स्विस र नेपालीका अनुभव खोज्दै स्विजरल्याण्डको यात्रा
आइतवार साँझ जेनेभा आइपुगियो । बेल्जियमबाट हिँडेका उज्ज्वल के सी पेरिसमा भेट भए । यो पटकको स्विजरल्याण्ड यात्रा अलि भिन्न उद्देश्यको थियो । उज्ज्वल भिडियो क्यामराका पारखी । डकुमेन्ट्री र फिल्म बनाउन सिद्दहस्त । संगित भर्न सिपालु । उनको आग्रह, रहर र सँगै काम गर्ने प्रतावमा पेलिएर एउटा डकुमेन्ट्री बनाउने दुस्साहसमा उत्रिएँ म । अनि हानियौं हामी स्विजरल्याण्ड । जेनेभाको रेल स्टेशनमै कुरेर बसेका थिए पत्रकार भाइ दीपक खतिवडा र अर्का नेपाली बिध्यार्थी शिव रिजालले । समयको अभाव थियो । त्यसैले रेल वे स्टेशनबाट अगाडि आँखा तन्काउँदा ठ्याक्कै देखिने सेर्ज आमूसको घरमा छिर्यौं । मेरो पहिलो स्विजरल्याण्ड यात्राका सहयोगि यिनै सर्ज र केशरी दिदीले पर्खि बसेका थिए । केहिबेरमा आइपुगे युरोपमा नेपालको रोंटे पिङ बनाउँदै हिंडेका जँ लाभर्गो ।
उनलेपनि भेट्ने रहर गरेका थिए । केहि बेरको भलाकुसारी पछि भटाभट उनका अनुभवहरुलाई भिडियोमा कैद गर्न लाग्यौं। ओहो, उनको त्यत्ति रोंटे पिङको चिनारीपनि गज्जबको थियो । विश्वका हजारौं मानिसले यहि रोंटी पिङ मार्फत नेपाल चिनिरहेका रहेछन् स्विजरल्याण्डबाट। यो रोंटे पिङलाई युरोपका अन्यत्रपनि फैलाउने योजना सुनाए उनले ।
त्यसपछि केशरी दिदीले घरको माथिल्लो तलामा पशुपतीमा पूजा गरेर देखाइन । नेपालकै जस्तो, केहिबेर मन्त्र पढेपछि घण्टले घर गुन्जियो । तल्लो कोठामा बौद्दका चारै ढोकाको चित्र थियो थान्कामा अंकित । त्यसमा पूजा गरिन् । “देउता सबै एकै हुन् । तर मान्ने तरिका मात्रै अलग हो” सुनाइन उनले । मानिस जतिसुकै टाढा जाओस्, आफ्नो धर्म, संस्क्रिति र पहिचान मेटिन दिनुहुन्न भन्दै उनी उता बाल्यकालमा आफ्नी आमाबाट सिकेको कर्म यहाँ निरन्तरता दिँदै थिईन् । उज्ज्वलजी बडेमाको क्यामरा बांगो पारी पारी सोझाउँदै खिच्दै गए । त्यहिँ नेपालका बारेमा अनुभव सुनियो सेर्ज आमूसको ।
उनले स्विस सरकारको प्रोजेक्टका तर्फबाट दशक भन्दा बढि नेपालमा काम गरेका । ३० वर्ष अघिको नेपालको मानचित्र उनले भुल्न नसकेका । त्यो बेलाको नेपाल कस्तो थियो ? पहाडी भागमा शिक्षाको कुन दुरावस्था थियो ? उनका मुखबाट सुन्दा हामी अचम्म पर्र्यौं । त्यो बेला स्विस सरकारले शिक्षामा लगानी त गर्यो । स्कूलहरु बनायो । तर ति स्कूलमा पढाउने कसलाई ? किनकि त्यो बेला ति डाँडा पाखामा आफ्ना वालवालिका हातमा लौरो लिएर गाइभैंसी चर्ने डाँडा पाखाबारे पढ्थे । नाम्लो र हँसिया बोकेर ति जंगलमा घाँस र स्याउला कसरि ओसार्ने ? काठ दाउरा कसरि ल्याउने ? बाख्रापाठा कसरि चराउने ? बाँदर कसरि लघार्ने ? यहि पढ्थे । त्यसैले स्कूल बनाएपछि पढ्ने बिध्यार्थी खोज्ने ति घर घर चहार्थे । “तिम्रा छोरा छोरीलाई अबदेखि यो स्कूलमा पढ्न पठाउनुपर्छ, शिक्षादिक्षा दिनुपर्छ” संझाउँदै तिनले घरघर चहार्नुपर्थ्यो । यस्ता अनुभव त उनीसित कति कति !
