नेपालले हामीलाई के दियो ?

“यदि नेपालमा जन्मेको बेला त्यहाँका डाक्टरले नहेरिदिएको भए, त्यहाँका छिमेकिहरुले नहेरिदिएको भए, त्यहाँको प्रहरीले तपाईको रक्षा नगरिदिएको भए तपाई त्यहिँ मर्नुहुन्थ्यो । तपाई आज बिदेश आउन पाउनुहुन्थेन । त्यसकारण नेपालले तपाईलाई धेरै गरेको छ ।”

 

 

-डा उपेन्द्र महतो-

 धेरै देशमा मैले के सुनेको छु भने  च्याउ उम्रेको जस्तो संस्था छन् । एनआरएन के होला, कसो होला ? हामीले के बुझ्नुपर्छ भने च्याउ उम्रेwomen-programme-8-march-2009-155को जस्तो संस्थाबाट हामी डराउनुहुँदैन । गैह्र आवासिय संघले के मान्यता राखेको छ भने हाम्रा नेपालीहरुको जति बढि संघ संस्थाहरु बाहिर बन्छन्, जति सक्रियरुपमा संघ संस्थाहरुले काम गर्छन् गैह्र आवासिय नेपाली संघ त्यतिनै बलियो हुन्छ । किनभने तपाईहरुले जति राम्रो काम गर्नुहुन्छ नेपालीहरुलेनै गरेको काम हुनाले त्यतिनै साझा संगठनको रुपमा अगाडि बढ्छ । धेरै ठाउँमा हामीले बोलेको सुन्छौं कि गैह्र आवासिय नेपाली संघ भनेको सबैको छाता संगठन हो । हामी छाता संगठन होइनौं । हामी साझा संगठन हौं । त्यसैले सबै संघ संगठनसँग मिलेर हामी अगाडि बढ्न सक्छौं । तपाईहरुलाई हामीले के सहयोग गर्नुपर्छ ? तपाईहरुले जे गर्नुहुन्छ त्यसको जानकारि हामीलाई गराइदिनुभयो भने त्यसको हामीले प्रचार प्रसार गर्छौं ।  बाहिर जानकारि गराइदिन्छौं ।

 

कहिँ कहिँ  केसम्म कुरा उठ्यो भने-तपाईहरु चाहिँ एकदम नेपालको लागि केहि गर्नुपर्छ भन्दै हिँड्नुहुन्छ तर नेपालले हामीलाई के दियो ? त्यहाँ दुख पायौं । कोहि द्वन्दका बेला दुख पाएँ । कोहि चाहिँ राजाको बेला दुख पाएँ । त्यो दुख पाएर हामीले भागेर बिदेश आयौं । बल्ल तल्ल अलिकति आराम पाएका छौं । अलिकति पैसा कमाएका छौं । केहि बुद्दी पाएका छौं । तपाई फेरि नेपालकालागि जानुस भनेर भन्नुहुन्छ । नेपालले हामीलाई के दियो ?

 

त्यसको जवाफ दिने गरेको हुन्छु-यदि नेपालमा जन्मेको बेला त्यहाँका डाक्टरले नहेरिदिएको भए, त्यहाँका छिमेकिहरुले नहेरिदिएको भए, त्यहाँको प्रहरीले तपाईको रक्षा नगरिदिएको भए तपाई त्यहिँ मर्नुहुन्थ्यो । तपाई आज बिदेश आउन पाउनुहुन्थेन । त्यसकारण नेपालले तपाईलाई धेरै गरेको छ ।

 

हामी भरखर भरखर पहिलो पुस्ताबाट दोस्रो पुस्तामा सर्दै छौं । अनि त्यो दोस्रो पुस्ताका साथीहरुले भन्छन्-ल ठिक छ, मेरो आमा बुवा पो नेपालमा जन्मिनु भो । त्यहिँ हुर्किनु भो । त्यहिँ पढ्नु भो र आउनु भो । तर हामी त बिदेशमै जन्मियौं, बिदेशमा हुर्कियौं । नेपाल हामीलाई के मतलब । हामी त बिदेशी भयौं । उनीहरुलाईपनि हामी के भन्छौं भने यदि तिम्रा बाबु आमा नेपाली नभएको भए तिमी कसरि जन्मिने थियौ ? त्यसकारण तिमीहरुको लागिपनि नेपालले धेरै कुरा दिएको छ ।  यो भावना, यो बुझाई तपाई हामी सबैले आफ्ना छोराछोरीहरुलाईपनि दिनुपर्छ । तिनलाई बुझाउनुपर्छ । नेपाल धनी भयो, राम्रो भयो भने तपाई हाम्रो समस्यानै समाधान भएर जान्छ । तपाई हामी नाक र शिरनै ठाडो पारेर हिँड्न सक्छौं । ब्यक्तिगत रुपमा चाहे प्राध्यापक होस, संसारकै धनी किन नहोस, यदि हाम्रो नेपाल त्यत्तिकै गरिब रह्यो भने त्यो ब्यक्तिको केहिपनि मतलब रहँदैन ।

