स्याबास डा साप !
(महारजगञ्ज भैरव नाथ गणमा नेकपा माओवादीका युवा नेता (तत्कालिन अनेरास्वबियु क्रान्तिकारीका नेता) हिमाल शर्मालाई यातना दिँदै अहिले सहायक रथीमा बढुवा भएका राजु बस्नेत । फोटो हिमाल शर्माको फेसबुकबाट लिईएको हो)
बौद्दिक प्रधानमन्त्री डा बाबुराम भट्टराईका करामत थपिँदा छन् । बौद्दिक स्तरमा उनको उचाइ चुलिँदो छ । गरिबका पक्षमा छु भनेर गाउँ घुमेको देखाउँदै भ्रमण गरेर नाम कमाएका उनले अर्को पौरख थपेका छन् । त्यो हो, संयुक्त राष्ट्र संघिय मिसनले समेत अत्याचारी, हत्यामा संलग्न भएको, यातना दिन खप्पिस भनेर आरोप लगाएका नेपाली सेनाका राजु बस्नेतलाई सहायक रथीमा बढुवा । उनलाइ यसले नेपाली सेनाबाट स्याबासी मिलेको छ । जनता, तिनलाई आजको मन्त्री पदमा पुर्याउने कार्यकर्ता, यातना खेप्ने नेताको के मतलव ? जनयुद्दको भर्याङ चढेर प्रधानमन्त्री हुनुसम्म न थियो । अब भर्याङ चढियो । चाहिने कार्यकर्ता होइन । किनकि अब फेरी युद्द लड्नु छैन । अब त भारतको चाकरि गरेर हुन्छ कि अमेरिकाको टाङमुनी छिरेर हुन्छ चाहिने कुर्सी हो । र हो कुर्सीमा पुगेका बेला आफुलाई सहयोग गर्ने प्रहरी, सेना, गुप्तचर, मण्डले, ज्यानमारा, चोर, डाँका र फटाहा । त्यसैले पुरस्क्रित गरिएको हो, राजु बस्नेतलाई ।
राजु बस्नेतलाई बढुवा गरेर उनले धेरैलाई एकैचोटी गुन लगाउनु थियो । धेरैको मन जित्नु थियो । पहिलो त उनको पार्टीलाई आतंककारीको बिल्ला झिकेर अमेरिकाले सुद्द पारिदिएको छ । अमेरिकाले लगाइदिएको त्यो गुनको बदला तिर्नु थियो । कसरि तिर्ने ? उनले हिजो जनयुद्द गर्नु बेठिक थियो भनेर सन्देश दिन खोजे । हिजोको जनयुद्द बेठिक रहेकाले, आतंककारी काम गरेकाले राजु बस्नेत जस्ता सेनाका अधिकारीले यातना दिनु जायज हो भनेर सिद्द गर्न खोजे । अमेरिकाले प्रजातान्त्रिक पार्टीमा दर्ज भो माओवादी भनेर हिजोको आतंककारीको बिल्ला झिकिदिएपछि माओवादीले केहि त्याग गरेर देखाउनु पर्छ कि पर्दैन ? डा सापले त्यहि त्याग गरेका हुन् । त्यहि गुन तिरेका हुन् ।
सरकारमा बस्न एक मिनेटपनि मन छैन तर देश र जनताको लागि भनेर बसेको हुँ त कसले पो भन्दैन ? किर्तीनिधी विष्टदेखि लोकेन्द्र, सूर्य बहादुर, माधव नेपाल, गिरिजा, झलनाथ कसले पो भनेन ? तर गाँठी कुरो त डा सापलाईपनि अझै प्रधानमन्त्री बन्नु छ । डा सापलाई अब सत्तामा सकेसम्म धेरै टिक्नु छ । पाएसम्म पटक पटक बन्नु छ । त्यो पदमा पुग्दा उनलाई खाँचो कसको पर्छ ? सडकमा दुई चार वटा झण्डा हल्लाउने बिचल्लीमा परेका कार्यकर्ता को कि नेपाली सेनाका अफिसरको ? हाम्रा आफन्तको खोजि गरिदेउ भनेर पार्टीको झण्डामा बेपत्ताको फोटो टाँसेर घरि घरि अत्तो थाप्ने पिडितबाट के मिल्छ भट्टराईलाई डा सापलाई ? किन नेपाली सेनाले हिजो आतंककारी भन्दै यातना दिएकाको पक्षमा उभिने उनी ?
डा भट्टराई एकदम बुझक्कि छन् । जनयुद्दमा के ति बस्नेतले मात्रै मारेका हुन् र मान्छे ? भट्टराईले मारेनन् ? राजु बस्नेतले चार दर्जनलाई दम्पट पारेको आरोप लाग्यो । भट्टराईले कतिलाई त्यसरि दम्पट पार्न दिए आदेश ? जनयुद्दकालको सहि छानबिन भो भने हामीपनि परिएला भन्ने डर उनलाई हुनुपर्दैन र ? राजु बस्नेतलाई पुरस्क्रित गरेर कम्तिमा उनले जनयुद्दमा बगेको रगतको प्रायस्चित र सेनाले गरेको कामको स्याबासी दिन पाएका छन् ।
हिजो जनयुद्दमा के बाबुरामका मान्छे परे ? के बाबुरामले जेल भोगे ? के उनकि पत्नी कतै यातना खेप्नेमा दर्ज भईन् ? दुनियाँका छोरा छोरी कोहि शहिद भए । कोहि खाडलमा पुरिए । कोहि यातना खेपेर अपांग बने । उनका सन्तानमा कसलाई के भो ? उनकि छोरीलाई उनले जनयुद्दकै बेलापनि उच्च शिक्षा दिन भ्याए । जनयुद्द सकियो, श्रीमति पटक पटक मन्त्री भईन् । उनी पटक पटक मन्त्री हुँदै प्रधानमन्त्री बने । अनि यातना नखेप्ने, नभोग्नेले खप्नेको पीडा कसरि नाप्न, महसुस गर्न सक्छ ?
राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले बस्नेतलाई निलम्बन गर्न सिफारिस गरेको थियो । सिफारिस गर्दैमा के भो ? कसले मानेको छ राष्ट्र संघिय कार्यलयको सिफारिस र सुझाव ? संयुक्त राष्ट्र संघको कार्यालयले भनेको मान्नु पर्छ भन्ने केहि छ ? न अमेरिकाले मानेको छ । न हिजो माओवादीलेनै मान्यो । न नेपाली कांग्रेसले मान्यो हिजो । न एमालेले टेर्यो । न राजाले आदर गरे । अनि आज डा सापले किन मान्ने ?
डा सापले प्रस्टै भनिसकेका छन्, हिजो देउवा समक्ष हामीले बुझाएका माग त प्रचारात्मक हुन् भनेर । अर्थात जनताका आँखामा छारो हाल्न । कार्यकर्तालाई छक्याउन । पार्टीमा बिदेशी दलालका रुपमा छिर्न । बामपन्थी र स्वच्छ कम्युनिष्टको खोल ओढेर कम्युनिष्ट आदर्शलाईनै रछातलमा पुर्याउन । बाहिर मुस्ताङे नामको सस्तो गाडी देखाएर भित्र भित्रै देशलाई आर्थिक रुपमा खोक्रो पार्न । बिदेशीलाई खुशि पारेर देशको सुरक्षा, आर्थिक क्षेत्रमा पखेँटा फिजाउन दिन । अनि जेका लागि मान्छेले राजनिति गर्छ त्यो भन्दा भिन्न खोजेर कहिँ पाइन्छ ?
डा साप देश र जनताको भलाईकालागि सरकारमा गएका हुन् र भलो खोज्नु ? जनयुद्दले स्थापित गरेका माग पुरा गर्ने तिनको ध्याउन्न हो र माग पुरा गरेनन् भनेर दुखेसो पोख्नु ? देशलाई आर्थिक रुपमा सबल बनाउन हो र आर्थिक क्रान्तिको चाहना राख्नु ? माओवादी पार्टीलाई फलाउन फुलाउन हो र धोका दिए भन्नु ? जनयुद्दमा पर्खाल बनाएर अडेस लागेका कार्यकर्ता, शहिद हुनेको रगतको बुइमा चढेर जनयुद्दको भल तरेका साहसि योद्दाको कदर गर्ने हो र त्यसो गरेन भनेर मन कुँड्याउनु ? उनको उद्देश्यनै यो मुलुकलाई कसरि हुन्छ बिदेशीको पाउमा लडीबुडी गर्न दिनु, हाम्रा गरा गरामा बिदेशी सेना नाच्न पाउने अवसर हेरेर बस्नु, देशको सम्पत्ती सोरेर बिदेशीले लैजान पाउने अवशर जुराइदिनु हो । देश, जनता, कार्यकर्ता सबै भाँडमा जाओस् तर मबिना मुलुक चल्दैन भन्ने भ्रम पाल्नु । संविधान नामको खोस्टो बनाउनु भन्दा मेरो खुट्टोमा उभिने सरकार र त्यसमा मन्त्रीहरु नामका भेडाहरुको गोठ बन्नु पर्छ भन्ने आकांक्षा राख्नु । उनको ब्यवहारले यहि भन्छ । अनि किन गर्ने दुखेसो ? उनी त आफ्नो योजनामा सफल छन् । चतुरोपूर्वक लागेका छन् ।
महँगी बढाउनु । चोर, डाँका, फटाहा, ज्यानमाराहरुलाई छुट दिनु । क्रिषकहरुलाई मलको भाउ बढाएर ढन्नेसो सेक्नु । महँगी बढाउन दिएर ब्यापारीलाई अर्को निर्वाचनमा चुनाब लड्ने पैसो जोगाड गर्ने मेसो मिलाइराख्नु । हिजो लौ सकेजति जोतेर लेउ जग्गा भनेर उकास्नेलाई आज खुरु खुरु फिर्ता देउ नत्र डोजर लगाएर पेलिन्छ भनेर धम्क्याउनु । खोला र वन छेउछाउ बसेकाको छाप्रा भत्काएर मिल्काउनु । यसो नगरि कहिँ कम्युनिष्टहरुको बदनाम गर्न सकिन्छ ? अनि यसमा उनी सफल भैरहेकै त छन् । यो भन्दा कति चमत्कार गर्ने डा सापले ? स्याबास डा साप अझै अगाडि बढ !





