“बिदेशमा संगठित ढंगले काम गर्ने पहिलो शक्ति हाम्रै हो” चौलागाइँ, माओवादी नेता

(यतिखेर एकिक्रित नेकपा माओवादी सरकारमा छ । दशक लामो जनयुद्द लडेर बिसाएको पार्टी सरकारमा पुग्दाको चर्चा र चासो जति छ उत्तिकै पीडा, संदेह, आक्रोश र निराशाका मुठ्ठापनि छरपस्ट भएका छन् स्वदेश देखि बिदेशका नेपाली मनहरुमा । सरकारमै पुगेका बेला पार्टी टुक्रिएकालेपनि ति संशय, आक्रोश, निराशा र खुल्दुलीहरु छरपस्टिएका हुन् । फुटपछि अब टुक्रिएका दुई माओवादीको अवस्था के होला ? किन टुक्रिए ? जिज्ञासा उक्लिएकै छन् नेपालीहरुमा । ओर्लिएका छैनन् । राजनितिज्ञ, विश्लेषक र राजनितिका केस्रा केलाउनेहरुसितको राजनितिक पहुँच बिदेशका नेपालीहरुको यसैपनि खुम्चिने हुनाले बास्तबिकता बुझ्न कठिन भैरहेको हुन्छ । यहि बास्तबिकता खोतल्ने प्रयास गरेको छ नेपालप्लस डट कमले ।

यहि महिनाको दोस्रो साता एकिक्रित नेकपा माओवादीको भात्रि संगठन जनप्रगतिशिल मञ्चको अधिबेशनको मेसो पारेर पार्टी पूनर्गठन, कार्यकर्ता परिचालन र अन्तर्राष्ट्रिय संवन्ध बिस्तार गर्ने बिबिध जिमेवारी लिएर आएका थिए, उक्त पार्टीका राष्ट्रिय महाधिबेशन तयारि समितिका सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय ब्युरोका सदस्य युवराज चौलागाइँ । जनयुद्दकालमा पार्टीको जनसेनामा रहेर थुप्रै युद्द लडेका उनीसित आफ्नै भाइ र परिवारका चार सदस्य गुमाउनुको पीडापनि छ । माओवादी निकट अनेरास्वबियु (क्रान्तिकरी) का पूर्व उपाध्यक्ष समेत भैसकेका हुन् । प्रचण्डका निकट र प्रिय मानिने उनीसित राजन भट्टराईको सहयोगमा म आफैंले लिएको हुँ अन्तर्वार्ता । अन्तर्वार्ता ज्यादै लामो भएकाले यसका केहि भाग उनैको नाममा लेखका रुपमा आउने छन् भने अन्तर्वार्ताको दोस्रो भाग अडियो सहित केहि दिनमा राखिने छ – नेपालप्लस डट कम)

 

तपाईको खास परिचय ?

माथिबाट भन्दा आयोजक कमेटीको सदस्य भने भयो । त्यसपछि त्यसभित्रको महत्वपूर्ण काम गर्छु । र अन्तराष्ट्रिय व्युरोको सदस्य हुँ म । हामीले हाम्रो तीनटा राज्य कमेटी बनाएका छौ । त्यसको सम्योजन पनि म आफैले गर्छु । एसिया प्यासीफिक बनेको छ । हो त्यो एसिया प्यासीफिकको राज्य कमेटीको सदस्य हुँ म । अहिले म यहाँ घुम्न आएको सन्दर्भ मात्रै हो । म प्रचन्डको व्यक्तिगत प्रेसतिर त खासै छुइन । हामी बीचमा पार्टी केन्द्रको सदस्य र अध्यक्षको सन्वन्ध मात्रै हो । प्रचन्डसँगै वहाँको सहयोगी एकजना शिव खकुरेलजी आउनु भाको थियो । प्रचन्डसँगै वहाँ नेपाल फर्किनु भैसक्यो । अहिले यहाँ हामी दुइजना छौं । एकजना पुरानो नेता अन्तराष्ट्रिय व्युरोको सदस्य राम कार्की आउनु भाको थियो । उहाँ अहिले हल्याण्ड जानु भएको छ । हामी यही छौँ । अब केही दिन दुइचार ठाउँ घुमघाम गरेर फर्किने विचारमा छौं ।

युरोप आउनुको मुख्य कारण ?

