किन बस्छस मेरो देशमा ?

गुमनाम (द्धितिय)

एउटा मान्छेको कामले सारा देशको प्रतिनिधित्व गरेको हुँदो रैछ र एउटा देशको छबिसँग त्यो देशका सबै नागरिकको प्रतिष्ठा जोडिएको हुँदो रैछ । यसबारेमा मेरा केही नीजि भोगाईहरु छन् । केही दिन अघि मैले बाटोमा बुल्गेरियनहरुको एक हुल देखें । टाढैबाट चिनिन्छन् ती । साथै, उनीहरुको पछाडिबाट खिचिएको फोटो राखेको छु लेखमा । कोकाकोलाको बोत्तलमा रक्सी हालेर पिउँदै थिए, केही महिला अनि पुरुष । मैले उनीहरुका हरेक गतिविधी नियाल्दै गएँ । संभ्रान्त जस्तो मानिसको अघि एउटा महिला गएर रुँदै भनिन– ‘घरमा सानो बच्चा छ, खानेकुरा छैन्, पैसा दिनुहोस ।’ ति मानिसले १ युरो दिए । तत्कालै मगन्ते महिलाले ५० सेण्टको कफी पिइन् । ति महिलाले पैसा माग्न एउटी महिला छेउ पुगेर त्यही कथा दोहोर्‍याईन ।

उनले पहिले सोधिन – कहाँबाट आएको ? घरमा को को छन् ? काम छ कि छैन ? कहाँ बस्ने ? सबै जानकारी लिएपछि महिला पड्किन थालिन – ‘यि बुल्गेरियन र रोमानियन सबैको कथा एउटै हुन्छन् । पाए मागेर नपाए चोरेर खान्छन । काम गरेर खाने उमेरकाहरु तरुनीहरु लाजै नमानी माग्छन् । मागेर खाने भए किन मेरो देश आएको ? किन यहाँ बस्ने ? आफ्नै देशमा फर्केर जाओ । काम नगर्नेलाई म घृणा गर्छु ।’ लुत्रुक्क परेर मगन्ते महिला अर्कोतिर लागिन् भने उनका साथी हुन वा आफन्त त्यही ठाउँमा थिए ।

हल्का पानी पर्न लाग्यो । समूहको एउटा बुल्गेरियनले बाटो हिँड्नेलाई सोध्यो ‘छाता बेच्छस एक युरो दिन्छु ।’ अर्को बुल्गेरियनले उभिईरहेको एउटा मासिनलाई सोध्यो– ‘मोबाइल बेच्छस, दस युरो दिन्छु ।’ हातमा मोबाइल खेलाईरहेको मान्छे रिसले आगो भयो । भन्दैथ्यो – मलाई बुल्गेरियन चोर संझिस कि क्या हो, सय युरोमा किनेको फोन हो । रिसाउँदै त्यो मानिस बाटो लाग्यो भने बुल्गेरियन चुप रह्यो । केही घण्टा पछि मलाइ ‘फेरी’ चढेर कतै जानु पर्ने भयो । फेरि देख्छु तिनै बुल्गेरियनका हुललाई सुरक्षाकर्मी डण्डाले लखेट्दै थिए । उनीहरु टिकट नलिई अर्को शिशाको ढोकाबाट छिरेर फेरी चढ्न लागेका रहेछन र सुरक्षाकर्मी तिनलाई लखेट्दै थिए । वरपरका मानिस भन्दै थिए यस्तो दृश्य दिनहुँ देखिन्छ ।

एकै हातका पाँच औला बराबर हुँदैनन । एउटै देशका मानिस सबै एकै हुँदैनन । तर म जुन देशमा बस्छु त्यो देशमा बुल्गेरियन र रोमानियनहरु प्रति एकदम नकारात्मक धारणा छ । केहीको आचरणले गर्दा देशकै बदनाम हुँदो रैछ । मेरो एउटी सहकर्मी थिइन कामी नामकी । उनले मलाई आफ्ना सबै पृष्ठभूमि बताइन । तर राष्ट्रियता कहिल्यै बताइनन् । मैले सोधखोज पनि गरिन् । केही महिना पछि अर्को सहकर्मीले भन्यो – रोमानियन हो, के देश भन्थी ।

