दैलेखझैं पीडित झापाका पत्रकार
● गणेश पाण्डे / झापा
[झापाका अधिकांश पत्रकार जो सम्साँझै घर पुग्छन । बेलुकी अन्य व्यक्तिलाई भेट्दैनन् । न अपरिचत स्थानमा जान्छन् । रातको समयमा हुने कार्यक्रममा त पत्रकारको उपस्थिति शुन्यप्रायः हुन्छ । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या प्रकरणले मुलुक तातिरहेका बेला झापाका पत्रकारहरु झन ठूलो मनोबैज्ञानिक त्रासमा छन् । दैलेखका पत्रकारहरुलाई त स्थानीय माओवादी कार्यृकर्ताले धम्क्याइरहेछन्, धम्क्याउनेहरु आँखै नजिक छन । तर, झापाका पत्रकारहरुहरु ‘सेल्फ सेन्सरसिप’ बाट ग्रसित छन्, जसको कलाममा तिखारपन छैन । या कसैका बारेमा नकरात्मक समाचार लेख्न या बोल्न भन्दा पहिल्यै एकपटक सोच्नुपर्ने बाध्यता छ । ]
पत्रकार यादव पौडेललाई कलकलाउँदो उमेरमै कालले चुँडेर लगेको पनि १० महिना हुँदैछ । यादव पौडेलको हत्यापछि बेचैन उनका सहकर्मी तीर्थ सिग्देलले “सम्झनामा यादव पौडेल” नामक स्मृति ग्रन्थ भर्खरै सार्वजनिक गरेका छन् । यादव पौडेल खोज पत्रकारिता पुरस्कार कोष पनि गठन भएको छ । तर, हत्याको ३ घण्टाअघि अन्तिमपटक यादवसँग कुरा गरेका तीर्थ अहिले पनि त्यो कहालीलाग्दो समय सम्झेर झस्कन्छन् । २०६८ चैत २१ गते राति १० बजे तीर्थ र यादवबीच अन्तिमपटक कुरा भएको थियो । यादवले युवराज गिरीसँग केही कुरा गर्नुपर्नेछ भन्दै तीर्थलाई पनि विर्तामोडको स्थानीय डेनियल होटलमा बोलाएका थिए । तर, गएनन । त्यहीकारण बाँचे तीर्थ । साथी मरेर बाँचेको त्यो क्षण सम्झँदा तीर्थलाई निकै गह्रुंगो भारी हुन्छ ।
तीर्थ अहिले पनि यही प्रश्नको उत्तर खोजिरहेका छन्, आखिर किन बोलाएका थिए यादवले उनलाई होटलमा ? डेनियल होटलमा रहेका तीर्थ कसरी बसपार्कस्थित पूर्वाञ्चल सेकुवा कर्नर पुगे ? युवराज गिरीको मोबाइलबाट ४/५ कल फोन आउँदा पनि नउठेपछि यादवले आफ्नो मोबाइलबाट तीर्थलाई फोन गरेका थिए । यादवको फोन तीर्थले पहिलो कलमै उठाए । तीर्थ सम्पादक रहेको मेची टाइम्स दैनिकमा कार्यकारी सम्पादक थिए यादव । युवराज गिरी किन तीर्थसँग कुरा गर्न चाहन्थ्यो । यादवसँगै तीर्थलाई पनि सिध्याउने नियोजित योजना थियो या अन्य यादव हत्याको चक्रब्यूहमा फसाउने चाल । यादवले अति नै कर गरेर बोलाएका कारण मेनगेट खोलेर बाटोमा पुगेर पनि घरमै फर्कनु सायद तीर्थका लागि जीवनकै महंगो निर्णय हो ।
यादवको हत्याले दाइने हात भाँचिएझैं भएका तीर्थ अहिले पनि मानसिक तनावमा छन् । घर, समाज र आफन्तले कलम बन्द गरेर पुख्यौली व्यापार–व्यवसाय धान्न तीर्थलाई बारम्बार दबाब दिइरहेका छन् । आफ्नै प्रेरणाले पत्रकारितामा छिरेका यादवलाई गुमाउँदाको घाउ त आलो नै छ, त्यहींमाथि पारिवारिक दबाब झेल्न कठिन पर्दोरहेछ उनी । जीवनको त्यही मझधारमा छन्, उनी । किनकी यादवको हत्या आकस्मिक घटना थिएन, नियोजित र योजनाअनुरुप थियो ।