यहाँ आउनुको मुख्य कारण हाम्रो कामको केन्द्र युरोप भएको हुनाले र हाम्रो व्यक्तिगत काम भएकोले आएका हौं । बेल्जियमतिर पनि हाम्रा पार्टीको सदस्य साथीहरूले निमन्त्रणा गरिरहनु भएको थियो । खास गरि अध्यक्ष बेल्जियममा एक चोटि पनि आउनु भएको थिएन । अध्यक्ष कमरेडको उपस्थितीमा हाम्रो यो बेल्जियमको जनप्रगतिशिल मञ्चको अधिबेशन गर्ने अधिवेशन गर्ने भन्ने निर्णय भएको थियो । त्यही हुनाले व्यस्त समयको बीचबाट निकालेर पनि यहाँ आउनुभएको हो ।

ठूलै टोली लिएर आउनु भो त युरोप ? एउटा जनवर्गिय संगठनको अधिबेशनमा त्यत्रो पार्टीको अध्यक्षनै आउनु के जरुरी थियो र ?

मेरो विचारमा काम बिशेषले तीन चार जनाको टोली कुनै ठूलो होइन । तर अब यसलाई जसरी अर्थ लगाए पनि हुन्छ । काम गर्ने हिसाब किताबले अन्तराष्ट्रिय व्यरोका हामी दुइजना सदस्य छौं । अध्यक्ष कमरेडसँग एकजना सहयोगी आउनु भएको थियो । त्यो जरुरीनै हुन्छ होला सायद । पार्टीको तल्लो तहसम्म जाने , पार्टी समिकरण गर्ने काम अध्यक्षको नै हो नी । साथीहरूलाई उत्साह भर्ने । अन्तराष्ट्रिय क्षेत्रमा पनि सम्योजन गर्ने त्यो काम त अध्यक्षकै हो । त्यसकारणले पनि उहाँ आउन जरुरी थियो । आवश्यकबीना त काम छोडेर उहाँको पनि आउने मनसाय बिल्कुलै होइन । नेपालको राजनितिकमा अहिले जस्तो अप्ठ्यारो गाँठाहरू परेका छन् । त्यो प्रक्रियामा सर-सल्लाह गरेरनै देश विदेश अन्य ठाउँमा भ्रमण गर्न जाने सन्दर्भहरू थियो । र अध्यक्ष कमरेड चाहीँ त्यहीं बीचमा म पनि जाने भनेर आउनु भएको हो। नआउने भन्ने पनि बीचमा एक पल्ट चर्चा चलेको थियो । पार्टीको बीचमा एउटा सहमतीको वातावरण निकाल्नुपर्छ भन्ने हिसाब किताबको कुरो थियो । नेपालि काङग्रेसका नेताहरू सुदुरपश्चिमतिर लाग्नु भयो । अध्यक्षले त्यहाँ भन्नुभएको थियो ‘तपाईहरू सुदुरपश्चिमको भ्रमण रोकेर यदि काठमाडौंमा बार्तामा बस्ने हो भने म पनि बेल्जियम जान्न ।’ र हामीसँग बसेर छलफल गर्दा पनि मेरो चाहीँ टुङ्गो भैसकेको छैन है भनेर अन्तिम दिन सम्म पनि भन्नुभएकै थियो । यो उहाँको इच्छा भन्दा पनि विशेष त अन्तराष्ट्रिय व्यरोको निमन्त्रणामै अध्यक्ष कमरेड यता आउनुभाको हो ।

नेपालको राजनितिक प्रक्रियामा कुनै व्यवधान चाहीँ भाको छैन अध्यक्ष यता आएर । उहाँ त्यही बसिराख्नु भाको भए पनि अरु पार्टीहरूको पूर्वनिर्धारित कार्यक्रमले गर्दा अरु पार्टिका मुख्य नेताहरूसँग बस्ने स्थिति चाहीँ हुँदैन थियो । त्यसैले अरुहरू सँग सल्लाह गरेरनै आउनु भएको हो । र फेरि उहाँ नेपाल पुगेपछि जुटेर त्यो छलफलको प्रक्रिया चाहीँ सुरु भाको छ । त्यसैले विदेशमा बस्नुहुने साथीहरूले सकारातमक ढंगलेनै हेर्नुपर्छ भन्ने मलाई लाग्छ ।

