मान्छे थाई, मन सबै नेपाली
प्लम स्टेटको गोरखा क्लब रेस्टुरेन्टमा भेटघाट मिलाएका थिए बेलायतका नेपाली पत्रकार मित्रहरुले । जिज्ञासु आँखा नेपाली मम बनाउँदै गरेकी एक युवतीमाथि परे । पर कुनामा । उनी बेल्ना चलाउँदै थिईन । मम बेर्ने पिठो बनाउँदै । जिज्ञासा लाग्यो । नजिक गएर भनें “मम तगडाले बेर्नु हुँदो रहेछ त”। उनले मम बेर्न निहुरिएको घाँटी तन्काएर हाँसिन । बोलिनन् । “ह्या कस्ति लाटी रैछे, कि त लज्जाई यो केटी । बोल्दिन ।” एक घण्टामा कति बनाउनुहुन्छ मम ? मैले छोडिन प्रश्न तेसार्न । उनले हाँसेर भनिन् “आइ नो अन्डरस्ट्याण्ड नेपाली”। नेपाली, मम बनाउने मान्छेले नेपाली नबुझ्ने ? अचम्म लाग्यो । रेस्टुरेन्टका हर्ताकर्ता रहेछन् मनिश श्रेष्ठ । उनी लम्किँदै आएर भने ‘नेपाली बुझ्दैन । नेपाली होइन उ, थाई हो थाई ।’ बिदेशमा मम बनाउँदै थाईल्याण्डकी महिला ?
उनी रहिछिन् बेलायतमा आङ्ल भाषा अध्ययन गरिरहेकि थाइल्याण्डकी युवती, अम्रिसा तोन्कन्या। थाईल्यण्डकी युवतीले स्वाट्ट स्वाट्ट यस्तरि मम बनाउने ? पत्रकारहरुको जमघटमा रमाइलो मात्रै हुन्न । ईर्ष्या र धुकचुकपनि हुन्छ । कतै जाँदा केहि रोचक चिज पाइयो भने सबैले पाउँछन् कि ? आफुले भन्दा राम्रोसित प्रस्तुत गर्छन् कि ? आफु पछाडि परिन्छ कि ? नभन्दै बेलायतमा आफ्नो डकुमेन्ट्री देखाउन आएका साथी प्रवेश सुबेदि ‘के छ गुरु ?’ भन्दै त्यतै हुइँकिए । उनलाई भनें “तपाई ह्याँ नबस्नुस् त । सबैको भिड लाग्छ फेरी देखे भने । तपाई उतै साथीहरुलाई अल्झाएर बस्नुस् । म यो केटीसित केहिबेर गफ गर्छु । यो स्टोरी एकदम रोचक हुन्छ ।”
(उनले बनाएका तिन थरी मम)
उनी गए अरुलाई अल्झाउन । म युवतीसित अल्झिएँ । उनले बेरेका ममका डल्ला नियालें । ‘कतिखेर यि डल्लामा वाफ झोस्ली र कपाकप पार्न पाइएला त ? दिनभरि गाडी हुइँकाएर थाकेका पत्रकार दाई शशी पौडेल । न आफु ‘बाटाँ केहि खाम भाई ‘ भन्छन् । न आफु केहि खान्छन् । म्रिग दगुरेझैं ल्याएका करिब ८ सय किमी परदेखि हाँकेर । ति ममका डल्लाले कहिले हाम्रो घाँटेसित जम्काभेट गर्न पाउलान् त ? संझिँदापनि रसाउँदै थियो घाँटी । तैपनि जिज्ञासा मेट्न त मन लाग्यो नै । कसरि जानेको मम बनाउन ? कसले सिकायो ? कसरि थाई युवतीलाइ ममको रस पस्यो ? किन सिकेको ? कहिले ? कसरि ? कति समयमा जानेको ? उनले झर्को मानिनन् ।
(मनिश श्रेष्ठसित अम्रिसा तोन्कन्या)
उनी बेलायत आएको तिन चार वर्ष मात्रै भएको रहेछ । अंग्रेजी पढ्दै गरेकि । उनी पढेकै कलेजमा बिध्यार्थी थिए गोरखा क्लबका हर्ताकर्ता मनिश श्रेष्ठपनि । मनिशको हितैशी ब्यवहारले उनलाई तान्यो ‘ए नेपाली भनेका दयालु, मिलनसार र सहयोगी अनि मित्रताका पारखी हुने रैछन् ।’ उनी मित्र बनिन् । मनिशले सुनाए ‘तोकन्या म नेपाली भोजनालयमा हर्ताकर्ता छु । नयाँ छ । ग्राहकको मन तान्ने सुरमा छु ।’ तोन्कन्याले मनिशलाई सहयोगको हात तन्काईन् ‘मनिश मेरो रहल पहल समय छ । म तिमी जस्तो साथीलाई सहयोग गर्छु । तिमीले मलाई केहि दिनु पर्दैन, साथीको भावना मात्रै हो ।’
