केहि नगरि ज्यान जाला फर्किए त !

 

 

 

आफ्नो समाज । आफ्नै परिवेश । त्यहि देशले हुर्कायो । बढायो र यहाँसम्म आउन सक्ने बनायो । त्यो सुन्दर कलाक्रिति । त्यो प्राक्रितिक सौन्दर्यता । त्यस्ता विशाल ह्रिदय भएका नागरिक । आफ्ना परिवार । गाउँघर र हुर्के बढेको आँगन अनि पँधेरो । कसरि भुलेर बस्नु ? सबै कुरा त्यागेर गुमनाम बस्नुको के सार्थकता ? होइन हामी त केहि सिकेर उहिँ गएर सामाजिक हैसियत बनाउँछौं । यहाँ त सिप मात्रै सिकेर जाने हो । यसै भन्न थाले ति दुइटीले ।

 

कलाको धारणा भने अलि अलग रहेछ । मत वाक्कै दिक्कै भएर हिँडेकि भन्न थालिन । काठमाडौंमा जागिर गर्दै बसेकि रहिछिन् बहिनीसित । आफ्नै बहिनीसित ठाक्कठुक्क पर्ने । बत्ती छैन । जाडोमा चिसोले सेक्छ । गर्मीमा तातोले डाम्छ । यसो पढौं बत्ती छैन । एक बाल्टी पानी पाउन महाभारत । ग्याँस लिन गयो तिन घण्टा लाईनमा बस्दापनि पाईन्न । यता बम पड्क्यो भन्छन । उता मान्छे मारिए भनेर सुनाउँछन् । एक चोलाको जिन्दगी कहाँ त्यस्तै अकालमा जाने हो भन्ने शुर्ता । टुकीको धिपिर धिपिरमा बल्लतल्ल गरेर पढ्यो कहि कतै त्यो जागिरको गन्धसम्म सुँघ्न पाइँदैन । वाक्कै परेर हिँडेकि रहिछिन लौ पाएसम्म यतै जमेर बस्छु भन्दै । यिनिपनि अब के कसरि क्याम्पस भर्ना हुने होला भन्ने सोधखोज गर्दै थिइन । शुशिला अलि पहिले आएकिले स्वभावैले धेरै जाने बुझेकि अनि तत्कालै सकारात्मक जवाफ दिने रहिछिन शुशीला बहिनी उमेरका दुई संगीलाई आफु मात्रै हौसिने होइन कि साथीहरु कला र अर्चनालाईपनि ढाडसदिने गज्जबको उत्साह रहेछ यिनमा ।

 

फ्रान्स आउने योजना मनभित्र उनेपछि उनीहरु गएछन एजेन्सीमा । त्यहाँ गएर दरखास्त भर्नु पर्‍यो । भाषा पढ्न लगाउँछन् त्योपनि पुरा गर्नै पर्‍यो । कामकै बारेमापनि त केहि तालिम पुरा गर्नुपर्ने हुन्छ । बिभिन्न कागजहरु आदानप्रदान नभई फ्यास्स भिसा लाग्दैन । यि किशोरीहरु एजेन्सीले भनेको समयमा नभएपछि के भो सर हाम्रो कागज ? कता पुग्यो हाम्रो प्रोसेसभन्दै झक्झकाउन जाने रहेछन् । हुँदैछ भन्ने जवाफ एजेन्सीले दिने रहेछ । अनि चलाख किशोरीहरुले दिने रहेछन् गज्जबको जवाफ एजेन्सीलाई तातो लगाउन । “ल है सर, घरबाट बिवाह गर्नु पर्‍यो भनेर पेलेको पेल्यै छन । छिटो गर्नु पर्‍यो । नत्र त  बिहे गरेर जानुपर्ला जस्तो छ”। सरले भने बिदेशमा पढेर, घुमेर, जाने बुझेर, केहि प्राप्ती भएपछि मात्रै बिहे गर्नु पर्छ मिसभन्ने रहेछन्। सरका कमिसन पचाउने लोभी कुरा सुन्यो अनि किशोरी हरु हेर लोभी सरभन्दै मुर्छा परेर हाँस्ने रहेछन् । साँच्चिकै बिहेको कुरा त के हुनु र ! बाबु आमाले धेकेलकै भरमा गर्छन् यस्ता टाठा किशोरीहरुले बिहे ? त्यो सबै प्रक्रिया मिलाए बापत एजेन्सीले खाने रहेछ एक डेढ लाख ।

 

