कुल्ली मानसिकताको भरिया पत्रकारिता

porter-journalim-1122अस्ति एउटा सन्सनी छायो, लौ सरकारले ईमेज च्यानल बन्द गर्ने निर्देशन दियो रे । देशको एक प्रमुख सञ्चार माध्यम । टिभी च्यानल बन्द गर्न निर्देशन दिएपछि त्यो हावा जसरि फैलियो । धेरैले सोचे ‘अब यो बाबुराम काग जस्तो भो, बाठो कागले झैं आची खान लाग्यो । अन्तिम हुटहुटी निकाल्यो । उहि ज्ञानेन्द्र कालमा झैं सञ्चार माध्यमका बिबेकमा भोटेताल्चा ठोकेर तानाशाहीकरण लाद्न खोज्यो ।’ यस्तो मसला पाएपछि के चाहियो ? पत्रकारहरुका लागि मसला बन्ने नै भो ।

तर खाँट्टी पत्रकारहरुले यस्सो निधार खुम्च्याएर सोचे लेख्नु अघि ‘यसो त नहुनु पर्ने । यतिसम्म त हैन होला । नबुझि त लेख्न र प्रशारण गर्न हुन्न ।’ तर देशमा धेरै जसो भरियाहरु छन् । कलम, कापी, अडियो र झोला बोक्नी कुल्ली । पत्रकाररुपी भरिया । ति भरिया कुल्ली अनेक नाम, समूह, नेता र पार्टीका निर्देशन, छाता, गोठ, दलिन र करेसामा कैद छन् । पालित र पोषित छन् । हो तिनलाई पत्रकारितासित सरोकार भन्दापनि पार्टी र नेताले के भन्छन्, के सिकाउँछन्, के निर्देशन दिन्छन् भन्ने सरोकार ज्यादा हुन्छ । आफ्ना नेता र आफ्नो पार्टीलाई सरकारमा पुर्‍याउन, पुगेपछि टिकाउन र नेताका वाणीलाई सिरोपर गर्नै हुटहुटी हुन्छ । त्यसै गरे, नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपाल भन्ने पत्रकारका दुई संगठनले । 

नेपाल प्रेस युनियन नेपाली कांग्रेसको समर्थन गर्ने पत्रकारहरुको संस्था हो । प्रेस चौतारी चाहिँ नेकपा एमालेको । त्यसैगरि नेकपा एकिक्रित माओवादी क्रान्तिकारी पत्रकार संघ छ । पार्टीमा फूट आएपछि त्यहि नाममा नेकपा-माओवादीलेको पनि अर्को संघ खुलेको छ । मधेशी दल, राप्रपा नेपाल सबैका यस्तै झोला बोक्ने पत्रकार संघ छन् । तिनको काम प्रतिपक्षीलाई खुल्याउनु र आफ्नो पार्टीको गाना बजाना गर्नु हो ।

यो बाबुराम भट्टराई सरकार राष्ट्रियता, जनजिविका र समाज सबैकालागि भारी भो । यसलाई पाखा लगाउनु पर्छ । तर मन परेन भन्दैमा पुरै सय प्रतिशत झुठो, हुँदै नभएको, असत्य समाचार लेखेर जनमानसलाई झुक्याउनु पनि त पत्रकार बन्ने होइन होला । अझ पत्रकारका संस्था । सयौं हजारौं सदस्य भएको संस्था । देशका नाम चलेका पत्रकारहरु आबद्द छन् प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनमा । तर तिनले अस्ति पुरै सय प्रतिशत झुठो बिज्ञप्ती जारि गरेर भरिया र कुल्ली पत्रकारिताको राम्रो उदाहरण दिए ।