अध्यक्षनै आउनुको मुख्य कारण के थियो भन्नुस् न ।

यहाँ आउनुको खास दुइटा मुख्य उदेश्य थियो । एउटा आफ्नो आन्तारिक पार्टी कमेटीको सुदृढीकरण । युरोपमा चाहीँ हाम्रो दुइटा खालको कमेटी छ पार्टीको । एउटा खुल्ला मोर्चा हो । अर्को आन्तारिक कमेटीहरुनै हुन्छ । खुल्ला मुर्चामा खुला ढंगले गतिविधी गर्न हामी प्रक्रिया गर्छौं भने आन्तारिक रुपमा नेपालमा भोलि गएर फेरि काम गर्न सक्ने वातावरण मिलाउने । कागजपत्र नभएका कतिपय साथीहरूलाई पनि नियमित हिसाबले पार्टीसँग जोडिराख्ने काम हामी गर्छौं । ताकि उसले भोलि यहाँ बस्दा पनि एक्लो भएको महसुस गर्नु नपरोस् र नेपाल जाँदा पनि पार्टीको कुनै पनि गतिविधिमा सामिप्यता बनिरहोस् ।

दोस्रो चाहीँ अन्तराष्ट्रिय मञ्चको तर्फबाट नेपालको पछिल्लो राजनितिक घटनाहरूको बारेमा अन्तरक्रिया गर्ने र कुनै पनि भ्रमहरू बाँकी रहेका छन् भने ती भ्रम यो कार्यक्रमबाट प्रष्टपार्ने मूल उद्देश्य थियो । ती दुइटा उद्देश्यमा यो भ्रमण सफल भएको जस्तो लागेको छ मलाई । पार्टी पूनर्गठन भन्नुभन्दा पार्टी सुदृढीकरण भन्नु राम्रो होला यसलाई । दोस्रो त पुराना हाम्रा टीमहरू यहाँ छँदैछन् । त्यसलाई सामान्य हेरफेर गर्ने साथीहरूको इच्छा र आवश्यकता अनुसार केही मान्छेहरू नेपाल फर्किसकेका छन् । केही ठाउँ खाली छन् । धेरथोर विभाजनको असर पनि सामान्यतया हुने भैहाल्यो । ती सम्पूर्ण कुराहरूलाई अहिले चाहीँ हामीले सुधारेका छौं जस्तो लाग्छ । एउटा नयाँ स्तरमा गाको छ यहाँको मोर्चा ।

पार्टी सुदृढीकरण अथवा पूनर्गठनको दौडधुपमा हुनुहुन्छ तपाईहरू ?

त्यो पनि हो । हाम्रो कस्तो भने पार्टीको यो आगामी माघको १४ गते बाट हाम्रो पार्टीको महाधिवेशनको घोषणा गरिसकेकाछौं । देशभरिको पार्टी कमिटी र मोर्चाहरूलाईपनि पार्टी सुदृढीकरणमा जाने हाम्रो एउटा घोषित अभियाननै छ । यो कार्तिक मसान्तसम्ममा हामीले पार्टिका सबै तहका भेला गरिसक्छौं । र त्यो प्रक्रियामै हामी लागि परेकाछौँ ।

युरोपमा नेपाली कांग्रेस र एमालेले पार्टी गठन गरेर छपक्कै पारिसके । एन आर एनकै कुरा गर्दापनि अधिकांश देशमा नेपाली कांग्रेसले जितेको छ । कति देशहरूमा चाहीँ विस्तार गर्नु भएको छ तपाईहरूले पार्टी ? यिनै दुई तीनटा देशमा मात्रै होकि ?

हाम्रो युरोपियन युनियनमा भएको प्राय जसो सबै देशहरुमा हाम्रो मोर्चाहरू र पार्टी कमिटीहरू छ । कतिपय ठाउँ अलि बढी सक्रिय छ । कतिपय ठाउँमा अलि सामान्य छ । मेरो विचारमा चाहीँ डायस्पोरा युरोपमा चाहीँ अलि व्यस्थित र संगठित ढंगले काम गर्ने पहिलो शक्ति भनेको हाम्रोनै हो जस्तो मलाई लाग्छ ।

हुन त युरोपमा आइपुगिसकेका मान्छे हामीले भनेको जस्तो परम्परावादी र सर्वहारा वर्गका त यहाँ आइपुग्दैनन् । केही न केही धेरथोर पैसा खर्च गर्नसक्ने, अलिकति चेतना र नेपालको राजनितिक र प्रसासनिक क्षेत्रमा पहुँच भएको व्यक्तिहरुनै आउन सक्ने ठाउँ पर्यो यो । त्यसकारण नेपाली कांग्रेस पार्टीको जित भैराख्नु त्यति अस्वाभाविक होइन जस्तो मलाई लाग्छ । तैपनि मैले बुझे अनुसार व्यक्तिगतरुपले आस्था रहनु अरु पार्टीहरूसँग नेपालीहरूको एउटा कुरा होला । तर हामी माओवादी प्रतिको आस्था र विश्वाश चाहीँ राम्रै भएको जस्तो मलाई लाग्छ । यसो सर्सर्ती हेर्दाखेरी अरु कोही बलियो हामी केही कमजोर जस्तो लाग्दैन ।

तपाईहरूले यो पार्टी बलियो त्यो पार्टी कमजोर भनेर मानिस उपस्थित भएको आधारमा हेर्नु हुन्छ की ? काम र उपलब्धि हाँसिल गरेको आधारमा मुल्याङ्कन गर्नुहुन्छ ?

