एन आर एनलाई दिदिको झापड
● सोमना थारु / बेल्जियम
मेरो छेउमा अफ्रिकन मोटी महिला बसेकी थिई । सेन्ट ज्यास्तै छर्केकी थिई । मलाई कतिपनी मन नपर्ने गन्ध आउने । यात्रा अवधी भर मलाई वाकवाकी आइ रह्यो । कुरा हो, ट्रेन यात्राको । काम विषेशले आफु बसेको देश बेल्जियम बाट होल्यान्डको ठुलो शहर आम्स्टर्डम जादै थिएँ । रेलमा चार जना बस्ने सिटमा ठाउँ पाइयो । झ्यालको साइड तिर बसें म । ट्रेन हिडने दिशाको उल्टो टाउको फर्काएर बसें । मेरो आमुन्ने सामुन्ने हुने गरी एक जना गोरे ठिटो थियो । उसले आफ्नो आइप्याडमा म्युजिक लगाएर सुनिरह्यो, चर्को आवाजमा । हुनत उसले त्यसको तार आफ्नो कानमा घुसारेको थियो । तर पनि उसको आवाज हामीले सजिलै सुन्न सकिने थियो । उसको म्युजिक गंगम स्टायल नै थियो । उसको छेउमा एक जना तिबेटियन मुलकी जस्ती देखिने महिला बसेकी थिइन ।
रेल होल्यान्ड प्रवेश गरेको केही समय पछी मेरो मोबाइलको घन्टी बज्यो । यसो हेरेको एक जना चितवन तिरका साथीको फोन रहेछ, अमेरिकाबाट आएको फोन । म दोधारमा परेँ । रिसिभ गरौ कि नगरौ । उठाउँ रोमिङ चार्ज लाग्ने । नऊठाउँ त्यत्रो टाढा बाट साथीले गरेको फोन । उठाएँ र छोटो समयमै कुराकानी सकियो । मैले फोनमा कुरा गरी रहदा ति टिबेटियन जस्ती देखिने महिलाले म तिर हेरेर मुसुक्क हाँसिन ।
मैले फोन राखे लगतै ति महिलाले मुख खोलिन । अभिवादन टक्राइन भाई नमस्ते भनेर । नमस्ते दिदी मेरो जवाफ स्वभाविक नै हुने भो । तपाईं नेपाली हुनुहुँदो रहेछ । यसो हेर्दा त पेरु, इक्वेडरको जस्तो देखिनु हुन्छ । रेल यात्राको क्रममा भेट भएको दुई नेपाली खुशी लाग्ने नै भयो । एक आपसमा परिचय गरियो । विदेशका कथा व्यथा, दु:खसुखका भोगाइ अनुभव आदी इत्यादीको बारेमा गफ निस्क्यो । ।
ति दिदिको बसाइपनि बेल्जियममै रहेछ लामै समय भैसकेको रहेछ । तुलसी गिरी प्रधानमन्त्री हुँदा खेरी राहदानी बनाएको अरे । त्यती बेला नेपाली राहदानी बनाउनपनि सार्है गार्हो थियो अरे । यहि कै गोरे ठिटोसँग जमानामा बिहा गरेकी रहिछिन । छोरा छोरी पनि ठुल्ठुला भैसकेका । उनको बसाइ ठुलठुला शहर भन्दा अली पर । अली गाउँ घर तिर होला । जहाँ नेपालीहरुको वा विदेशिहरुको बसोवास कम होला । त्यही भएर पनि शायद नेपाली देखे र भेटे पछी कुरा गर्न मन लाग्दो हो । नेपाली बोल्न रहर लाग्दो होलानी ।
नेपालमा घर कता ? बेल्जियम कहिले आएको ? कहाँ बस्नु हुन्छ ? बेल्जियममा नेपालीको उहिलेको संख्या । अहिलेको संख्या । अहिलेका नेपालीहरुको संघ, संस्था आदिको बारेमा निकै गफगाफ भो । गफ पनि कति निकाल्न र गर्न सक्ने ति दिदी । नन स्टप । मलाई त सितिमिती बोल्ने पालै नदिने । रेल एउटा स्टेशनमा रोकियो । मेरो सामुन्ने बस्ने गोरे केटा त्यहाँ ओर्लियो । त्यो ठाउँमा दिदी सरिन । हामीलाई गफ गर्न झन नजिक र सजिलो भो ।
