राई र लिम्बू भाषाको अनुसन्धान केन्द्र जर्मनीमा

16-18 Jan 2010-Leipzig 168

भियनामा केहि मन छुने कहानी दबाएर बसेका नेपाली खोज्दै थिएँ। हंगेरीको एकदमै थकित यात्रापछि टुप्लुक्क भियना आउँदा कहिल्यै नचिनिएका, नसुनिएका, नजानिएका एक पात्रको मेल थियो । अनौठो मेल । नेत्र पौडेल, जर्मनी निवासी । जर्मनीमापनि उता पुछारमा बस्ने । पोल्याण्डको नजिकतिर । मन छुने कथा बोकेका नेपाली र नेपाललाई माया गर्ने, जाने बुझेका युरोपेली खोज्दै हिँडेका कहानी नेपालप्लसमा देखेपछि उनले मेल लेखेका रहेछन् “ददिजी, जर्मनीमापनि छन् त्यस्ता मान्छे । म तिसित भेट्टाउने, आवत जावत लगायतका सबै मेसो मिलाउँछु । यो देशको लागि राम्रो काम हो, जर्मनी आउँनुस् ।” जर्मनीमा त्यस्तो मेसो मिलाइदिने कुनै हाँगो फेला नपरेका बेला यस्तो प्रस्ताव ? मन फुरुङ्ग भैहाल्यो । उनीसित नजिकिँदै, बुझ्दै, सोध्दै जाँदा त अर्को तिन छक्क पर्ने कुरोपनि सुनाए “जर्मनीमा राई र लिम्बू भाषाको अनुसन्धान केन्द्र छ नी ।” हाम्रो लिम्बू र राईको भाषा अनुसन्धान गर्ने जर्मनीमा ? केन्द्रनै स्थापना ?

16-18 Jan 2010-Leipzig 167

लाईपजिख भन्ने जर्मनीको त्यो ठाउँ साँच्चिनै पल्लो छेउमा रहेछ । सायद डिसेम्बरको महिना । यति जाडो कि एक घण्टा रेल स्टेशनमा कुर्दा त शरिर आफ्नो र आर्काको महसुस गर्नै मुश्किल । नेत्रजीले सबै मिलाए । सायद बर्लिन शहरबाटपनि झण्डै सय किलोमिटरजति पर । लाईपजिख भन्ने शहर अध्ययनका लागि प्रचलित रहेछ । पहिलेको पूर्वी जर्मनीमा पर्ने शैक्षिक शहर । हो त्यहिँ स्थापना गरेका रहेछन् जर्मनहरुले राई र लिम्बू भाषाको अनुसन्धान गर्ने थलो ।

नेपाली बिध्यार्थीहरुपनि त्यसमा अनुसन्धान गर्ने । तिनै नेत्र पौडेल जस्ता । उनी नेपालका पूर्वी पहाडका गाउँ ठाउँ चहारे । गाउँमा हप्तौं, महिनौं बसे । वर्षै पिच्छे फरक समय र याममा गए । तिनको भाषा अनुसन्धान गरे । तिनको रितिथिती, धर्म संस्किति, कुन ठाउँका राई र लिम्बू के कुरामा भिन्न ? भाषा कसरि अलग ? चडपर्वमा कहाँ कता के के भिन्नता ? गाउँको पिठो र सातु, ढिँडो र झोलमै रमाए । देखेभेटेका सामाग्रि बोकेर ल्याए । यहि अनुसन्धान केन्द्रमा बसे अनि थाले त्यसलाई मूर्त रुप दिन ।

16-18 Jan 2010-Leipzig 183

दुइ तिन तल्ले भब्य भवन । त्यसमा थुप्रै कोठा । पढ्ने र पढाउने कक्षसमेत । जनजातिका विषयमा लेखिएका बग्रेल्ति पुस्तक यतै उतै । भित्ता हेरेपनि नेपालको कुनै जनजाति मात्रै पढ्ने स्कूल झैं लाग्ने । जनजातिकै अनेक थरी फोटा सजिएकाले त्यस्तो लाग्थ्यो । जो आउँछ त्यस्तै केहि विषयमा गफ निकाल्छ । त्यसैको चिन्तन मनन हुन्छ । कम्प्युटरका स्क्रिनहरुमा राई र लिम्बूकै के के हो के के देखिन्छ । कोहि गोरे खरर नेपाली बोल्छन् । कोहि राई भाषापनि बोलिदिन्छन् । अचम्मै लाग्दो त्यो वातावरण ।

विश्व विध्यालयमा अनेक विषयमा सोध गर्ने बिध्यार्थी । जो त्यसमा चासो दिन्छन्, चाख राख्छन् ति चाहिँ प्राय पि एच डि नै गर्ने रहेछन् । राई र लिम्बूकापनि अनेक पाटा, अनेक विषय र क्षेत्रमा पि एच डी । कोहि भाषाको भिन्नतामा । कोहि बिवाह, अरु संस्कार । कोहि जिवन पद्दती । नेपाली बिध्यार्थीपनि केहि आउने रहेछन् त्यहाँ अध्ययनकालागि ।

16-18 Jan 2010-Leipzig 186

यि नेत्र पौडेल मलाई राई र लिम्बू भाषा हामी कहाँ कहाँ, कुन जिल्लाको कहाँसम्म अनुसन्धानमा खटिन्छौ ? कहाँ सम्म समेटिएको छ भनेर बयान गर्दै थिए । उनीपनि त्यसैमा अनुसन्धान गर्दै रहेछन् । त्यो भाषा बिज्ञानको अनुसन्धानका क्रममा उनले पूर्वी नेपालका धेरै गाउँठाउँ छिचोलेका । त्रिभुवन विश्व बिध्यालयको अंग्रेजी संकायमा स्नातकोत्तरका गोल्ड मेडलिस्ट रहेछन् नेत्रजी । त्यहि तिक्ष्ण दिमाख र मेहनतले गर्दा उनले जर्मनीमा नाम चलेको विश्व विध्यालयबाट पि एच डी गर्दै गरेका । नोवल किशोर राई जस्ता विद्वानसितपनि यता र उति चहारेका । साथीहरु यसका सबै सूचना भने नदिउँ है ? किनकि मेरो आगामी पुस्तकबाट सार्वजनिक हुन्छन् ति सबै पाटाहरु ।

तपाइँको प्रतिक्रिया