फ्रान्सबाट त वर्षिने भो नी एनआरएनको संयुक्त लगानीमा !

एनआरएनले जल बिद्दुतमा लगानी गर्ने भन्ने हल्लाखल्ला निकै चल्यो । धेरै नेपाली यस विषयमा कुहिरोको कागमा फसेका । लगानी गर्नु राम्रो त हो, तर करिब डेढ दशक पछि मात्रै मुनाफा दिने क्षेत्रमै लगानी गर्न किन एनआरएनको जोडजुलुम त ? यसका धेरै भित्रि पाटा थिए र अझै छन् पनि । यस पटक यसैको जिज्ञासा मेट्न, लगानीकर्तालाई आकर्षित गर्न, लागेका जिज्ञासा मेट्न आए, एनआरएन युरोप संयोजक कुमार पन्त । छलफल स्थल पुग्न धेरैलाइ हम्मे हम्मे परेको रहेछ । किनकि यो सहज स्थलमा थिएन । तरपनि संयुक्त लगानीको बहस शुरु नहुँदै पुगियो । लगानीका बारेमा संभावित ब्यक्तिहरुलाई एनआरनले बोलाउन, निम्त्याउन नसकेको हो कि के हो । वा यस विषयमा चासो नभएर हो । नपत्याएर हो । लगानी गर्न फ्रान्सबासी यि यि मानिसहरु अघि सर्लान् भन्नेहरुको नाम यस्सो अनुमान लगाइने मध्ये न्युनमात्रै उपस्थित भए ।

तर जे जस्ता जिज्ञासा आए, कुमार पन्त सहज रुपमा प्रस्तुत भएर दिए जवाफ । शुरुमै कुमार पन्तजी ले एकछिन भलाकुसारी गरे । प्रत्यक्ष चिनाजान बल्ल भयो । उनले ‘थानेश्वरले तपाईका बारेमा धेरै कुरा सुनाएका थिए’ भन्दै कुरो अघि बढाए । उनले कुराकानी शुरु गर्दा एकछिन सुनियो । लगानी गर्नेले नाफापनि हेरिहाल्छ । जलबिद्दुत नाफामुलक क्षेत्र भएकालेपनि एन आर एनले लगानी गर्न खोजेको । मुनाफा धेरै वर्ष खान पाइने । लगानीको मुनाफा पक्का आउँछ भन्ने निश्चित भएको । नेपालमा बत्तीको समस्या चर्को, निस्पट्ट अँध्यारोमा बाँच्ननेपालीहरु बाध्य भएको । लगानी गरेकोपनि देखिने । बिदेशमा बस्ने सबै नेपालीलाई सहभागि गराउनपनि पाइने । र सरकारले जल बिद्दुतको क्षेत्रमा लगानी गर्दा आम्दानीको स्रोतपनि नखोज्ने भएकाले जल बिद्दुतमा लगानी गर्न एनआरएन कस्सिएको तर्क राखे । तर उनले हाकै भनेका थिए, ‘म बिद्दुत र जलस्रोतको बिज्ञ त हैन । तर विशेषज्ञहरुसितको छलफल, एनआरएनको ज्ञान र जल बिद्दुतमा लगानी गरेर केहि ज्ञान र मुनाफा समेत लिइसकेकाले मात्रै सिमित ज्ञान बाँड्न चाहन्छु ।’

एक छिन उनका सुनेपछि केहि यक्ष प्रश्न बिछ्याउन मन लाग्यो । मैले सोधें, जल बिद्दुतमा लगानी गर्ने भनेर हुटहुटी त लगाउंदै छ एनआरएनले । तर के पीपी आर बनिसकेको हो ? हो भने त्यसको रिपोर्ट खै ? नेपालीलाई देखाउनु पर्दैन ? निश्चित भैसकेको हो भने कुन खोलाबाट निकाल्ने हो बिद्दुत भन्ने निश्चित छ ? नाम के हो ? उनले जल बिद्दुतको लाइसेन्स लिने काम भैरहेको र भएकाबाट लिने तयारि गरेको भन्ने जवाफ दिए ।

