क्या साहसी किशोरीहरु

kala-rachana-shushila-002              (दाहिनेबाट क्रमश: शुशिला ठकुरी, अर्चना तुलाधर र कला राई)

यि तिनै जनासित खासै परिचय थिएन । शुशिला नेपालप्लसमा आक्कल झुक्कल कविता र गजल लेख्थिन । प्रत्यक्ष भेट त के पत्राचार सम्म नभएको । उनलाई आगामी आईतबार मार्च ८ मा हुन लागेको महिला कार्यक्रमका लागि सम्पर्क गर भनेर ईमेल गरिएको थियो । अनि गत आइतबार शुसिलाले फोन गरिन । साथमा उनका अन्य दुई साथी रहेछन् कला राई र अर्चना तुलाधर । तालै तालमा ओ बहिनीहरु भेट्न आउने होइन ?’ भनेको त लौ खानै खानेगरि आउँछौं त भने । अति खुला रहेछन भन्ने लागिहाल्यो । घर कसरि पत्ता लगाउने त ? फलानो बाटोबाट खुरुखुरु आउनु, जुन घरबाट सुन्तलाले टाउकोमा हिर्काउँछन् त्यहि हो भन्ने जवाफ दिँदा शुसिला हाँसेर मुर्छा पर्दै थिईन । झ्यालबाट टाउको निकालेर हेर्दै थिएँ । मुसुमुसु हाँसे मलाई देखेपछि । किन हाँसेको ? जवाफ दिए-नेपाली नेपाली वासना आयो त्यहि भएर। क्याहो नानीहरु त ठ्याम्का ठ्याम जवाफ दिन्छन् बा !

 

 

 

उनिहरु घर भित्र पस्दा धुप बाल्दै थिएँ म । बाहुनको घर । पूजापाठ गरेको होला भन्ने परेछ । भान्छामा पस्नपनि पाइँदैन कि भन्ने लागेछ शुसिलालाई आफु ठकुरी भएकाले हो कि ! । सोधिन दाइ भन्छामा पस्न हुन्छ ? ‘कहाँ हुने नी, हुन्नजवाफ दिएको त ए ! भन्दै पछि हटिन । आ, ठट्टा गरेको पो त, आजकालको जमानामापनि जातपात हेरिन्छ र ? खुब हाँसे। यि किन यति धेरै हाँस्छन हँ । के यि बहिनीहरु सधैं यसैगरि हाँस्छन त ? कि लामो समयसम्म हाँस्न नपाएर हो ? हाँसो ट्यांकि एकै चोटी खुलेको ।

 

बस्दा बित्तिकै, ल बहिनी हो के खाने त ? भनेर सोधियो । कला चाहिँ आएको सात दिन भएको रहेछ । नुडल बनाउँ छिटो छरितो ? कि भातै ? कलाले अर्को साथीको कानमा यस्सो ढल्किएर ओ ए, भात भनौं न भात भनिन । मैले सुनिहालें । किन खुसुक्क भन्नुपर्‍यो, मलाईनै दाई भात खाने भनेर सिधै भने भैगोनीभनेको असाध्यै घत लागेछ मरिमरि हाँस्न थाले ।

 

के खाने त ? गुन्द्रुक र भात ? वाह ! गुन्द्रुक पाइन्छ यहाँ भन्छन् । अँ गज्जब मिठो पाइन्छ । लौ त्यहि खाउँ न । कत्ति भयो नखाएको, कस्तो खान मन लागिराछभन्न थाले । गफपनि चल्दै गए । फ्रान्सेलीका घरमा भात खाँदैनन हत्त पत्त । तिनका खाना पोसिला त हुन्छन् । तर दाल, भात, अचार, चिउरालाई हिमचूली झैं ठ्ड्याएर खान पाइँदैन । अलिकति खायो पुग्यो । त्यतिले नेपाली पेट के मान्नु । हार, हुर ङ्याँर ङुँर कराई राख्ने रे पेट त । भात आक्कल झुक्कल पकाएपनि माड फालेर पकाउँछन । के स्वाद हुनु ? तरकारी सरकारी हुने होइन, दाल पाक्ने होइन । न खुर्सानी, न घ्यूले झ्वाइँय पार्दै झानेको । नेपाली जिब्रोलाई त्यसले के छुनु, झन लाटो हुने ।

 

कला नेपालबाट आएको एक हप्ता मात्रै भएको रहेछ । त्यो हप्ताभरि भात खान नपाएकि ! लाटी भैछन ति त । राता राता खुर्सानीका ढेँडी लिएर बसे । करप्प करप्प पार्छन् बडा स्वादले । त्यो उमेरका केटीहरुले त्यस्तरी खुर्सानी खाएको कमै देखेझैं लाग्थ्यो मलाई । भात खाँदा खाँदै ए, कस्तो कस्तो भयो, झुम्म पार्‍यो पो भन्न थाले । धेरै दिन नखाएर एक्कासी भात, पिरो र अमिलो गुन्द्रुक पर्दा त पेटले हँ, के गडबड भयो भन्ने सोचेछ क्यारे ! आन्द्रा धेरै हाँसेर तन्केका पो थिए कि !

