चरा र विमान दुर्घटनाको मिथक

(आजको कारोबार दैनिकमा प्रकाशित लेख)

आजकालका विमानहरु एकदम छिटो र शान्तसित उड्ने भएकाले धेरै चराले ती विमानलाई ‘प्रिडेटर’ का रुपमा लिन्छन् । विमान एकदम छिटो उड्ने भएकाले विमान नजिक आइपुग्दा तीसित तर्किने, मोडिने समय नै हुन्न । त्यसैले ती तर्किन खोज्दाखोज्दै विमानको गति तिब्र हुनाले ती विमानमा बज्रिहाल्छन् ।


ददि सापकोटा

“विमानमा चरा ठोक्किएको हो कि विमान चरामा गएर ठोक्किएको ?” केही समयअघि सिता एयरको विमानमा चरा ठोक्किएपछि केहिले यस्तो प्रतिक्रियापनि जनाए । वास्तवमै यो तर्क मननीय पनि छ । किनभने सात लाख वर्ष अघिदेखि वा मानव इतिहास शुरु हुनु अघिदेखि अस्तित्वमा रहेका चराको अधिकार बढी लाग्छ आकाशमा कि मानिसको ?

उत्पत्तीकालदेखि स्वतन्त्र रुपमा आकाशमा उड्दै आएका हुन् चरा । तिनको स्वतन्त्र मार्गमा निरन्तर रुपमा विमानहरुको भिडले दख्खल पुर्‍याउन थालेपछि चराहरु ठोक्किन थाले । मानव वस्तिमा, मान्छेका घर दैलामा, मान्छेका ओछ्यानमा आएर चराले दख्खल दिएको नभएर चरा उड्ने आकाशमा मानिसले विमान उडाउन थालेपछि यो समस्या देखिएको हो । त्यसैले चरा विमानमा ठोक्किएको भन्नु भन्दा विमान चरामा ठोक्किन पुगेको हो भन्ने तर्क बढी मनासिव छ ।  तर पनि प्रश्न उठ्छ, विमानलाई चरा ठोक्किनबाट जोगाउन सकिन्छ कि सकिन्न ? अवश्यै सकिन्छ । तर त्योभन्दा पहिले किन ठोक्किन्छन् ? र चराको आनीबानीबारे केही जानकारी हुनै पर्छ ।

धेरैले भन्छन्, हाम्रो त्रिभुवन विमानस्थल त कस्तो ! चरा ठोकिएको ठोक्कियै गर्ने । तर हामी अपवाद भने होइनौं । हाम्रोमा भन्दा अझ बढी चरा ठोक्किने विमानस्थलहरु छन्, पश्चिमी सम्पन्न मुलुकका । अमेरिकाको ओहियो विमानस्थल पनि उस्तैगरि चराको आक्रमणमा पर्ने गर्छ । त्यहाँको विमानस्थलमा केही चराविद नै नियुक्त गरेको छ सरकारले । तिनको काम चराबाट विमानलाई कसरी जोगाउने भन्ने सुझाव दिनु, अध्ययन र अनुसन्धान गर्नु हो । त्यहाँ सन् २००९ को जनवरी १५ का दिन एउटा विमान दुर्घटना भयो । त्यो विमान गएर हडसन नदीमा खस्यो । चरामा ठोक्किएर खसेको विश्वास गरे अधिकारीहरुले । उनीहरुले यो शहरमा चराको समस्या बढ्दै गएको पनि उल्लेख गरेका छन् । ओहियोबाहेक बेलायतको हिथ्रो विमानस्थल,  ईजरायलको तेलअभिबस्थित सुआरेज अन्तर्राष्ट्रिय विमानस्थल केही यस्ता उदाहरण हुन् जहाँ विमान उडाउँदा चरा ठोक्किने भय ज्यादै ठूलो छ । पटक पटक चरा ठोक्किइसकेका पनि छन् ती विमानस्थलमा । कुनै कुनै चराको तौल त जेट इन्जिनको भन्दा पनि बढी हुन्छ । ती ठोक्किए भने खत्तम हुन सक्छ ।

