को हो नेपालप्लस बन्द गराउने ? ल हेरौं त !

हिजो बेल्जियममा पत्रकारहरुको प्रशिक्षण कार्यक्रम थियो । बीबीसीका पत्रकार रवीन्द्र मिश्र र इला शर्माले प्रशिक्षण दिए । त्यहि मेसोमा  रवीन्द्र मिश्रले परोपकारी सेवाका लागि कोष खडा गर्न आर्थिक सहयोग बटुल्ने मेसो मिलाउँदै थिए । केहि पत्रकार कार्यक्रममा आए । आआफ्नै ढंगले बिचार बिमर्श हुँदै रहेछ । बेल्जियममा धेरैको मुकुण्डो उतारिदिएको छ, नेपालप्लसले । त्यसैले तिनको न निन्द्रा छ, न चईन । उनीहरु आफ्ना कर्तुतहरु ढाक्न नेपालप्लस बन्द गराउनु पर्‍यो भन्दै हिँडेका रहेछन् । त्यहाँ एक जना ब्यापारीले नेपालप्लस बेल्जियममा कसरि हेर्न नमिल्ने बनाउने ? लौ न यसलाई बन्द गराउन सकिन्न ? भन्दै हारगुहार र आक्रोश पोखेछन् । उनले त्यस्तो अक्किल निकाल्न बिभिन्न ब्यक्तिसित सोधपुछ गर्दै हिँडेका रहेछन् । आज केहि मित्र र बेल्जियम निवासीको फेसबुक स्टाटसबाट जानकारि भयो ।

म के चुनौति दिन चाहन्छु भने यो ब्लग, रुन्चे, पिलन्धरी, कुखुरे मुटु भएको, ठग, पदका लागि ज्यान फाल्नेले चलाएको होइन । यो एक हिम्मत, आँट, धैर्यता, तत्परता, चुनौति र कलम बोक्दा खेप्नेपर्ने धाक धम्की र धमासलाई चिर्ने अदम्य उत्साह बोक्नेले चलाएको हो । यस्ता पिलन्धरे बकबास आज भन्दा दशक अघिदेखिनै मैले भोग्दै आएको हुँ । अबपनि सहर्ष स्विकार्छु । बरु अँध्यारो कोठा र विषयबाहिर अनि सामाजिक कार्य जस्तो दानको भावनाले प्रेरित मानिसहरुको भिडमा होइन हिम्मत छ भने ददि सापकोटासित सिधै टक्कर लिन चुनौति दिन्छु । हैन भने एकातिर आफुलाई ब्यापारी भन्ने । समाजसेवी भनेर कुर्लिने र अर्कोतिर मेडियालाई बन्द गराउँछु भनेर ढुंगे युगको सपना देख्नेले सोचे हुन्छ, तिमिजस्ता पिलन्धरेको हजारौं जमातलाईपनि म परास्त गर्ने छु ।

बिदेशमा हजारौं पाठकको प्रिय बनेको एउटा मेडिया बन्द गराउँछु भन्दै हिँड्नेहरु समाजसेवी हुन सक्दैनन् । समाजसेवा तिनको मुकुण्डो हो । आफुलाई चित्त नबुझे खण्डन छपाउनु, प्रेस काउन्शिलमा उजुरी हाल्नु, सञ्चालकसित गुनासो गर्नु, छलफल गरेर टुंग्याउनु वा कानुनी उपचार खोज्ने बिकल्प छँदै थिए । त्यो गर्ने हिम्मत र नैतिक आधार नभएपछि आफ्ना थप कर्तुतहरु छोप्ने मनशायले सञ्चारको माध्यमलाईनै बन्द गराउन खोज्ने उद्देश्य कुन योजना र स्वार्थबाट प्रेरित हो ? सञ्चारबिना एक मिनेटपनि बस्न नसक्ने आजको समयमा नेपालप्लस बन्द गराउने षडयन्त्रका तानाबाना बुन्दै हिँड्नेको ध्येय के हो ?

नेपालप्लस कुनै ट्राभल एजेन्सीको, कुनै एक ब्यक्तिले न्वारन र पास्नी गरेको फोटो मात्रैमा सिमित होइन । यो विश्वमा रहेका कम्तिमा १०२ मुलुकका नेपाली र नेपाली सिक्ने, बोल्ने अन्य बिदेशीले, सोध र अनुसन्धानकर्मी, पत्रकारिता सिक्ने र युरोपको नेपाली र नेपालसित सरोकार राख्ने प्रतिष्ठित ब्यक्तिहरुले पढ्ने ब्लग हो । त्यसैले नेपालप्लसका पछाडि ददि सापकोटा एक्लो छैन । हजारौं समर्थक, पाठक र मित्रहरु छन् । यस्ता दुस्साहस बिगतमापनि खेप्दै आएको हो नेपालप्लसले। यसलाई जसले बन्द गर्ने दुस्साहस गर्छ त्यसलाइ तोड्न थुप्रै नेपालीहरु उत्रिने छन् भन्नेमा मलाई पटक्कै शंकासम्म छैन ।

नोट गरेर राखे हुन्छ, यस्ता सयौं धम्कि र षडयन्त्रलाई मैले धोती लगाइ दिईसकेकोपनि छु । अबपनि त्यसकालागि हरेक दिन कलमको निव उचाल्दा त्यो मानसिकता तयार गराएको हुन्छु । बरु यस्ता धम्किसित डराउने होइन कि अझै खोजेर पर्दाफास गर्ने छु । कानुनले बन्द गरे कानुनी उपचार होला नै । नत्र यस्ता धम्कीहरुले मलाई बिचलित गराउँदैनन् कि अझ उर्जा थप्छ । फटाहाहरुको मुटु काम्नेगरि दह्रोसित लेख्न सकेकोमा आज फेरि मलाई आनन्दको अनुभुति भएको छ । यसको यात्रामा साथ दिने सबै मित्र, पाठकहरुमा म धन्यावाद दिन चाहन्छु ।

तपाइँको प्रतिक्रिया