नेपाल नितिमा युरोपेली परिषद अलमल
● ददि सापकोटा
करिब १० दिन अघि आन्तोनियो ख्रुजको नामबाट एउटा मेल आयो । मेलमा लेखिएको थियो ‘तपाईले युरोपका आप्रवाशी नेपाली र नेपालका बारेमा विशेषज्ञता हाँसिल गरिरहेका युरोपेली बारे गरिरहेको अध्ययन र तपाईका कामबारे सुन्न र जान्न हामी उत्सुक छौं ।’ उनी रहेछन् दक्षिण एशियाकालागि लागि निति निर्माण बनाउन सल्लाह दिने दक्षिण एशियाली फोरमका मेडिया प्रमुख आन्तोनियो भियरा । खुलदुली भो ।
फितलो रुपमा प्रस्तुत हुनु नपरोस भनेर मैले थप जिज्ञासा राखें ‘कस्तो कस्तो विषयमा चासो छ तपाईहरुलाई ?’ उनले थप प्रस्ट्याए ‘हामी तपाईसित भुटानी शरणार्थी समस्या, नेपालको प्रदुषण, शार्कको भूमिका, नेपालमा भ्रस्टाचार, बढ्दो राजनितिक जटिलताका कारण हुने भनिएको संविधान सभाको निर्वाचन, युरोपेली देशहरुले खेल्न सक्ने भूमिका र लगानीका संभावना बारे सुन्न चाहन्छौं ।
आफू राजनितिक विश्लेषक नभएकाले आफ्नो हैशियत प्रस्ट्याएँ ‘म राजनितिक विश्लेष होइन । मेरा विश्लेषण सहि नहुन सक्छन् । म लामो समयदेखि जैविकविविधता र वातावरणिय समस्याका बारेमा चासो राखेकाले केहि बताउन सकुँला । नेपाललाई कर्मथलो बनाउने युरोपेली र युरोपका आप्रवाशी अनि नेपालको मेडियाबारे चाहिं अलि कुरा राख्न सकुँला की ?’
उनीहरुले केहि विषय दिए । करिब हप्तादिन तयारिमा लागें । बिहिवार भेट्ने निम्तो दिए । गएँ । जाँदाबित्तिकै आन्तोनियोसित भेट भयो । उनले भूटानी शरणार्थीहरुलाई किन खेद्नु परेको हो भुटानको सरकारले ? किन भारतले आएको बाटो फर्किन दिएन ? यस्तै विषयमा चासो राखे । आफुले जाने बुझेको बताएँ । त्यसपछि उनले अहिलेको सरकार र संविधान सभा भंग हुनुका कारण अनि घोषित गरिएको संविधान सभा, युरोपका आप्रवासी नेपालीबारे चासो राखे । लाग्थ्यो ‘उनी एक मेडियाकर्मीले म नेपाली मेडियाकर्मीसित अन्तर्वार्ता लिईरहेका छन् । उनले एकपछि अर्को प्रश्न सोध्दै जान्थे । मैले गरिरहेको खोजिनितिबारे ईयुको चासो रहेकोपनि बताए । ईयुको दक्षिण एशियाली कक्षले के कसरि काम गर्छ भन्ने जानकारि दिए ।
करिब एक घण्टापछि आइपुगे पाउलो कासाका । उनी रहेछन् ईयुलाई दक्षिण एशियाली निति बनाउन सल्लाह र सुझाव दिने साउथ एशिया डेमोक्रेटिक फोरमका कार्यकारी निर्देशक । हामी तिन जनाबिच करिब साँढे दुई घण्टा छलफल भयो । छलफल हुँदा उनीहरु मलाई उहि अन्तर्वार्ता शैलीमा प्रश्न सोध्दा एक पटक मैले सोधें ‘किन संविधान सभा भंग भयो ? किन संविधान सभाले संविधान बनाउन सकेन ? कहाँ चुके त हाम्रा दल ? तपाईहरु त नितिनिर्माण तहमा बस्नुभएको छ । ल भन्नुस् तपाईहरुकापनि कुरा ।’ यति भनेपछि उनीहरु अलमलमा परेझैं गरेर जवाफ दिए ‘किनभने हामीले यो पटक तपाईका बिचारहरु सुन्नकै लागि भनेर निम्तो गरेका हौं नी त ।’