त्यसपछि लाग्यो ‘कि त पन्तजी आफैं यो लगानीका बारेमा जानकार छैनन् । कि त उनले बास्तबिक कुरो लुकाए ।’ प्रश्न राख्न थालियो, लगानी गरेको १० वर्ष पछि मात्रै मुनाफा पाइने जल बिद्दुतमै किन लगानी गर्ने ? क्रिषी, स्वास्थ्य, यातायात, जरिबुटी उत्पादन जस्ता छिटो र नेपालीको खाँचोपनि उच्च रहेको क्षेत्रमा किन लगानी नगर्ने ? यसको जवाफमा उनले एनआरएनका अन्य साथीहरुले पर्यटन लगायतका क्षेत्रमापनि लगानी गरिरहेको उदाहरण पेश गरे ।

शंका बाँकि रह्यो ‘अन्य क्षेत्रमा लगानी गर्दा लगानीको स्रोत देखाउनुपर्ने । तर दिर्घकालिन लगानीको क्षेत्र यो जलबिद्दुतमा चाहिँ आम्दानीको स्रोत देखाउनु नपर्ने किन ?’ हाम्रा धेरै नेताले कालो धन कुम्ल्याएका छन् राष्ट्रको । हो त्यहि लगानीलाई एनआरएनका आफन्त, ब्यापारी र निकट मार्फत कालो धनलाई सेतो बनाउने कोसिस गरेका त हैनन् ? कुमार पन्त सहज रुपमै प्रस्तुत भए । यसरि कालो धनलाई सेतो बनाउन थोरै मात्र लगानी गर्न एनआरएनलाई नै प्रयोग गर्न खाँचो छैन तिनलाई । तिनले चाहे अहिलेपनि लगानी गर्न सक्छन् र गर्नेले गरिरहेकै होलान् । ‘बरु त्यस्तो अबैध धन एनआरएनलाइ प्रयोग गरेर बैधानिक नगराउन् भनेर हामी सबै चनाखो हुनुपर्छ’ उनले भने । हामीले केहि थोरै लगानी र शेयर बितरण भन्दापनि आम्दानीको स्रोत उल्लेख नै गर्नुनपर्ने कानुन एनआरएनले माग्ने र त्यसलाई बैधता दिने, त्यहि कानुनमा टेकेर राष्ट्रिय सम्पत्ती लुट्नेलाइ बैध गर्ने मैका दिने खालको कानुन बनाउन एनआरएनले माग गर्नु हुन्न । हामीले यसैमा जोड दियौं ।

धेरैमा अर्को जिज्ञासा थियो, ‘एनआरएनका ठूला ब्यापारीले ५१ प्रतिशत लगानी गर्ने । बाँकिले जम्मा ४९ प्रतिशत । यसो हुँदा बहुमत शेयर ठूला ब्यापारी र लगानीकर्ताको हुने । अर्थात ति बहुमतमा र अन्य साना लगानीकर्ताहरु अल्पमतमा । अनि ति ठूला ब्यापारीले जे गर्छन् अन्यले मान्नु पर्ने । ठूलाको हैकम चल्ने, सानाले सधैं तिनको पछुवा हुनु पर्ने।’ कुमार पन्तले यो पुरै भ्रम, गलत सुनिएको र असम्भव भएको मात्रै बताएनन् बरु सकेसम्म जति लगानी आउँछ त्यसैका आधारमा शेयर रहने स्पष्ठ पारे ।

‘जलबिद्दुतमा एन आर एनले गर्ने लगानी भनेको शेयरको रकम जिवा लामीछाने र उपेन्द्र महतो जस्ता ठूला लगानीकर्ताले खोलेको सानीमा बैंकमै जम्मा गर्नुपर्छ भन्ने बुझाई र सार्वजनिक गरिएको मतकोपनि उनले खण्डन गरे । शेयरको रकम जम्मा गर्नको लागि एनआरएनले सानीमा बैंक नै भनेर बाध्य नपारेको बरु तिन चार वटा मुख्य बैंकहरु छनौट गरेको बताए । यो जलबिद्दुत लगानीमा एनआरएनले लगानीको २० प्रतिशत रकम जम्मा गरेपछि बाँकि ८० प्रतिशत लगानी गर्न बैंकहरुले ऋण दिन मञ्जुर गरिसकेकोपनि पन्तले खोले । एनआरएनसित मिलेर ठूलो लगानी गर्न बैंकहरु तत्पर त रहेछन् । तर त्यसमा सरकारी बैंकहरुको चासो भने रहेनछ । सबै ब्यापारिक वा निजि बैंकहरु रहेछन् ।

