छन्त्याल जाति र छार-म्हेङ पर्व

बलमान छन्त्याल

chhantyal-women-for-chhar-meng-445

विविधताको धनी देश नेपालमा बहुजाति, भाषा, धर्म, भाषा र संस्कृतिले भरिएको छ । नेपालमा विभिन्न १०२ वटा जात जातिहरुमध्ये ५९ वटा आदिवासी जनजातिहरु आदिमकालदेखि आफ्नो मौलिक भाषा, संस्कार, संस्कृति, परम्परा, धर्म, आस्था, विश्वास र जीवन पद्धतिको विकास गरी विशिष्ट पहिचान सहित बसोबास गरीरहेका छन । नेपालका ५९ वटा सुचिकृत आदिवासी जनजातिहरुमध्ये हालको म्याग्दी, बाग्लुङ्ग मुलथलो भएको छन्त्याल जाति पनि छुट्टै मौलिक जातीय पहिचान भएको एक आदिवासी जनजाति हो । प्राचीन थलो छ्यान्टुङ्ग भएको यस जातिका पुर्खाहरुले निकै लामो समयसम्म कुशलतापर्वक विशेषत तामाखानी खनेका थिए । छन्त्याल जाति बसोबास रहेको सबै गांउको पछाडि ‘खानी’ जोडीएको पाईन्छ । जस्तै बाग्लुङको बोंगाखानी, खुंखानी, नर्जाखानी, लाम्मेलाखानी, घोसाखानी, घैयाखानी, लेखानी छन्त्यालहरुको बाक्लो बस्ती रहेका गांउहरु हुन् भने म्याग्दीको गुर्जाखानी, मंगलेखानी, कुइनेखानी, ठाडाखानी, मच्छिम र मल्कबाङमा अधिकांस बढी जनसंख्या छन्त्यालहरुको नै रहेको छ ।

छन्त्याल जातिले पनि आफ्नो वरीपरिको भौगोलिक तथा प्राकृतिक अवस्था र वातावरण अनुसार भाषा, धर्म, संस्कार, संस्कृति, परम्परा, रीतिरिवाज, आस्था र विश्वासका साथ साथै सामाजिक, साँस्कृतिक, आर्थिक,र प्रशासनिक संरचनाहरुको विकास गरेको थिए । जुन कुराहरु वर्तमान समयमा विभिन्न कारणहरुले लोपोन्मुख अवस्थामा पुगेका छन । हाल यस जाति म्याग्दी, बाग्लुङ्ग बाहेक गुल्मी, प्यूठान, रुकुम, मुस्ताङ्ग, सुर्खेत, पर्वत, कास्की, चितवन, रुपन्देही, दाङ र काठमाण्डौं उपत्यका आदि जिल्लाहरुको विभिन्न स्थानहरुमा छरिएर बसोबास गर्दछन । छन्त्याल जातिको कुल जनसंख्या वि.सं. २०६८ को राष्ट्रिय तथ्याङ्क अनुसार ११,८१० छ । जसमा महिला ६,५६५ र पुरुष ५,२४५ जना छन । त्यसैगरी मातृभाषा बोल्नेको संख्या ४,२८३ छ ।

chher-meng-4 (1)

विगतको राज्य तथा सरकारको विभेदकारी र अतिक्रमणकारी नीति, नियम, अन्य जात जातिको प्रभाव, हिन्दुकरण, संस्कृतिकरण, नेपालीकरणको प्रभाव साथै छन्त्यालहरुमा चेतनाको अभाव आदि कारणहरुले गर्दा यस जातिको भाषा, संस्कार, संस्कृति, धर्म, परम्परा, रीतिरिवाज, आदि पहिचानका आधारहरु वर्तमान समयमा लोपोन्मुख अवस्थामा पुगेको यथार्थलाई नकार्न सकिंदैन ।

मेहिनेती, लगनशील र परिश्रमी तथा सोझा र सरल स्वभावका छन्त्यालहरु सुरुङ्ग तथा खानी खन्न माहिर मानिन्थे । छन्त्यालका पूर्खाहरुले माटो र ढुंगाको टुक्राको रंग हेरेर, स्वाद लिएर, वास्ना सुँघेर, छामेर अनि तिनीहरुको प्रकृति र स्वरुप हेरेर कति दुरी टाढा र गहिराई सम्म तामा, सिसा, फलाम आदिको खानी अन्तरज्ञानको माध्यम बाट पत्ता लगाउने आफै प्राकृतिक विशेषज्ञ नै थिए । लुकाइएको ईतिहासमा कुनैबेला छन्त्याल जातिले देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको कुरा उल्लेख गरेको पाईन्छ । राज्यले चर्को भेजा (कर) लगाइदिँदा खानी खन्ने पुर्खेउली पेशा धरापमा परेको थियो । खानि पेशामा अनावश्यक बन्देजले बाध्यताबश जंगल फडानी गरेर खेती किसान र शिकार खेलेर जिविकोपर्जन गरेका थिए ।

chher-meng-4 (2)