कुराकानीमा निस्कियो, एकिक्रित नेकपा माओवादीका अध्यक्षको राजनितिक भाषणको शैली । उनले अक्टोबर महिनामा बेल्जियम आएका बेला गरेको भाषण र अन्यत्र दिने गरेका राजनितिक टिप्पणी बारे । मैले ति अधिकारीहरुको सिमालाई बुझ्नु पर्छ । त्यसैले कतिपय विषय समाचारका रुपमा लेख्नै मिल्दैन । तर के बुझियो भने प्रचण्डबाट उनीहरुले पहिले निकै आशा गरेका रहेछन् । नेपाल शान्तिपूर्ण मार्गमा आयो । त्यत्रो जनयुद्दको नेत्रित्व गरेको । यो ब्यक्तिले केहि गरेर देखाउँछ । मुलुक सहि दिशामा हाँक्ने अक्किल छ । तर अहिले उनीहरुको भ्रममा परेको मूल्यांकन गरेका रहेछन् । भारतीय नेतासित भेट हुँदा एकथरी कुरा बोल्ने तर चिनियाँ नेतासित बोल्दा चाहिँ चिननै नेपालकालागि सर्वथोक हो झैं गरेर बोल्ने । अक्टोबरमा बेल्जियम आएका बेला माओवादीको भर, विश्वास र कुन खालको संवन्ध हो भारत र चिनसित, कुन द्रिष्टिकोणले हेर्छन् भन्ने स्पष्ठ जवाफ दिन नसकेको, अलमल पाराको जवाफ दिएर अलि टार्न खोजेका रहेछन् । उनीहरु भन्थे ‘पहिले त प्रचण्डले भारतको निक्कै बिरोध गर्थे । सायद सबैभन्दा बढि भारतको बिरोध गर्ने नेतानै उनै थिए। अहिले त स्पष्ठ भन्दा रहेनछन् ।’
कुराकानीकै क्रममा थाह भो, विश्वका सफल उद्दमी मध्येका बिनोद चौधरीपनि गतसालको गर्मी याममा आएर युरोपेली परिषदका उच्च अधिकारीहरुसित भेट गरेका रहेछन् । उनको उद्देश्य नेपालमा संविधान बनाउन दबाब दिनुपर्यो भन्ने रहेछ । नेपालमा संविधान नभएकाले उध्योगी ब्यापारीले लगाउनी गर्न नसकेको र गरेको लगानी पनि सुरक्षित हुन नसकेको । उनले कस्तो संविधान बनाउनुपर्छ भन्ने चाहिँ खुलाएका रहेनछन् । तर उनीहरु अचम्मित परेको विषय रहेछ ‘बिनोद चौधरी कसरि कम्युनिष्ट भए ?’ एमालेबाट सभासद बनेको बुझेपछि उनीहरुले सोधेछन् ‘तपाई जस्तो धनी, ब्यापारी कसरि कम्युनिष्ट पार्टीको सभासद बन्न सक्छ ?’ उनले जवाफ दिएछन् ‘नेपालमा कम्युनिष्ट नबनी ब्यवाहारनै चल्दैन । आफ्नो कामको लागि पनि कम्युनिष्ट बन्नुपर्छ । कम्युनिष्ट बन्नु लोकप्रिय र अशल देखिनु हो ।’
उनीहरुले बुझ्न नसकेको अर्को विषय रहेछ ‘नेपालमा कसरि कम्युनिष्ट प्रति लोकप्रियता भएको ? जनताको लागि भनेर त्यत्रा मान्छेको ज्यान जाने जनयुद्द लडेर आएका नेता मस्ति गरेर हिँडेका छन् । देशबिदेश चहारेका छन् । बिनोद चौधरी जस्ता खरबपती कम्युनिष्ट छन् । नेता र राजनितिक दल भ्रस्ट छन् । तैपनि कसरि कम्युनिष्ट पार्टीमै त्यत्रो आकर्षण ?’