एक हप्तासम्म फ्रान्सेलीका घरमा बसेर फ्रान्सेली भाषा मात्रै बोल्ने र फ्रान्सेली खाना खाने गर्दा आत्तिइछन कला । नेपाली भाषा बोल्न नपाएपछि कोठामा नेपाली गीत गुनगुनाएर धित मार्ने रैछिन । आ साथीभाई सित बस्न नपाको एक हप्तै भयो त हो दाई ! नेपालीसम्म बोल्न पाको होइन।  अनि बौलाउँदैन भन्या मान्छे ? जे परे पर्ला भनेर म त नेपाली गित गाईदिन्छु एक्लैसुनाईन पूर्व सर्लाहीतिरकि कलाले

 

यि तिन किशोरी, अनुराधा र म पाँच जना भयौं । नेपालीमा जमेर गफ गर्दा यिनिहरु ओहो ! आज त काठामाडौं जस्तै लागिराछ भन्या, मलाई त फ्रान्स जस्तै लाग्या छैनभन्दै थिए । कला र शुशिला बोल्नपनि मैना चरा जस्ता । एकदमै बोलक्कड । अर्चना अलि लज्जालु । तर अलिबढि गम्भिर र सहनशिल । खाँदा बस्दाका अप्ठेरापनि सकभर भन्न नचाहने । सुनाएर के हुन्छ र ? भन्ने भावना रहेछ । यहाँ काम लगाउने फ्रान्सेलीलाई संकेत गर्दै यिनले खा खा त भन्छन् तर त्यो प्राक्रितिक होइन, देखावटी होभन्दै थिइन उनी । काम गर्ने मानिस बिरामी पर्‍यो भने तत्काल अर्को मानिस पाईन्न पाएपनि उसलाई केहि समय बुझ्नै लाग्छ । त्यो बुझुन्जेल काम राम्रो हुन्न । राम्ररी नराखे यहाँको कानुनले घेरा बन्दि गर्छ । त्यहि डरलेपनि तिनले माया गरेझैं गर्छन् । त्यसैले त्यो देखावटी जस्तो लाग्ने रहेछ । चलाख छैनन त यिनी ? कति छिटो यो सबै जानेकि ? छुट्टीका दिन साथी कहाँ बिताएर फेरि घरमा पस्दापनि आफ्नो जस्तै नलाग्ने रहेछ ।

 

हामीले साहस दिनकालागि केहि उदाहरण दियौं- नानी हो, थुप्रै नेपाली तिमीहरु जस्तै सजिलोसित यहाँ आइपुग्दैनन । बाबुको नामको जग्गा र आमाका कानका ढुंग्री र बुँलाकि समेत बेचेर भिसाको १२, १३ लाख सम्म तिरेर छिर्छन । तिनका हातमा न कागज हुन्छ, न काम, नत भाषानै । न हुन्छ वास बस्ने ठाउँको ठेगान । न हुन्छ गोजीमा दाम । ति रेलका स्टेशनमा बसेर समेत रात काट्छन् । ति ठगिन्छ, लुटिन्छन्, चुटिन्छन् पनि

 

तिमीहरु कसरि आयौ ? डेढ लाखमा डेढ दुई लाखमा टाक्टुक्कै ! काम गर्ने भिसासहित । बकाइदा बस्ने, खाने, औषधी उपचार र सुरक्षाको प्रत्याभुति अनि पढ्न पाउने अधिकार सहित । यस्तो सजिलो उपाय र किफायती तरिकाले कोहि आएको छैन । अब साहस गर । क्याम्पस बुझ । भाषा पढ । मेहनत गर । अनि गतिलो शिक्षा लिने लामो उद्देश्य राख । साना तिना अप्ठेरा कसलाई पर्दैनन् ? अलिकतिपनि अप्ठेरो नझेलेको जिन्दगीको के स्वाद ? समस्यै नपरे के मजा ? टाईफाई र तमक झमकबाट बचेर मेहनत गर्‍यौ भने राम्रो शिक्षा लिन सकिन्छ । केहि सिक्न, देख्न जान्न, बुझ्न र ज्ञान सञ्चय गर्न कठिन हुन्न । हो, भन्दै उत्साहका साथ मुठ्ठी उचाले तिनले ।

 

एक्कैछिनमा फर्कने हो दाई भन्दै आएका थिए । तर गफ खुब जम्यो । हामीपनि यिनका गफ सुन्न खुबै लोभियौं । अहिलेको किशोर किशोरीका अन्तरआत्मा, सोचाई र भोगाई कस्ता हुने रहेछन् ? त्यो जान्न पनि यिनका धारणा रहर लाग्यो । गफ जम्दाजम्दै साँझ पाँच बज्यो । कलाले नेपालबाट सुकुटी, नरिवल, तितौरा र पुष्टकारी सुस्टकारी ल्याएकि रैछिन । त्यहि पोका पन्तुरा खास्राक खुस्रुक पार्न लागे । सुकुटीको कोसेली टक्र्याए । नानीहरु धेरै नछोड, तिमीहरुले जति धेरै सुकुटी छोड्छौ, त्यति धेरै बोत्तलको काल पल्टिन्छ भन्दापनि मानेनन्

