एन आर एन बेल्जियमको झगडा, बाँकि देशलाई डढेलोको संकेत

राजकुमार थापाक्षितिज’/ लण्डन

raj-kumar-thapa-ukभर्खरै एनआरएन वेल्जियमको निर्वाचन सम्पन्न भएको छ । विश्वभर छरिएर रहेका नेपालीहरुको साझा थलोको रुपमा विकसित र संगठित वनाउन एक दशकभन्दा अगाडि स्थापित एनआएनको संजाल आज विश्वका ६५ भन्दा वढि देशहरुमा फैलिसकेको छ । धेरैचोटी लेख्दै र प्रश्न उठाउदै आएको विषय यो हो कि ‘के एनआरएन विश’द्ध गैरराजनैतिक र साझा संगठन हो त विदेशमा वस्ने नेपालीहरुको ?’ वास्तवमा धेरैको आशा अपेक्षा र कामना पवित्र नेपाली भावनाकासाथ सवैको साझा वनोस भन्ने नै हो । यस आलेखमा चर्चा गर्न खोजिएको सवाल भने एनआरएन वेल्जियमको निर्वाचन र निर्वाचन पश्चात उठेको विवाद र सिक्न’ पर्ने पाठका सम्वन्धमा हो ।

नेपालीहरुकालागि युरोपको एउटा आकर्षक गन्तव्य मध्ये वेल्जियम पनि एक हो । त्यसकारण वेल्जियममा नेपालीहरुको संख्या उल्लेख्य मात्रामा रहेको छ । युरोपभरि छरिएका मध्ये वेल्जियममा रहेका नेपालीहरु वीच वेला–वेलामा अनेक खालका विवाद, आरोप–प्रत्यारोप र उस्तै पर्दा भौतिक झगडा पनि भएको पढ्दै, सुनिँदै र देखिदै आएको छ । विदेशमा वस्ने नेपालीहरु वीच यस्तो खालका हर्कतहरु हुनु लज्जाको विषय हो । अहिले फेरि एनआरएनको निर्वाचन मार्फत विवादहरु छता छुल्ल भएर सडकमा आएको छ । एकले अर्कालाई निषेधको तहमा गतिविधि र क्रियाकलाप भएको देखिन्छ । वास्तवमा झगडाको चुरो कुरो के हो ? यसवारेमा अलिकति विमर्श नगरि सतहमा आएका घटनावाट मात्र परिस्थितिको सहि आँकलन नहुन  सक्छ ।

माथि उल्लेख गरिए जस्तै एनआरएन गैरराजनैतिक भनिए पनि वेल्जियमको एनआरएनको लफडा भने नितान्त एउटा राजनैतिक पार्टीको गुटगत झगडाको उत्कर्ष परिणामको रुपमा देखा परेको छ । कुनै पार्टीको भातृसंस्थाभित्र भएको एउटा गुटले अर्को गुटलाई सिध्याउने खेलको नतिजाले आज सिंगो एनआरएन वेल्जियमलाई विवादको भुमरीमा फसाएको देखिन्छ । आफ्नो भातृसंस्था भित्र भएको असहमति र झैझगडालाई ‘साझा’ भनिएको संस्थामा ल्याएर डडेलो सल्काउन’ कति जायज हो ? अनि यही लफडावाजीमा अन्य पार्टीहरुका भातृसंस्था र जातिय संस्थाहरु पनि सामेल हुँदै मैदानमा पाखुरा सर्काउनुले एनआरएनको मूल उद्देश्यमाथि नै घात भएको छ किन नभन्ने ?