त्यो दुइटै कुरा हो । एउटा कुरा कस्तो हुन्छ भने राजनिति गर्ने मान्छे आशावादी हुन्छ । उसले पछिसम्मको दृश्यलाईपनि नियाल्न सक्छ जस्तो लाग्छ मलाई । त्यो हेर्न सक्नुपनिपर्छ । अहिले यहाँ खास गरि युरोपका बिभिन्न देशहरूमा नेपालीहरूले भोगेका समस्याहरूको अथवा नेपालकै राजनीतिको बारेमा यहाँ बस्ने नेपालीहरूको दृष्टिकोणको प्रतिनिधित्व गर्ने सन्दर्भ छ । त्यसमा चाहीँ अब हाम्रा यहाँ भएका संगठनहरू त्यति धेरै निराशा र चुकेको जस्तो मलाई लाग्दैन । यसका कमिकमजोरीहरू होलान् । जति गर्नुपर्थ्यो त्यति गर्न नसकेको हुनसक्छ । जति ठाउँमा पुग्नुपर्थ्यो त्यति ठाउँमा पुग्न नसकेको होला । तर धेरै पछाडि परेको जस्तो चाहीँ मलाइ लाग्दैन । यसको मुल्याङ्कन कसरी गर्ने भन्ने सन्दर्भमा हामी नेपालबाट आइसकेपछि आफ्नो मात्रै पार्टी सँग र आफ्नो पार्टीका साथीहरू सँगमात्रै भेट्ने र आफ्ना मात्रै कुरा सुन्ने भन्ने हुँदैन । धेरै तप्कासँग हाम्रो छलफल अन्तर्क्रियाहरु भैरहन्छ । एन आर एन लगायत अन्य संघ-सस्थाका साथी भाइहरूसँग भेटघाट, छलफल , अन्तर्क्रियाहरु भैराखेकै हुन्छ । त्यो सबै माध्यम , आन्तरिक रिपोर्ट र बाहिरी रिपोर्टको गतिबिधी र संपर्कको आधारबाट हेर्दापनि ठिकै छ हाम्रो संगठन भन्ने निष्कर्ष हो ।

यी विदेशमा भएका पार्टी संगठनहरू छन् नी उनिहरुले चाहीँ नेपालको लागि र पार्टीको लागि के योगदान गरेका छन् त ? पार्टीलाई धनी बनाउन लेबी उठाउने होकि ?

कम्युनिष्ट हुनु भनेको द्रिष्टिकोण कै आधारमा हो पहिलो कुरा त । अन्य कुराहरूको अलावा राजनितिक दृष्‍टिकोणमा एक रुपता नै एउटा पार्टी विस्तार हुनका लागि वा ती पार्टीमा रहन वा नरहनको लागि सबैभन्दा आधारभूत कुरा हो । लेबी अथवा अन्य बिषयहरू पनि नपर्ने होइनन् । त्यसमा पर्छन् । त्यो एउटा सहायक मात्रै हो । यहाँ बसेर पनि नेपालको बारेमा चिन्तित हुनु । त्यो अभियानमा सामेल हुनु ।

किनकी नेपालमा जतिपनि ट्रेन्डहरु छन् अहिले ति के भने नेपाललाई अलि अगाडि बढाउने अथवा यथास्थितिमा राख्ने वा पछि फर्काउने । वा नेपालको अहिलेको राज्यको संरचनालाई कतातिर लिएर जाने भन्ने बारेमा जुन बहसहरु छन् त्यसमा कुन पक्षलाई समर्थन गर्ने हो त भन्ने बिषयमा सम्वन्धित छ । यहाँ बसेका नेपालीले जनमतको स्रिजना गरेर अथवा नेपालको त्यो राजनितीक धारलाई बिभिन्न ढंगले बैचारिक, राजनितिक, आर्थिक लगायतको सहयोग गर्न सक्छन् । र हामीले पनि त्यो नै प्राप्त गरिरहेकाछौं जस्तो मलाई लाग्छ ।

