सरि सर, गर्दिन अबदेखि !

सोमना थारु / बेल्जियम

som-narayan-thanet-somana-tharu-1212घमाइलो मौसमको दिन । बाटोमा धेरै मानिसहरु ओहोर दोहर गरीरहेका देखिन्थे । छोटाछोटा र पातला पहिरनमा आखाँमा कालो चश्मा । कोही पैदल । कोही साइकलमा विभिन्न रङ र विरङमा । कोही छाना नभएको गाडीमा चर्को धुनमा घुइकीरहेका थिए । कोही रेस्टुरेन्ट र क्याफेमा बाहिर राखेका कुर्सिमा बसेर खाई र पीइरहेका देखिन्थे । सबैले घमाइलो मौसमको मज्जा लीइरहेका देखिन्थे । म भने त्यही वरिपरि बाटो नाप्दै पंहेलो पोशाकमा गाडा र कुचो, बेल्चा सँग लछार पछार गर्दै आफ्नो काम गरी रहेको थिएँ ।

यतिकैमा एक जना अन्दाजी ६०-६२ वर्ष कि महिला घर बाहिर निस्किईन । उनको हातमा एउटा  कालो प्लास्टिकको थैलो थियो । उनीले त्यो थैलो मेरो फोहर जम्मा गर्ने गाडामा (स्थानिय् भाषामा कार ) फालिन । बुढी मान्छेलाई सम्मान गर्ने हाम्रो आफ्नो परम्परा । मैले केही भनिन । चुपचाप हेरिरहे । आफ्नो काममा व्यस्त भएँ । अर्को दिन फेरी बाटोको सरसफाइ गर्दै तिनै महिलाको गल्लीमा पुगें । ती महिलाले मलाई देखेर होली फेरी हातमा फोहरको थैला लिएर बाहिर निस्कीन । मेरो नजिकै आएर फ्वात्त मेरो फोहर जम्मा गर्ने गाडामा फालिन । यसपालीपनि म चुपचाप बसेँ । मनमनै गुनगुनाए । आफ्नो बाटो तँताएँ, कस्ती असभ्य महिला रहिछ भनेर ।

अलिकती अगाडी पुगेको थिएँ । एक जना महिला सँग भेट भो । ती महिलाले मलाई मध्य दिनको अभिवादन टक्राइन । स्वभाविक रुपमा मैले नि अभिवादन फर्काएँ । तपाईंको काम यस शहरको लागी ज्यादै महत्वपूर्ण छ हतारमा देखिएकी ती भद्र महिलाको भनाइ रहयो । फेरी पनि मैले धन्यवाद दिदैँ भने ओहो मेडम यस्तो प्रसंशा त हामीले विरलै सुन्न पाउँछौं ।

हो, मलाई थाहा छ । काम र सफाइको महत्व नबुझेकाले यस कामलाई कतिपयले नकारात्मक आँखाले हेर्छन । कुर्सीमा बस्ने हाकिमको भन्दा तपाईंको काम आवश्यक र महत्वपूर्ण छ भन्दै ति भद्र महिला बाइ भन्दै आफ्नो लामो र तिखो जुत्ताको खुर ट्वाक ट्वाक बजाउँदै आफ्नो बाटो लागिन ।

गजव छ, बा । मनमनै सोच्दै झाडु र बेल्चा लाई लछार्दै पछार्दै अगाडि बढदै गएँ । एक जना कुकुर डुलाउँदै गरेका बुढा भेट भए । आलेस किट्स योङ अर्थात सबै ठिकठाक केटा भनेर बुढाले सोधे । अं अं ठीक छ् । आज त राम्रो मौसम छ नि भनेर बुढालाई जवाफ फर्काएँ । ति बुढालाई के सुर चल्यो कुन्नी ! खल्तीबाट ५ युरो निकाल्दै मेरो हातमा राख्दै भने ‘यो तिमीलाई कफी खान हुन्छ । होइन, होइन पर्दैन महाशय ! भन्दा पनि ति बुढाले मेरो कमिजको खल्तिमा राखी दिए । तिमीले राम्रो काम गर्छौ । यस्तो गर्दै गर ।’ शुभ दिनको अभिवादन गरेर ति बुढा आफ्नो कुकुरलाई डोर्याउँदै बाटो लागे ।

