भन भन भाई हो ‘देउ छोरी’
देउसी र भैलो आआफ्नै पारा, स्वादका हुने रहेछन् । कसैका लागि सेल रोटी खान पाए हुने ! कसैकालागि दुई चार रुप्पे जम्मा पार्ने । साथीसँगी जम्मा हुने । रमाइलो र नाचगान, हाँसो मजाक । तर हाम्रो देउसी र भैलो अचम्मको थियो । देउसी र भैलो भट्ट्याउने, नाच्ने र गाउने त हुन्थ्यो नै । तर त्यो भन्दा बढि हाम्रो देउसी र भैलो दाइ, गोरु, भैंसीका दाम्लो काटेर मनाइन्थ्यो । देउसी र गाइ भैंसीका दाम्लासित के को संवन्ध ? जिज्ञासा लाग्नु स्वभाविकै हो । तर हामा कति देउसी त भैलो त्यसै गरि बितेका छन् ।
गाउँमा कसै कसैले सेल रोटी कुकुर तिहारकै दिन पकाउँथे । कसैका घरमा गाइ तिहार त कसैकामा गोरु तिहारका दिन । आफ्ना घरमा सेल पकाउनु अघि जसका घरमा पाक्थे सेल रोटी हामीलाई असह्य हुन्थ्यो । वाल लोभ न हो, ओहो खान पाए हुन्थ्यो । अनि निहुँ हुन्थ्यो, देउसी र भैलो खेल्ने । देउसी भैलो खेल्दा सेल रोटी त सबैले दिन्छन् । अनि हामी जान्थ्यौं देउसी भैलो खेल्न । जुन जुन साथीका घरमा सेल रोटी पाक्थे तिनलाई रहर हुने कुरै भएन । जसको घरमा पाक्थेन देउसी खेल्दा आएका सेल रोटीमा हामी लडाभाँति गर्थ्यौं ।
सेल रोटी पकाएको घरको साथी पनि सँगै देउसी भैलो खेलेको छ भने उसलाई भन्थ्यौं “ओई भित्र गएर रोटी अलि धेरै दिन पर्छ भन है ?” उ भित्र गएर आमा, दिदी, बहिनी, भाउजुसित “रोटी धेरै राख्नुपर्छ नाङ्लामा” भनेर फकाउँथ्यो ।
भैलो र देउसी दुबै त खेल्थ्यौं नै । तर कोहि बेला हामी दिनमा एकै घरमा चार पाँच पटक सम्मपनि खेल्न पुग्थ्यौं । किनभने एकाध घण्टामा एउटा समूहसित खेल्यो, दश बिस घर सकिन्थे अनि के गर्ने ? फेरे अर्को समूह बनायो र फेरी गयो खेल्न । धेरै टाढा एक त जान डर हुने । अर्को घरकाले जानपनि नदिने । अनि थरि थरिका समूह बनाउँदै खेल्थ्यौं हामी ।
धेरै बेर भट्याउन आउने होइन । अनि ‘ए भन भन भाइ हो’ देउसुरे ।
राम्ररि भन, देउसुरे ।
स्वर मिलाइकन, देउसुरे ।
बिचैमा घरेबेटी आमै, बाले सुनाउँथे ‘ए मोरा हो सुरे (बिरालो) दिने हो र ? देउसीरे भन ।
सिदा दिन कन्चुस्याइँ गर्लान भनेको नमाने भनेर हामी तु सच्याइहाल्थ्यौं
ए रातो माटो, देउसीरे
चिप्लो बाटो, देउसीरे
लड्दै र पड्दै, देउसीरे
आएको हामी, देउसीरे
ए बच्चाको कोक्रो, देउसीरे
सुकिसक्यो घोक्रो, देउसीरे
ए घरबेटी आमै देउसीरे
छिटो दिनु, देउसीरे
यहाँ मात्रै हैन, देउसीरे
धेरै घर जानु छ ।
अँधेरो बाटो, देउसीरे
चिप्लो माटो, देउसीरे
लड्दै र पड्दै आको हामी । देउसीरे
यति भन्दा नी दिएनन् भने भट्याउने कुरो सबै सक्किन्थ्यो, अनि के भट्याउने ? फेरी शुरु गर्थ्यौं शुरुबाट उहि । सेल रोटी पैसा र चामल आएपछि आशिस दिनपनि सोचिन्नथ्यो, नाङ्लामा झुम्मिन्थ्यौं । कति दिए पैसो ? त्यसैमा आँखा गाडिन्थे । जसले अलि धेरै दिन्छ हाम्रो बुझाइमा ति अति मायालु, दयालू गनिन्थे ।
उछिङ्खल कति थियौं भने सबै मातेका बोकै बोका भेट भएको अवशर न हो । भट्याउने भन्थ्यो, ए भन भन भाई हो ।
हामी भन्थ्यौं
“देउ छोरी ।”
राम्ररि भन,
“देउ छोरी”
स्वर मिलाइकन, मिठोसित भन्थ्यौं लेघ्रो तानी तानी, देउ ssssssssssssssssss छोरी ।
यसो भन्दाभन्दै एक दिन छोरी हुने घरका बाले बुझेछन् । लामो न लामो लौरो बोकेर भर्याङबाट हाम्फाल्दै आए, जाँ ………..हरुलाई आजै सिध्याउँछु भन्दै । गाउँका यि यि छन् भन्ने त ति बुझ्थे । तर कसले भन्यो बुझ्दैनथे, मिसिएको सामूहिक स्वरमा । भोली पल्ट हामी सबै ‘मैले त हैन क्यारे त्यसो भनेको’ भन्दै टाउको कन्याउँथ्यौं ।