चरा ठोक्किनुको मुख्य कारण

प्राकृतिक छनौटको सिद्दान्त भनेको के हो ? हो, यसले पनि धेरै फरक पार्छ बिमानमा चरा ठोक्किनु र नठोक्किनुमा । प्राकृतिक छनौटको सिद्दान्तले चरालाई सिकाएको हुन्छ, चराहरुले आफ्नो प्रिडेटर (शत्रु जिव वा चरा खाने मांशहारी चरा, जिव) बाट बच्न अन्तिम समयसम्म प्रतिक्षा गर्छन् । अथवा प्रिडेटरले आक्रमण गर्ने अन्तिम बेलासम्म कुर्छन् । यस्तो किन गर्छन् त ? किनकि पहिल्नै ति हलचल गरे, भाग्न, तर्किन खोजे भने प्रिडेटरले त्यहीअनुसार तयारी गर्छ । मांशहारी चरा त्यसैगरी मोडिएर पक्रन्छ ।

आजकालका विमानहरु एकदम छिटो र शान्तसित उड्ने भएकाले धेरै चराले ती विमानलाई ‘प्रिडेटर’का रुपमा लिन्छन् । विमान एकदम छिटो उड्ने भएकाले विमान नजिक आइपुग्दा तीसित तर्किने, मोडिने समय नै हुन्न । त्यसैले ती तर्किन खोज्दाखोज्दै विमानको गति तिब्र हुनाले ती विमानमा बज्रिहाल्छन् । बढीमा ४०/५० किमी प्रतिघण्टाको गतीमा आएर आक्रमण गर्ने शत्रुसित बच्न जानेका, तयारी गर्न जानेका चराले कसरी चार पाँच सय प्रतिघण्टाको गतिमा उड्ने विमानको आँकलन गर्ने ? विमानमा चरा ठोक्किनुको मूल कारणनै यही हो ।

अर्को कारण सारौं, मैना, चिबे, काग, गिद्द, चिल मानव क्रियाकलापसँगै बस्न बानी पर्दै गएको छ । तिनले आकाशमा कुनै वास्ता नगरी, स्वच्छन्द तरिकाले उडेका बेला सानो आवाजमा आएका विमानको ख्यालै हुन्न र पनि ठोक्किने गर्छन् ।

चरा र विमानहरु दुवैको आकाशमा अहिले प्रतिस्पर्धा छ कसले ओगट्ने भनेर । त्यही कारणले गर्दा चरा र विमान ठोक्किने गरेका हुन् । अमेरिकाको डिपार्टमेन्ट अफ एग्रिकल्चर्स वाईल्डलाइफ रिसर्च सेन्टरमा लामो अनुसन्धान गरेर सेवा निवृत्त भएका ६३ वर्षिय डोलबिरले विमानमा चरा ठोक्किने जोखिम न्युयोर्क शहरमा पनि रहेको र त्यहाँका चरामा ठोक्किएर विमान दुर्घटना भएपछि बल्ल अधिकारीहरुको आँख खुल्ने चेतावनी दिएका छन् ।

अमेरिकाको क्लेभल्याण्ड हप्किन अन्तराष्ट्रिय विमानस्थल र बुर्के लिक फ्रन्ट विमानस्थल चराहरुको उडानबाट निकै प्रभावित छन् । त्यहाँ चरा र विमानलाई एक अर्कामा ठोक्किनबाट बचाउन विभिन्न प्राविधिक तरिका अपनाइएको छ । सन् २००७ मा २ लाख ३५ हजार पटक विमान उड्दा ओहियो विमानस्थलमा ८२ पटक चरा विमानमा ठोक्किएको थियो । तथ्यांकले के भन्छ भने वार्षिक १० हजार पटक चरा र विमान ठोक्किन्छन् अमेरिकामा । अमेरिकामा सन् १९९० देखि २००८ को बिचमा ८७ हजार पटक चार ठोक्किएको नागरिक उड्ड्यन विभागमा तथ्यांक छ ।

बचाउका केही तरिका

– पहिलो शर्त त के भने विमानस्थल वरिपरिका चरा पहिचान गर्ने, तिनको आनीबानी बुझ्ने विशेषज्ञ वा प्राविधिक नै छैनन् अहिलेसम्म हाम्रो विमानस्थलमा । यथाशक्य त्यस्ता केही विशेषज्ञ नियुक्ति गरेर त्यहाँको चरा पहिचान गर्ने र मौसम, तिनको प्रजनन, बदलिँदो प्राकृतिक अवस्था र मौसम अनुसार ती कहिले कसरी सक्रिय बन्छन् भन्ने सूचना दिने व्यक्ति हुनु पर्छ । त्यस्ता व्यक्तिले चराको सक्रियताबारे सूचना दिँदा विमान उडाउन सहज हुन्छ।