नेपाली गुन्द्रुक भनेपछि दाम्लै छिनालौंला झैं गर्ने यि सेर्ज त्यो बेलाको अवस्था हेर्दा अहिलेको राजनितिक परिवर्तन अझै सय वर्ष जति संभव हुन्न होला भन्ने लागेको सुनाए । ‘मानिसहरु कोहिपनि राजनितिका कुरा गर्दैनथे । केहि सोध्यो भने ‘खै मलाई त थाह छैन, कुनी” भन्दै पन्छिने गरेको उनले सुनाए ।
उहि असन र मंगलबजारका कुनातिर भेटिने जस्तो सेकुवा । तारेका मासुका लप्का । अकबरे खुर्सानीको स्वाद । मुलाको अचार । नेपालबाटै भित्रिएको तामासित मिसिएको बोडीको तरकारी । जिम्बुको वासना हरर्र आउने गोलभेंडाको अचार । नेपाली गीतको रिमरिम भाका । गौतम बुद्दका मूर्ती र नेपालका गाउँ ठाउँ बोकेका थान्का र फोटा । नेपालबाट टाढा छु भन्ने नै नलाग्ने थियो, यो घरको वातावरण ।
ढिलो भो तिन जनाका अनुभवलाई हामीले भिडियोमा लिपिबद्द गर्दा । दीपक र शिव रिजाल एक टकले सुन्दै हामीलाइ पर्खिबसेका थिए । तिनले लगे जेनेभाको होटेलतिर । अब फेरी तिनै शिवजीका भोगाईहरु सुन्ने तरखर गरियो । ओहो नेपाली बिध्यार्थीले युरोपमा भोग्ने समस्या । तिनले यहाँ पढ्न भनेर ब्यहोर्ने दुख । मानसिक पीडा । पैसाको खोलो बगाउँदापनि अनुकूल पार्न नसकिने यहाँको महँगी । उता बाबु आमाले छोरो बिदेश गएर डलरका बिटा पठाउँछ भन्ने आशा । त्यो पुरा गर्न नसक्दा भोग्ने मानशिक तनाब । युरोपको मुटु हल्लाउने जाडोमा बस्ने बास नापएर रेल स्टेशका छिँडीमा रात बिताउनु पर्दाका सास्ती । कुरै नबुझि घर खेत बेचेर उच्च शिक्षा पढ्न भनेर हाम्फाल्ने नेपालीका पारा र युरोपको बिमानस्थल ओर्लेदेखि शुरु हुने भाषाको कठिनाई । त्यो सँगै दूर्घटनामा पर्ने तिनका सपना । आफ्ना सँगै छतबिक्षत हुने बाउ आमाका आशा र महत्वाकांक्षा । शिवजीले आङ जिरिन्ङ जिरिङ्ग बनाउने अनुभव सुनाए ।
बेला बेला युरोपमा नेपालीलाई गरिने दूर्ब्यवहार संझिँदै उनी आक्रोशित हुन्थे । कहिले कुरै नबुझि खेत बारी फालेर युरोप दगुर्ने अबुझ नेपाली बिध्यार्थीका पारा देखेर ति झोक्किन्थे । बेला बेला उनी सुझाव दिन्थे नेपाली बिध्यार्थीहरुलाई । ‘ए ए शिव यो पाटो छुटायौ यार’ दीपक बिच बिचमा भिडियो बन्द गर्न आग्रह गर्दै शिवलाई सम्झाउँथे । उनीसित करिब डेढ घण्टा भलाकुसारी गर्दा गर्दै रात ढल्कियो । उनीहरु बाटो लागे । फेरी उज्ज्वलजी र म आफ्नो काम, युरोपमा गर्न सकिने नेपालीका क्षेत्र, बेल्जियमको नेपाली समूदायका अनेक पाटाबारे गफ हाँकेर बस्यौं । “बिहानै लौ जेनेभा ताल देखाउनु पर्छ” भन्दै उठाउन आइपुगे दीपक । हाट्ट हुट्ट गर्दै स्विस नेपाल डट कमका भाइ निराजन श्रेष्ठ र साथी गुणराज पौडेल जेनेभा तालमै आइपुगे । कता कता जाने योजना त्यहिँ बनाइयो तालको द्रिष्यलाई साक्षी राखेर । फोटो सेशन गरियो केहिबेर ।