थारुका घरमा चाहिँ सेल रोटी पकाउने चलन थिएन । त्यसैले थारु केटाकेटी खुब रहर गर्थे सेल रोटी खान । निहुँ बनाउँथे देउसी भैलो खेल्ने । तर तिनलाई भट्याउन आउँथेन । भन्थे ‘ए घरबेटी आमै, रोटी देउ,
नाङ्लो भरि देउ
छिटो छिटो ।
रातो माटो
चिप्लो बाटो
ए भनभन भाइ हो । भट्याउने शब्द नपाएअप्छि ९० प्रतिशत चाहिँ ति ‘भन भन भाई हो, राम्ररि भन, रोटी देउ ‘ भनेरै टार्थे । सेल रोटी आउनासाथ तिनले झम्टिन्थे र आशिस न सासिस टाप कसिहाल्थे ।
मेरा देउसीका साथीहरु थिए, अर्जुन नेपाल, राजु कँडेल, राजु रिजाल, ध्रुव दुलाल, मुकुन्द रिजाल, घनश्याल न्यौपाने, तोयनाथ भुसाल । कतिका त नामपनि भुलियो । कोहि अन्यत्र सुखि ठाउँतिर बसाइँ सरे । यि मध्ये ध्रुब दुलाल थिए साह्रै हक्की, अनेक अनेक बिठिङ्ग्या काम गर्ने ।
एक वर्ष हामी निकै ढिलोसम्म देउसी खेल्यौं । तर मध्य रात पछि धेरै सुत्थे । देउसी भट्यायो भट्यायो सिदा दिनै नआउने कतिपय घरका घरबेटी त । हामीलाई खुब झोंक चल्थ्यो । निस्पट्ट अँध्यारो रात । वालवालिकाले निद मारिमारि भट्यायो । सिदा नदिँदा कम्ति झोंक चल्थ्यो र ? के गर्ने यि सिदा नदिनेलाई ? धुवले अक्किल निकाले । सिदा नदिनेका घरका गाइ गोरु र भैंसीका दाम्ला काटिदिने । सबैले हो मा हो मिलाए । अनि खाउन न मज्जाले । गाइभैंसीले घरमा झुण्ड्याएका मकै नि खाउन्, तरकारीका विरुवा जति सबै मासुन । अनि बल्ल खुच्चिङ यस्तालाई । ध्रुवका कुरामा हामीले सहमती जनायौं । र सिदा नदिनेका गोठमा गाइ भैंसीका थाल्यौं दाम्ला काट्न । ‘साला हरुको घरको एउटा’नी छोड्नी हैन । घोक्रो सुकाउन्जेल गाउने अनि हाम्लाई सिदा दिन’नी नउठ्ने ? ध्रुब चर्कियो साउती मार्दै ।
जब रात छिप्पिँदै गयो, सिदा नदिनेको घरपनि बढ्दै गयो । हामीले दाम्लापनि काट्दै गयौं । हामीलाई गोठमा भएजति गाई भैंसीको दाम्ला काट्नु पर्ने । तर एउटा घरमा समस्या पर्यो । फालानाको घरको फलानो नामको गोरु त हान्ने छ, दाम्लो काट्न जाँदा त्यसले त उधिन्छ । गर्ने के ? कसरि काट्ने त दाम्लो ? उनै ध्रुबले अक्किल निकाले ‘लौरोको टुप्पोमा करौंती बाँध्ने र परै बाट काटिदिने अनि भाग्ने ।’ हो ओ ओ ओ ओ ओ ओ ओ ओ ओ ओ ओ केटाहरुले साउतीको पाराले मञ्जुरी गरे ।
ध्रुब गयो घर । लौरो र करौंती लिन । यसरि हान्ने गाइ गोरुका पनि दाम्ला काटियो । हामीले सल्लाह गर्यौं “केटा हो जसले यो गोप्यताको रहस्य खोल्छ त्यसको ज्यान जखम हुन्छ नी ! यो गोप्यता कसैले नखोल्ने । खोलियो भने त ज्यान लिन्छन् नी ! एकमत भो ।
भोली पल्ट गाउँमा हाहाकार मच्चियो “लौ न नी हाम्रो त सप्पै साग मासेछ गुरुले । ए हाम्रो त एक सूली मकै नै भ्याएछ, भैंसीले । ए हाम्रो त गोरुनै छैन काँ गयो होला ? हाम्रो गाइभैंसीनै चोरले लगे जस्तो छ । लौ न सत्यानाशै पारेछन् नी गाइगोरुले दाम्लो छिनालेर । ए हिजो दाम्लो लाउनै बिर्सेको गाइ गोरुलाई ?”
धेरैका गाइगोरुले घाउँभरि सखाप पारेको चल पाएपछि बुझे ‘यो त कसैले जानि जानि गर्या हो । तर कसले ? किन ? कसरि ?” आजसम्म यो रहस्यमै थियो । आजसम्म त्यो गोप्यता कसैले खोलेकोपनि थिएन । आज त्यो गोप्यता खोल्ने मै बदमास निस्किएँ ।





