संयुक्त ल्होसार कहिले मनाउने ?

शशांक लामा / न्युयोर्क 

losarयुरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अष्ट्रेलिया, बहुसंख्यक अफ्रिकी देशहरु, एशियाको आधा उधि देशहरुले केही घण्टा बिराएर जनवरी महीनामा एकै मितिमा, एकै तिथिमा श्यामपेनको बोतल पडकाएर हर्षोलासपूर्ण इस्वी सम्बतीय अर्थात ग्रिगोरियन पात्रो बमोजिम नयाँ बर्ष धुमधाम संग मनाए । यही नै सबभन्दा ठुलो भुमन्डलीय चाड हो भन्दा कुनै अतिशयोक्ति नहोला । अनि आगामी फेब्रेवरी महिनाको १० तारिख लुनार पात्रोलाई पछ्याउने चीन लगायत विश्वका बिभिन्न भागमा बसोबास गर्ने चिम्सेहरुले ड्रागन बर्षको रुपमा अर्कोखाले नयाँबर्ष मनाउँछन ।

तर त्यही लुनार क्यालेण्डरलाई अनुसरण गर्ने नेपालस्थित जनजातिहरुले फरक फरक मिति, बेग्लाबेग्लै तिथि र अलग अलग किसिमले ल्होसार मानेको देख्दा धेरैले उदेक मानेका छन । 

अर्काथरीहरु बिक्रम सम्बत र नेपाल सम्बत भनेर झन साँघुरिन खोज्छन । एकताका कुन चाहिंले हामी संस्कृतिका धनी देश भनेर के उचालेको थियो, अहिलेसम्म त्यही स्यालहुइँयाँ जारी छ् । धर्मभिरु र धर्मान्धहरुले संस्कृतिको आगोमा कुसंस्कार र कुरितिको घिउ जहिले पनि थपिरहेको हुन्छ । अलग अलग रहन सहन भएका विश्वका त्यतिका महादेशहरुले एउटै मितिमा चाड मनाउन हुने, हामी चैं ग्याल्बो ल्होसार, सोनाम ल्होसार, ल्होछार, ल्होछर अशिमाला भनेर किन यो जात्रा देखाउँदै छौं ?

बिक्रम सम्बतको जन्मदाता भारतले बिक्रमलाई छायाँमा पारेर इस्वी सम्बतलाई अंगालेको त जमानामा हो । भविष्यमा नेपाल सम्बतेहरुले नेवा राज्यमा यो सम्बत चलायो भने अर्को हाँडी गाउँको जात्रा हेर्न पाईन्छ | भुमन्डलीकरण्को अहिलेको अवस्थामा ग्रिगोरियन क्यालेण्डर वा लुनार क्यालेण्डरलाई हर कोही देशले नपछ्याइ धरै छैन । त्यसमाथि पनि ग्रेगोरियन अर्थात इस्वी सम्बत नै भविष्यमा कामकाजी पात्रो हुन्छ । हामीले इस्वी सम्बत मान्दा हामी क्रिस्तानी पनि हुँदैनौ । हाम्रो जात फेरिएर हामी अंग्रेज पनि हुँदैनौ ।

अस्ती भर्खर मात्र गुरुङहरुले लुनार पात्रो अनुसार ल्होछार (नयाँ बर्ष) भब्यरुपमा मनाए । त्यसको लगतै तामांगहरुले पनि त्यही चन्द्रे पात्रोलाई मान्दै अर्कै मितिमा ल्होसार पर्व धुमधामसंग मनाउँछन । हेलम्बुका ह्योल्मोलीहरुले पनि तिमीहरुभन्दा हामी के कम् भन्दै न्युयोर्कस्थित एउटा ठुलो हलमा बिभिन्न नाचगान सहित छुट्टै मितिमा छुट्टै ल्होसार मनाउँछन । मनाङ, मुस्तांग, ग्यासुम्दा आदि समाजहरुले पनि आफुले रोजेको मितिमा ल्होसार मनाएर जनवरी र फेब्रेवरी महिनालाई नयाँबर्षमय तुल्याउँछन । सोलुखुम्बु, ओलाङ्चुङ क्षेत्र, नेपालका बहुसंख्यक हिमाली समुदाय र तिब्बतीहरु (ग्यल्पो) ल्होसार फर्वरी ११ मा मनाउन सुरिएर बसेका छन् ।