केही वर्ष अघि इटालियन सरकारले आयोजना गरेको शरथार्णी बचाऊ सम्वन्धी कार्यक्रममा भाग लिने मौका पाएको थिएँ । परिचयात्मक कार्यक्रममा सबैले आफनो नाम, पष्ठभूमि र गरेको कार्य भन्नुपर्ने थियो । नाइजेरियाकी सहभागीले सबैभन्दा पहिले भनिन – मलाई लाग्छ यहाँहरुले नाइजेरियाको बारेमा नराम्रो कुरा सुन्नु भएको छैन । त्यसपछि मात्र उनले आफ्नो नाम र पृष्ठभूमि बनाइन् । आफ्नो देश नाइजेरया हो भन्नु भन्दा उनले पहिले नाइजेरियाको बचाऊ गरिन् ।

नेपालबाट शान्ति सेना गएको एकजना साथीले कङ्गोको जातिय युद्धको फोटो ल्याएको थिए । एउटा सम्प्रदायको मानिसले अर्को सम्प्रदायको मानिसको टाउको र हातखुट्टा काट्दै गरेको । हेर्न पनि नसकिने विभत्स । केही दिन अघि कङ्गोकी काली (वर्ण होइन मन) भेट भइन् । उनले “नेपालमा द्धन्द्ध थियो नि । त्यो के भैराछ ” भनेर सोधिन । मैले पछिल्लो स्थिति बताईदिए । कङ्गोको बारेमा मैले आफूले देखेको फोटो बताएपछि उनी बौलाइन् । हामीलाई राक्षस भनेको ? त्यो नेपाल भन्दा कङ्गो धेरै धनी छ । सुन छ, हिरा छ, कुन्नि के……भनेर उनी फलाक्दै थिइन् । म लुसुक्क उठेर हिंडेँ । मन काला भएका कालीहरु मैले धेरै ब्योहोरेको छु । कति सम्म आक्रामक, हिंसक र लाज पचेका हुन्छन भन्ने मलाई थाहा छ ।

केही महिना अघि मेरो एउटा साथीले ‘नेपाल घुम्न जान्छु ‘ भन्यो । लौ जा न त भनेर काठमाडौंमा रहेको साथीसँग सम्पर्क गराइदिएँ । काठमाडौं ओर्लन बित्तिकै उसले माउण्ट एभरेष्ट देखें भन्यो । मैले भनें ‘माउण्ट एभरेष्ट होइन जुगल हिमाल’ होला भने । उसले भन्यो “त्यो माउण्ट एभरेष्ट जतै उचाईको थियो । र दुगन्ध आइरहेको थियो । ” प्रायः विदेशीहरु अरुका नकारात्मक पक्षका बारेमा बोल्दैनन । तर उसले यसरी ब्यंग्य कसेर भन्यो कि त्यो फोहोरको थुप्रो रहेछ भनेर जान्न मलाई समय लागेन् ।

काठमाडौं लेखिएको टिसर्ट लगाएर ऊ देश फर्किएको रहेछ । वासिङ मेसिनमा टिसर्ट हालेर निकाल्दा सबै लुगा हरिया । ऊ भन्दै थियो – मेरो काठमाडौं यात्रा थप २ सय युरो महङ्गो भयो । २ सय बराबरका उसका लुगामा रङ लत्पतिएका थिए । जसले टिसर्ट बेचेपनि जसले फाहोर फालेपनि त्यहाँ राम श्यामको नाम जोडिएको थियो । जोडिएको थियो त समग्र नेपालीको पहिचान । उसको ब्यंग्यमा मुख अमिलो बनाएर हाँस्नु बाहेक अरु बिकल्प थिएन् ।

अन्त्यमा : धन्य ऊसँग अध्यागमनमा घुस मागिएको थिएन र उसको झोला सकुसल थियो । यी दुईबाट बचाउने उपाय पनि छ । झोलालाई बाहिरबाट नाइलनको डोरीले बाँध्ने र आफ्नो ठेगानामा ग्रिस, स्पेन वा पोर्चुगल लेख्ने । एअरपोर्टमा झोला अप्रेसन हुनबाट जोगाउने यो भन्दा अरु आइडिया मसँग छैन् ।

तपाइँको प्रतिक्रिया