मेरो अघिल्लो पुस्तकका पात्र खोज्न अघिल्लो पटक जेनेभा आउँदा असाध्यै धेरै सहयोग गरेकि जली प्रधानसित छोटो समय भएपनि भेटौं भनियो । उनले आफु बिध्यार्थी हुँदा भोगेका केहि अनुभव र नेपाली बिध्यार्थीले यहाँ भोग्ने समस्या बारे सुनाईन । अब बेर्न शहर जाने योजना बन्यो । नेपालको पहिलो भूमापन प्रक्रियामा सहभागि भएका एडवार्ड मुलेमान बेर्न शहरको कोनिच भन्ने ठाउँमा पर्खेर बसेका थिए । हामी पाँचै जना घुरुप्पै पुगियो । तत्कालै शुरु गर्यौं लामकाने क्यामरा सोझ्याएर बार्तालाप । मुलेमानले पनि त्यो बेलाको नेपालका बिबिध पाटाहरु खोतले । अशाध्यै रमाइलो गर्नु पर्ने । हाँसेर हँसाएर मुर्छा पार्ने उनी ।
बातचितका क्रममा उनले निकै घत लाग्दा कुरा सुनाए । पूर्व पश्चिम राजमार्गनै पुरा नभएको बेला उनले त्यो बेला स्याङ्जातिर निकै वर्ष बिताएका रहेछन् । मोटर साईकलका यि पारखीले नेपालका गामठाम कावास्तविक कथा र कहानी निकै सँगाले । घरि घरि त्यहि नेपालको कल्पना गरिरहे, हामीलाई त्यहि सुनाइरहे ।
स्विस बैंकमा हाम्रा राजपरिवारका सदस्यको पैसो छ वा छैन । यो विषयमा निकै कुरा सोधियो । डकुमेन्ट्रीका लागि लिएकाले त्यो काम पुरा नभए सबै बातचित यहाँ उतार्नु अन्याय होला । तर उनको भनाईमा यदि नेपाल सरकारले राम्रोसित चासो राख्ने, सक्रियता देखाउने हो भने पछिल्लो समयमा स्विस बैंकहरुले त्यस्तो रकम छ वा छैन् भनेर जाँचबुझ गर्न समिति गठन गरेर जवाफ दिने नीति लिएको सुनाए । तर अमेरिकी वा अन्य कुनै बिदेशी संस्था वा देशले दबाब दिँदैमा स्विजरल्याण्डले त्यसलाई सहजै सार्वजनिक भने नगर्ने स्विस सरकारको नीति रहेको जानकारिपनि दिए । भने “स्विस सरकार कुनै बिदेशीले दबाब सहन्न । स्विस सरकारको बित्तिय नीति अनुरुप राखिएको रकम जायज हुन्छ । अबैध ठहरिन्न । तर राखिएको सम्पत्तीवालाको हक स्वामित्व हस्तान्तरण गर्न भने स्विस सरकारले छनबिन समिति गठन गरेर नेपाल सरकारलाई फिर्ता दिन सक्छ ।”
भुसुक्कै साँझ पर्यो । उनका कुरा जति सुन्यो उति सुनौं सुनौं लागि रहेपनि एडिका केहि बोत्तल स्विस बियर र पिजाको लठि चार्ज पछि बाटो लाग्यौं । ‘बियार हाम्ले खा छम्, लाग्ने चाहिँ नसुँघ्नेलाई हो कि क्या हो ?’ गाडी हाँक्दै गरेका गुनराजजीलाई’ निराजन जिस्काउँथे। निराजनको गाडीको पछि सिटमा जान अघिल्लो सिटलाई अलि अगाडि तानेर त्यहिँबाट छिर्नुपर्ने । ‘दीपक ब्यंग्य ठोक्थे ‘यो अगाडिको सिटलाई लतारेर खुम्चिँदैबाट छिर्नुपर्ने गाडी मलाई पटक्कै मन पर्दैन ।’
‘दाई अब त गाडीपनि आफुलाई मिल्ने गरि हैन, अर्कोलाई मिल्ने, मनपर्नेगरि किनुपर्ने भो’ निराजनले हँसाए । केहि नेपालीका बिबिध कथा र विशेष भोगाई अनि नेपालप्रेमी केहि स्विसका अनुभव सुनेर कैद गर्न आएका हामी बितेका दुई दिन सफल भयौं । स्विस नेपाल डट कमका ति तिन हस्तीहरु गुणराज, निराजन र दीपकको समय, खटाई र लगनशिलता अनि मित्रताले यात्रा सफल हुँदै छ । अब आजको अन्तिम दिन कस्तो हुने हो !