पात्रोमा भएको हेरफेरले गर्दा यसपाली चाहिँ गुरुङ बाहेक सबैको ल्होसार एउटै मितिमा परेको छ भने चिनियाँ नयाँबर्ष एकदिन अगाडी परेको छ । चाँडो ल्होसार मनाउनेहरूलाई शुभकामना पठाइयो । अब शुभकामना थाप्ने पालो हाम्रो हो । यो दुई महिनाभित्र हाम्रा मानिसले मानेको ल्होसारबारे बिदेशिलाई बर्णन गर्ने हो भने उनिहरु तीनदंग पर्छन । झन ग्रेगोरियन क्यालेण्डर अर्थात इस्वी संबतको जनवरी पहिलो नयाँबर्षमा त संसारभरी छरिएर रहेका साथीसंगी, नाता-कुटुम्ब, फेसबुके मित्र आदिहरुबाट कपी गरेर पेस्ट गरिएका छोटा बिधुतीय शुभकामनाहरु प्राप्त गरियो । आफुले पनि एउटा शुभकामनाको खाका तयार पारेर Dear All लेखी सबैलाई एउटै बिधुतीय खाममा हालेर नयाँबर्षे शुभकामना पठाउने काम गरियो । सबैलाई टिकट सहितको अलग अलग खामबन्दी शुभकामना पठाउने कुरा त उहिलेको कुरा खुइले भैसक्यो ।

एउटै लुनार क्यालेण्डरलाई अनुसरण गर्ने बिभिन्न जनजातिका बौद्व धर्मावलम्वीहरुले अलग अलग मितिमा नयाँबर्ष मनाउनु पर्ने गुहय कुरो चाँहीं के रहेछ ? युरोप, दक्षिण अमेरिका, उत्तर अमेरिका महादेशहरुले एकैदिन ग्रेगोरियन क्यालेण्डर अनुसार नयाँबर्ष मनाउन हुने, हामी लुनार क्यालेण्डरवालाहरु चाँही किन यसरी बिभाजित ? फरक भाषा र भेषभुषाले यस्तो भएको हो भन्ने हो भने चीनका हरेक प्रान्तमा फरक फरक पहिरनहरु लगाएको पाउँछौँ । भाषापनि दुइखाले छन । तर लोसारको तिथिमिती सम्पूर्ण चीन र ताईवानमा एउटै हुन्छ । सोलुखुम्बु र हेलम्बुका ह्योल्मोलीहरु दुवै खाँटी शेर्पा हुन । भेषभुषा पनि मिल्छ । तर किन हो लोसार अलग अलग मितिमा मनाउँछन । लुनार क्यालेण्डरलाई १२ बर्षे चक्र अनुसार राखिएको हुन्छ । प्रत्येक् बर्षलाइ चराचुरुंगि वा जनावरको नाम दीइएको हुन्छ, जस अनुसार सन २०१३ साल चाँही सर्प बर्ष तोकिएको छ । लुनारेहरु सबैले यसलाई सर्प बर्ष मान्छन । बिच्छी बर्ष भनेर कसैले जिरह गरेको आजसम्म सुनेको छैन ।

हाम्रो मुन्दुमहरु सबै मिल्छ भने संगै प्रार्थना गरौँ, संगै बसेर नयाँ बर्षे डेछ्याँग (भात्ती जाँड्) खाऔँ ! हुन्न र ? लोसार मान्ने बहुसंख्यक मतवालीहरु बिचको रहन सहन, चालचलन, बानीब्यहोरा, सोच्ने तरिका, लगनशीलता, सोझोपन आदिलाई हृदयंगम गर्दा यी जातीहरुले फरक फरक मितिमा ल्होसार मनाउनुपर्ने कुनै कारणै देख्तिन । सम्पूर्ण कुरो मिल्दोजुल्दो भैकन पनि ल्होसार चाँही किन अमिल्दो मितिहरुमा गर्नु परेको होला ? हामी बसिबियाँलो गर्दा अनेकतामा एकता भनेर खुब भटट्याउँछौँ । यदी ल्होसार सबैले एकैदिन मनाउन थाल्यौँ भने बल्ल यो भटट्याइ चरितार्थ हुनजान्छ ।