तेस्रो चाहीँ एकीकृत आन्दोलनको बारेमा खास कुराहरु भन्नु पर्दा नेपालको राजनीति फस्टाउनको लागि अन्तर्राष्ट्रिय ऐक्यबद्दता चाहिन्छ । त्यसमापनि आआफ्ना सामाजिक मूल्य र मान्यताहरू हुन्छन् । ऐक्यबद्दता , आन्दोलनको पनि पार्टीको तर्फबाट संयोजन आफैंले गर्छ । र चौथो चाहीँ भाइचारा साथै कुटनितिक कामहरु जुन अन्तराष्ट्रिय व्युरोले गर्छ । पार्टीहरु सँग भाइचारा नमिल्नेहरू सँग पनि सम्वन्ध त बनाइराख्नु पर्छ । त्यो पनि हामी गर्छौ । र बिभिन्न कामहरूको संयोजन गर्छौ ।

तपाईहरुको युरोप भ्रमणको खर्च कसले व्योहोर्छ ? पार्टीले कि सरकारले ?

होइन सरकारले किन व्योहोर्नु ? पार्टीको काममा आएको हुनाले पार्टीले नै व्योहोर्छ । सरकारले त फुटेको कौडी पनि व्योहोर्ने होइन । त्यसमा तापाईहरु प्रस्ट हुनुभए हुन्छ ।

 

तपाई माओवादीकै कार्यकर्ता हुनुभएकोले गर्दा सोधेको ।

त्यसो त हेर्नुस् नेपालको राजनीतिमा के रछ भने नेपालका पूर्व प्रधानमन्त्री लगायत अलिकति हाईप्रोटोकलहरूको अन्तर्राष्ट्रिय भ्रमणहरुमा यस्तो कुराहरू भएको पनि छ । नभएको होइन । तर हामीले त्यसो गर्न चाहेनौं । किनेभने हाम्रो यो पार्टीको आन्तारिक कार्यक्रम हो । हुन त इन्टरनेशनल फोरमको प्रयोग पनि हुन्छ त्यसमा । तैपनि मुलरुपमा त पार्टीकै कार्यक्रममा आको हो । त्यसकारणले पार्टीलेनै व्योहोर्नुपर्ने छ । त्यही भएर पनि त्यसमा कुनै पनि शंका उपंशका र भ्रम नरहोस् भन्न चाहन्छु ।

अनि अहिले तपाई जति देशमा भ्रमण गर्दै हुनुहुन्छ त्यसको उदेश्य संगठन विस्तार मात्रै नभएर मज्जैले चन्दा उठाउने निती छरे त माओवादीको

छैन, त्यस्तो केही छैन ।

त्यसो हो भने किन मान्छेले चन्दा पनि दिन्छन् र गुनासो पनि गर्छन् ? हामीलाई बाध्यता पारियो भन्छन् नी त कसै कसैले त फोन गरेर पनि भनेकाछन् मलाई ।

 

यदि त्यसो हो भने उहाँहरू सँग मेरो भेट गराइदिनु होला । हाम्रो माओवादी पार्टीको बारेमा नेपालमा त यस्तो कुनै पनि हल्ला छैन । मैले यहाँ आएर मात्रै सुनें यस्ता कुरा । पहिला पहिला मान्छेले माओवादीलाई चन्दा असुलीमा भएको भन्दा पनि धेरै गुणा बढाइचढाइ पेश गरे । अब यहाँ मेरो विचारमा ती कुरा सुन्नुपर्‍यो । मलाई ती कुरा त्यति सत्य हुन् जस्तो त लाग्दैन । तर त्यस्तो समस्या छ भने मसँग भेट गराइदिनुस् ।

अब पीडितहरूले मलाई फोन गरेर भनेपछि त पत्याउनु पर्‍यो नी । पार्टीकै कार्यक्रताकै कुरो मात्रै पनि पत्याउने कुरा पनि त हुन्न । पार्टी चलाउने कार्यक्रताहरू पनि उदार हुनसक्नुपर्छ । र अरुको पीर मर्कालाई पनि नजिक बाट सुन्न सक्नुपर्छ। अब सुन्नै सक्नु हुन्न भने त मेरो भन्नु के रह्यो र ?

