हिमाली हिरो सितका ति क्षण
त्यतिखेर नेपाली दुतावासलाईपनि मोरिस हेर्जोगबारे उति जानकारि रहेनछ । केहि नेपालीलाई थियो । ति मध्ये केहिलाई सम्पर्क गर्न सकिएन होलानै, तर केहिले भने सम्पर्क नगरोस् भन्ने सोचले ठेगाना दिन मानेनन् । खोज्दाखोज्दा निकै पछि फोन नंबर फेला पर्यो उनी संलग्न संस्थाको । फोनमा उनको निजि सचिवसित भेट भो । नेपालीले भेट्न खोज्या छन् भन्ने सुनेपछि हेर्जिक अचम्मित भएछन् । अझ उनको बारेमा चासो राखेर किताब लेख्न खोज्दै छ भन्ने जान्दा झन अचम्म लागेछ । केहि फ्रान्सेली पत्रकारले भनेका थिए ‘ओहो एरिक भाली र मोरिस हेर्जिक त बहुत अप्ठेरा, रुखा मान्छे हुन् नेपालबारे जानकारि हुने मध्ये ।”
भेट्न जाँदा उनी आफैं ढोका सम्म आए । ठुटे हात दुबै जोडेर नमस्कार गरे । पुरस्कार, सम्मान र उपहारले भरिभराउ कोठाको एउटा कुर्सीमा लगेर राखे । केहि बेर अनौपचारिक कुरा गरे । सोधे, कति भो पेरि आएको ? कसरि सिकेको फ्रान्सेली भाषा ? कुन ठाउँमा हो घर नेपालमा ? तर उनको बोली त्यो बेलानै लत्रिसकेको थियो । उनी जोस्सिन खोज्थे । तर एकैछिनमा थाक्थे बोल्दा बोल्दै । रपनि उनले सकिनसकि उनको आरोहणबारे बोले ।
सन् १९५० को नेपाल । राणा प्रधानमन्त्री (महाराजा भनिन्थ्यो रे त्यो बेला) मोहनशमशेर जंगबहादुर राणाले हिमाल चढ्ने अनुमति दिएका थिए उनको टोलीलाई । त्यसबेला के हुने नेपालमा ? केहि थिएन । न सडक । न यातायात । पुरै जंगली युग जस्तो लाग्ने गोरेहरुकालागि । सामान केहि नपाइने भएपछि फ्रान्सदेखिनै टनका टन सामान लगेका । त्योपनि निजि विमानमा । विमान ओराल्ने ठाउँ नभएर दिल्लीमै छोडेर नेपाल गएका । तिन चार सय भरियाको लस्कर । दिल्लीबाट गोरखपुर हुँदै उनको भाषामा बुद्दको जन्मस्थलदेखिनै हिँडेर अन्नपूर्ण हिमाल पुगेका । ओहो त्यो बेलाको नेपालबारे उनैको मुखबाट सुन्दा मलाई नाटक जस्तो लाग्दै थियो । हामी नेपालीलाई सुन्दा त त्यस्तो लाग्ने । उनी भोग्ने, भारतदेखि पैदल गएर त्यो बेला आठ हजार मिटर अग्ला हिमाल चढ्नेलाई कस्तो अनुभुति भयो होला ?
त्यो क्षेत्रमा आफुहरु पहिलो पश्चिमेली भएकोले कोहि गाऊँभरिबाट झुम्मिँदै आएर नमस्कार गर्ने त कोहि लौ अनौठो जिव, यस्तो सेतो न सेतो जिव के हो भनेर भाग्ने रहेछन् डरले । कोहि आएर हत गोडाका छाला छाम्ने रहेछन् ।
काली गण्डकीको तिरैतिर उनीहरु पुगे अन्नपूर्ण हिमाल । शेर्पाहरुलाई बन्दोबस्त मिलाएका थिए फाँसिस द नोइयलले । उनी त्यो बेला भारतस्थित फ्रान्सेली दुतावासमा कार्यरत । अलिअलि हिन्दी भाषापनि जान्ने भएकोले पनि उनले शेर्पाहरु खोज्ने, बाटो चिन्ने र राणा प्रधानमन्त्रीसित अनुमति लिने काम गरेका । अहिले जस्तो सहज थिएन त्यो बेला । कुनै बिदेशी किन पस्यो नेपाल भनेरपनि चियो चर्चो र कडाई हुन्थ्यो । त्यसैलेपनि नेपाल पस्न उनीहरुले ज्यादै मेहनत गर्नु परेको थियो ।
