साउदी अरबको बालुवामा सुन फल्छ भने किन सकिन्न नेपालमा हिरामोती फलाउन ?

डा. हरिकुमार श्रेष्ठ / स्युचाटार, काठमाडौँ

hari-kumar-shrestha-11212वरिष्ट साहित्यकार दामोदर पुडासैनीको ‘नमेटिएका चित्रहरू’ नामक पुस्तक पढ्ने अबसर पाएँ । यो उहाँको नियात्रासम्बन्धी पुस्तक हो । निकै रोचक र ज्ञानवर्धक छ । पढ्दा लाग्छ म आफू पनि साहित्यकारसँगै सरर्र यात्रा गरिराखेको छु । उहाँले ठाउँठाउँको भ्रमण गर्दा कृषिसम्बन्धी कुराहरू पनि खोतल्ने र बुझ्ने जमर्को गर्नू भएको छ । अहिले खुरन्धार खालिदिया शीर्षक पढ्दै गएको थिएँ । निकै नै दिल छुन पुग्यो । त्यहाँ लेखकले साउदी अरवको खालिदिया कृषि फार्मको कुरा गर्नुभएको छ । उक्त फार्म साउदी युवराज ‘खालिद विन’को रहेछ । मरुभूमिमा हरितगृह निर्माण गरेर बनाईएको त्यो फार्म खाडी क्षेत्रकै उच्च कृषि फार्म मानिँदो रहेछ । यसले २४०० हेक्टर क्षेत्रफल ओगटेको रहेछ । 

त्यो फार्ममा म्यानेजरसहित २०१ जना कामदार त नेपाली नै रहेछन् । त्यहाँ कृषि, पशुपालन र जंगली जनावरहरुको खुला चिडियाखाना पनि रहेछ । हरेक बोट बिरुवालाई कम्प्युटरसँग जोडिएकोले अनुगमन कार्य पनि कम्प्युटरबाट नै गरिने रहेछ । कुन बिरुवालाई के समस्या छ तुरुन्तै थाहा पाई सम्बन्धित ब्यक्तिलाई फोनबाटै जानकारी गराई उपचार गर्न लगाईने रहेछ । बाहिरी तापक्रम ५५ डि.से. भए तापनि भित्रको भने वातानुकुलित छ । चाहेअनुसार मिलाउन सकिने । त्यहाँ मार्सी धान फल्दोरहेछ । फलफूल र तरकारी त्यतिकै फल्दोरहेछ भने पशुपालन पनि । त्यहाँबाट दैनिक २० टन ताजा तरकारी अन्य देशतिर निर्यात गरिने रहेछ । त्यहाँ बाह्रहजार भेँडाबाख्रा, चारसय अरबी घोँडाहरु र लाखौँको सँख्यामा बट्टाई पनि पालिएका रहेछन् । फारममा अन्य जनावरहरु पनि रहेछन् । उक्त फार्म घुम्न गाडिमा ४ घण्टामा पनि नसकिने रहेछ ।

उक्त पाठ पढेपछि आफैँले आर्फैलाई धिक्कार्न मन लागेको छ । करिब तीन दशकजति कृषि क्षेत्रमा सेवा गरियो । कामको अवधिमा राम्रै काम पनि गरियो । जानेर पाँच रुपियाँ र पाँच मिनेट पनि ठगिएन सरकारी काममा छँदापनि । तर अहिलेसम्म त्यस्तो फलदायी काम गर्न पनि सकिएको छैन कि जस्तो पो लाग्नथालेको छ । यसको कारणहरू धेरै भए तापनि आर्थिक कारण एक महत्वपूर्ण पक्ष पर्दछ । जताततै चाकडिवाज, नाता र फरियावाद, राजनीतिवाद, रकमवादले जरा गाडिसकेको रहेछ यहाँ त । अनि त ज्ञान, बुद्दि, सीप, अनुभवी र क्षमतावान व्यक्ति पनि अवसर नपाएर मरिचझैँ चाउरिएर बस्नुपर्छ यहाँ । बैँकबाट ऋण लिन पनि चर्को ब्याजको मार र धरौटी पनि चाहिने । अनि त केको प्रगतिको कुरा गर्ने हामीजस्ताले । जागिरको लागि कतै आवेदन दियो भने पनि हाकाहाकी पैसाको कारोबार गर्न जान्नुपर्दछ भन्दारहेछन् । यो देश त कस्तो भएछ कुन्नि ! यस्तो बेकम्मा त पन्चायतकालमा पनि भएको थिएनजस्तो लाग्दछ । मलाई यसोभन्दा पन्चायतकालको पक्षपोषण गरेको भनेर आक्षेप नलगाउनुहोला । तर म त्यस्तो भने छैन ।

नव धनाढ्य नेताहरु र धनाढ्यहरुले पैसाजति स्वदेशी वा विदेशी बैँकमा लगाएका छन् रे भन्ने सुनिएको छ । के उनीहरुले यस्तै विकास निर्माणमा लगाए भने विदेशको मरुभूमीमा बालुवाका कण केलाएर सुन फलाउने नेपाली युवा जनशक्तिले नेपालको उर्बर भूमीमा हीरामोति फलाउन सक्दैनन् र ? तर यहाँ यस्तो कुरो कस्ले सोच्ने ? धेरै नेताहरुलाई पद, मान, मर्यादा जोगाउँदै भ्रष्टाचार गरी अकुत सम्पत्ति थुपार्नै हतार छ । त्यस्ताका कार्यकर्तालाई पनि शक्तिको आडमा लुट मच्याउनै आत्तुरी छ । अनि त कसले गर्ने यो देशको विकास । हामीजस्ता विज्ञ भनेर के नाक फुलाउने, सडकमा सडकछापे बन्नु सिवाय । किनकि नेपालको नीति नै प्रतिभालाई रोक्नेभन्दा पनि प्रतिभा पलायनलाई प्रश्रय दिने खालको छ । हैन भने दैनिक हजारौं नेपाली युवा रोजीरोटीको लागि विदेशिएका छन् तर तिनलाई नेपालमा रोजगार दिई किन राख्न सकिन्न ? अझ सरकार भने रेमिट्यान्सको फूर्ति लगाउन छाड्दैन । तर उर्बरभूमी बन्जाड बन्दै गएको चिन्ता र चासो छैन उसलाई । कतिपय देशमा कुनै विषयमा विज्ञता हासिल गरेका व्यक्तिलाई विशेष सुविधासहित उसको क्षेत्रमा कामगर्ने वातावरण मिलाई दिन्छ । तर यहाँ त विषयवस्तुको ज्ञाता नेपाल आई केही गर्न खोजेमा उसको खुट्टा तान्दै उसलाई स्थान दिईदैन र सडकछापे बन्न बाद्य बनाईन्छ । अनि त उ पनि वाद्यतावस विस्तारै विदेश पलायन हुनुपर्दछ । केही अनौठो अनुभव र अनुभूति त मैले पनि सँगालेको छु । जो व्यक्तिले करोडौँको घोटाला गर्दछ बारम्बार कार्यबाही गर्दै फुकुवा गर्दै त्यहीँ सिँहासनमा विराजमान गराईन्छ । यो कस्तो नाटक रंगमन्चन गरिएको हो ? यो कस्ले बुझिदिने हो ? सरकारी सँस्थानहरु त राजनीति पार्टिको भर्ति केन्द्रजस्तो बनेको छ अनि कहाँ विज्ञताको महत्व र कदर हुन्छ त्यहाँ । केवल उनीहरुको भक्त र स्तुतिगान गाउन जान्ने र सक्ने व्यक्ति भए भइहाल्यो नि ।

अहिले नेपालमा आयात हुने हरेक सामग्रीको धेरै प्रतिशत विना भन्सार चोर बाटो भनौँ वा मिलेमतोमा भनौँ नेपाल भित्रिने गरेको छ । बीउको मात्रै कुरा गर्ने हो भने पनि आयातित बीउबिजनको करिब ७६ प्रतिशत बीउबिजन चोरी आयात गरिन्छ । त्यसमा अधिकाँस महँगा र हल्का तौल भएका हाईब्रीड बीउ पनि पर्दछ । तर कार्यबाही खै । बीउबिजन ऐन तथा नियमावली त मस्त निद्रामा छ । कसले ब्युँझाई दिने हो र कार्यबाही गर्ने हो त्यस्ता चोरी आयात गर्नेलाई ? बर्षेनि धेरै मात्रामा हाईब्रीड बीउबिजन यसरी नै आयात भइराखेका छन् । तर हाम्रा देशका अमिरहरुले हाईब्रीड जात विकास गर्ने व्यवसाय सन्चालन गर्नेतिर कत्ति पनि ध्यान दिएका छैनन् । उनीहरु त व्यस्तछन् ऐस आरामतिर । पहुँचवाला नेता वा नेताका छोराछोरी परे भने दैनिक झोलुंगो बन्दै अप्सराहरूलाई पनि झोलुंगोमा नै अगाल्न व्यस्त छन् । अनि कहाँ हुन्छ विकास । लौ त हाम्रा देशका नेताका छोराछोरीले पनि ‘नेपाली खालिद विन’ बनेर देखाउने हिम्मत गरुन् त । त्यतिखेर लाखौँ नेपालीले जयजयकार गाउने छन् उनीहरुलाई । अति त उनीहरुले कुनै डर, त्रास र धम्की दिन पर्दैन जनतालाई आफ्नो पक्षमा ल्याउन । अनि पो बढ्छ मान, सम्मान र इज्जत । अनि पो बन्छ समृद्ध नेपाल । चर्को भाषण गरेर मात्रै बन्ने भए त कति वर्ष भाषणमै बितिसक्यो किन आज देश यो धरापमा । किन हामी सधैँ पर निर्भर र भिखमग्गा । खोक्रो आडम्बरी र जनतालाई सधैँ धोकादिने राजनीति गर्नुभन्दा समयमै विकास निर्माणका काम र असली राजनीतिसँगसँगै कसरी लैजान सकिन्छ भनेर एकपटक ठण्डा दिमागले नेपाली बनेर सोच्न सकेमा देश, जनता र व्यक्ति स्वयम्लाई पनि निकै नै फलदायी हुनेछ ।

ताइवान र कोरिया पनि ५० वर्ष पूर्व नेपालभन्दा कम विकसित देश थियो । उनीहरुले सारंगीजस्तो दापिएको खोक्रो र भोको पेट भए तापनि आफ्नो दुई मुठी कस्दै शरीरका प्रत्येक इन्जिनमा हिम्मतको इन्धन हाले । सामुहिक छलफलमा जुट्दै समस्या उपर मन्थन गरी नौनी निकाले र पो चुलिदो छ त्यहाँको विकास निर्माण । सबैलाई चेतना भया ।

तपाइँको प्रतिक्रिया