अघिल्लो पटक अप्रिल १५ मा पेरिस आउँदा यिनै कुमार पन्तले न्रित्य प्रतियोगितामा साह्रै झ्याउ लाग्दो पाराले विषयवस्तु भन्दा बाहिर एनआरएनबारे गन गन गरेर वाक्क पारेका थिए । उनले एन आर एनको लगानी, उद्देश्य, क्षेत्र, काम, योजना, नेपालमा रजनितिक अवस्था बारे अनेक टन्टा सुनाउँदै थिए कुनै राजनितिज्ञले झैं । तर यो पटक उनको प्रस्तुति सुन्दा अचम्म लाग्यो । उनी सौम्य रुपमा प्रस्तुत भए । कतिपय कुरा नढाँटी राखिदिए । विषयवस्तुमा केन्द्रित बनेर उनले आफैंलाई विश्वाशिलो, गम्भिर र पाको रुपमा प्रतुत गरे । उठेका विषयलाई उनले सहज ढंगले जवाफ दिए ।

बिदेशी केटीसित बिहे गरेको नेपालीको लगानी के हुने ? नेपाली केटीले बिदेशीसित बिहे गरेको भए उसको लगानी के हुने ? यस्ता प्रसंग पनि उठे । घनश्याम पौडेलले राखेको एउटा प्रश्न ज्यादै सान्दर्भिक थियो ‘कतिपय नेपालीहरुले भुटानीका रुपमा कागज पाएर बसेका छन् । तिनका पूर्खा नेपाली हुन् । तिनले लगानी गर्न पाउने कि न पाउने ? पाएको खण्डमा भोली शेयर कसैका नाममा हस्तान्तरण गर्नुपर्‍यो भने के हुन्छ ?’ यस्ता ब्यक्तिका लागि लगानी गर्न सहज रहेनछ । कुमार पन्तले यस विषयमा सरकारसित छलफल गरिरहेपनि सुझाव दिए ‘त्यस्ता ब्यक्तिले लगानी नगरेकै राम्रो देख्छु म त, यो विषय सजिलो छैन।’

भुटानीसित बिहे गर्ने नेपाली महिलाको के हुने त लगानी ? यो प्रश्नपनि उठाइयो । नेपालमा हालसम्म नयाँ संविधान बनिनसकेकाले हालसम्म त्यस्ता महिलाको अधिकार स्थापित भएकै छैन । त्यसैले भुटानी वा अन्य देशका बिदेशीसित बिहे गरेका नेपाली महिलाको लगानीको अधिकार हुन्न । कतिपय नेपालीलाई लगानी गरिसकेपछि नेपालमै बस्न मन लाग्यो भने के हुन्छ ? अर्थात् नेपालमै भएका आफन्तका नाममा आफ्नो हिस्सा नामसारी गरिदिन मन लागे के हुन्छ ? यस्ता ब्यक्तिहरुले नामसारी गरिदिन त पाउने तर एनआरएनले लगानी गरेको भनेर जुन सहुलियत सरकारले दिएको हुन्छ त्यो सेवा र सुबिधा चाहिँ काटिने रहेछ ।

बिदेशमा अनेक अनेक हल्ला चल्छन् । कतिले जानेरै सुनियोजित तरिकाले चलाउँछन् । कतिले लहै लहैमा नै । कतिले बाहिर हल्ला चलाएरभित्र अलग्गै खालको स्वार्थ हेर्ने र तानाबाना बुन्ने गर्छन् । कतिले देशमा दुख परेका बेला आफ्नो सम्पत्ती त बेचेर बिदेश भित्र्याए भित्र्याए अरुलाईसमेत ‘लौ है नेपालमा सुरक्षा छैन घरबारी बेचेर बिदेश ओसार, सुरक्षित गर’ भन्नेहरुपनि अहिले संयुक्त लगानी भन्दै उफ्रिनेपनि यहि छाता भित्र छन् । त्यसैले बास्तविकता केहो बुझ्न कठिन हुन्छ । यस्तै प्रत्यक्ष बहस, बादबिबाद र छलफलले अलि गहिराईमा गएर बुझ्ने अवशर दिन्छ । त्यस्तो जवाफ दिने हैशियतका ब्यक्तिपनि एन आर एनका केन्द्रिय वा क्षेत्रिय तहमा मात्रै छन् । यो पटक कुमार पन्तको प्रस्तुतिले केहि बुझ्ने अवशर जुर्‍यो ।

लाजमर्दो सहभागिता !