जागिर नै शहर सफा गर्ने । कामै त्यही । सधैं उही गाडा, कुचो र बेल्चा । उही पोशाक । तर एक दिन भने क्षेत्र फरक पर्‍यो । यस मानेमा कि नेपालीहरुको बसोवास अली बाक्लो भएको क्षेत्रमा खटिएँ म । सोपिङ गर्ने गाडामा टन्न सामान खरिद गरेर घर फर्कीरहेकी एक जना अँधवैसे उमेर कि महिलालाई देंखे । उनी मेरै छेउ बाट मलाई पार गरिन । तर मलाई चिनिनन । नेपालीको मन न हो । मनले मान्दै मानेन । ‘नमस्ते बैनी’ भनेर अभिवादन टक्राएँ । एक छिन त ति बहिनी अक्क न बक्क । ‘ए दाई पो ? तपाईंको यो जोगिको रङको पोशाकले चिन्दै नचिनेको नि । हत्तेरिका दाई ! तपाईंले पनि यस्तो काम गर्नु हुँदो रहेछ । फेरी यही क्षेत्रमा पर्नु पर्ने । अली अन्त तिर परे हुन्थ्यो नि दाई । यो क्षेत्रमा त धेरै नेपाली बस्छन नि । नेपाली भेट नहुने क्षेत्रतिर पार्न भन्नुस दाई ।

‘हो बैनी तर हाकिमले खटाएको क्षेत्रमा त खटनै पर्‍यो होइन र ? आखिर काम काम नै हो नि ।’

‘अनी बहिनी तपाईं के काम गर्नु हुन्छ ?’

‘दाई मेरो काम पनि सरसफाइ नै हो । तर मेरो काम भित्र हो । मैले टोइलेट सफा गरे पनि कसैले देख्दैन दाई ।’ एक छिनको भलाकुसारी पछी हामी आआफ्ना बाटा लाग्यौं ।

भोली पल्ट देखी फेरी आफ्नै क्षेत्रमा फर्केँ । आफ्नै चिर परिचित गल्ली र सडकहरुमा मेरो गाडा गूड्यो । फोहर मैला खोज्दै र जम्मा गर्दै मेरो पाइला अगाडि बढ्यो । अचानक मेरो नजिक त्यही पहिलेकै प्लास्टिक थैलोवाली महिला देखा परिन । फेरी पनि तिनले मेरो फोहर बोक्ने गाडामा आफ्नो थैलो फ्वात्त फालिन । एक पटक दुई पटक सहने तर तीन पटक सहनु हुँदैन भन्छन । यसकारण यसपाली प्रतिवाद गर्ने सोंच बनाएँ “मेडम ! तपाईंले मेरो गाडामा एक पटक होइन । दुई पटक होइन । तीन पटक घरबाट फोहर ल्याउँदै फाल्नु भो । यसो गर्नु नियम विपरित हो । हुन त मलाई कुनै समस्या छैन । तर मेरो हाकिमले देख्यो भने तपाईंलाई ठुलो जरिवाना हुन्छ । अनी मेरो जागिर जान्छ ।” यसो भनेपछी ति विचरा बुढीको सात्तो गएछ । अनी सरि सर ! सरी सर ! अब देखी म यस्तो गर्दिन भनेर घर भित्र पसी । एक छिन पछी ति महिला फेरी निस्किन । फेरी दोह्राइन सरि सर, अब फेरी पनि यसो गर्दिन । फेरी भित्र पसिन । अझै उनलाई डर लागि रह्यो क्यारे । फेरी बाहिर निस्किन र फेरी सरि सर ।

तपाइँको प्रतिक्रिया