लुनार क्यालेण्डरको ईतिहास खोज्दै जाँदा हामी प्राचीन चीनमै ठोक्किन पुग्छौँ । ऐतिहासिक दस्ताबेजले पनि त्यतै देखाउँछ । बिभिन्न किंवदन्तिहरुले पनि त्यसतर्फै इंगित गराउँछ । त्यसैले चिनियाँ नयाँ बर्षे तिथिमिती नै लुनार क्यालेण्डरको बैधानिक मिती हो । प्रत्येक् बर्षको फेब्रेवरी महिनामा मनाइने चिनियाँ नयाँबर्षे मितिलाई नै सम्पूर्ण लुनारेहरुले ल्होसारको तथ्यगत मिती मान्नु पर्छ जस्तो लाग्छ । यसो गर्यौं भने हामी चीनको मुनी पर्छौँ । उसको अधिनमा गयौँ । हाम्रो संस्क्रिती पराधिनतामा जान्छ । आदी कुराहरु उठन सक्छन । तर हामी चीनलाई अनुसरण नगरेर एउटा प्राचीन सभ्यतालाई गरिराखेका हुन्छौँ, जुन सभ्यता, परम्परा र चलन बस्न हजारौँ बर्ष लागेको थियो ।

ल्होसार मनाउने मितिलाई लिएर थुप्रै ब्यक्तिहरुले कथक्केहरुले कथेको नानाभाँती किंवदन्ती र अलिखित पिढी दर पिढी रटाइएका परीकथाहरुद्वारा यो वा त्यो चलनको आधिकारिकताबारे पुष्ट्याइँ गर्ने जमर्को गरेका छन । तर तिनको कुनै प्रमाणिक पुष्टि भेटिएको छैन । यो र त्यो मितिमा फलाना जातिले नयाँ बर्ष मनाउनु पर्छ भनेर कुनै दस्ताबेज छैन । तसर्थ लुनार क्यालेण्डरसंगै चल्ने हो भने लुनारेहरुले त्यस पात्रोले ठम्याएका र बसाएका धार्मिक तिथिमितिलाई शिरोपर गर्नुपर्दछ । किनभने त्यो नै लुनारेहरुको संबिधान हो ।

आफ्नो जातीय पहिचान दिनलाई फरक फरक मितिमा ल्होसार मनाएको हो भने त्यो सर्वथा गलत हो । हामी सबै बौद्व धर्मावलम्विहरुले चिनियाँ मिती अनुसार नयाँबर्ष मनायौँ भने के हाम्रो जात परिवर्तन भएर हामी चिनियाँ हुन्छौँ त ? कदापी हुन्नौँ । परम्परा भनेको मानिसले बसाउँछ र त्यसको सान्दर्भिकता सकेपछी त्यसलाई उसले तोडछ । लोकतत्र, समाबेशी, धर्मनिरपेक्षता र भुमन्डलीकरणको युगमा सम्पूर्ण बौद्व धर्मावलम्वीहरुले संकिर्ण ल्होसारलाई त्यागेर विश्वब्यापी फराकिलो ल्होसारलाई अंगालेर राष्ट्रिय र अन्तरराष्ट्रिय ल्होसार एकबद्वता देखाउनु पर्दछ । आगामी बर्ष नेपालका हिमाली समुदाय, तिब्बतिहरु र बौद्व धर्मावलम्विहरुले ल्होसार एकैसाथ मनाएर अन्तरजातीय भाईचारा प्रदर्शन गरोस्, झन काठमाडौँका बौद्व अनुयायीहरु आफ्ना जातीय झाँकी सहित ल्होसारमा टुँडिखेलमा भेलाभै “की कि सो सो ल्ह ग्यल्हो” भन्दै काठमाडौँको आकाश गुन्जयमान बनाओस ।

न्युयोर्कमा बसोबास गरिराखेका सम्पूर्ण बौद्व धर्मावलम्विहरुले सन २०१४ को ल्होसार एकसाथ मेडिसन स्क्वायर गार्डेन (Madison Square Garden) मा मनाओस । जापान, कोरिया र अन्य ठाउँमा छरिएर रहेकाहरुले पनि एकताको ल्होसार चाँडै मनाओस । आगामी ल्होसार अनेकतालाई एकतामा बाँध्ने ल्होसार होस् । न्युयोर्कस्थित चिनियाँ दोकानमा किनेको मर्चा हालेर बनाइएको डेछ्याङको झोल हातमा लिएर एउटा नयाँबर्षे Resolution प्रस्तुत गर्न चाहन्छु: आगामी ल्होसार एकताको ल्होसार होस् ! यहाँहरु सबैलाई सर्प बर्षको सर्पिलो शुभकामना !!

(यो लेख मैले २०१० मा लेखेको भएपनि यसको सान्दर्भिकता अझै टडकारो रुपमा महसुस गरिएकोले केही अपडेट सहित पुनप्रेषण गरिएको छ) 

[email protected]

तपाइँको प्रतिक्रिया