दुतावास र तमुधिंबिच समझदारीको बेलायतभरकिन यति धेरै चर्चा ?
● जिवन काफ्ले / लण्डन
लण्डनस्थित नेपाली दुतावास र तमुधिं युकेबीच समझदारी भएको समाचार प्राप्त भएको छ । तमुधिं युकेको आयोजनामा गत जुनमा सम्पन्न गोर्खा कपमा राजदुतावासलाई नै वेवास्ता गरीएपछि रुष्ट दुतावास तमुधिं सम्बन्ध पछिल्लो समझदारीले सुध्रिएको दुतावास श्रोतले बतायो । अहिले यो समझदारी बेलायतभर चर्चाको विषय बनेको छ । श्रोतका अनुसार गत शुक्रबार भएको दुतावास तमुधिं बैठकमा राजदुत डा.सुरेशचन्द्र चालीसेलाई नेपाली मेलामा प्रमुख अतिथि बनाउने पनि निधो भएको छ ।
तमुधिं युके विशेष श्रोतका अनुसार गोर्खा कपमा आफुलाई नबोलाइएकोप्रति असन्तुष्ट बनेका राजदुत डा. चालीसेले तमुधिं युकेका अध्यक्ष कमल गुरुङलाई किन बोलाउनुभएन भनि र्याखर्याखती पारेका थिए । राजदुतले त्यसो भनेपछि कमल गुरुङले त्यतिबेलाको माहौल नै त्यस्तै भयो महामहिमज्यु भन्दै टार्न खोजेका बैठकमा सहभागि एकले बताए ।
नेपाली मेलामा दुतावासको के भुमिका हुन सक्छ भन्दै बोलाइएको बैठकमा गोर्खा कपले प्राथमिकता पाएको थियो । बैठक शुरु हुनासाथ नेपाली दुतावासका सैनिक सहचारी कर्णेल विश्वनाथ घिमिरेले गोर्खा कपको प्रसंग कोट्याएपछि माहौल नै भिन्न बन्यो । गोर्खाकप हुने अघिल्लो साता तमुधिं अध्यक्ष कमल गुरुङले राजदुत डा.चालीसेलाई सम्बोधन गर्दै ‘तपाईलाई गोर्खा कपमा निम्ता छैन’ भन्ने आशयको पत्र पठाएका थिए । त्यो पत्रबारे भने खासै छलफल भएन श्रोतले भन्यो, ‘विगतका गल्ती नकोट्याउने समझदारी भएको छ ।’ राजदुत चालीसेले नेता भएर पनि सहि निर्णय लिन नसक्ने भन्दै अध्यक्ष कमल गुरुङलाई च्यालेञ्ज गरेको सहभागि एकले नाम उल्लेख नगर्ने सर्तमा बताए ।
अध्यक्ष गुरुङविरुद्ध दुतावास नै लागेपछि लण्डन इकाईका अध्यक्ष् डेबिड (दिपक) गुरुङले नेपालमा एमाओवादीको सरकार बन्नु र राजा हट्नु जस्तै त्यतिबेलाको माहौलले त्यस्तो वातावरण बनाइदिएको भनेपछि बैठकमा गोर्खा कप विवाद साम्य भएको थियो । यस्तै नेपाली मेलामा नेपालबाट सरकारी प्रतिनिधि वा सकेसम्म राष्ट्रपति डा. रामबरण यादवलाई नै बोलाउने सम्बन्धमा पनि छलफल भयो । यस सम्बन्धमा तमुधिंले नै लगानी गरेर बोलाउने वा सरकारी पैसामा आउने भन्ने सवाल पनि उठेको थियो । नेपालबाट सरकारी प्रतिनिधि बोलाउंदा राम्रो म्यासेज नजानेमा सहभागिहरु एकमत भएका थिए । अतिथि बोलाउनका लागि तमुधिं युकेले पत्र तयार पार्ने र दुतावासले पनि सहयोग गर्ने बताइएको छ ।
बैठकमा दुतावासका तर्फबाट राजदुत डा. चालीसे, उपनियोग प्रमुख तेज बहादुर क्षेत्री, कर्णेल विश्वनाथ घिमिरे र सहचारी सुर्य बहादुर थापा थिए भने तमुधिंका तर्फबाट अध्यक्ष कमल गुरुङ, उपाध्यक्ष एवं नेपाली मेलाका संयोजक ज्ञाम गुरुङ, महासचिव नन्दजंग गुरुङ, सल्लाहकार उमेन्द्र गुरुङ, लण्डन इकाईका अध्यक्ष डेबिड (दिपक) गुरुङ, धन बहादुर गुरुङ, समाजसेवी विजय गुरुङ, घान्द्रुक समाज युकेका अध्यक्ष लगायत सहभागि थिए ।
नेपाली दुतावास भवन विक्री प्रकरणपछि चिसीएको दुतावास र अन्य नेपाली संघसंस्थाबीचको सम्बन्ध खासै सुध्रिएको छैन । यो प्रकरणपछि सातामा २/३ वटा नेपाली कार्यक्रम नछुटाउने राजदुत चालीसे अहिले फुर्सदमा छन । एनआरएनए युकेले राजदुतलाई कार्यक्रमहरुमा नबोलाउन संघसंस्थाहरुलाई उर्दी जारी गरेको हल्ला पनि एकताका चर्चामा थियो । दुतावास प्रकरणपछि एनआरएनए युकेले पुर्व अध्यक्ष डम्मर घलेको संयोजकत्वमा दुतावास भवन बचाउ नागरिक संघर्ष समिति नै गठन गरेको थियो । अहिले यो समिति भने निश्क्रिय जस्तै छ ।
बेलायतमा रहेका तमुहरुसंग आफ्नो सम्बन्ध सुधार्न राजदुत चालीसेले विभिन्न उपाय भने अपनाईरहेका छन । उनले दुतावासमा रिक्त सचिवको पदमा गुरुङहरुकै सिफरीशलाई शिरोधार्य गर्दै नियुक्ति समेत दिए । राजदुतले विज्ञापन समेत नखुलाई गैरकानुनी ढंगबाट नियुक्ती दिएकोप्रति दुतावासका कर्मचारीहरुले समेत विरोध जनाएका छन । उनले साउथ इष्ट लण्डन तमुधिं युकेका हाउजीङ संयोजक श्रीचन्द्र गुरुङकी छोरी प्रिती गुरुङलाई गतसातामात्र नियुक्ती दिएका हुन । यो नियुक्तीसंगै राजदुत चालीसे दुतावासका कर्मचारीबाटै आलोचित बन्न पुगेका छन । दुतावासका एक कर्मचारीले नाम नबताउने सर्तमा भने, ‘आफ्नो स्वार्थका लागि राजदुत चालीसे जे गर्नपनि तयार देखिए ।’
अर्कोथरी तमुहरुले भने चालिसेले त्यस पदमा कुनै बिज्ञापन नगरि एक जना गुरुङलाई सुटुक्क पद दिलाएर सारा गुरुङहरुको सद्भाव लिन खोजेका हुन् । गोरखालीहरुको बिरताको चिन्हो बेच्न गोरखा सैनिकहरुलाई थाह नदिइकन लागेपछि राजदूत चालिसेप्रति सबै जनजाति चिढिएका थिए । अब उनीहरुसित नजिक हुन, अशल र जनजाति पक्षिय देखिनकालागि एउटा पद चारोका रुपमा फालेका हुन् । यसो गरेर आफु जनजाति पक्षिय देखाउन उनले खोजेको टिप्पणीपनि केहि जनजातिकै सदस्यहरुलेपनि गरेका छन् ।