 

यो कुरालाई मनन् गरेर नै हामी गैह्र आवासिय नेपालीहरु के भन्छौं भने सबैभन्दा पहिला हाम्रो देश बनाउनु पर्छ । हाम्रो देश धनी भयो भने त्यहिँ काम गर्ने अमेरिकी, जर्मनले पाउने पैसा पाउन शुरु गर्छन् । त्यसलेगर्दा नेपाललाई कसरि धनी बनाउने भन्ने जिम्मेवारी तपाइ हाम्रो छ । त्यो हाम्रो देश कसैले आएर बनाइदिँदैनन् । नेपालमा भएका नेपालीले पनि बनाउन सक्दैनन् । किनभने उहाँहरुकोपनि धेरै कुरामा बाध्यात्मक छ । उहाँहरुका पनि सिमितता छन् । तपाई हामी त्यो सिमितता भन्दा बाहिर छौं । हामीले चाहे केहि कुरा गर्नसक्छौं । गर्न सक्ने क्षमता राखेका छौं । त्यसलेगर्दा तपाइ हामीले त्यो काम गर्न शुरु गरौं ।

 

हामी बुढेसकाल आएपछि दानदक्षिणाहरु शुरु गर्छौं । किनभने त्यो कालमा बल्ल हामीले बुझेका हुन्छौं कि ए ! अब अलिकति सामाजिक काम गर्‍यो भने, भगवानलाई खुशि पार्‍यो भने अर्को जन्ममा यसो अलिकता सुख पाइन्छ कि भनेर । तर तपाई हाम्रो सबैभन्दा ठूलो धर्म भनेको के भने हाम्रो देश । हाम्रो मात्रीभूमी । यसलाई कसरि बनाउने ?

 

र तपाई हामी धेरै भाग्यमानी छौं । तपाई हामीले मात्रीभूमि र कर्मभूमी जहाँ काम गर्छौं र जहाँ जन्मेका छौं त्यो दुईटैलाई सेवा गर्ने मौका पाएका छौं । त्यो सेवा गर्ने मौकाबाट हामी कहिल्यैपनि बञ्चित हुनुहुँदैन। आत्तीनु हुँदैन । त्यो सौभाग्य हो । धेरै कमले मात्रै पाएको हुन्छ त्यस्तो मौका । त्यसैले त्यो मौकालाई तपाईहरुले एउटा सौभाग्यको रुपमा लिएर अगाडि बढ्नुभो भने, देश धनी भयो भने हामी नेपालीहरुको नाक त्यत्तीकै उँचो हुन्छ । नाम त्यत्तिकै माथि हुन्छ । आम्दानी त्यत्तिकै बढि हुन्छ ।

 

हामी नेपाली हरु पहिलो पुस्ताका छौं । आजकालको यो ईन्टरनेट ईमेलको जमनामा जानकारीहरु तुरुन्तै पाईन्छ । मानवअधिकार लगायतका आदि र ईत्यादी कुराहरु । त्यस्तो कुराहरुमापनि तपाई हामीले एउटा के बुझ्नुपर्छ भने तपाई हामी पहिलो पुस्ताका नेपाली हौं । बिदेशमा काम गर्न आएका छौं । खुशिले आएका छैनौं । आफ्नै बाध्यात्मकताले मात्रै आएका छौं । हाम्रो देश धनी भएको भए सायद यसरि दुख पाएर आउनुपर्ने थिएन । त्यसकारण तपाई हामीले एउटा के मनन् गर्नुपर्छ भने तपाई हाम्रो जुन पिँढी छ त्यो दुख पाउन जन्मेको पिँढी हो । त्यसकारण हामी जहाँ गएपनि दुख गरेर केहि न केहि काम गर्नैपर्छ । दुख भयो भनेर आत्तिनु हुँदैन । दुख भयो भएर अरुले उठाएका धेरै आवाज उठाउन सक्ने अहिले हामीले क्षमता राखेका छैनौं । त्यसकारण केहि कुराहरुलाई तपाई हामीले पचाउन सक्नुपर्छ । त्यो पचाउने क्षमता तपाईहरुमा होस भन्ने मेरो शुभकामना छ । र यो पचाउने क्षमतालाई तपाई हामीले एउटा उपलब्धिको रुपमा लिउँ । यसबाट हाम्रो दोस्रो पिँढीले ठूलो उपलब्धि पाउँछन् । तपाई हामीले दुख गरेको फाईदा तपाई हाम्रो दोस्रो पिँढीले पाउँछन् ।

 