संयुक्त लगानीका विषयमा छलफल हुनु अघि एनआरएन फ्रान्सको वार्षिक भेला रहेछ । वार्षिक भेलामा त्यहि ३५, ४० जनाको मात्रै सहभागिता भएछ । उहि कार्यसमितिका सदस्यकै पारिवारिक सदस्य जम्मा भएछन् अधिकांश र समाप्त भएछ एनआरएन फ्रान्सको वार्षिक भेला । भेला सकिएपछि केहि सहभागिहरु आफ्नो बाटो लागे । त्यसपछि शुरु भएको हो, सामूहिक लगानीको छलफल । यति महत्वपूर्ण कार्यक्रममासमेत मुस्किलले तिस जनापनि थिएनन् । सहभागि कम हुनुको कारण भेलाको मिति सारिएकाले हो भन्ने मत एनआरएन फ्रान्सको थियो । तर संस्थागत रुपमै कोहि सहभागि नदेखिनुले त्यो भनाई सत्य हो भनेर कतिले पत्याउलान् ? सायद जर्मनीदेखि आएकाले बास्तविकता थाह नहुँदा कुमार पन्तले चाहिँ पत्याए कि ?

दुई जना उपाध्यक्ष, संयोजक केहिसमेत जोड्दा एनआरएन फ्रान्सको कार्यकारी समितिमा १५ जनाजति पुग्छन् । १५ जना सदस्यमध्ये एक जनाले तिनजनालाई मात्रै सहभागि गराउन सकेको भएपनि त्यो संख्या सजिलै ५० पुग्दो हो । यति महत्वपूर्ण कार्यक्रमको औचित्य ५० जनालाईपनि साबित गर्न सकेको देखिएन । आखिर गर्नेले केहि न केहि मेहनत त गरेकै छन् । तरपनि किन यस्तो हालत भो एनआरएन फ्रान्सले गर्ने कार्यक्रमको ?

नेपाली एकता समाज, तमु समाज र एभरेस्ट एसोसिएसनमा धेरै नेपाली आबद्द छन् । देशको लगानीमा युवाहरुनै हो मुलत अघि सर्ने । चासो दिने र अनेक सिप सिकेर नेपाललाई दिने । आम्दानीको केहि हिस्सा लगानी गर्नेपनि तिनै हुन् । तर नेपाली एसोसिएसन मध्ये धेरै नेपाली आबद्द भनिएको नेपाली एकता समाजका कोहि देखिएनन् । न त देखिए कोहि तमु समाज, फ्रान्सका प्रतिनिधी । न नेपाली सांस्क्रितिक ग्रिह र एभरेस्ट एसोसिएसनकै । कोहि ब्यक्तिगत रुपमा यस्सो झुल्किए होला । नत्र संस्थागत रुपमा पेरिसका नेपाली संस्थाले एनआरएनलाई पत्याएको देखिएन । नेपालीको संयुक्त लगानी भन्ने, नेपाली संस्था भन्ने तर नेपाली संघसंस्थालेनै नपत्याउँदा एनआरएन फ्रान्सको हबिगत देखियो । पक्कैपनि युरोप संयोजक कुमार पन्त हलमा भएका ब्यक्तिको सहभागिता र संयुक्त लगानीको विषयमा फ्रान्सका नेपाली संघसंस्थाले गरेको बेवास्ताप्रति बेखबर थिएनन् । त्यसैले हिँड्ने बेलापनि उनी भन्दै थिए “लौ न तपाईहरुपनि एन आर एनमा सक्रियतापूर्वक लाग्नु पर्‍यो।” तर एन आर एन फ्रान्सको हबिगत किन यस्तो भयो ? युरोप संयोजकका नाताले उनले यसलाई कसरि लिएका छन् कुन्नी ! यो सभागिता, यतिबिघ्न चासो, त्यति गहिराईमा बुझाई, एन आरएनको शुरुदेखिनै यस्तो आकर्षण । यसले संकेत भने देखायो, फ्रान्सबाट त अरु देशलाई माथ गरेर हुरुरु वर्षिने भो संयुक्त लगानीमा ।

तपाइँको प्रतिक्रिया