होइन सुन्छौं । अहिले त माओवादीले जति बढी जनताको पीरमर्का सुन्ने दोस्रो कोहिनै छैन नेपालमा ।

त्यो स्वभावीकनै हो । किनकी सबै ठाउँमा तापाईहरू हुनुहुन्छ । पार्टी बलियो तपाईहरुकै छ ।  सरकारमा आफै भएपछि त सुन्नै पर्‍यो नसुनेर धरै पाइन्ननी होईन ?

सुन्छौं मज्जाले ।

युरोपमा त युरो आउँछ भनेर पहिले पार्टी एक हुँदापनि बिस हजार जति उठाएर लैजानु भएको रहेछ नी ?

त्यस्तो होइन । म तपाईलाई एउटा कुरा के प्रस्ट पार्छु भने पार्टी केन्द्र र अन्तरराष्ट्रिय व्युरोको तर्फबाट अहिले जनताहरूले चन्दा उठाउनुस् र हामीलाई यति दिनुस् भनेर हामीले कहीं कतै र कसैलाई पनि जबर्जस्ती र निर्देशन गरेका छैनौं । कार्यक्रम आयोजना गरेको हुनाले साथीहरूलाई अलिकति सहजता र आर्थिक भरथेग होस् भन्ने हिसाब किताबले अलिकति मिल्ने साथीभाइहरूसँग र पार्टीमा आबद्द भएका कतिपय मान्छेहरू सँग लहै तपाईले यति गर्नुपर्छ भनेर भन्नु भाको छ भने त्यो हाम्रो जानकारिमा छैन । तर चन्दानै त हाम्रो निति होइन । हामीले त्यस्तो गल्ति कहिल्यै गरेका छैनौं ।

निति बिरोधी काम गर्नु भएछ नी त साथीहरूले । पार्टी निति बिरुद्द काम भएको जानकारिमा आएपछि त्यसको रोक थामको लागि कुनै कदम चाल्नुपर्छ जस्तो लाग्दैन ?

त्यो बिषयमा हामी सोधौंला बुझौंला त्यहाँ के भाको रछ । धेरै नै पीर-मर्कामा परेकाछन् भने त्यस्को बारेमा के कसो गर्नुपर्ने हो पार्टीको तर्फबाट पहल गर्न सकिन्छ । तर हामीले कसैलाई पनि पीरमर्का पर्ने काम गरेका छैनौं । पार्टीको वरिपरि रहेका र कोही त्यस्ता शुभ-चिन्तक साथीहरूले चाहीँ गर्नु भाको छ भने त्यसलाई त्यति ठूलो अन्यथा मान्नुपनि हुँदैन जस्तो मलाई लाग्छ । तर चन्दानै असुल गर्ने हाम्रो निति छैन ।

अहिले तपाईको कति देश जाने योजना छ ? पार्टी विस्तारको लागि र कति देश पुग्नु भयो ?

म यु ए इमा पसेर आएँ । त्यहाँ हाम्रो मोर्चाको सम्मेलन थियो । त्यहाँबाट बेल्जियम हुँदै अहिले यहाँ आइपुगेको छु । अहिले म तेस्रो गन्तव्यमा छु । अब म सात वटा देशहरुमा जान्छु । अहिलेलाई बस्तुस्थिती बुझ्न र साथीहरू सँग औपचारिक छलफल भेटघाटनै मेरो पहिलो काम हुन्छ । सायद मेरो यात्रा पछि हाम्रो ईन्चार्ज पार्थ कमरेड पनि आउनुहुन्छ यी ठाउँहरूमा । छलफल पछि अन्तरक्रिया बैठकहरू गर्दै जाने योजना छ ।

बेल्जियममा पार्टीको अध्यक्ष जस्तो व्यक्ति आएर गरेको जुन अधिवेशन भयो नी त्यहाँबाट खास उपलब्धी के भयो ? आमा जनतालाई त्यसले के सन्देश दियो ? विदेशमा बस्ने नेपालीलाई एककिसिमको सन्देश त जानै पर्ने हो नी होइन र ? तर एउटा समाचार पनि बाहिर आएन किन ?

