बिजोक पाराले सम्पन्न भो एन आर एन स्विजरल्याण्ड भेला

सन्देस नेपाली, स्विस

1017249_10200289746510898_254240848_n२२ -२३ जुनमा छैठौं गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डको कार्यक्रम हुनु भन्दा पहिले गैर आवासिय नेपाली संघ स्विट्जरल्याण्ड मार्फत यो पटक केहि नयाँ पाइला चाल्न लागेको होला भन्ने भान उही हामी जस्ता बिदेशीएका अबुझ नेपालीमा परेको थियो । तर उही ड्याङ्को मुला रहेछ गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्ड पनि ।

२४ वटा बिभिन्न देशबाट उपस्थित व्यक्तीहरुले जुन अपेक्षा गरेका थिए त्यो पुरा नभएको पाइयो । हुन त २४ वटा देशबाट उपस्थित व्यक्तीहरु गैर आवासीय नेपाली संघ मार्फत नेपालमा समस्यामा रहेका नेपाली जनता साथै नेपाललाई केहि देन दिन सकिन्छ भनेर होइन आएको जस्तो देखिएन । कसरी आफ्ना पद जोगाउन र भावी दिनहरुमा कसरी राजनीति गर्न सकिन्छ भन्ने बारे छलफल गर्ने, साथ साथै रमाइलो गर्न आएका मात्र देखियो ।

उपस्थित पत्रकारहरुले पनि यी सारा चर्तिकला देखिरहे । हुन त पत्रकारहरुले देखेर पो के हुन्थ्यो र ? सबैलाई आउन जान र उनीहरुको राम्रो पक्षको मात्र बयान गर्न सम्पूर्ण एन आर एनहरुबाट उठाईएको रकम बाट पत्रकारहरुलाई पैसा तिरेका छन् । दुखको कुरो ।

२२ -२३ जुनमा एन आर एनले दार्चुलामा भएको बाढीपिढीतका नाउँ पारेर २-२ दिन सम्म लाखौं उठाए । जम्मा भयो ६० लाख रुपैयाँ । केहिले तत्कालै त्यहिँ दिए नगद । तर धेरै रकम भने बाँकि कबोल गरे । म यति दिन्छु म उति दिन्छ भनेर ।

यो रकम उठेर दार्चुला पुगेमा खुशि कुरा हुँदो हो । त्योपनि बेलैमा पुगे त्यसले राहत दिने हो । नत्र यो पनि लगन पछिको पोते जस्तै हुनेछ । यती मात्रै होइन । अब एन आर एन पैसा उठाउने संस्थाको रुपमा बिकास हुँदैछ । एन आर एन लेपनि पैसा उठाउने र महिला भेलामा महिलाहरुले पनि पैसा उठाउने । ककसलाइ मात्रै दिने पैसा ? एन आर एन भेलामा सहभागि हुनुनै पैसा तिर्नु जस्तो हुन लागेको छ । अब भन्ने बेला आयो अर्को पाली आउदा दुबैलाई दिने पैसा बोकेर आउनु होला ।

तर दुःखको कुरा सबै जसोले बोले मात्र । झुटो आस्वासन दिए मात्र सधै जसरि । हेर्दै जाउँ यो लाखौं रुपैयाँ उठ्ने हो या बोली मात्र रहने हो । अहिलेनै तिरेनन् भन्नु हतार हुने छ । स्वच्छ मनले बोल्नेहरुले देलान् । धेरै रकम बोल्नेले तत्कालै त्यत्रो रकम त्यहिँ तिर्नुपनि कसरि ? त्यसैले त्यो उधारोमै रहन्छ कि सबैले तिरेर बेलैमा दार्चुलाका पिडितलाई राहत पुग्छ हेर्नुपर्ने छ ।

जुरिकमा प्रति व्यक्ति ५० फ्रान्क, खाना र प्रवेश शुल्क तोकिएको थियो । तर गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डका अध्यक्ष बिनय श्रेष्ठका व्यक्तीहरुलाई रकम नै नलिई कार्यक्रममा प्रवेश गराइएको थियो । अरु उपस्थितलाई ५० फ्रान्क झराउन बसेका थिए । ५० फ्रान्कको खानाको कुरै नगर्नुहोस । त्यति रकम तिरेरपनि थप्न नपाइने । पहिलो पल्ट जति थियो प्लेटमा त्यत्ति खाएर बस्नुपर्ने । कस्तो बिजोग । केहि सहभागिहरु भन्दै थिए ” विहान देखि पाउरोटिको भरमा बस्नुपर्ने । टन्न खान पनि नपाईने । आधी पेट लिएर उठ्नुपर्ने । थप्न नपाइने भन्ने थाह भए पहिला नै बेसी लिएर बस्थें नी ।” पहिलाको भन्दा मितब्ययिता भन्ने बितीकै खानाको परिकार थोरै गरिएछ ।  धनी देशको कंङ्गाल आयोजक ।

