केरा मम चाखेपछि उपकुलपति छक्कै !

विनोदबाबु रिजाल

banana-restaurantतपाईले मम धेरै खाले, थरीका खानु भएको होला । पोर्क मम । चिकन मम । बफ मम । सब्जी मम । फिस मम । तर केरा मम ? केरा मम खानु त के सुन्नुपनि भएको थिएन होला । किनकि  अमिलो, पिरो, नुनिलो ट्याक्क परेको अचार सहित खाइन्छ मम । तर केरा त गुलियो हुन्छ । गुलियो केराको के मम ? नपाकेको केराको भए त्यसको के महत्व ? तर पख्नुस् । केराको मम गज्जब हुने रहेछ । चाल नपाएर पो त । सिक्दै, परिक्षण गर्दै र चाख्दै गए धेरै कुरा पत्ता लाग्छ । नयाँ कुरो चाख्दै नचाखे जिब्रोले पो कसरि कुन मिठो र कुन नमिठोको स्वाद पाओस् ? । चितवनमा हालहालै अचम्मको रेस्टुरेन्ट सञ्चालन गरिएको छ, केरा मम । अनि त्यहाँ केराको स्वादिलो मम बन्छ । नपत्याउनु भएको ? कृषि तथा वन विश्वविद्यालयका उपकुलपति डा. कैलाशनाथ प्याकुर्‍याल समेत केरा मम खाएपछि जिल परे ।

उपकुलपति डा. कैलाशनाथ प्याकुर्‍यालले साकाहारी मःम त धेरै खाएका थिए । केराको मम भने कहिल्यै चाखेका थिएनन् । चितवनको भरतपुरमा काँचो केराबाट बनेको मः म खाएपछि भने, “यस्तो पनि हुँदोरहेछ ।” भरतपुर–९ मा स्थापना भएको केराको परिकार पाइने चेतना भिलेज रेस्टुराँ उद्घाटन गर्न गएका उनलाई मःमसँगै केराकै पकौडा र चिल्ली पनि मीठो लाग्यो ।

केरा पाकेर मात्र होइन, काँचै पनि खान सकिन्छ भन्ने सन्देश प्रवाह गर्दै भरतपुरमा लामो समयदेखि रेस्टुराँ चलाउँदै आएका यादव हुमागाईंले केरा रेस्टुराँ सञ्चालनमा ल्याएका हुन् । हाकिमचोकबाट ५ सय मिटरभित्र बुद्धचोकनजिकै चेतना भिलेज रेस्टुराँमा केराको परिकार थपिएको हो । “रेस्टुराँले कृषिमा व्यवसायीकरण र आधुनिकीकरण बढाउनेछ,” उनले भने, “बजारीकरणमा समस्या खेपिरहेका किसानहरूलाई यस्ता रेस्टुराँ चोकचोकमा खुल्नुपर्छ ।”

रेस्टुराँमा विशेषगरी केराको मः म, चिप्स, चिल्ली, बुंगाको अचार, पकौडा, लसीलगायतका खानकी पाइने रेस्टुराँ सञ्चालक हुमागाईं बताउँछन् । साधारण रेस्टुराँमा पाइने अरू परिकारभन्दा सहुलियत दरमा उपलब्ध गराइने उनले जानकारी दिए । “अन्तभन्दा सहुलियत दरमा खुवाउँछु” हुमागाईंले भने, “होम डेलिभरीको सुविधा पनि छ ।”

रेस्टुराँले बजार खोज्ने झन्झटबाट मुक्ति दिने आशा केरा व्यवसायी समिति चितवनका अध्यक्ष यज्ञ सुवेदीले गरेका छन् । “उत्पादन जतिपनि गर्न सकिन्छ,” उनले भने, “मुख्य समस्या बजार नै हो । यस्ता रेस्टुराँ अझै धेरै खुल्न आवश्यक छ ।” चितवनमा झन्डै ४ सय जना किसान व्यावसायिक रूपमा केराखेती गरिरहेका छन् ।

उनीहरूले १ हजार ५ सय बिघा खेतमा १२ महिना नै केरा उत्पादन गर्छन्, तर बजार नपाएको गुनासो बेलाबेलामा आउँछ । नेपाल उद्योग वाणिज्य महासंघले सञ्चालन गरेको ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम मा चितवन केराकै लागि छनोट भएको छ । गत वर्षबाट यो कार्यक्रम सञ्चालन भएपछि केराका बहुपरिकार बनाउने चलन पनि फस्टाएको हो ।

यहाँका प्रदर्शनी तथा मेलामा केराका परिकार खानेहरूको लर्कन लाग्छ । व्यावसायिक रूपमा बहुपरिकार उत्पादन तथा बिक्रीका लागि उत्पादक तथा व्यवसायीलाई प्रशिक्षण दिने क्रम पनि बढेको छ । “अब पहिलेजस्तो पाकेको केरामात्र खाने चलन हटाउनुपर्छ,” केराविद् प्राध्यापक डा. दुर्गामणि गौतम भन्छन्, “पाकेको खान नहुने रोगीलाई पनि काँचो केराले फाइदा गर्छ ।”

उनका अनुसार काँचो केराबाट भिटामिन ए र बी–६ पाइन्छ । “दम भएको बिरामी तथा कफ र उच्च रक्तचापका बिरामीसमेतलाई राम्रो गर्छ,” उनले भने, “एक चम्चा मह र आधा चम्चा मरिचमा एककोसा केरा खाँदा ज्यादै राम्रो ।” उनले केराबाट वाइन बनाउने विषयमा पनि लामो समयदेखि आवाज उठाइरहेका छन् । वाइनको सम्भाव्यताबारे केही अघि ‘एक गाउँ एक उत्पादन’ कार्यान्वयन समितिले जिल्ला आसपासका डिस्टिलरीसँग छलफल पनि चलाएको थियो । डिस्टिलरी सञ्चालकहरू पनि सकारात्मक रहेको कार्यान्वयन समितिले जनाएको छ ।

तपाइँको प्रतिक्रिया