– माथिसम्म जाने पानीका फोहोरा फाल्ने विमान उड्नुअघि । त्यो फोहोराले धपाउने । यसले चरालाई तर्साउने गर्छ ।

– आगोको ज्वाला हानिदिने जुन अलि माथिसम्म पुग्छ ।

–चराहरुको दुःख, वेदना, पिर र रोदनले भरिएको चराकै आवाज सुनाइदिने । यसो गर्दा चराहरु भाग्छन् । यो ठाउँमा बसे दुःख दिन्छन् भन्ने पर्छ ।

– काग, परेवाहरुलाई लखेट्न बौंडाई, शिकारी चरा, बाजको पुत्ला राखिदिने । किनकि ती मांशहारी चरा देख्नासाथ काग, परेवाहरुको सातो जान्छ र ती भाग्छन् । काग धपाउन चिबेको पुत्ला राखिदिएपनि हुन्छ ।

– बाजहरुलाई तालिम दिएर अरु चरा लखेट्न सकिन्छ । यो उति बिघ्न धान्नै नसकिने महँगो पनि पर्दैन । वा विदेशबाट पनि लान सकिन्छ।

– बन्दुकहरु पड्काएर पनि भगाउन सकिन्छ ।

– चराहरु विहानको समयमा अलि बढी सवि्र्कय हुन्छन् । त्यसपछि सुर्यास्त हुनुअघि जब तातो हावा मडारिएर बहन्छ हो त्यो बेला बढी सक्रिय हुन्छन् आकाशमा कावा खानका लागि । यो समयमा बढी ख्याल गर्ने र शिकारी चरा लगाएर धपाउने ।

– चरालाई विमान स्थलबाट लखेट्ने होइन कि ती विमानस्थल नै नआउने कसरी बनाउने ? उपाय यसको निकाल्नु जरुरी हुन्छ । विमानस्थल वरिपरि पानीका खाल्डा भए पुरिनु पर्छ । किनकि पानीले चरालाई आकर्षित गर्छ । गुँड लगाउन मिल्ने रुख राखिनुहुन्न । सम्म राख्नुभन्दा अग्लो घाँस भए अलि जाति हुन्छ । किनकि त्यस्तोमा चरा आकर्षित खासै हुँदैनन् ।

– चरालाई परै राख्ने अर्को उपाय के हुन्न सक्छ भने विमान उड्ने बेला अलि आवाज आउने कुनै यन्त्र राखिदिने । विमानमा अल्ट्र भायोलेट किरणहरु जडान गरिदिने जसले गर्दा चराले परैबाट देख्छन् । परैबाट चिमिक्क चिमिक्क चम्किने प्रकाश जोडिदिनु पनि चरालाई सतर्क बनाउने उपाय हुन सक्छ ।

– विमानस्थलबाट उड्ने बेलामा विमानको अघिल्लो भागमा केही प्लास्टिकका बाज जडान गर्न सकिन्छ । त्यो देख्नासाथ अन्य चराहरु भाग्ने गर्छन् । लाग्न सक्छ, बाज नै ठोक्किन आए के गर्ने ? बाजहरु हत्तपत्त त्यति धेरै उचाइमा जाँदैनन् आक्रमण वा बसाइसराई गर्ने समयमा बाहेक । त्यसरी विमानमा ठोक्किने पनि गर्दैनन् । किनकि यिनको ध्याउन्न अरु चरा वा जिव समात्ने र आरामले बस्नेमै हुन्छ । बाज कावा खाने चरा होइनन् । मुख्य कुरो के हो भने चरालाई विमानस्थलबाट लखेट्नु भन्दा पनि विमान स्थल चराको वासस्थानको लागि अयोग्य कसरी बनाउने भन्ने सोचिनु पर्छ । आकाश चरा र मान्छे दुवैका लागि सुरक्षित उड्ने थलो बनाइनु पर्छ ।

तपाइँको प्रतिक्रिया