अब दिदिले अर्को प्रसँग निकालिन । बेल्जियममा धेरै नेपालीहरुको चासो रहने विषय मध्येको एक । एन आर एनको आसन्न अधिवेशन । होइन भाई एन आर एनको चुनाव फेरी आउँदै छ अरे नि बेल्जियममा । तपाईंलाई थाहा छ ? उनले मलाई प्रश्न त तेर्साइन । तर मलाई बोल्ने मौका भने दिइनन । आफ्नै कुरा अगाडि दौडाइन ।
हो दिदी चुनाव त नभनौ तर अधिवेशन जुन महिनामा हुने समाचार मैले नि पढेको हुँ । यति मात्र के भन्न मुख खोलेको थिएँ । दिदिले फेरी शुरु गरी आफ्नै कुरा । होइन भाई, पहिला मैले नि भोट दिएको हुँ । त्यतिखेर मलाई सदस्य बनाउन एक जना गुरुङ्नी बहिनी आएकी थीई । १० युरो तिरेर सद्स्य बनाए । सबै मिलेर एउटा घर किन्ने भन्थे । नेपाल हाउस कि के मन्दिर सन्दिर के के भन्थे । खोइ अहिले त सुन सान छ त । अझ के के पो हो नेपाल तिर बिजुली निकाल्ने कुरा पनि सुनिन्थ्यो । नेपाल र नेपालीको परिचय दिने नेपाल घर बनाउने भनेर महायज्ञ पनि भयो । त्यो यज्ञमा म पनि गाको थिएँ । मैले चन्दा त बोलिनँ । तर थोरै भए पनि दान मेरो पनि छ भाई । दानीहरुले धेरै धेरै दान बोले । त्यो दान बोलेको पैसा उठ्यो कि उठेन ? नउठेको भए किन उठेन ? त्यो पैसा कता गयो ? कता हरायो होला भाई ? कि नेताहरुले खाए भाई ?
नेपालीहरुले यहाँ भाडाँ पखालेर पैसा कमाएका छन । विदेशमा पैसा कमाउन कति गार्हो छ । हो कि होइन भाई ? पसिना बगाएर पैसा कमाएका छन । त्यो पैसामा अरुले मोजमस्ती गर्ने ? ति ति नेता भनाउँदालाई हेर्नुस् भाई पाप लाग्छ । बोल्दा बोल्दै उनी आक्रोशित पो हुँदै गइन त । कतै मेरै गालामा बजाउने हो कि जस्तो । गरीब नेपालीको पसिनाले तिनलाइ पोल्छ भाई हेर्दै जानुस् । ज्योतिशले जस्तो उनले भविश्यबाडी गरिन । हेर्नुस् भाई, अब त म सदस्य पनि बन्दिन । भोट पनि दिन्न । नेपालीहरुले सद्स्य बनेर तिनलाइ जिताएर के पाए ? जब सम्म यिनले नेपाल हाउस बनाउदैनन तब सम्म म सदस्य बन्दिन ।
दिदिले बडो सान्दर्भिक र सोचनिय कुरा निकालिन । मैले उनलाई आफुले जाने जति र सके जति सम्झाउन कोशीस गरें । एन आर एनको बारेमा जान्न बुझ्न् मन लाए अधिवेशनमा उपस्थित हुन अनुरोध गरें । ओहो उनी त झन आगो । फायर । उनी त रातो पिरो हुँदै चोर औंला ठडयाउन पो थालिन् त ।
उनलाई सम्झाउदै भनें । दिदी तपाईंको जस्तो गुनासा र चिन्ताहरु अरु नेपालीमा पनि पक्कै होला । म पनि तपाईं जस्तै बेल्जियम एन आर एनको साधारण सदस्य हुँ । साधारण सदस्यले आफ्नो गुनासोहरु पोख्ने ठाउँ नै त्यही हो अधिवेशन । अधिवेशनमा बरु आउनु होला । दिदिले आफ्नो कुरा फेरी अघि बढाइन् । अहँ ,भाइ ! अब देखी यि एन आर एन,सेन आर एनको कुनै कार्यक्रममा जान पनि जान्न । एक पैसा पनि दिन्न । बरु मेरो आफ्नो गाउँको स्कुलमा वर्षको एक पटक केही केही पैसा पठाइ दिन्छु । एन आर एनको सदस्य बन्नु भन्दा त तेल्ले ठुलो काम गर्छ के भाई । यति कुरा गर्दा गर्दै हाम्रो रेल आम्स्टर्डम पनि पुग्यो । रेलबाट झरेर आफ्नो गाला बचेँकोमा गाला सुम्सुमाउँदै र एन आर एनको बारेमा सोच्दै आफ्नो गन्तव्य तिर हिंडेँ ।