गएको आइतबार साँझदेखि इमेज टेलिभिजन च्यानल केही केवल अपरेटरहरुले बन्द गरिदिएका थिए । सोमबार दिनभर सनसनी फैलियो । च्यानल काट्नेहरु को हुन् भन्ने खोजि गरियो । पत्ता लगाउन सकेनन् सजिलै । इमेज च्यानल स्वयंले च्यानल बन्द हुनुको कारण स्पष्ट हुन नसकेको भनेर समाचार दियो । ईमेज च्यानलका समाचार सम्पादक सम्पादक महेन्द्र बिष्ट सित ईमेल च्यानल किन बन्द भएको होला भनेर पत्रकारहरुले प्रतिक्रिया मागे । उनले ‘हामीले सरकारविरुद्ध समाचार बजाएकाले त्यहि दबाबमा बन्द गरिएको हुनसक्छ’ भनेर प्रतिक्रिया दिएछन् । त्यसपछि लेख्न जान्नेहरुलाई के चाहियो । त्यसको सत्य तथ्य खोज्नै परेन । भरिया र कुल्ली पत्रकारिताले सनसनी मच्चाउन थालिहाल्यो । यस्तो मौकामा नेपाली कांग्रेस र एमाले पार्टीले छोड्ने कुरै भएन बाबुरामलाई नांगो पार्न । एमाले र नेपाली कांग्रेसका नेताका भरिया पत्रकारहरुले पनि यस्तो गज्जब मौकामा आफ्ना नेताको चाकरि र हजुरी, अनि आफुलाई भक्त देखाउने यो भन्दा उपयुक्त समय कहिले पाउने ?  प्रेस चौतारी र प्रेस युनियनले प्रधानमन्त्रीको दबाबमा इमेज टेलिभिजन बन्द गरिएको ठोकुवा गर्दै विज्ञप्ति जारी गरेर सनसनी फैलाए ।

प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनले विज्ञप्ति जारी गरेपछि सञ्चार माध्यमहरुले नपत्याउने कुरै भएन । तिनले भकाभक समाचर दिए ‘प्रधानमन्त्रीको दबाबमा ईमेल च्यानल बन्द’ भन्दै । तर पत्रकारिता र भरियाकारिता अनि कुल्लीकारिता एकै होइन । झुठो धेरै बेर टिक्दैन । केहि समयमै त्यसको सत्यता बाहिर आयो  । इमेज टेलिभिजन बन्द गर्ने काम त त्यसको केवल बितरकले पो गरेको रहेछ । केवल टेलिभिजन संघका सदस्य एवं सुबिसु केवलका संचालक सुधीर पराजुलीले त्यो बिज्ञपतीमा दाबी गरिएको आरोप झुठो भएको,  ईमेज च्यानल आफ्नो केवलले बन्द गरिदिएको बताएपछि झुठो विज्ञप्ति सर्बाङ्ग नांगियो । उनीहरुले सरकारले ल्याएको संसोधित ऐनको बिरोध गरेका रहेछन् । र सरकारलाई दबाब दिन आन्दोलनको घोषित कार्यक्रमअनुसार इमेजको प्रसारण बन्द गरेका रहेछन् । ईमेल च्यानलका केवल बितरक सुधीर पराजुलीले अनलाईन खबरलाई प्रतिक्रिया दिँदै भनेका छन् “प्रधानमन्त्रीको दबाबमा भन्नु बकम्फुसे हल्लामात्र हो । माघ २ गतेदेखि नेपाल टेलिभिजन र एनटीभी प्लस टेलिभिजन पनि बन्द गर्न लागेका छौं  । प्रधानमन्त्री कार्यालयको दबाब भन्नु धमिलो माछा मार्न खोज्नु हो ।’

सोच्नुस् त, के यि संस्थामा खाँट्टी पत्रकार छन् ? कि धेरै जसो राजनिति, पर्चाकारिता, नेताको चाकरि गर्ने, पार्टीको कुल्ली र भरिया बन्ने छन् ? कि धेरै जसो गतिला पत्रकार छन् तर नेत्रित्वमा चाहिँ नेताका चाटुकारको बहुमत छ ? नत्र यि दुबै संस्थामा आबद्द पत्रकारहरु हेर्ने हो भने यतिबिघ्न झोले पारा नदेखिनु पर्ने हो । विष्णु निष्ठुरी र किशोर नेपाल जस्ता पत्रकारपनि प्रेस युनियनमा आबद्द छन् ।