त्यसको लागि धन्यवाद तपाईलाई । पहिलो कुरा त के भने त्यो बेल्जियममा भयो । त्यसकारण बेल्जियम भन्दा बाहिर त्यसको बारेमा सही ढंगले र प्रभावकारी सूचनाहरूको सम्प्रेषण नभएको पनि हुनसक्छ । दोस्रो चाहीं बेल्जियममा भएको साधन स्रोतहरूलाईनै हामीले त्यसमा बढी भन्दा बढी परिचालन गरेका हौं । नेपालबाट आएका हामी अधिकांसले चाहीँ यहाँको सबै सिस्टमलाई सही ढंगले सूचना प्रविधि र अन्य जनसंपर्कको पक्षलाई ठीकसँगले बुझ्न नसकेको हुनाले पनि त्यस्तो भएको हुनसक्छ । त्यसमा चाहीँ सबै नेपालीहरूले खासगरी मिडियामा काम गर्ने साथीहरूले सकारात्मक र सहयोगी ढंगलेनै बुझीदिएर भूमिका निर्वाह गरिदिनुपर्छ होला जस्तो मलाई लाग्छ । हाम्रोमा एउटा अलि के छ भने हरेक कुरालाई एउटा एन्टागोनिस्ट भएर सोचिदिने ।  नेगेटिभ भैदिने । त्यो प्रब्रित्ति छ नेपालको मिडियामा । मेरो अपेक्षा के छ भने खास गरि डाइस्पोरामा युरोप जस्तो विकसित ठाउँहरुमा बस्ने मिडियाकर्मी हाम्रा साथीहरूले चाहीँ अलिकति सकारात्मकतालाईनै बढी केन्द्रित गर्न सक्नुपर्छ होला जस्तो मलाई लाग्छ ।

त्यहाँको हकमा चाहीँ के हो भने त्यहाँ दुइटा कार्यक्रम मुख्यरुपमा भाको हो । एउटा चाहीँ हाम्रो बेल्जियमको नेपाली जनप्रगतिशिल मञ्चको सम्मेलन कार्यक्रम हो । त्यो कार्यक्रम चाहीँ अब झन्डै त्यहाँको छसय नेपालीहरूको उपस्थितको बीचमा निक्कै भव्यतापुर्वक सम्पन्न भयो । त्यसकारण खासगरि त्यो बेल्जियम भित्रनै फोकस भयो । त्यसले एउटा राम्रै प्रभाव बेल्जियमको सन्दर्भमा छोडेको छ जस्तो लाग्छ । दोस्रो चाहीँ के भने अध्यक्ष कमरेडको युरोपियन पार्लियामेन्ट र युरोपियन कमिसनमा प्रस्तुति थियो । त्यसमा एन आर एन र अन्य सामाजिक संघ-संस्थाहरूसँगको भेटघाटको कामहरू पनि थियो । बेल्जियममा बसेका नेपालीहरूको आफन्त र बिभिन्न मान्छेहरूसँगको भेटघाट कार्यक्रम थियो । अध्यक्ष कमरेड भन्नुहुन्थ्यो ‘काठमाडौं भन्दा पनि व्यस्त भइयो, बेल्जियममा आएर ।’

खासमा कामको सन्दर्भको कुरा गर्दा चाहीँ बेल्जियमको दुइटा सम्मेलनले धेरै राम्रो प्रभाव पारेको छ भन्ने मलाई लाग्छ । अब त्यसमा अन्य ढंगले अरुतिर पनि जानसकेको भए हुन्थ्यो होला । दोस्रो चाहीँ के भने युरोपियन पार्लियामेन्टमा अध्यक्ष कमरेडले नेपाल इन पोलटिकल ट्रान्जिसन भन्ने बिषयमा एउटा स्पीच दिनु भएको थियो । त्यसपछि भोलिपल्ट १६ अक्टोबरमा युरोपियन इन्स्टिच्युट अफ एसियन स्टडिज भन्ने एउटा युरोपियन कमिसन अन्तर्गतको कुनै बिकासे संस्थाले अध्यक्ष कामरेडलाई बोल्न लगायो । त्यसमा विदेशी राजदुतहरू, कुटनितिक नियोगका मान्छेहरू लगायत अन्यको उपस्थित भएको थियो । यी दुइटा कार्यक्रम चाहीँ मेरो बिचारमा धेरै उपलब्धीपूर्ण र देशकै लागि एउटा महत्त्वपूर्ण कार्यक्रम भयो जस्तो मलाई लाग्छ । हुन त यहाँ कतिपय मिडियाहरुमा युरोपियन पार्लामेन्टमा प्रचन्डको कार्यक्रमनै थिएन भन्ने कुरा पनि सुन्नमा आयो । यो त हचुवा र एकदमै हल्काफुल्का कुरा हो ।

अध्यक्ष कमरेडको कार्यक्रम देशकै नीम्ति महत्त्वपूर्ण भन्नु भयो । तर त्यो बेल्जियमबासीको नीम्ति मात्रै महत्त्वपूर्ण भयो कि नेपालको लागि पनि महत्त्वपूर्ण ?