छन्त्याल जातिमा आफ्नै मौलिक संस्कार र संस्कृति रहेको छ । छन्त्यालहरु विभिन्न चाडहरु मान्दछन् र विभिन्न देवीदेवताहरुको पूजाआजा गर्दछन् । छन्त्याल जातिले गर्ने पितृपूजा विशेष महत्व छ र यो जातिको छुट्टै मौलिकता पनि हो । यस्तै गरी छारम्हेङ (नयाँवर्ष) छन्त्यालहरु परापूर्वकाल देखि परम्परागत रुपमा धुमधामसँग मनाउदै आएको पाईन्छ । छार-म्हेङ माघ १ गते अर्थात म्हिलाङे सोङ्ती (माघेसंक्रान्ति) को दिन देखि शुरु हुन्छ । त्यसैले यसलाई नव वर्षको रुपमा मनाइन्छ । यस दिनदेखि जाडो मौसम विस्तारै कम हुँदै जाने र गर्मी मौसमको शुरुवात हुने विश्वास गरिन्छ । यस समय वर्षे बाली भित्र्याएर हिउँदे बाली लगाई सकिएको हुनाले साथै यसदिन देखि तारा हान्ने खेल (आर्चरी) शुरु हुने भएको कारणले गर्दा छारम्हेङ्ग हिउँदे पर्वको रुपमा धुमधुामसँग मनाइएको पाईन्छ ।

DSCF2757छार्-म्हेङ पर्वमा बिहानै घर लिपपोत गरिन्छ । बिहान कसैसँग नबोली नजिकैको खोलामा गएर तामाको पैसा, मासको दाल, अक्षता पाती आदिलाई चन्दन वा पवित्र विरुवाको पातमा राखी बत्ती बालेर जलदेवताको नाममा नदीमा बगाइ नुहाई धुवाई गरीन्छ । विशेषगरी पौष महिनालाई अशुद्ध महिनाको रुपमा मानिने हुँदा यसरी नुहाँउदा  दुषित कुराहरु  सवै पाखालीएर नयाँ दिनमा पवित्र भईन्छ भन्ने किंवदन्ती रहेको छ । यसरी शुद्ध भएको दिनलाई नै नयाँबर्षको शुरुवातको दिनको रुपमा लिईन्छ । नुहाई–धुवाई पछि घरमा आएर सगुनको रुपमा पकाएको विभिन्न परिकारहरुबाट सर्वप्रथम पितृ चढाउने गरिन्छ ।  पितृ चढाएमा पितृदेवता खुशी हुने, परिवारमा सुखशान्ति हुने र विविध किसिमका अनिष्टबाट जोगाउने गर्छन भन्ने विश्वास रहेको छ । यस दिनमा छोरीचेलीहरुलाई मीठा–मीठा परिकारहरु खुवाई टिला(दक्षिणा) साटी छोरीचेलीको गनणा गरिन्छ । यस पर्वमा तरुल, भ्याकुर, गिठ्ठा, सख्खरखण्ड, फलफूल, सेलरोटी, रक्सी, जाँड, मासु, आचार, चट्नी, भात, तरकारी आदि विभिन्न परिकारहरु खाएर घरपरिवार इष्टमित्रहरु भेला भै तारा खेल शुरु गर्दछन् भने महिलाहरु एक आपसमा नाचगान र रमाइलो गरी मनाउँछन् ।

वर्तमानमा छार-म्हेङ तथा म्हिलाङे सोङती पर्वको अवसरमा विभिन्न छन्त्याल गाँउहरुमा मेलाजात्रा लाग्ने गर्छ ।आयोजना गरेको मेलामा  ताराखेल, भलिबल, फुटबल, दोहोरीगीत, लोकगीत र विभिन्न साँस्कृतिक कार्यक्रमहरु लगायत विविध मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गरिन्छ । साथै छन्त्याल पुर्खाहरुले पनि पहिले छारम्हेङ्ग तथा म्हिलाङे सोङती पर्वको दिन खानी खन्न छोडी परिवारसँग बसेर खानपिन गर्ने, पितृ चढाउने, ताराखेल शुरु गर्ने र आफन्तजनहरुसँग भेटघाट गरी मनाउने चलन रहेको थियो ।

(लेखक नेपाल छन्त्याल संघका केन्द्रिय सह-कोषाध्यक्ष र छन्त्याल डट् कमका कार्यकारी सम्पादक हुन् ।)

 

तपाइँको प्रतिक्रिया