नेपालीहरुको अर्को एउटा कमजोरी के थियो र छपनि भने हामीले सँगै मिलेर समूहगत रुपमा, सहकारीको रुपमा ब्यापार नगर्ने । केहि गरौं भन्ने भावनामा धेरै पछाडि छौं । अमेरिका, बेलायत, जर्मनी, फ्रान्स जस्तो देशहरुमा के गर्दो रहेछ भने छोरा छोरीहरुलाई ईञ्जीनियर, डाक्टर पढाउने अनि जागिर दिलाईदिने र त्यसमा लगाइदिएपछि पुरा तिर्थ गर्ने आनन्द लिने अब भनेर ठान्थ्यौं । तर त्यो होइन । तपाई हामी आफ्नो छोराछोरीहरुलाई ब्यवसाय सिकाउँ । तपाई हामीले गुमाउनुपर्ने केहिपनि छैन । बिदेशमा हुनेहरुले ल धेरै गुमायो भने दुई चार पैसा जम्मा भएको थियो गुमायो । तर भोकै त मर्दैन । कामै पाएन भनेपनि बेरोजगारी भत्ता पाउँछ । त्यसकारण कुनैपनि जोखिम छैन । त्यो जोखिम नभएको हुनाले हाम्रा छोराछोरीहरुलाई जुन हाम्रा साना भाई बहिनीहरु जो अहिले अगाडि बढिरहेका छन्, यहिँको समाजमा हुर्किरहेका छन्, यहिँका विश्व विद्दालयहरुमा अध्ययन गरेर जुन ज्ञान पाएका छन् तिनलाई कसरि ब्यवसायमा लगाउन सकिन्छ त्यसमा हामी लगाउँ । तपाई हामीले कमाएको दुई चार पैसा बैंकमा गएर राखिदिन्छौं । अहिलेको यो संकटले देखायो कि बैंकपनि सबैभन्दा सुरक्षित ठाउँ त होइन । त्यसकारण हामी एक जनालाई एक लाख डलर धेरै होला । १० जनाले दश दश हजार डलर दिनुभयो भने एक लाख डलर हुन्छ । अनि एक लाख डलरमा एउटा राम्रो ब्यवसाय शुरु गर्न सकिन्छ ।

 

बैंकमा तपाईले तिन प्रतिशत पाउनुहुन्छ । त्यो व्यसायले तपाईलाई कमाएर छ प्रतिशतनै दियो भनेपनि सय प्रतिशत बढि कमाउनुभो । दश जना नेपालीलेपनि १०० प्रतिशत बढि आम्दानी पायो । उसको ब्यवसायिकता बढ्यो र उसले दश जनालाई रोजगारी दिने भयो । त्यसैले यो संस्क्रितिलाई हामीले आत्मसाथ गरेर अगाडि बढाउँ । हामीले खरबौं खरब डलरका कुरापनि गर्नुपर्छ। त्यो नगरि देश विकास हुँदैन । तर त्यसलाई मात्रै ध्यान नदिइकन साना ठाउँमापनि लगानी गरौं ।

 

हामीले यूरोप र खाडी राष्ट्रहरुमा कति दुख गरेर पैसा कमाउँछौं । नेपालमा दाजुभाई दिदीबहिनी र मित्रहरुलाई भनेर पैसा दिन्छौं । त्यो पैसा कहाँ जान्छ, कसो हुन्छ । यहाँबाट जाँदा त त्यहाँ पैसानै छैन । यति वर्ष दुख पाएर गएको ब्यक्तिपनि कोहि बौलाउँछ, कोहि हतोत्साही हुन्छ त कोहि के हुन्छन् । त्यसैलेगर्दा कम्सेकमपनि उनीहरुको भोलीको जिवनको लागिपनि लामो समयसम्म आइरहने खालको ब्यवसायमा हामीले उहाँहरुको पैसा लगाइदियौं भने उहाँहरु यहाँबाट जानुभयो भने आफ्नो क्षमता अनुसार कामपनि पाउनुहुन्छ । भएन भनेपनि आफ्नो वर्षौं वर्षको लागानीको केहि भाग जुन लगानी गरिएको हुन्छ त्यसको आयबाट आफ्नो जिवन गुजार्न त सक्छ । आफ्ना छोराछोरी अध्ययन गराउन सक्छन् । त्यसैले यो संस्क्रितिलाईपनि हाम्रो गैह्र आवासिय नेपाली संघले अगाडि बढाउने प्रयत्न गरेको छ । र यसमा हामीले छिट्टै नै तपाईहरुलाई एनसिसीको मार्फत जानकारि गराउने छौं ।

 

 

-(डा महतोको अघिल्लो भाग हेर्न यहाँ क्लिक गर्नुहोला) ।

 

 
 
 
 

 

(गैह्र आवासिय नेपाली संघका अध्यक्ष डा उपेन्द्र महतोले अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८, २००९ का दिन पेरिसमा आयोजित प्रथम यूरोपस्तरिय नेपाली महिला सम्मेलनमा दिएको मन्तब्यको संपादित अंश । उनका मन्तब्यका अन्य महत्वपूर्ण भागपनि प्रकाशित हुँदै जानेछन् नेपालप्लस हेर्दै गर्नुहोला)

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया