महिला सताउने महिलाकर्मीका दुई जिब्रे कुरा

अनुराधा पौडेल

सोमबारको अनलाइन खबरमा नमिठो समाचार पढेँ । खाडिका बिभिन्न देशमा गएका ८२ नेपाली महिलाले गएको डेढ बर्षमा आत्म हत्या गरेछन् र २५ जना गर्भवती रहेछन् । यो संयुक्त राष्ट्र संघिय महिला बिकास कोषका (यूनिफेम) नेपाल प्रतिनिधि सरु जोशि श्रेष्ठले दिएको तथ्यांकमा आधारित रहेछ ।

निश्यनै यो भन्दा कति हो कति बढी नेपाली दिदी बहिनी त्यहाँ पिडित छन् । यो कुरा खाडिका गल्ली गल्ली चाहारेका कान्तिपुरका पत्रकार देवेन्द्र भट्टराइले देखेका छन् र उनले आफ्नो किताब  रेगिस्तान डायरीमा यो भयावहताको कुरा लेखेका छन् ।  नारी पिडाको क्रन्दनको झलक पाइन्छ उनको किताबमा । देखेर पनि उनले लेख्न नसकेका बुझेर पनि भन्न नसेकेका मर्मका कुरा छन् देवेन्द्रको अनुभूतिमा ।

खाडिमा मात्र होइन आजै मात्र साइप्रसमा हाउसमेट भिसामा साइप्रस गएकी रेनु शेर्पाको मृत्यू भएको छ । साइप्रसको लारनाका भने शहरमा लामो समय देखी काम गरिरहेकी उनको केहि महिना यताको बसाइ गैरकानुनी थियो । उनी दुइ दिन अघि नेपालीको जमघटमा भाग लिइरहेकी थिइन र प्रहरीले छापा मार्दा पाचौं तल्ला बाटहामफालेर जोगिने प्रयत्न गर्दैथिइन ।

बिदेशीएका महिलाका दर्दनाक कथाहरु अनेक छन् । खासगरी खाडीमा पुगेका । तर खाडिमा पुगेका मात्रै होइन यूरोप र अमेरिका पुगेका महिलाका पनि दर्दनाक कथा छन् । अचेल दर्दनाक कथाहरु मिडियामा लगातार आउन थालेपछि यूनिफेमले तथ्याँक राख्न थालेको रहेछ । जुन कुरो अनलाइन खबरको समाचारबाट थाह भो । यो तथ्यांक अध्ययनमा आधारित निश्चयनै होइन । किनभने खाडिका नेपाली दिदी बहिनी रहेका खाडिका दरबारहरुमा पुग्ने पहुँच कसैको पनि छैन आजसम्म । बिद्रोह गरेर दुताबासको शरणमा आइपुगेका केहि गर्भवती महिलाले मुख खोलेका र अस्पतालबाट मूर्दाघरहरुबाट आक्कल झुक्कल चुहिएका समाचारहरु यसका श्रोत हुन् । यहि तथ्यांकलाई आधार मानेर सरु जोशी श्रेष्ठ चिच्याएकी रहिछिन् । तर यो बर्बादीमा सरुको वकालतको भूमिका दुइ जिब्रे छ भन्नेमा महिलाको मर्मलाई गहिरो सँग आत्मसात गरेकाहरुलाई थाह छ ।

सन् २००३ या २००४ ठ्याक्क बर्ष त भुलेँ । तर यि दुइ मध्ये कुने एउटा बर्षमा हो बैदेशिक रोजगारमा नेपाली महिलाको पहुँच बिषयको एकदिने कार्यशाला गोष्ठीमा म पुगेकी थिएँ । त्यो गोष्ठी रेडिसन होटलमा भएको थियो । कार्यक्रमा यिनले नेपाली महिलाले पनि खाडिमा काम गर्न जानु पाउनु पर्छ भन्दै सहभागिहरुलाई यसरी लोभ्याएकी थिइन । एकजना सिन्धुपाल्चोकको दिदी घरायासी कामको लागि कतार जानुभएको रहेछ । कतारमा उहाँको साहु एकदम असल परेछ । अनि भिसा सकिएर घर आउने बेलामा उहाँलाई साहुको स्वास्नीले सुनको औंठी र घडि दिइछिन् । बुहारीले आफ्ना राम्रा राम्रा अर्धाना लुगाहरु दिइछिन् । नातीनिले १० हजार त बकसै दिइछिन् । तिनी आमै त परिवारमा यति घुलमिल रहिछिन् कि यता छोरीकोमा आइरन गरिदिने उता आमाकोमा घर बढारिदिने उता बुहारीकोमा किनमेल गरिदिने । सबैका घरको तालाचाबी उनकै हातमा । अनि त उनलाई बक्सिस त कति कति । नेपाल फर्कँदा त उनको झोलैले धानेनछ ।’

अहिले म यूरोप आएपछि थाह पाएँ श्रमको मुल्य कस्तो हुन्छ । श्रम कानूनहरु कस्ता हुन्छन् । घरायासी होस या अरु क्षेत्रमा होस सरसफाइ गर्ने मानिसहरुलाई तालाचाबी सुम्पिनु कुनै नौलो कुरा होइन रहेछ । अनि अझ गहिरिएर बुझ्दा थाह पाएँ, एक घरको कामका लागि भनेर लगिएपछि अरु घरको काम दिन पाइँदैन । काम जे गर्ने हो अनुबन्धन पत्रमा त्यो लेखिएको हुनुपर्छ । उनलाई निश्चित तलब दिइनुपर्छ । थोत्रा घडि र औंठी होइन । न त बुहारीका अर्धाना लुगा र केहि रकम सित्तैमा । आफ्नो घरमा काम गर्ने मानिसले जब छोड्ने समय आउँछ जसले पनि दुइ चार रुपैँया हातमा राखिदिन्छ । चाडपर्वहरुमा उपहार दिन्छ । यो कुनै ठूलो कुरा होइन रहेछ ।

अनि उनले त्यसै दिन भनेकी थिइन, नेपाल सरकारले अमूल्य मौका चुकाइरहेको छ । त्यो ठाउँमा आज फीलीपिनो महिलाहरुले काम गरिरहेका छन् र उनीहरुको देशमा रेमिटेन्स भित्र्याइरहेका छन् । सरकारले रोकेर के गर्नु भारतको बाटो भएर नेपाली चेली लगेका छन् । उनीहरुले नेपालमा रेमिटेन्स भित्र्याइरहेका छन् । त्यो बाटो यतै खुला गर्नुपर्छ । उनले पौरखि नामको संस्थासंग मिलेर खाडीमा नेपाली महिलालाई कामदारका रुपमा पठाउन सहयोग गर्थिन ।

उनले त्यो बेला नेपाल सरकारको प्रतिनिधि भएर कार्यक्रममा गएका ब्यक्तिलाई कार्यक्रममा नाँगेझार पारेकी थिइन । र सरकारका प्रतिनिधिले स्पष्टै भनेका थिए – हामी संगठित क्षेत्रमा महिलालाई पठाउने बिषयमा सोच्न सक्छौँ । तर असंगठित क्षेत्रमा हामी रोक्छौँ । असंगठीत क्षेत्र भन्नाले घरमा नोकर हुन नपठाइने कुरो बुझिन्छ । भारतको बाटो पनि हामी बन्द गर्छौँ र यो गर्नुपर्छ । यद्दपी सरकारी भनाइलाई निस्तेज पार्न अर्की महिलालाई मन्चमा उभ्याइएको थियो । उनी अँग्रेजी बोल्थिन् । र कुनै एक कम्पनीमा सेक्रेटरीको काम गर्थिन् । सरु जी यसको जिम्मेवार तिमी आँफै हौ । जिम्मेवारी बहन गर । केहि पत्रकार प्रयोग गरेर तिमीले वकालत गरेकी थियौ । आजसम्म गर्दैछ्यौँ ।

उनले बोलेको देख्दा लाग्थ्यो, नेपालका दलाल मेन पावर कम्पनीहरुको उनी प्रबक्ता हुन् । मेन पावरहरुको पैसामा उनी चलेकी छिन् । आजसम्म यिनले यस्ता वकालत सयौँ गरिसकिन् होला । नेपालका केहि बरिष्ठ महिला पत्रकारहरु सन् २००४ चिर जस्तै शायद आज पनि उनलाई कटिँग बेच्दै होलान् । र त्यो बापत निश्चित तलब र बिदेश भ्रमणको चाँजोपाँजो मिलाइरहेका होलान् । केहि बाहेक अरु मिडियाले बिजोगका बिजोग खबर दिनथालेपछि आजै फेरी यिनै सरु जोशी चिच्याइछिन् “खाडिमा गएका महिलाको बिजोग भयो । ” मतलब के हो सरु जी  ? किन महिलालाई घरेलु काममा त्यहाँ नपठाउ भन्नुहुन्न ? श्रम कानुनको कडा ब्यवस्था भएको यूरोपमा त घरेलु काम गर्न महिलाहरु पिडीत छन् भने किन खाडिमा नेपाली महिलालाई अघोषित बेश्या बनाउन र अरुका पेट बोकाउने कामकालागि वकालत गर्नुहुन्छ अनि फेरी तिनले दुख पाए भन्नुहुन्छ ?

तपाइँको प्रतिक्रिया