तपाईले हेर्न सक्नुहुन्छ । भोलिपल्ट मिडियाहरूबाट बाहिर आको छ । काठमाडौं पोस्टले एउटा पुरै कभर स्टोरीको रुपमा छापेको छ । नेपालबाट प्रकासित हुने सबैजसो दैनिक पत्रिकाहरूले छापेका छन् । युरोपियन पार्लियामेन्टमा अध्यक्ष कमरेडले बोल्नुभएको सबै कुरा छापिएका छन् । बाहिर सर्वजानिकरुपमै बोल्नुभएका कुराहरू पनि उपलब्ध छन् । ती बिषयहरूको के महत्त्व छ भन्ने कुरा । खासगरि युरोपियन पार्लामेन्टहरूको भनाइ के थियो भने नेपालमा सम्विधान लेखिन्छ कि लेखिदैन ? राजनितिक पार्टीहरूको बीचमा सहमती हुन्छ कि हुँदैन ? यो कुन प्रक्रियाबाट अगाडी बढ्छ भन्ने कुरामा सबभन्दा बढी चासो र चिन्ता त्यहाँ व्यक्त भको थियो । अध्यक्षले निक्कै स्पस्ट भाषामानै राजनीतिक दलहरूको बीचमा सहमती हुन्छ। त्यो सहमतीको प्रक्रियामा हामीहरू निक्कै अगाडि बढिसकेकाछौं भन्ने ढंगलेनै विशेष राख्नु भाको थियो । एउटा पार्टीको नेता भन्दा पनि नेपालको एउटा राजनेताकै हैसियतमा आफ्नो बिषयहरू राख्नु भाको थियो भन्ने मलाई लाग्छ । र त्यसले मओवादी पार्टीलाई के फाइदा गर्छ र माओवादी पार्टीको नेताले के बोल्यो भनेर हेर्ने भन्दापनि । नेपालको अहिलेको टप लिडरले अन्तरराष्ट्रिय मञ्चमा आएर जे बोल्नु भाको छ त्यसले नेपालको बिकास राष्ट्रियता र लोकतन्त्र प्रजातन्त्र जे भनौँ त्यसको लागि चाहीँ निक्कै महत्त्वपूर्ण भूमिका खेल्छ जस्तो मलाई लाग्छ ।

त्यहाँ माओवादी पोल्टिकली ढाकछोप गर्ने हिसाब किताबले बोलेको हो भनेर पनि सवाल त खडा भएछ नी होइन ?

त्यो तपाईलाई कस्ले भन्यो ? मसँग सबै छ । म त्यसको प्रमाण सहित दिन सक्छु । माओवादीको नेता भएको हैसियतले कतिपय कुरा उठ्छन् त्यो स्वाभाविकनै हो । माओवादी द्वन्दकालको कसरी समाधान गर्ने ? शान्ती प्रक्रियातिर कसरी जाने ? भन्ने प्रश्नहरू पनि आउँछन् । पूर्णता व्यवहारीकरुपमा अझैँपनि पाइनसकेको अवस्था छ । संविधान लेखन पनि बीचमै अलपत्र परेको स्थिति छ । त्यसैले यो स्थितिमा माओवादी अथवा अरु कुनै पार्टी बिशेषमा त्यो पनि एउटा पार्टीको नेता सँग प्रश्न उठ्नु त्यति अस्वाभाविक छैन । तर मुलरुपमा के भने नेपालको राजनितिक प्रक्रिया र समग्र राष्ट्रिय एजेन्डाहरूको बारेमा चाहीँ त्यहाँ छलफल भाको हो । र अध्यक्ष कमरेडले त्यही रुपमानै त्यहाँ जवाफ दिनुभाको थियो । मेरो बिचारमा नेपालका अन्य कुनै पनि नेता अन्तरराष्ट्रिय मञ्चमा उत्रिएर आफ्ना बिषय त्यसरीनै राख्ने हो भने नेपालको राष्ट्रियताको लागि । लोकतन्त्र र बिकासको लागि त्यसले धेरै महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ जस्तो मलाई लाग्छ । मुख्य कुरा चाहिँ आलोचना भन्दा पनि सबैले हौसला दिनुपर्ने बिषय हो भन्ने चाहीँ मैले अनुभुत गरेको छु । एउटा पार्टीमा काम गरेको युवा कार्यकर्ताको हिसाबले पनि मलाई चाहीँ त्यस्तो लाग्छ त्यहाँको स्थितिहरू हेर्दाखेरी पनि ।

तपाइँको प्रतिक्रिया