अहिले पनि आफुलाई सुरक्षित महसुस गर्न नसकेका तीर्थकै हालतमा छन् झापाका अधिकांश पत्रकार । जो सम्साँझै घर पुग्छन उनी । बेलुकी अन्य व्यक्तिलाई भेट्दैनन् । न अपरिचत स्थानमा जान्छन् । रातको समयमा हुने कार्यक्रममा त पत्रकारको उपस्थिति शुन्यप्रायः हुन्छ । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या प्रकरणले मुलुक तातिरहेका बेला झापाका पत्रकारहरु झन ठूलो मनोबैज्ञानिक त्रासमा छन् । दैलेखका पत्रकारहरुलाई त स्थानीय माओवादी कार्यृकर्ताले धम्क्याइरहेछन्, धम्क्याउनेहरु आँखै नजिक छन । तर, झापाका पत्रकारहरुहरु ‘सेल्फ सेन्सरसिप’ बाट ग्रसित छन्, जसको कलाममा तिखारपन छैन । या कसैका बारेमा नकरात्मक समाचार लेख्न या बोल्न भन्दा पहिल्यै एकपटक सोच्नुपर्ने बाध्यता छ । केही दिन अघि राजधानीबाट झापा पुग्दा मैले महसुस गरेको यही हो ।
सामाजिक प्राणी हो । समाजमा पत्रकारका विभिन्न व्यक्तिसँग आफ्नै खाले सम्पर्क र सम्बन्ध हुन्छन् । तर, जब ऊ एक पत्रकार भएर उभिन्छ उसले आफ्नो व्यवसायिक मर्यादाबाहेक केही सम्झन्न । यादवले झापामा रहेर छोटो समयमै पत्रकारिता क्षेत्रको श्रीबृद्धि गर्नका लागि उल्लेख्य योगदान पुर्याएका थिए । समाचारमा ‘स्कूप’ मारेकै कारण उनी झापाली पत्रकारिताको पछिल्लोपुस्तामा उदाउँदो सूर्यझैं उदयीमान युवा जुझारु पत्रकार थिए । आवाजविहीनका आवाज थिए । अतिवादीका लागि वाँण । आखिर समाचार लेखेकै कारण सम्पूर्ण नेपाली पत्रकारहरुको मन खल्लो बनाएर यादव गए । उनको क्रुर हत्यामा संलग्न युवराज गिरी, सोमनाथ ढकाल र मन्जु ढकाल (फुलमाया कार्की) अहिले जेलमा छन ।
माओवादीको सशस्त्र द्वन्द सुरु भएयताका १७ बर्षलाई मात्र नियाल्ने हो भने ३५ जना सञ्चारकर्मीको हत्या भएको छ । तत्कालिन विद्रोही माओवादीमा आस्था राखेकै कारण तत्कालिन राज्यले थुप्रै पत्रकारको बर्बरतापूर्वक हत्या गर्यो । जनदिशाका प्रधानसम्पादक रहेका अर्घाखाँचीका कृष्ण सेन, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका सचिव कञ्चन प्रियदर्शी, पत्रकार महासंघ रामेछापका संस्थापक राजकुमार केसी, कास्कीको स्वाभिमान साप्ताहिकका सहसम्पादक महेश्वर पहाडी, नुवाकोटका कमल एसी, झापाका देवकुमार आचार्य, कैलालीका विनोद सजना चौधरी, काभ्रेका सुवास मैनालीसहित १७ जना पत्रकारको राज्यले हत्या गर्यो ।
माओवादी पनि के कम ? उसले पनि दैलेखका डेकेन्द्रराज थापा, बाराका वीरेन्द्र साह, पर्साका गोपाल गिरी, सिन्धुपाल्चोकका ज्ञानेन्द्र खड्का, मोरङकी अम्बिका तिमिल्सिना, कैलालीका जगतप्रसाद जोशीसहित ९ जना पत्रकारको निर्ममतापूर्वक हत्या गर्यो । ज्वाला सिंह समूहबाट पर्साका पुष्करबहादुर श्रेष्ठ मारिए । राज्यबाट बेपत्ता पारिएका पत्रकार महासंघ ललितपुरका निर्वाचित सदस्य मिलन नेपाली, माओवादीबाट बेपत्ता पारिएका कन्चनपुरका प्रकाशमान सिंह ठकुरी र अज्ञात समूहबाट बेपत्ता पारिएका सिन्धुलीका चित्रनारायण श्रेष्ठ र ताप्लेजुङका मदन पौडेलका परिवारले पनि न सास पाउन सकेका छन, न त लास ।
पत्रकार र नागरिक समाजको चर्को दबाबकै कारण यादव पौडेलका हत्यारा कमसेकम चिसो छिंढीमा पुगे । तर, पत्रकारका कलम भाँच्ने थुप्रै हत्याराहरुले उन्मुक्ति पाइरहेका छन् । पत्रकारको हत्यामा संलग्नलाई उल्टै राज्य र माओवादीले अहिले पुरस्कृत गरिरहेका छन् । वीरेन्द्र साह, ज्ञानेन्द्र खड्काका हत्यामा संलग्न आफ्ना नेता–कार्यकर्ताहरुलाई अहिले पनि माओवादीले बचाऊ गरिरहेको छ । त्यसैगरी, कृष्ण सेन, महेश्वर पहाडीहरुलाई निर्ममतापूर्वक हत्या गर्ने सुरक्षाकर्मी अहिले पनि राज्यको उपल्लो ओहोदामा छन् ।
