चन्दा उठाएर नेपालका वालवालिका पढाउँदै बेल्जियमका वालवालिका

शेर बहादुर छन्त्याल / बेल्जियम

nisha-gurung-belgiumसडक र पेटीमा, परालका कुनियाँमा दगुर्ने । गट्टा र क्यारेमबोर्ड अनि धुलामा खेलेर समय बिताउनुपर्ने उमेरका वालवालिकाले सामाजिक संस्थानै खोलेर समाजसेवामा जुटेको । आर्थिक सहायता बटुलेर पढ्न नसक्ने आफु जस्तै वालवालिकालाई पढाएको सुन्दा कसले पत्याउने ? तर बेल्जियमका केहि वालवालिकाले यस्तै काम गरेर अभिभावकहरुलाईनै छक्क पारेका छन् । त्यसरि छक्क नपरुनपनि किन ?

भर्भराउँदो उमेरका कतिपय ठिटाठिटीहरु यूरोपमा डिस्कोमा पुठ्ठा हल्लाएरै समय फालेका छन् । स्नूकरका गोटीसँग बाजी मार्दै बरालिएका भेटिन्छन । गँजडीहरुको भिडमा हातेमालो गर्दै लठ्ठिएका छन् । ॐ शिवाय भन्दै चिलिम च्यापेर धुवाँ उडाउनेहरुको जमात पनि नभएको होइन । नेपालमै हुर्किएका युवा पुस्तालाई यहाँको रहनसहन, संस्कृति र भाषामा तालमेल मिलाउन कम्ति मुश्किल छैन । दुईतिरको संस्क्रिति र पद्दतीमा ताल मिलाएर चल्न नसक्दा प्रगतिमा बाधक त पक्कै बन्ने नै भयो । त्यसबाहेक जागिरमा खटिनु र अन्य कामको चापका कारण अबिभावकहरुले आफ्ना नानीहरुलाई प्रशस्त समय दिनै भ्याउँदैनन् । त्यसले गर्दा गलत संगतले सजिलै बिग्रिएका उदाहरण पनि थुप्रै छन । यहाँका किशोर किशोरी । तर त्यसो भन्दैमा सबै किशोर किशोरी, वालवालिकाले त्यहि बाटो समातेको भन्न मिल्दैन । यस्तै अप्ठेरा र कठिनाईका बिचमापनि केहि वालवालिकाले उदाहरिणय काम गरेर देखाएकापनि छन् । त्योपनि आफु बसेको ठाउँकालागि नभएर मात्रिभूमिकालागि ।

यूरोपका नेपाली समुदाय माझ केही यूवा समूह आफ्नो पढाई, पार्टटाइम जागीर, बाबुआमालाई घरको काममा सघाउँछन । बचेको समय साथीभाइहरुसँग नेपालको लागि गर्न सकिने असल र परोपकारी कामका बिषयमा बहस र छलफल चलाऊने पनि छन । परोपकारी कामको लागि आर्थिक सहयोग कसरी जुटाउन सकिन्छ ? तिनले बहस गर्छन् । हामी जस्ता युवाहरुलाई आर्थिक सहयोगको आग्रह गर्दा पत्याउने हुन कि होइन ? सामुहिक चिन्तन मनन गर्छन् ।

नेपाल र नेपालीको लागि केही गरौ भन्ने भावनाले ओतप्रोत भएका यी युवाहरु मिलेर गत साल दसैंको मेलोमेसोमा ‘नयाँ नेपाल फाउन्डेशन’ को परिकल्पना नै गरे । बेल्जियमको गेन्ट शहरलाई केन्द्र बनाएर स्थापना गरे तिनले, त्यो संस्था । फाउन्डेशनका अध्यक्षमा चुनिईन् निशा गुरुङ । आर्थिक सहयोगको लागि आ-आफ्ना अभिभावकहरुका साथीभाइ र नातागोताहरुलाई लक्षित गरेर कार्यक्रम हुने ठाउँमा उनीहरुले पोस्टर राखे ‘हामी नेपालको लागि केही असल काम गर्न चाहन्छौ, तपाईंहरुले सहयोग गरिदिनुस् ।’ संस्थाको एजेण्डाहरु साथ राखिएको आग्रहले केही आर्थिक सहयोग पनि जुट्यो । किशोर किशोरीहरुको यो तत्परता, लगनशिलता र सामाजिक काम गर्ने द्रिढता देखेर धेरै अभिभावकपनि छक्क परे । धेरैले सकेको आर्थिक सहयोग पनि दिए । त्यो भन्दा बढि अझ अगाडि बढ्न ढाडसपनि थपे ।