त्यतिबेला अहिले झैं नक्शा पाइँदैनथ्यो । नेपाल भन्ने नाम समेत छुटाएका हुने रहेछन् कतिपय नक्शामा । झन बाटो कस्तो, कसरि जाने ? कति मिटरसम्म पुग्दा कस्तो छ ? कता छल्ने, कुन मोहडामा च्याप्ने ? कुनै जानकारि बेगर उनीहरु बेसुरमा गए । चढे । तर संगै गएका समूहका नौ जनामध्ये लास्नाल र हेर्जोक घाईते भए ।
हिउँले खाएर हेर्जोकका दुबै गोडा गुमे । कुर्कुच्चाको अलिकति भागबाहेक सबै हिउँले खायो । उनले सबै देखाए । त्यहि आरोहणले उनलाई जिवनभरकालागि अपांग बनाइदियो । विश्वभर चिनिएपनि । एकैचोटी संसारभरि फैलियो ‘लौ मानिसहरु हिमालयमापनि पुगे रे, आठ हजार भन्दापनि अग्लो हिमाल चढे रे, त्यो नेपाल भन्ने देश हो रे ।’
उनी नेपालका धेरै नै ठाउँ पुगे । तर तारिफ चाहिँ त्यहि अन्नपूर्ण क्षेत्रकै गर्थे । ‘कालिगान्दाकी’ भन्थे काली गण्डकीलाई । लेते सबैभन्दा मन पर्ने थलो रहेछ । पछि उनले ‘मों रनेसँस आफ्रे लान्नपूर्ना’ अर्थात् ‘अन्नपूर्णको आरोहणपछि मेरो पूनर्जन्म’ भन्ने किताब लेखे । त्यसमा त ‘आफूलाई अन्नपूर्णको लेतेमा मर्न मन लागेको भन्ने पो उल्लेख रहेछ । यो देख्दा त एकछिन् मलाई औधी दुख लाग्यो । गर्वपनि भो । फेरी गएर हेर्ने कौतुहलतापनि जाग्यो, लेते कस्तो ठाउँ रहेछ ।
पछि नेपाल र फ्रान्सको कूटनितिक संबन्ध बिस्तारको कार्यक्रममा भेट भयो । उनलाई सम्मानित गर्ने कार्यक्रम थियो । उनी आए । सोफामा बसे । चिने, तर बोल्न सकेनन् । पटक पटक हेरिरहेपछि मैले गएर बोलाएँ, भनें कहा कसरि भेटेको । पछिल्लो किताब हस्ताक्षर गरेर पठाइदिएकोमा धन्यवाद दिएँ । कार्यक्रममा उनले आफु सधैं नेपाल र नेपालीको असल मित्र रहेको । नेपाल आफ्नो दोस्रो घर रहेको बताए सकि नसकि । उनकि पत्नीले मलाई घरमा भेट्न बोलाएकि थिईन् । गफ गरौंला नेपालका बारेमा, मोरिस हेर्जोकका बारेमा भन्दै । हस हस् भनें ।
करिब एक महिना अघि मेल पठाएको थिएँ । उनकि सचिवले होला, उत्तर लेखिन्, ल डिसेम्बरको तेस्रो हप्ता होला । त्यो बेला फ्रान्सेलीहरु क्रिसमसमा रमाउने भएकोले सम्पर्क कम हुन्छ । फुर्सद निस्किन्छ । उनकी पत्नीले मैले खिचेका केहि तस्विर मागेकिपनि थिईन् । त्यहि भेटमा लगेर दिउँला भनेर केहि फोटापनि छुट्ट्याएँ । तर बिहिबार रातीनै उनी बितेछन् । शुक्रबार बिहानै खबर आयो, मोरिस हेर्जोक बिदा भए यो संसारबाट भन्दै । उनी त बोल्न सक्ने अवस्थामा यसै थिएनन्, तर हेरौंला नजिकै बसेर । उनको कक्षको निगरानी गरौंला । उनका अन्य अनुभवहरु उनकी पत्नीबाट सुनौंला उनैलाई साक्षी राखेर भन्ने योजना थियो । तर मर्न नसकेको त्यो मोरो कालले त्यो मौका जुर्न दिएन ।
अहिले पो लागिराखेको छ, पुस्तक लेख्ने कामले खुशि मात्रै दिने होइन रहेछ । दुखिपनि बनाउने रहेछ । मैले उनलाई नेपालमा विशेष योगदान गरेका, नीपालका विविध क्षेत्रमा अनुभव र विशेषज्ञता हासिल गरेका फ्रान्सेलीको अनुभव उतारेर किताब लेख्ने उद्देश्यले भेटेको थिएँ । अहिले त्यहि मेरो किताबका एक पात्र उनी बित्दा पीडा पो भयो त !
तलका संवन्धित ब्लगपनि हेर्नुस्
यस्तो पो रैछ ६० वर्ष अघिको नेपाल ?