यसै सिलसिलामा हल भित्र लन्डनबासी नेपालीहरु ठुलो संख्यामा उपस्थित थिए । करिब ३९ जना थिए । तर त्यहाँ भनियो ‘२१ जना उपस्थित’ भनेर । झुटो कुरो काटेर पनि मिल्दैन भने जस्तै देखियो । लन्डनबासीहरुलेपनि हामी पनि के कम भन्दै सच्चा उपस्थित सख्या ३९ भनेरै बताइदिए । ति सबै ३९ जनाको साथमा रजिस्टर गरेको कार्ड थियो । तर  भनियो २१ जना  । किन ?  लण्डनबाट उपस्थितको संख्यानै घटाएर के गर्न खोजिएको रहेछ ? कि जोड घटाउ गर्न आउदैन रहेछ एन आर एन स्विट्जरल्याण्डको लेखा राख्ने ब्यक्तीलाई ? कि उपस्थिती कम देखाएर प्रवेश शुल्क र खानाबापत तिरेको रकममा केहि रकम हिनामिना गर्ने दाउ थियो ?

लाम्काने क्यामरा सहित एक व्यक्ती भाडामा ल्याइएको थियो छैठौ क्षेत्रीय बैठकको चर्तिकला खिच्न । तर के का लागि ? नेपालबाट पत्रकारहरु बोलाइएका थिए । के का लागि ?

पहिलो दिनको कार्यक्रम सिद्धियो । अनि सुरु भयो त्यहा रमझम रात । उता दार्चुला रोईरहेको थियो भने यता गैर आवासीय नेपाली संघ रक्सिको तालमा झुमिरहेको रहेको थियो ।
दोश्रो दिनमा पनि शुरु भयो त्यहि नाटकीय कार्यक्रम । भोकाएर र राम्ररी नसुतिकन फेरी उपस्थित भएका थिए उही चर्तिकला हेर्न एन आर एनलाई ठुलाबडा ठान्ने राजनीतिज्ञहरु ।

१९ बुंदे निर्णयहरु गरियो । लाखौं खर्च गरे । उपलब्धिमुलक खासै केहि भएन । १ बुंदे होस् या १०० बुंदे नै किन नहोस् । बोलेर होइन गरेर देखाउ अनि मात्र लिइन्छ एन आर एनलाई सकारात्मक । होइन भने अहिले देशका फोहोरी नेता र तिमीहरुमा के फरक भयो ? केहिले यसोपनि भनिरहेका थिए ।

एन आर एनमा राजनितिक पार्टीका किराहरुपनि उत्तिकै सल्बलाईरहेका थिए । जब सम्म पार्टीका किराहरु एन आर एन भित्र हुन्छन तव सम्म एन आर एनले कहिले सारा बिदेशीएका नेपालीहरुलाई एक जुट पार्न सक्दैन । बिचरा उपेन्द्र महतोको सपना चक्नाचुर भयो यसपाली पनि । देशमा लगानी गर्ने गैरराजनैतिक संस्था बनाउछु भनेर लागे । भयो के भने एन आर एन विश्वभरीका नेपालीहरुको राजनैतीक अखडा लागे जस्तो ।

अन्तरक्रिया कार्यक्रमहरु भए । एक एक प्रश्नहरु उठे । तर उही उत्तर । अल्झाउने मात्र । बर्षौ देखि उही बिषय । डवल नागरीकता । संस्था दर्ता जस्ता थुप्रै तर उही अल्झाउन खोजिने उत्तर । समय लाग्छ, हुदै छ नि …. यस्तै खाले जवाफ ।

उपस्थित सच्चा मनका व्यक्तीहरुले गैर आवासीय नेपाली संघ यूरोपियन क्षेत्रिय बैठकबाट राम्रा कुराको अपेक्षा गरेका थिए । तर अर्थ बिहीन कार्यक्रम सम्झी निरुत्साहित भएर फर्किए । धेरैको मुखबाट सुनियो ‘यो वर्षपनि केहि भएन । उहि भाषण । त्यहि मन्तब्य । भेटघाट । रमझम र फासफुस ।’  यो कुनै जिम्मेवार र काम लाग्दो बैठक नभई गैर आवासीयको नाउँमा भेटघाट कार्यक्रम मात्र रहेछ । बोलेको पैसोपनि उधारोमा । त्योपनि उठ्ने हो कि होइन के टुंगो ? ‘

 

 

तपाइँको प्रतिक्रिया