आज प्रश्न उठिरहेको छ, डेकेन्द्रराज थापाका हत्याका आरोपीको कुरा उठाउँदा कृष्ण सेन या कन्चन प्रियदर्शीका हत्याराका विषयमा किन कुरा नउठाउने ? डेकेन्द्रको मात्रै कुरा गरेर शान्तिप्रक्रिया भाँड्न खोजेको र कृष्ण सेनको रगतलाई पानीझैं ठानेको आरोप पनि लागिरहेको छ । नेपाली पत्रकार विभाजित छैनन् । उनीहरुलाई विभाजित गर्ने प्रयत्न गरिएको छ । नेपाली प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता आन्दोलनलाई कित्ताकाट गरेर तुहाउने दुष्प्रयास अहिले सरकारले नै गरेको छ । जसका कारण आज देशका १० हजार भन्दा बढी पत्रकार सडकमा उत्रिन बाध्य हुनु परेको छ ।
डेकेन्द्रराज थापाका हत्याका आरोपीहरु त्यसै पक्राउ परेका होइन । आठ बर्षसम्मको निरन्तर खबरदारी र कानुनी लडाईंबाट मात्र सम्भव भएको हो । डेकेन्द्र युद्धका पक्ष थिएनन । न उनले तत्कालिन सेना प्रहरीका लागि हतियार बोकेका थिए, न त माओवादीका लागि । कोकाकुल जनतालाई पानी खुवाउने अभिलासा बोकेर माओवादीसम्म पुगेका डेकेन्द्र फर्किएनन । डेकेन्द्रको हत्यामा संलग्नहरुलाई कारबाही गर्दा प्रधानमन्त्रीदेखि महान्यायधिवक्तासम्मको टाउको दुखेको छ । विद्वान प्रधानमन्त्रीले बुझ्नुपर्छ, अपराधीलाई संरक्षण गर्ने पनि अपराधी हो । ‘महा–अन्यायधिवक्ता’को त चर्चा गरेर के नै साध्य छ र ? देशका कार्यकारी प्रमुख प्रधानमन्त्रीका कार्यकारी सल्लाहकार नै प्रधानमन्त्रीलाई उल्टोपाल्टो सल्लाह दिएर बेकुफ बनाउने काम गरिरहेका छन् । डेकेन्द्रलाई जिउँदै गाड्नेहरुलाई छाड्ने कसम खाएका प्रधानमन्त्री र महान्यायधिवक्तालाई त अहिले अदालतले हाजिर हुन मात्र बोलाएको छ, कानुनी शासनको धज्जी उडाउने यस्तै मनोमानी रहे हत्कडी लगाउनेसम्मको काम नहोला भन्न सकिन्न ।
जहाँसम्म कृष्ण सेन, महेश्वर पहाडी, कन्चन प्रियदर्शी, कमल एसी, कुमार घिमिरे लगायत राज्यबाट हत्या गरिएका पत्रकारहरुको प्रसंग छ, उनीहरुको हत्यामा संलग्न सुरक्षाकर्मीहरु अहिलेपनि राज्यको उपल्लो ओहोदामा छन् । ‘प्रिय कमरेड’का हत्याराहरु अहिले पनि प्रधानमन्त्री बाबुराम भट्टराईलाई स्यालुट ठोकिरहेका छन् । कमसेकम तिनीहरुलाई कानुनी कठघरामा उभ्याउने ल्याकत प्रधानमन्त्रीले राखुन । आखिर ज्यान सबैको बराबर हो । डेकेन्द्रराज थापादेखि कृष्ण सेनसम्मका कलमजीविको हत्यामा संलग्नहरुलाई कारबाही हुँदा वाहवाही नै हुनेछ । हत्यारालाई कारबाही हुँदा शान्तिप्रक्रिया भाँडिने, अमनचयन खल्बलिने होइन । यसले शान्ति प्रक्रिया झनै मजबुत हुनेछ । कमसेकम जनताले देशमा साँच्चै गणतन्त्र आएको महसुस गर्नेछन । न दैलेखका पत्रकारले दिनहुँ आन्दोलन गर्नुपर्छ, न त झापाका पत्रकारहरुले कलमै बन्द गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । डेकेन्द्रको हत्यामा संलग्नहरुमाथि कानुनी कारबाही गर्न अनवरत खबरदारी गरिरहेका पत्रकारहरु छिट्टै कृष्ण सेन र महेश्वर पहाडीका हत्यारालाई कारबाही हुने दिनको प्रतिक्षामा छन् ।
(लेखक प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य हुन्)