पत्रकारहरुलाई स्वागतमा कस्सिएका मनिश हाम्रो गफगाफ बाक्लिएको देखेपछि टुप्लुक्क आए नजिकै । उनले सुनाए ‘सर तोन्कन्याले यो मम बनाउन मात्रै १५ मिनेटमा जानेकि ।’ १५ मिनेटमा ? ‘हो त । १५ मिनेटमा तिन थरीका मम बनाउन जानेकि ।’ तिन थरी मम हुन्छन् भन्ने सम्म मेसो नभएको मलाई उनले बेलिबिस्तार लगाए । मम बेर्न जानेर मात्रै नहुने रहेछ । चिकन मम, पोर्क मम, भेजिटेबल मम सबै फरक आकारका हुने रहेछन् । ति सबैलाइ बेर्ने रोटी र तरिकापनि अलग हुने रहेछ । तोकन्याले हप्तादिनपनि नहुँदै जानेको मनिशले सुनाए ‘तेस्रो सम्म बिग्रियो, चौथो बाट त उनले परफेक्ट्ली बनाइन् ।’ नेपालीमा अर्थ्याउँदै गरेका मनिशलाई हेर्दै उनी बिचबिचमा सोध्दै थिईन् ‘व्हात दिद यु से ?’ थाईल्याण्डमा हुँदा त नेपाली खाना बारे सुन्दापनि नसुनेको उनले खुलाईन् ।
बेलायतको महँगी । त्यस्तो ठाउँमा भटाभट आफ्नै भान्छामा झैं काम गरिन् ‘मुसुक्क मुस्काउँदै तोन्कन्याले । केहि मागिनन् काम गरे बापत दुइ महिनासम्म । त्यसपछि मनिश आफैंलाई लाग्यो ‘ओ हो अब यो मित्रताकै आधारमा मात्रै काम लिनुहुन्न ।’ उनीहरुले पारिश्रमिकको निधो गरे ।
तोन्कन्या बिस्तारै नेपाली खाना, नेपाली भेषभुषा, गोर्खे पारा र रहनसहनमा झन झन तानिँदै गईन् । घरमा मम बनाएर आफ्ना दुई वालिका र पतीलाइपनि नेपाली खानातिर लम्किने बनाईन् । बिस्तारै ‘मलाई सारी लगाइदेउ’ भन्न थालिन । उनीहरुले सारी, चोलो, टोको र चुल्ठो बाटेर हेर्दा सैलुनतिरकि गुरुङनी झैं च्याट्ट बनाईदिए । मख्ख परिन् उनी । दालभात, अचार खपाखप पार्न थालिन । उनको जिब्रोले स्वाद मानी मानी स्विकार्न थाल्यो । अब उनी नेपाली न्रित्यमा झम कि झम नाच्ने भईन् । ‘मलाईपनि सिकाउ है ? मलाइपनि लैजाउ ल नेपाली नाचगानमा ?’ सोध्न थालिन । मनिशको गोर्खा क्लब भोजनालय परिवारले रङ्ग मानिमानि तोन्कन्यालाई नेपाली कार्यक्रममा लगे । को भन्दा को कम ? उनलाई नेपाली गित नबुझेपनि अरुको देखेर नक्कल गरिगरि नाच्न मुश्किल भएन । अलि पर बाट हेर्नेले भने ‘को नयाँ केटी आइछे अहिले लण्डनमा, झ्याम कि झ्याम नाच्ने रैछे लाज नमानी ।’
नेपाली खाना थरी थरीका बन्छन् गोर्खा क्लबमा । काठमाडौंको कुनै नेवारी भोजनालयको झैं थरी थरी परिकार यहाँ चाख्न पाइन्छ । आन्द्रा भूँडी हुलुक्क हुलुक्क उमालेर परपरी भुटेको भुटनपनि स्वादले खान पाइन्छ । तर तोन्कन्याले यो भुटनको नाम भने आफैंले भिन्नै जुराएकि छन् ‘ईन्साइड’। मनिशले अर्थ्याए “आन्द्राभुँडी भन्न नआएर ईन्साईड भन्छिन । भुँडी भित्रको चिज भएर यस्तो भन्ने गरेकि ।’
उनको अर्कोपनि विशेषता छ । बिदेशमै किन नपुगुन् । नेपालीहरु सफा सुघ्घर गर्न, चर्पीसर्पी सफा राख्न भनेपछि नाक करक्क बटार्छन् । भाँडा पखाल्न भनेपछि निधार कुचुक्क खुम्च्याउँछन् । तर तोन्कन्या सबै काम गर्छिन् हाँसीहाँसी । ‘उसलाई कुनैपनि काममा अप्ठेरो छैन । सबै काम गर्छिन् निर्धक्कले’ मनिशले बिदेशका नेपालीले कामलाई सानो र ठूलो देख्न नहुने गुण तोन्कन्याबाट सिक्नुपर्ने औंल्याए ।
लगाउने नेपाली पहिरन । बनाउने मम । खाने नेपाली खाना । पढ्ने नेपालीसित । नाचगान सबै नेपाली । देखभेट नेपाली । खाने, पिउने नेपाली । काम गर्दा हर्को सुँघ्ने नेपालीनै मगमग । नाम मात्रै किन थाइ राख्ने मन जति नेपाली भएपछि ? तोन्कन्याले नामपनि जुराईन नेपालीनै ‘माया’ । ‘उनले भनिन् ‘माई नेपाली नेम, माया ‘लब’ यु नो ? तोन्कन्याबाट मायामा फेरिएकि युवतीका मम गफ सुनेपछि कुरोको बिट मार्दै मनिशले भने “यो मान्छे मात्रै थाई, मन सबै नेपाली ।”
यो चाहिँ हामी पत्रकारहरुको टोली । बायाँबाट पहिलोमा भगिरथ योगी, प्रवेश सुवेदी र नरेश खपांगी । दाहिनेतिर पहिलोमा म आफैं, शशी पौडेल र श्याम लुइँटेल)