कुरा रह्यो धाँधलीको । नयाँ नेतृत्वकोलागि भएको चुनावमा धाँधली भयो भन्ने पराजित पक्षको आरोप छ । हैन, हामी नेपाली विश्वका जुन कुनामा पुगे पनि, धाँधली, भ्रष्टाचार, हडवडी, गडवडी मात्रै सिकिरहेका छौ कि क्या हो ? कि हारे पछि वा विग्रेपछि केही थान आरोप लगाएर आत्मसन्तुष्टी गर्ने र उल्जन खडा गरिरहने मेलो मात्र हो ? वास्तवमा यो अव स्पष्ट हुन जरुरी छ । चुनाव अघिसम्म जित्ने दावी गर्ने र धाक लडाउने अनि नतिजा पश्चात त्यसलाई अस्वीकार गर्ने मनोवृत्ति भनेको प्रजातान्त्रिक संस्कारलाईसुहाउने कार्य त कदापि हुनै सक्दैन ।

वरु यो निरंकुश र निषेधवादी मनोग्रन्थीको विकृत रुप हो, चाहे त्यो जुन सुकै चुनावको परिणामको कुरा किन नहोस् । यसर्थ जयपराजयलाई सहज रुपमा नलिने हो भने वा कुनै ‘गडवडी’ भएको छ भने उपयुक्त निकायवाट छानविन गरी सत्यतथ्य वाहिर ल्याउन’ एउटा उपयु’क्त माध्यम हुनसक्छ । आफ्नो समुदायमा नै विभाजन ल्याउने तथा संस्थागत गरिमा र मर्यादालाई नै धुलोमा मिलाउने काम गरिनु कुनै पनि हालतमा शोभनीय होइन ।

अव अर्को कुरा यस्ता गम्भीर प्रकृतिका घटना र विवादहरुका वारेमा एनआरएनको अन्तर्राष्ट्रिय समितिले तत्कालै चासो लिएर यथार्थता सार्वजनिक गर्नु वान्छनीय छ । नत्र राजनैतिक पार्टीहरुको र पार्टी भित्रका गुट झगडाको डढेलो अन्य देशको एनआरएनमा पनि नसल्कला भन्न सकिन्न । हेर्दा पुरानो ‘इगो’ले ज्यादा काम गरेको हो कि जस्तो देखिन्छ । किनकी निर्वाचन धाँधलीरहित र शान्तिपूर्वक सम्पन्न भएको प्रतिवेदन निर्वाचन अनुगमन समितिले दिईसकेको छ । वेल्जियम एनआरएनका संस्थापकदेखि निवर्तमान अध्यक्षसम्मले निर्वाचनको वैधतामा कुनै प्रश्न उठाएका छैनन्, वरु यो सही तरिकाले सम्पन्न भएको वताईसकेका छन् । यद्यपि विवाद उठेपछि यसको निरुपणगर्नु अन्तर्राष्ट्रिय समितिको दायित्व र कर्तव्य नै हो । यसर्थ चाँडो भन्दा चाँडो यस्ता विवादलाई टुङ्गाएर अन्यौलताको अन्त्य गर्न आवश्यक छ । साथै आफ्नो संस्थाको वैधानिक व्यवस्था र मर्यादा वमोजिम अराजकतालाई वेलैमा नियन्त्रण नगर्ने हो भने भोलिका दिनमा ‘एनआरएनहरु’ नहोलान भन्न पनि सकिँदैन ।

अन्त्यमा, वेल्जियम एनआरएन घटना एउटा सानो झिल्को मात्र हो । नेपाली समाजमा विभाजनका विकृत रुपहरुले कुनै पनि क्षेत्रहरु अछुतो नरहने संकेत ‘साझा’ भनिएका विदेशमा रहेका नेपालीहरुका संस्थाहरु भित्रका यी कुराहरुले स्पष्ट पारेको छ । अनि एकअर्काको अस्तित्वलाई अस्वीकार गर्ने प्रवृत्ति अन्ततः पराजित हुन्छ । सायद त्यो वाहिर जतिसुकै हल्लिखल्ली र धाकधक्कु लडाए पनि भन्ने हो । त्यसैले कसैले कसैलाई अन्तिमबिन्दुमा धकेल्न’ भन्दा सहअस्तित्वमा नै सवैको भलाई छ भन्ने पाठ सिक्नु पर्ला, विदेशमा वस्ने नेपालीले वेल्जियम एनआरएनको तितोमिठोबाट । जय होस् हामी सवै नेपालीको ।

तपाइँको प्रतिक्रिया