त्यसो त पत्रकारहरु सामचारमा चिप्लिँदैनन् भन्ने होइन । प्रयोग हुन्छन् । दुरुपयोग हुन्छन् । गल्ति हुन्छ । तर यो त सयौं जनाको संस्था हो । एक ब्यक्तिसित सरोकार राख्ने भन्दापनि सत्य तथ्य पत्ता लगाएर न्याय गर्न, ब्यवशायिक पत्रकारितालाई प्रश्रय दिन बनेको संस्था । संस्थामा धेरै सदस्य हुनाले ति बिभिन्न मेडियामा हुन्छन् र त्यस्ता समाचार सत्य हुन् कि होइनन् बुझ्न संस्थालाई सजिलो हुन्छ । तर मानसिकतानै पेल्ने, एकको समर्थन गर्ने, झोले बन्ने भएपछि त्यतातिर किन लाग्नु ?

डेकेन्द्र थापाकै हत्या काण्डमा नेपाल पत्रकार महा संघका केन्द्रिय सदस्य बिभाजित छन् । अध्यक्ष शिव गाउँले डेकेन्द्र थापाका हत्यामा आरोपितलाई कारवाहीको माग गरिरहेका छन् । तर महासचिव ओम शर्मा भने तिनलाई छोड्नु पर्छ भनिरहेका छन् । शर्मा राज्यले बेपत्ता पारेका र हत्या गरेका थापा मात्रै होइन अरु पत्रकारकोपनि छानबिन होस, अपरधीमाथि कारवाही हुनु पर्छ भन्ने तर्क गर्दै त्यसो भनिरहेका छन् । अब अन्य सामान्य पत्रकारले के भन्ने ? कसरि बुझ्ने ? गाउँले एमाले निकट भनेर चिनिन्छन् । शर्मा माओवादीका भए । डेकेन्द्र थापाको घटना होस् कि क्रिष्ण सेन लगायत अन्य पत्रकारको मुद्दा, नेपाल पत्रकार महा संघनै एक हुन सकेन । यो किन भयो ? राजनिति नै हो । यसमापनि थोरै धेरै भरिया पत्रकारिताकै मानसिकता छ ।

नेपाल पत्रकार महासंघ सबै पत्रकारको साझा संस्था हो । त्यसैले महा संघले डेकेन्द्र थापा, क्रिष्ण सेन लगायत राज्यले बेपत्ता पारेका र हत्या गरिएका सबैको हकमा समान निति बनाएको भए जाति हुन्थ्यो । हत्यारा जो सुकै होउन् कारवाही गर । बेपत्ता जो सुकै होउन् खोज, छानबिन गर । जुन सुकै पार्टी, जुनसुकै समूहका निकटका होउन् अपराधीलाई कारवाही गर भनेर नेपाल पत्रकार महासंघले समानताको सिद्दान्त अपनाए जाति हुन्थ्यो । तर भैरहेको छैन । किनभने त्यहाँपनि कुल्ली र भरिया मानसिकता छ । राजनिति छ । उम्मेदवार हुने बेला राजनितिक पार्टीका दैला नचहारि टिकट पाईन्न । नेताको आशिर्वाद नलिईकन जितिन्न ।

उता क्रान्तिकारि पत्रकार संघले ७५ वटै जिल्लामा द्वन्दकाल र त्यसपछि पनि मारिएका, बेपत्ता सबैको सार्वजनिक गर्न र हत्यारालाई कारवाही गर्न भन्दै अलग्गै आन्दोल शुरु गरेको छ । यता प्रेस चौतारी, प्रेस युनियन, नेपाल पत्रकार महासंघको अलग्गै । किनभने यो सबै आन्दोलनमा राजनिति घुसेको छ । थोरै राजनिति त जुन मुलुकमापनि घुस्छ । तर हाम्रो मुलुकमा चाहिँ पत्रकारको नाममा दलिय राजनितिक टक्कर । 
२०५२ साल यता मारिएका पत्रकारहरु

पत्रकार कहिले र कोबाट मारिए ?