शुरुमा साथीभाइहरुको उत्सुकता र उत्साहले करिब पाँचसय यूरो आर्थिक संकलन गरेको थियो यो संस्थाले । संकलित रकमले असाध्यै ठुलो योजना तर्जुमा गर्न नसके पनि उनीहरुले सानै तर प्रभावकारि कामबाट शुरु गरे । हाल काठमाण्डौका सुजन थापाले सत्य साइ स्कूलमा भर्ना भएर अध्ययन गरिरहेका छन , त्यहि सानो रकमले ।

सुजनका बुवाले सम्बन्धविच्छेद गरे पछी उनकी आमाको कुनै आयस्रोत थिएन, परिवार धान्ने । स्कूलको अनुहार समेत देख्न पाएका थिएनन् उनले । तर बिहान आफ्नै उमेरका अन्य वालवालिका झोला बोकेर स्कूल हिँडेको देख्दा उनीपनि स्कूल पढ्ने, भविष्यमा असल बन्ने, जागिर खाने सपना साँच्थे । तर बिहान बेलुकाकै छाक टार्न नसकेकि आमाले उनको स्कूल जाने रहर कसरि पूरा गर्ने ? उनी त्यत्तिकै खुम्चिएका थिए । तर उनको लागि नयाँ नेपाल फाउन्डेशनले ३० हजार आर्थिक सहयोग जुटाइदियो । उता बाँकि खर्च सत्य साइ स्कूलले उपलब्ध गराएको छ । यसरि सुजन आफु जस्तै वालवालिकाको सहयोगमा काठमाडौंमा अध्ययन गरिरहेका छन्, अहिले ।

त्यसो त, पहिले सडक बालबालिकाहरुको लागि सहयोग गर्ने उद्देश्य राखेका थिए, यि वालवालिकाले । तर सडक बालबालिकहरु प्रायजसो खराब लतमा फसिसकेका हुने र सहयोगको गाम्भिर्यतालाई बुझेर जिम्मा लिने ब्यक्ती नयाँ नेपाल फाउन्डेशनले पाएन । त्यसैले उनीहरुले यो बिकल्प सोचेका हुन् । अहिले आर्थिक रुपमा असाध्यै अप्ठेरोमा परेका बालबालिकाहरुलाई उनीहरुको शिक्षा, पालनपोषण जस्ता बिविध बिषयमा सहयोग गर्ने योजना रहेको फाउन्डेशनकि अध्यक्ष निशा गुरुङ बताउँछिन् । ‘हामीले थप नयाँ नयाँ योजनाहरु ल्याउने तयारी गर्दैछौ ‘ आफुहरुको कामले सार्थकता पाएको देखेर खुशि बनेकि उनले भनिन् ।

संस्थालाई बेल्जियमको कानुन अनुसार दर्ता गर्ने प्रकृयामा छन् यि किशोर किशोरी, वालवालिकाहरु अहिले । दर्ता भैसके पछी यहाँका सरकारी तथा गैर सरकारी संस्थाहरुसँग मिलेर अझ अगाडि बढ्ने र नेपालमा धेरै भन्दा धेरै सहयोग गर्ने चाहना उनीहरुको छ । ‘नाथे बच्चाहरुले के गर्छन् र ? भुसुनाका कुरा कसले सुन्ने ?’ भन्दै बेवास्ता गरिदिएको भए के यो संभव हुन्थ्यो र ? त्यसैले आफ्ना काममा हौशला दिने र आर्थिक सहयोगको हातपनि फैलाउने पाकाहरुप्रति आफुहरु अनुग्रहि बनेकोपनि निशाले सुनाईन् । “शुरुमै हामीलाई विश्वास गरेर आर्थिक सहयोग उपलब्ध गरिदिनु हुने अभिभावकहरुमा हार्दिक आभार ब्यक्त गर्दछौं । तपाईहरुले हामीलाई भविष्यमापनि यसैगरि रचनात्मक सुझाव र सहयोगी भावना राखिदिनुस् है ?’ उनले आग्रह गरिन् ।

(वालवालिकाको नेत्रित्व गरेकी निशा गुरुङको तस्वीर उनैको फेसबुकबाट लिईएको हो।)

 

 

तपाइँको प्रतिक्रिया