 

अलि खान पर्छ बहिनी भनें कलालाई । ए, त्यो कुइरेलेपनि त्यसै भन्छ मलाई । खा, खा, भन्छ रे । तिमी धेरै पातली छौ भन्ने रहेछन् गोराहरु । कला कति चम्बु ? ए खा, खा भन्दै बेस्सरे खुवाएर मोटो बनाएसी बेस्सरि काम दलाउँला भनेर होला हैन तैले ? भन्ने रहिछिन मन मनै । असाध्यै हसाईन तिनले । ति आएको हप्ता दिन मात्रै भएको रहेछ । दाई, बत्ती कहिल्यै नी जान्न है याँ भनिन । खोइ हामीले त एक पटक पनि थाहा पाइएको छैन क्यारे भन्दा अचम्म लाग्ने रहेछ । कागको फूल चोर्ने कोइली जस्तै टाठि । यता र उति खुब पल्याक प्लुक भैरहेका थिए तिनका जिज्ञासु आँखा । उनमा पेरिसको रमझम हेर्ने धित अझै बाँकि नै देखिन्थ्यो । 

 

यि तिनै जना तिन थरीका । शुसिलाका कुरा सुन्दा कहिलेकाहिँ मुक्केबाज जस्तो लाग्ने । यति कडा, सफा, स्पष्ठ कि आम्मामा ! बाबुलाई बा ! म स्टाफ नर्स पढ्छु भनिछन । कहाँ त्यति टाढा काठमाडौं गएर पढ्ने ? पढ्ने भए यहिँ धदिङबेशीमा गएर पढ । नपढ्ने भए नपढ भनेपछि तिनका बर्मन्ड ताते । ए, काठमाडौं गएर पढ्न नहुने ? वाह ! लौ त बा तिम्रो पैसो चाहिएन, धादिङबेशीमा पढिन्न भन्दै पुइँकिछन् । काठमाडौंमा आफ्नै बल र बुताले जागिर खाँदै के के पढिन कुन्नी । अनि शुरु गरिछन बिदेश गएर केहि सिक्छु भनेर । हरेक दिन ठोकेपछि जाबो पहाड त सम्म पार्न सकिन्छ । बिदेश आउन त के ।

 

पासपोर्ट बनाउने बेला बाबुको नागरिकता मागेछ जिल्ला प्रशासन कार्यालयले । बाबुलाई बुवा मलाई तपाईको नागरिकता चाहिएको छभन्दै लगेर पासपोर्ट निकालिछन । मुख्य कुरा बाबुलाई खुलाईलनन् । सारा कोसिस गरेर काम गर्ने भिसा मिलाईन । आफैंले कमाएको धनले बिमानको टिकट र पाकेट खर्च स्वरुप केहि डलर लिईन । अनि धादिङबेशीबाट काठमाडौं गएर पढ्न अस्विकार गर्ने बाबुलाई सुनाईन-बा, त फ्रान्स जान लगेको, यि टिकट, यि भिसा।  हँ, के, हैन के भन्छे यो ? सातो गएन बुढाको ? सायद उनको मनमा ज्वालामुखि त्यहि बल्यो । दिमाखमा उतिखेरै १५ रेक्टरको भूईचालोले कम्पन गरायो । हुनत कलालेपनि कसैलाई केहि नभनि भिसा र टिकट हात पारेपछि मात्रै घरमा सुनाएर झस्किने बनाइदिईछन ।

 

 

शुशिलाको सपना रहेछ-ब्रिद्द ब्रिद्दाहरुको सेवा गर्ने । एउटा यस्तो ब्रिद्दाश्रम कि जहाँ वरिपरि हेला गरिएका, कोहि नभएकालाई ल्याएर राख्ने । तिनका गफ सुन्ने, सुनाउने । स्याहार सुसार गर्ने । जिवनका अन्तिम दिनहरुलाई थप कष्ट हुनबाट छुट्कारा दिने । आफुले पुण्ड्य कमाउने । यसैमा खुसि हुने, रमाउने । त्यसैलाई जिवन ठान्ने । क्या सुन्दर बिचार ! कस्तो महान सोचाई ! अहिलेका पिंढी हा हु, टाइँ फाईँमा लाग्छन । मोजमस्तितिर दौडिन्छन् । स्वतन्त्रता र दामको लागि पश्चिमी मूलुक हानिन्छन् भन्ने सोच्छन् धेरैले । तर त्यो अनुमानलाई हावा खुवाउने रहेछ यिनको धारणाले ।

 

कसरि बनाउने त ब्रिद्दा श्रम ? कसले दिन्छ दाम ? कसैले दिँदैन । मुठ्ठीमा ताकत, मनमा उत्साह र ह्रिदयमा मायाको भारी बोकेकि छु भन्ने संझिएर बिदेशमा काम गरेको पैसाले ब्यक्तिगत लगानीमा खोल्ने । कहिले पूरा होलान त नानी तिम्रा यस्ता सुन्दर सपना ? के दाई ? काम गरे के हुँदैन ? म कमाउँछु नी रे !! ल लाल सलाम, जय नेपाल, इन्सल्ला ! पुरा होस तिम्रो सपना भनें । साँच्चिनै त्यत्रो द्रिढता हो भने पुरा भएरै छोड्छ त्यो सपना । आएको दुई वर्षका लागि । पैसापनि पढाई लेखाई र सिप ज्ञान आर्जनमै खर्चिएकि रहिछन् । काम छोड्नासाथ यहाँ क्याम्पस पढ्ने मेसोपनि बुझेर ठिक पारिसकेकि । (बाँकि अर्को अंकमा)

तपाइँको प्रतिक्रिया