१ देवकुमार आचार्य, २०५८–४–८ सरकारबाट
२ कञ्चन प्रियदर्शी, २०५९–१–१६ सरकारबाट
३ कृष्ण सेन इच्छुक, २०५९–२–१३ सरकारबाट
४ कमलकुमार एमसी, २०५९–६–१५ सरकारबाट
५ राजकुमार केसी, २०५९–७–७ सरकारबाट
६ नवराज शर्मा, २०५९–१–१९ विद्रोहीबाट
७ अम्बिका तिमल्सिना, २०५९–८–२५ विद्रोहीबाट
८ कुमार घिमिरे, २०५९–७–१६ सरकारबाट
९ ज्ञानेन्द्र खड्का, २०६०–४–२१ विद्रोहीबाट
१० विनोद चौधरी, २०५९–६–१४ सरकारबाट
११ नगेन्द्र पोखरेल, २०६०–९–८ सरकारबाट
१२ गोपाल गिरी, २०६०–१०–१ विद्रोहीबाट
१३ पदमराज देवकोटा, २०६०–१०–२४ सरकारबाट
१४ डेकेन्द्राज थापा, २०६१–४–२७ विद्रोहीबाट
१५ बद्री खड्का, २०६१–५–१३ सरकारबाट
१६ धनबहादुर रोका मगर, २०५९–१०–१६ विद्रोहीबाट
१७ खगेन्द्र श्रेष्ठ, २०६१–१२–१९ विद्रोबाट
१८ महेश्वर पहाडी, २०६२–६–१८ सरकारबाट
१९ वीरेन्द्र साह, २०६४–६–१८ विद्रोहीबाट
२० पुष्करबहादुर श्रेष्ठ, २०६४–९–१८ जेटीएमएम–जेबाट
२१ आनन्दकुमार थापा, २०६१ भदौ सरकारबाट
२२ भीमबहादुर घर्ती, २०६० सरकारबाट
२३ सुवास मैनाली, २०६१ सरकारबाट
२४ मोहन खनाल, २०६२–७–२७ सरकारबाट
२५ इश्वर ढुंगाना, २०६२–२–८ सरकारबाट
२६ चीनबहादुर बुढा, २०६२–११–१६ सरकारबाट

शान्ति सम्झौतापछि मारिएका सञ्चारकर्मीहरु

१. जगतप्रसाद जोशी, २०६५–०८–१३ (अज्ञात समूहबाट)
२. उमा सिंह, २०६५–०९–२७ (परिवारकै सदस्यबाट)
३. जमिम शाह, २०६६–१०–२४
४. अरुण सिंहानियाँ, २०६६–११–१७
५. देवीप्रसाद धिताल, २०६७–४–६
६. बबुर खरेल, २०६८–४–१०
७. यादव पौडेल, २०६८–१२–२१
८. सन्तोषकुमार गुप्ता, २०६९–३–२२ भारतमा
९. चन्दन नेपाली, २०६९–०५–२७

बेपत्ता पत्रकारहरु

१. मिलन नेपाली, २०५६।२।२६ सरकारबाट
२. प्रकाशसिंह ठकुरी, २०६४।३।२१
३ चित्रनारायण श्रेष्ठ, सरबारबाट
स्रोतः नेपाल पत्रकार महासंघ

महासंघको रेकर्डमा छुटेका नामहरु
द्वन्द्वमा हत्या गरिएका

१. नन्दकुमार थापा, २०६१ असोज सरकारबाट
२. आधार, सरकारबाट
३. कुशल, सरकारबाट
४. अग्नी, सरकारबाट
५. विपना, सरकारबाट
६. दिवस, सरकारबाट

बेपत्ता पारिएकामा छुटेका

चित्रनारायण श्रेष्ठ, सरकारबाट
राजेन्द्र ढकाल, सरकारबाट
मदन ढकाल, अज्ञात

(यो सूची चाहिँ पत्रकार रामकुमार एलनको फेसबूकबाट लिएको हुँ)

 

तपाइँको प्रतिक्रिया