फ्रान्समापनि किसानका समस्या त नेपालमा जस्तै
पेरिसको ब्यस्तता । भिडभाड र हुटहुटीबाट यस्सो छुटकारा पाउन गएको फ्रान्सको दक्षिणी क्षेत्रको सानो गाउँ । भुत बंगाला भन्न सकिने बडेमानको घर । साथी थिए, पास्काल गि । उनैले ब्यवस्था मिलाएका । करिब १६ वटा कोठा भएको पुरानो घर । दिनभरि घुम्यो । साँझ नपर्दै थाक्यो अनि फर्क्यो गूँडमा । न फोन छ, न ईन्टरनेट । के गरेर समय बिताउने ? राति बाहिर निस्कौं भने निस्पट्टै अँध्यारो । सारा गाउँ ढलेको मुढो झै, सुनसान । न घुम्ने ठाउँ छ । सम्साँझै सुत्यो । गाउँ न हो, बिहानै कि त गाइ हब्बाँ गर्दै आँखा खोलिदिन्छन् । कि त कतै जोत्न हिँडेको ट्याक्टरको आवाजले आँखा च्यातिदिन्छन् । उठ्यो बिहानै के गर्ने ? उता पास्काल भने क्वाँर्र हुर गर्दै घुरिराखेका हुने । दिउँसो एक नबजी उनी नउठ्ने । वाक्कै लागेपछि बिहानै उठेर क्रिषकका खेत बारी चहार्ने, गाउँ घुम्ने, नहर र खोलाको चक्कर मार्ने, यस्सो चरा हेर्ने सुर कस्यो । यस्तै बिहान सामुदायिक वनको छेउ छेवै टहलिँदा अचम्मको द्रिष्यमा आँखा परे ।
वन र खेतको साँघमा टन्नै ह्रास लागेको, फर्सी, आलू, सलादका मुठा, भेण्टा, लाम्चो फर्सी (कोर्जेत) । टाढाबाट हेर्दा “मलखाद रहेछ क्यारे” झैं लाग्यो । नजिक गएर नियालें । ए हैन गाँठे, आलू एकदम ठिक छ । हरिया फर्सीका कैंडामा दागसम्म लागेको छैन । सलाद उस्तै हरियो, भर्खरै खाउँ जस्तो । कुनैपनि सब्जी फ्याँक्नुपर्ने झैं देखिन्न । ‘कुनै धनीमानी होला, मातेको, पुगिसरी आएको ।’ यस्तै लाग्यो । हुनेलाई मिल्काउन के भो र ? तर केहि पाईला हिँडेपछि फेरी अर्को त्यस्तै ह्रास देखियो । अब लाग्यो, यो सामान्य त पक्कै होइन । केहि स्न्याप तस्बिर लिएँ । जिज्ञास झ्यांगिँदो छ मनमा ‘त्यो तरकारी, किन र कसले फाल्यो ?’
अलि अगाडि बढेपछि अलि परबाट हिँड्दै गरेका एक किसान देखिए । उनी उभिएतिरै आउँदै थिए । सोधें ‘तपाइलाई एउटा कुरा सोधौं ?’
‘के होला ?’
‘तपाईहरु तरकारी खेती बाटोमा मिल्काउन गर्नुहुन्छ कि क्या हो ?’
यत्तिपनि बुझ्न नसकेको ठानेर उनले मलाई कुनै अनौठो जिव झैं माने । ठोसा परेका दारी कतर कतर कन्याउँदै एकछिन निधार कुचुक्क पारे । यो ‘हिमाली’ छाउरोलाई एकछिन निआले । अनि सोधे ‘तपाईको घर काँ ?’
‘नेपाल’
‘नेपाल ?’ ‘ओ नेपाल ?’
‘हो त’
‘के खोज्दै आएको ह्याँ ?’
‘घुम्न । सब्जी फालेको देखेसि अचम्म लागेर सोध्या नी ।’
‘यसको कहानी भनिसाध्य छैन ।’ टाउको निहुर्याए उनले । वनको छेउमा मिल्काइएका सब्जीमा उनी जस्तै किसानका रगत र पसिना मिल्किएका रहेछन् ।
उनले सुनाए, बजार लग्यो भने ओसार्नलाई ट्याक्टर चाहिन्छ । ईन्धन चाहियो । ड्राईभर हुनुपर्यो । काट्ने, त्यसका पहिलो दोस्रो पत्र फाल्ने, पखाल्ने, सुकाउने र पसलेले च्याट्ट देखाएर बेच्न मिल्ने गरि तयार पार्दा एक यूरो नाघ्छ परल खर्च । तर बजारमा किलोको ७० पैसा (सेन्स) मा बिक्रिकालागि राखेका छन् । अनि तिनले कम्तिमा किलोको एक युरो २० सेन्सभन्दा सस्तोमा बेच्दा नाफा नहुने रहेछ । अनि केकालागि खेति गर्ने ? किसानले उब्जनी गरेको के गर्ने ? कहाँ लैजाने ? घरमा आफुलाई पुग्ने भन्दा ज्यादा भएपछि तिनले वनको छेउमा ल्याउँदै मिल्काउँदै गरेका रहेछन् ।
कसरि आइराखेको छ त सुपर मार्केटमा त्यस्तो सस्तो ? अहिले फ्रान्समापनि कमशल मल हाल्ने, विकासे मल । यस्ता मल पाइन थाले कि जसले फलफूल ठूला देखाउँछन् । त्यो मल र रसायन हालिदियो केहि दिनमै मौलाएर आउँछ । त्यहि लग्यो बजारमा बेच्यो । सस्तो, छिटो र नाफामूलक । अनि त्यस्तो तरकारिसित कसरि प्रतिस्पर्धा गर्ने ? अर्को कुरो स्पेन, ईटाली र अन्य देशबाटपनि आउँछ । त्यताको उस्तै कमशल । श्रमनै सस्तो । मान्छेहरुले गूण हेर्न छाडे । सस्तो र ठूलो देखेपछि नाफा कमाउने ब्यापारिले त्यसैलाई प्रचारप्रसार गरेर ग्राहकका दिमाख भुटिदिन्छन् । यो क्षेत्रको तरकारी विशेष । गुणात्मक मात्रै भनेर ग्राहकको द्रिष्टीमा पुदैन । अनि वनको छेउमा लैजाँदै मिल्काउँदै गर्छन् ।
मैले उनलाई नेपालमापनि क्रिषकहरुले बन्द कोबी, काउले र गोलभेंडा सडकमा मिलाएको प्रसंग सुनाएँ। उनी हाँस्दै थिए ‘नेपालमा त सडकमा मिल्काउन पाइने रहेछ । यहाँ त वनमापनि लुकेर मिल्काउनु पर्छ । सरकारले देख्यो भने कारबाहीमा परिन्छ, जरिवाना तिर्नुपर्छ ।’ क्रिषकहरुले चर्को मूल्यमा बिउ किन्ने, मल ल्याउने र मेहनत गर्ने । तर मुख्य नाफा चाहिँ ब्यापारीले लिने । क्रिषकहरुलाई नाफा नहुने । दुख बढि र आम्दानी नहुनाले क्रिषकहरु मारमा परेको, सरकारलाई पटक पटक सुनाएको, बन्द र हडताल गरेपनि किसानका समस्या नसुनेको बताउँदै थिए उनी ।
भर्खर खेती लगाउँदै गरेको खेत वा बारीका छेउबाट हुइँड्दै जाँदा अर्को अचम्मको द्रिष्य देखियो । जालीले बन्द सानो कोठामा कागहरु छटपटाईरहेका थिए । अचम्मा लाग्यो, यति धेरै काग कसरि यो बन्द जालीको कोठामा छिरे ? त्यो त कागलाई धरापमा पारिएको पो रहेछ । एउटा काग छोप्यो । यस्तो जालीभित्र केहि खाने कुरा हालेर थुन्यो । कागहरु जिज्ञासु हुन्छन् अतिनै । थुनिनेले अरु कागलाई बोलाउँछ । ति के रहेछ भन्दै आउँछन् । माथिल्लो भागको सानो प्वालबाट लुसुक्क छिर्छन् । कुनै काग थुनिनेलाई उद्दार गर्न भन्दै आउँछ । त्योपनि त्यहिँ फस्छ । यसरि त्यहाँ करिब दर्जन जति काग थुनिईसकेका रहेछन् । सलादको साग र अन्य तरकारि खाइदिएर हैरान पारेपछि किसानले यसरि काग थुन्ने गरेका रहेछन् । फ्रान्समा यसरि मनपरि जिवहरु थुन्न पाईन्न । तर सायद यो थुन्ने किसानलाइ जानकारिनै थिएन । यस्तो देशका नागरिकलाइपनि यति कुरोको ज्ञान नहुने रहेछ ।