नेपालको लागि कस्तो निति बनाउने ? यसमा युरोपेली परिषद अहिले अलमलमा रहेछ । किन संविधान सभा भंग भयो ? कसरि त्यत्रा दलले सर्बोच्च अदालतका प्रधान न्यायधिशलाई राजिनामापनि नगराई सरकार सुम्पिए ? अब निर्वाचन कसरि र कस्तो होला ? नेपाललाई कस्तो, कसरि र कुन क्षेत्रमा सहयोग दिने ? यस्तो अन्यौलपूर्ण राजनितिक अवस्थामा परिषदले दिएको सहयोग के कसरि अर्थपूर्णरुपमा सदुपयोग हुन्छ ? उनीहरुले सुनाउँथे ‘नेपाल युरोपेली परिषदको उच्च प्राथमिकतामै छ अहिले । तर नेपालको निति बनाउन हामीलाई गाह्रो परिरहेको छ ।’
बिदेशी हस्तक्षेपका कुरा उठे । भारतीय हस्तक्षेपका कुरा झन उठ्नेनै भए । त्यो अनुभव गरिरहन्छौं हामी नेपाली । हैरान छौं । त्यसैले युरोपेली परिषदले यस्तो र उस्तो भयो भने त्योपनि हस्तक्षेपनै हो । त्यसैले मैले भनें ‘कुनैपनि हस्तक्षेप नेपालीलाई मान्य हुँदैन । भारतले निर्देशन दिँदा हामीलाई पाच्य हुँदैन भने अरु मुलुकले दिएको कसरि हुन्छ ?’ उनीहरु एकछिन मुख हेराहेर गरे । तर नेपालमा भ्रस्टाचार छ । अनियमितता छ । दलहरु असक्षम भनेर आर्थिक सहयोग रोकिदिनपनि उनीहरुलाई अर्को त्रास रहेछ ‘भिन्न खालको झन ठूलो द्वन्द पो हुन्छ कि ?’
तर मैले भने उनीहरुलाई हस्तक्षेप होइन कि आफूले दिएको सहयोग कहाँ कसरि प्रयोग भयो ? सदुपयोग भयो कि भएन ? आफुले दिएको आर्थिक सहयोगको उद्देश्य पुरा भए नभएको सोधपुछ र कडाई गर्न सक्छ । उनीहरु केहि बोलेनन् ।
चिनसितको आर्थिक कारोवार र पाकिस्तानसितको संवन्धमापनि उनीहरुले चासो राखेका थिए । बढ्दो सैन्य उन्मादले कस्तो रुप लेला ? उनीहरुले एशियामा नराम्रो असर पर्न सक्ने भन्दै चिन्ता गरेका थिए । पाउलो आफैं नेपाल देखे घुमेका रहेछन् । स्थानिय तहको सर्बेक्षण गरेका केहि गाउँ ठाउँ घुमेर । उनले मूल्यांकन गरेका रहेछन्, नेपाली जनता कर्मठ छन् । असाध्यै मेहनति छन् । आफ्नो काम हाँसेर गर्छन् । नेपाललाई चाहिने सबैथोक छ । नेपालीहरु बाठापनि छन् । प्रक्रितीले अनुपम भूमि दिएको छ । तर राजनितिक अन्यौतालेनै अगाडि बढ्न दिईरहेको छैन । यसको सबै कारण राजनितिक दलनै हुन् । उनले निष्कर्ष सुनाए ‘नेपालले जसरिपनि राजनितिक निकास निकाल्नै पर्छ । त्यो संभव हुनासाथ नेपालले बिश वर्षमा युरोपको विकासलाई उछिन्छ ।’