 

ढोका खोलेर निस्कने बेलैमा संझिए साथी भाई ए आम्मा साथीहरुले मार्छन् बाइ ! जाँदा बित्तिकै इमेल गर्नु है भनेका थिए, यतिका समय भयो लेखेकै छैन । क्या रिसाए होलानभन्न थाले आआफ्ना साथी सम्झेर । “त्यो कालीले यहाँ पो ठिक्क पारेकि, यूरोप गएपछि संझिन्छे हामीलाई ? ‘भन्ने हरुपनि होलान । “यहाँ हुँदा पो साथी, यूरोप गएपछि यिनको भाउ बढ्यो, अब के संझिनु नी हामीलाईभन्ने होलान कसैले । भनेर हाँसे, हँसाए । अनि ओहो, होइन अब त ईमेल गर्नुपर्ने भन्दै सुर्ता पनि गर्दै थिए ।

 

यि तिन वटैमा यति उत्साह, इच्छाशक्ति, द्रिढता र केहि गरेर देखाउने अभिलाशा देखिन्थ्यो कि त्यो जान्नपनि उत्सुक भइयो । यिनका कुरा सुन्दा अलिकति बेमोजपनि लाग्यो । यस्ता उत्साही किशोरीहरु हरेक दिन देश छोडिरहेछन । समाज बदल्न सक्ने उत्साह, आँट, तत्परता र ईच्छा भएकाहरु बिदेशमा सामान्य कामकालागि दौडिएर देशको शिक्षित जमात बाहिरिइरहेछ । यिनलाई राज्यले पढाएको त्यत्रो लगानी कहाँ गयो ? यस्ता कर्मठ किशोरीहरु बाहिरिएपछि समाजमा कस्ता मानिसको राइँदाइँ चल्छ ? ओहो, देशमा दिर्घकालिन शान्ति र केहि अवसर मात्रै भैदिएर भोलिको नेपाल यस्तै किशोर किशोरीले डोहोर्‍याउन पाए पक्कै केहि नहुँदो हो ?

 

हिँडेको तिन दिन पछि बिजुलीपत्र पठाए नानीहरुले । धन्याबाद, यता उति सामान्य औपचारिकतापनि हुने नै भयो । तर अर्चनाको बिजुलीपत्र त खतरा पो रहेछ । झलक्क हेर्दा अल् सोझी सोझी लुसि लुसि जस्तो लागेर हुन्छ र ? भित्रि मनमा केहि नगरि छोड्दिन भन्ने महासागरको भेल उर्लँदो रहेछ यिनमा । दाई, जोकोहिपनि नेपाली किन बिदेशिन्छ तपाईनै भन्नुस त । उम्, खोइ भन्नु पर्ने थियो होला । तर आफैंले उत्तर लेखेर उनले मलाई सजिलो पारिदिईन

 

मान्छेको जिन्दगी । न कहिल्यै पुग्छ, न सन्तोष मानेर बस्छ । थप जान्ने, बुझ्ने, प्राप्त गर्ने, हेर्ने र सफलताका सिढीं उक्लने आकांक्षाले मानिसलाई सक्रिय बनाईरहन्छ ।  नेपालमा जे गरेर बसिएको थियो त्यो भन्दापनि बढि जिवनमा केहि प्राप्ता गर्न सकौं । सफल हुन सकौं भन्ने भावना लिएरै आएको हुन्छ तर कसले कति हासिल गर्छ भन्ने कुरा मात्रै फरक हो । यहाँ सम्म त आइयो, । आउने बेलामा यो फ्रान्स भन्ने मात्रै सुनेका थियौ । हामी त अन्धो जस्तै थियौं । अब त धेरै थोरै थाह पाएका छौं । केहि नगरि फर्कँदैनौं । त्यति हिम्मत भने छ दाई । साँच्चिकै हिम्मतीला छैनन् त अर्चनाका कुरा ?

सुशिलाको उद्देश्य यहाँबाट क्यानडा, अमेरिका, अष्ट्रेलियासमेत जाने रहेछ । किन जाने बहिनी यहाँ आइसकेपछि ? ‘हेर्ने, घुम्ने, जान्ने, बुझ्ने, सिप र ज्ञान लिने । त्यसलाई नेपाल गएर सामाजिक हितमा लगाउने । कति चलाख ! उद्देश्य शुशिला र अर्चनाका समान जस्तै थिए धेरै । कहाँ यूरोप भासिने ? हत्, नेपाल जानुपर्छ, त्यहिँ काम गर्नुपर्छ, सामाजिक हैसियत बनाउनुपर्छ । आफ्नै समाजमा केहि गरेर देखाउने अनि प्रतिष्ठा कमाउने

तपाइँको प्रतिक्रिया