन सल्लाहपछि कृष्ण पनि काठमाडौं आइन् र च्याउको खेती गर्ने तयारी थाल्यौं ।’

उहाँहरुले काठमाडौं कपनमा एकलाख रुपैयाँको लगानीबाट व्यवसायिक च्याउ खेती सुरु गर्नुभयो । चार रोपनी जग्गामा सुरु गरेको च्याउ खेती अहिले १५ रोपनी जग्गामा फैलिएको छ । कृष्णकुमारी भन्नुहुन्छ, ‘लगानी पनि अहिले १५ लाख रुपैयाँको हाराहारीमा पुर्‍याएका छौं ।’

अनि कमाई नि ? रमा र कृष्णकुमारीको एकै उत्तर छ, ‘सरदरमा एक जनाको भागमा महिनाको ४०–५० हजार रुपैयाँ पर्दोरैछ ।’ दुवैको यो कमाई जोड्दा लाखको हाराहारीमा पुग्छ ।
दिनमा १६ घण्टा काम ।

च्याउ खेतीबाटै लोभलाग्दो आम्दानी गरिरहेका उहाँहरुलाई कमाउन सजिलो चाहिँ छैन । उहाँहरुको दैनिकी बिहान तीन बजेदेखि नै सुरु हुन्छ । बिहान तीनसाढे तीन बजे नै उठ्ने र चारसाढे चार बजे खसीबजारमा रहेको होलसेल पसलमा पुगेर आफ्नो उत्पादनको बिक्री सुरु गर्ने उहाँहरु बताउनुहुन्छ ।

पसलबाट कोठामा पुग्दा आठ बजेको हुन्छ । उहाँहरुको भनाई छ, ‘खाना खाएर खेतीमा पुग्दा झण्डै दश बज्छ ।’ दुवै जना कोठामा आइपुग्दा घाम डुबिसकेको हुन्छ । यस्तो धपेडी आफ्नै व्यवसाय भएकैले हो । आफ्नै हो भनेर गर्दा जतिपनि काम गर्न सकिने अनुभव छ उहाँहरुको ।

रमा र कृष्णकुमारीले विशुद्ध व्यवसायिक च्याउ खेती मात्रै गर्ने सोच बनाउनुभएको थियो । तर आफ्नो च्याउले जब सजिलै बजार पाएन, तब दुवैजना छांगाबाट खसे झैं हुनुभयो । ‘नयाँ व्यवसायीलाई जसरी नि दबाउने नियत हुँदोरैछ पुरानाहरुको ।’ उहाँहरु प्रारम्भका ती दिन सम्झनुहुन्छ ‘अरुको उत्पादनको मूल्यको आधा पनि नयाँले नपाउने स्थिति हुँदोरैछ ।’

त्यसपछि आफ्नै उत्पादन बिक्री गर्नपनि दुई जनाले खसीबजार टुकुचामा होलसेल पसल सुरु गरे । अहिले त्यै होलसेल पसलमा च्याउ किन्न व्यवसायीको तँछाडमछाड हुन्छ । उहाँहरुले व्यवसायिक च्याउ खेती सिक्न चाहनेका लागि तालिम पनि दिन थाल्नुभएको छ । जेटिए पढेको ज्ञानलाई राम्ररी उपयोग गर्ने सोचले तालिम दिन थालेको उहाँहरुको भनाई छ । सँगसँगै काठमाडौं कपनमा व्यवसायिक च्याउ खेती त छँदैछ ।

 

तपाइँको प्रतिक्रिया